भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

केही दिनअघि भारतीय चलचित्रकर्मी सिद्धार्थ शुक्लाको मृत्युकाे खबर सामाजिक सञ्जालभर डढेलो झैँ फैलियो । उनको मृत्यु कारण थियो हर्टअट्याक । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्दा मुटुरोग संसारको मृत्युको पहिलो कारण हो । मुटुरोगको कारण वर्षेनि संसारभर  १७.५ मिलियन मान्छेकाे मृत्यु हुन्छ । अर्थात्, पूरा मृत्युको ३२ प्रतिशत मुटुरोगले ओगटेको छ भने यसरी मृत्यु हुनेमध्ये  ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् । 

नेपालमा पनि सेडेल्टरी (आलस्य) जीवनशैलीका कारण मुटुरोग बढ्दै गएको पाइन्छ । विशेष गरी नेपालको सहरी क्षेत्रमा युवाहरूको जीवनशैली, खानपिनको कारण मुटुरोग बढ्दै गएको विभिन्न अध्ययनबाट देखा परेको छ । सहिद गंगालाल हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञकाअनुसार, उक्त केन्द्रमा हृदयाघात (हर्ट अट्याक) का बिरामी दिनहुँजसो आउँछन् । अधिकांश ४० वर्षमाथिका हुन्छन् भने कुनैकुनै समयमा २०-२५ वर्षका युवामा समेत मुटुरोगको समस्या देखिने गरेको छ । केही समय अघिसम्म हृदयाघात ४० वर्ष कटेका मानिसमा लाग्ने रोगका रूपमा परिचित थियो । तर पछिल्ला वर्षमा युवा र महिलामा पनि हृदयाघात देखिन थालेको विभिन्न अध्ययन तथा अनुभवबाट प्रष्ट हुन आएको छ । ‘हृदयाघात अब बुढापाकाको मात्र रोग रहेन । नेपालमा युवा अवस्थामा नै हृदयाघात हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको देख्न सकिन्छ ।

हृदयाघात के हो ?

विशेषज्ञका अनुसार मुटु  मानव शरीरको मांसपेशीको डल्लो हो । यसले रगत पम्प गर्ने काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ ।

युवामा किन ?

‘युवाहरूमा हृदयाघात देखिनुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली नै हो ।’ उनका अनुसार ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयाघात देखिएको छ भने तीमध्ये ९८ प्रतिशत व्यक्तिहरू धूमपान मध्यपान र रहेको पाइन्छ । बाँकीमा भने अस्वस्थ जीवनशैली, ब्यामको कमीजस्ता अन्य समस्याका कारण हृदयाघात हुनेगरेको पाइन्छ ।

सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गएको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसहरूलाई कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिइरहेको छ ।

‘विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले हृदयरोगीको संख्या बढाइरहेको देखिन्छ । झन् युवापुस्तामा धूमपान तथा मध्यपानको लतले कलिलै उमेरमा रोगी बनाउन थालिसकेको देखिन्छ ।

नेपालमा पछिल्ला वर्षमा महिलामा पनि हृदयाघातको जोखिम बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ। मुटुरोगको उपचार हुने गंगालाल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक तथा ग्रान्डी अस्पतालमा युवा तथा महिलासमेत हृदयाघातको उपचारका लागि आउने गरेको कुरा विभिन्न अध्ययनले देखाइसकेको छ।

गंगालाल अस्पतालको  सन २०१८र१९ को  तथ्यांकअनुसार अस्पतालमा ११८८ जनाको हृदयाघातको उपचार गरिएको थियो । तीमध्ये २७ ५ अर्थात् ३ सय ३१ जना महिला थिए । सन् २०१२ मा त अस्पतालमा झन् ३४ ५महिलाको हृदयाघातको उपचार गरिएको थियो । चिकित्सकहरुका अनुसार ,महिलामा हृदयाघात बढ्नुको प्रमुख कारण महिलामा हुने मोटोपन र शारीरिक अभ्यासको कमी, धूम्रपान ,मध्यपान  जंक (पत्रु) खानाको  प्रयोग हो ।  यसका साथै महिनावारी सुकेपछि महिलामा सुरक्षात्मक हर्मोनको कमी हुनु र शारीरिक अभ्यासको निष्कृयताले मुटुरोग जन्माइरहेको उनको भनाइ छ।

नेपालमा युवामा हृदयाघात ह्वात्तै बढेको पाइन्छ,’ उनले भने, ‘पाँच वर्षअगाडिसम्म समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर आजकाल १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि हृदयाघात बढेको देखिन्छ। एकदशक यता नेपालमा  हृदयाघात पाँच गुणाले बढेको देख्न सकिने संलग्न चिकित्सकहरू बताउँछन् ।  

