भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रसङ्ग- १. २०७५ सालको तिजको समयमा करिब ४५ वर्षकी एक महिलालाई मेडिकल हलमा ल्याइयो । उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँका आफन्तलाई सोध्यौँ, उहाँ कसरी बिरामी हुनुभयो ? जवाफ आएको थियो, पानी नपिई तिजको व्रत बस्नु भएको थियो । नाच्दानाच्दै ढल्नु भयो र अनि लिएर आएका हौँ ।

प्रसङ्ग - २. मुस्लिम समुदायका मेरा एकजना अनन्य मित्र हुनुहुन्छ । उहाँ प्रत्येक वर्ष धार्मिक निष्ठाले रोजा ग्रहण गर्नु हुन्छ । उहाँहरूको रोजा निर्जला व्रत जस्तै हो । बिहान-दिउँसो केही नखाने र साँझ चाँद हेरिसकेपछि खाना खाने । यसरी रोजा बस्दा ऊ २-३ पल्ट ढलेको छ तर पानी पिउन र औषधि लिन भने मानेन ।

प्रसङ्ग - ३. सोह्र श्राद्धको समयमा एकछाके बसेका एक ५० वर्षका पुरुष एक्कासी छाती पोल्यो, पेट दुख्यो र गाह्रो भयो भन्ने समस्या लिएर अस्पताल आउनु भएको थियो । 

माथि विभिन्न प्रसङ्ग किन राखियो त भन्ने सवाल उठ्न सक्छ । यी प्रसङ्गहरू विभिन्न पर्वमा अनियमित रूपमा व्रत बस्दा देखा परेका स्वास्थ्य समस्या हुन् । मानव शरीरलाई र व्यक्तिगत बानी व्यवहारको आधारमा फरक तरिकाले निर्माण गर्न सकिन्छ । यही निर्माण गर्ने क्रममा अनियमितरूपले एक्कासी कुनै कार्य गरेको खण्डमा भने अप्ठ्यारो पर्न जान्छ ।  माथिका प्रसङ्ग अनियमित रूपमा वर्षमा विशेष पर्वमा बसिएको व्रतले निम्तायको परिमाण बारे बुझाउन मात्र खोजिएको हो । 

नियमितरूपमा  (हप्तामा १ दिन, महिनामा ४-५ दिन) उपवास बस्ने गर्ने मानिसहरूमा यस्ता समस्या नदेखिएका पनि हुन सक्छन् किनकि नियमित रूपमा व्रत बस्दा शरीरले आफूलाई सोही अनुरूप निर्माण गरिसकेको हुन्छ । तर अनियमितरूपमा विशेष चाडपर्वमा कठोर तरिकाले व्रत बस्दा स्वास्थ्य समस्या बढ्न पुग्दछ ।

यहाँ यही विषयमा लेख्दै छु । नियमित भोको बस्ने कि अनियमित व्रत बस्ने ? यसले शरीरमा पार्ने प्रभाव के ? यस विषयमा बुझ्न पहिले व्रत वा उपवास भनेको के हो बुझ्न जरुरी छ।

उपवास/व्रत के हो ?

सामान्यतया व्रत भन्ने बित्तिकै निश्चित धार्मिक कर्मकाण्ड सम्पन्न गर्नु वा पूजापाठ गर्नु अघि तथाकथित शरीरलाई शुद्ध राख्नका लागि भोजन सेवन नगरी बस्ने प्रक्रिया हो भन्ने धारणा छ । 

संस्कृतको वृञ् वरणे (वरण गर्नु, अपनाउनु, अवलम्बन गर्नु) धातुबाट व्रत शब्द बन्छ । यसको अर्थ हो– नियमको पालना, अनुष्ठान, प्रतिज्ञाको परिपालना, प्रतिज्ञाद्वारा सङ्कल्प गरेर लिइने व्रत, उपवास, शारीरिक कष्ट सहेर गरिने उपवास । म यसो गर्छु भनेर चिताउनु नै व्रत हो । अर्थात्, निश्चित नियमा बसेर कठोररूपमा भोजन सेवन नगरी भोकै बस्नु उपवास वा व्रत बस्नु हो। 

भोको रहनु भनेको के हो ?

कुनै तथाकथित नियममा नबाँधिएर शरीरलाई आफूले चाहे अनुरूपको निर्माण गर्नका लागि निश्चित समयावधिमा भोजन ग्रहण नगरी बस्नु भोको बस्नु हो । भोको बस्दा व्यक्तिले आफूले चाहेको समय सम्म बस्न सक्ने र आवश्यक परेको समयमा भोजन पानी ग्रहण गर्न सक्दछ।

उपवास वा व्रत कति प्रकारका हुन्छन् ?