विश्व स्वस्थ्य संगठनका अनुसार, हृदयाघातका बिरामी विकसित मुलुकको तुलनामा गरिब तथा विकासोन्मुख देशका युवामा धेरै देखिन थालेको छ । दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ । अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ ।

हृदयाघातका कारण

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । त्यसकारण हृदयाघात पनि जीवनशैली र खानपानका कारण हुने रोग हो। मुटु रोगको मुख्य कारण सेडेल्टरी (आलस्य) जीवनशैली हो । बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन् । तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सबैभन्दा ठूलो कारकका रूपमा लिइन्छ। कारणहरूलाई यसरी हेर्न सकिन्छः

चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग

चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ । चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा ओममुर्ति अनिल बताउँछन् । 

उच्च रक्तचाप

सामान्य तथा मानव शरिरको रक्तचाप १२०/८० mmhg  हुनुपर्छ । व्यक्तिको शारीरिक अवस्था व्यवहार अनुसार १३९/९९ mmhg लाई सामान्य मानिस पनि सो भन्दामाथि रक्तचाप बढ्नु उच्च रक्तचाप हो । उच्च रक्तचाप  हृदयाघातको अर्को कारण हो । समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नुपरिरहेको चिकित्सकहरूको भनाइ छ । उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत पुर्‍याउँछ र त्यो प्रक्रिया बढ्दै जाँदा रगतको प्रवाह बन्द हुने र मुटुमा समस्या आउने हुन्छ ।

मधुमेह

हृदयाघातको अर्को कारण मधुमेह पनि हो । शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो । मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ । नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ।

मुटुरोग विशेषज्ञका अनुसार , कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए । उनका अनुसार, तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ। जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ र मुटु रिग देखिन्छ।

तनाव

तनाव लिने धेरै सोच्ने बानीले  रक्तचाप बढाउनुको साथ्सी  मुटुको चाल बढाउँछ र अनियंत्रित बनाउन सक्दछ । जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ।

व्यायामको कमी

हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो । शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ । दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानिसलाई मोटो बनाउँछ । मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो । त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ । जसका कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्छ ।

पर्सनालिटी- ए

पछिल्लो समयम पर्सनालिटी- ए भएका व्यक्तिमा मुटुरोगको सम्भावना बढी हुने कुरा अध्ययनबाट देखिन आएको छ । सधै प्रथम हुन चाहने, पहिलो हुन खोज्ने व्यक्तिहरूमा धेरै सोच्ने, आवेगमा आइरहने तथा तनाब लिने कारणले रक्त प्रवाह बढ्ने र हारलाई सहजै स्वीकारन नसक्ने हुदा मुटुको समस्या देखा पर्न जान्छ ।

लक्षण

हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ । छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौँ चीजले थिचेर असह्य पीडा भएको जस्तो महसुस हुने गर्छ । यसका साथै पेटको माथिल्लो भाग, पिठ्यूँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्छ । हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ । यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन्।

हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ। हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ। हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाइ छ।

बच्ने उपाय

मुटुरोग बाट बच्नका लागि सबैभन्दा पहिले जीवनशैलीलाई सुधार्नु पर्छ। स्वस्थ खाना खाने, नियमित रुपमा योग, ध्यान साधान गर्ने, शारीरिक रूपमा संलग्न भइ पसिना आउने गरी खेलकुद गर्ने । युवाहरू धूमपान मध्यपानबाट टाढा राखी सृजनात्मक कार्यमा सरिक बनाउने। अत्यधिक चिल्लो, पिरो, अमिलो तथा पत्रु खानाको प्रयोगलाई कम गर्ने , नियमित रूपमा बल्ड प्रेसर चेक गर्ने, मधुमेहको जाँच गर्ने तथा मुटु रोग सम्बन्धि शंका लागेको खण्डमा चिकित्सकसँग परामर्श लिने । 

निष्कर्ष

संसारभरि मृत्युको प्रमुख कारण रहकेको मुटुरोग नेपालको प्रमुख १० मृत्युको कारण सम्बन्धि एक रोग हो। पछिल्लो समयमा युवा पुष्तामा धेरै देखिन थालेको मुटु रोगको प्रमुख कारण अस्वस्थ र सेडेल्टरी (आलस्य) जीवनशैली हो। धूमपान तथा मध्यपान सेवन निरुत्साहित गर्ने, नियमित ध्यान ,योगा, शारीरिक क्रियाकलाप र अभ्यास गर्ने तथा खेलकुद गर्ने गरेको खण्डमा हृदय रोगबाट वचन सकिन्छ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...