शास्त्रीय मान्यता अनुसार व्रत वा उपवासलाई व्याख्या गर्ने प्रक्रिया फरक मानिन्छन् । यहाँ उल्लेखित व्रतका प्रकार मानिसले भाेकाे रहने पद्धतिका उदाहरण हुन् । जुन निम्न छन् ।

१. निर्जला व्रतः पानीसमेत सेवन नगरी बसिने व्रत 
२. निराहारः  भोजन ग्रहण नगरी बसिने व्रत 
३. फलाहारः व्रतावधिमा फलफूल सेवन गरी गरिने व्रत 
४. मध्यान्ह आहारः दिनको मध्यान्ह समयसम्म भोजन ग्रहण न गर्ने तथा मध्यान्हपछि भोजन ग्रहण गर्ने गरी बसिने व्रत 
५. अनसनः भोजन, पानी केही ग्रहण नगरी बसिने व्रत 

अनियमितरूपमा गरिने वर्त र उपवासले शरीरमा पार्ने प्रभावः

नियमितरूपमा भोजन, पानी ग्रहण गरिरको व्यक्तिले एक्कासी भोजन ग्रहण नगर्दा निश्चित समयपछि भोक लाग्न शुरू हुन्छ । मस्तिष्कको हाइपोथेलामसमा भएको भोक सम्बन्धि सूचना दिने केन्द्रले भोक लागेको सूचना प्रदान गर्छ ।र आमाशयमा ग्यास्ट्रिक जुस पैदा हुन थाल्छ । यो जुस खाना पचाउने कार्यमा प्रयाेग हुने गर्दछ । जसमा हाइड्रोकोलोरुक एसिड रहेको हुन्छ । व्रत बसेको समयमा आमासयमा खाना नहुने हुदा उक्त एसिडले आमासयलाई पोल्न थाल्छ र पेट दुखेको तथा मुटु पोलेको आभास हुन्छ र ग्यास्ट्रिक बढ्छ भने पाचन प्राणालीमा समस्या देखिन सक्दछ । साथै निर्जला व्रत बसेको समयमा शरीरमा पानीको कमी भै जलवियोजन (डिहाइड्रेन) देखिन पुग्छ । शरीरमा शक्तिको अभाव हुन गै शरीरलाई शिथिल तथा कमजोर बनाउँछ । जसले बल्ड प्रेसर, मधुमेह जस्ता समस्या भएका मानिसहरू ढल्न पनि सक्दछन् । निर्जला र निराहार व्रत बसेका मानिसहरू नाँच्दा गाउँदा शरीरमा भएको क्यालोरी बर्न हुने हुँदा अचेत हुने ढल्ने समेत समस्या आउन सक्दछ । अनसन बस्नेहरूमा मृगौला तथा शरीरका प्रमुख अंगहरूको कार्यमा अवराेध आउने हुँदा भाइटल अर्गानहरूको कार्य रोकिन सक्छ ।

नियमित भोको बस्नाले शरीरमा पुग्ने फाइदाहरू  

पछिल्लो समय सुगठित शरीर खोज्नेहरू फास्टिङ्ग गर्ने गर्दछन् । यसरी नियमित (हप्तामा १ दिन महिनामा ४-५ दिन) रूपमा भोको रहँदा शरीरमा भएको क्यालोरी बर्न हुने हुन्छ । व्यक्तिले खाना खाँदा बनेको क्यालोरी, फ्याट बचेको हुन्छ । भोको बस्दा उक्त क्यालोरी र फ्याट बर्न हुन्छ । जाे शरीरका लागि फाइदाजनक हो । उपवास गर्दा शरीरमा चिनी, कलेट्रोल तथा अन्य रसायनको  मात्रा केही घट्न जान्छ । जसले गर्दा शरीरलाई फाइदा पुग्दछ । फलफूल खाएर उपवास बस्दा शरीरमा फलफूलबाट प्राप्त हुने पौष्टिक आहार पुग्छ र शरीर स्वस्थ रहन्छ ।

पछिल्लो समय इन्टर मिटेन्ट फास्टिङ्गको चलन बडेको देखिन्छ । इन्टरमिटेन्ट फास्टिङ्ग भनेको एकदिन २४ घण्टाको हुन्छ । जसमा ८ घण्टाको समयावधिभित्र पटकपटक खाना खाने तर १६ घण्टा खाना नखाने । जसले गर्दा शरीरमा पौस्टिक आहार पुग्ने पाचन प्रक्रिया तन्दुरुस्त रहन र खाद्यान्नको बचत हुने हुन्छ ।

निष्कर्षः कुनै विशेष पर्व वा समयमा अनियमितरूपमा आस्था राखेर बसिने व्रत र उपवास शरीरका लागि हानिकारक भैदिन सक्छ । शरीर र स्वास्थ्य भन्दा अरू कुनै ठूलो धन नहुने हुँदा, शरीरलाई स्वास्थ्य राख्न जरुरी छ । रीतिको नाममा शरीरलाई कष्ट दिएर लाभ प्राप्ति हुन्छ हुँदैन त्यो व्यक्ति स्वयमले बुझ्न जरुरी छ । शरीरलाई असहज नहुने गरी आस्थामा केन्द्रित भै फलाहार तथा पानी सेवन गरी नियमितरूपमा भोको बस्नु वा व्रत बस्नु स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणले राम्रो रहन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...