इलाम जिल्लाको दक्षिणी भेग हो, चुलाचुली गाउँपालिका । यस क्षेत्रको सिमाना झापाको दमक, केर्खाजस्ता पुराना सहरहरूसँग जोडिएको छ । भौगोलिक हिसाबले इलामको अन्य क्षेत्रको तुलनामा सहज भए पनि विकासको हिसाबले निक्कै पछि परेको छ । इलाम भन्ने बित्तिकै डाँडाकाँडा चियाबगानको सपना देख्नेहरूको लागि यो क्षेत्रले इलामले हरेक हिसाबले विकासको लागि आखा चिम्लेको हो कि भन्ने महसुस गराउछ ।
कुनै बेला उठान क्षेत्र घोषणा, कहिले जग्गा सट्टाभर्ना, कहिले जनयुद्धसँगै शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी सबैको अभाव झेल्दैझेल्दै हुर्केको यहाँको प्रायः मान्छेको सपना कि त लाहुर कि त वैदेशिक रोजगारी हुन्थ्यो । ती मध्येका एक हुन् हेम कुमार जबेगु । मध्यम परिवारमा हुर्किएका उनी सानैदेखि लाहुर जाने सपना देख्थे ।
त्यो बेला हामी गाउँबाट लाहुरे हुने सपना देख्ने धेरै थियौँ । लाहुरको लागि ट्रेनिङ भनेको बिहानबेलुका ७-८ किलोमिटर कुद्नु, पुसअप र बाँसमा झुण्डिनु बाहेक अरू थिएन । तेरो ज्यान लाहुरे हुने खालको छ भनेर अरूले भन्थे । फेरि आफ्नो निधार ठूलो त भाग्यमानी छस् भन्ने अरूकै कुराले मलाई पनि हो कि जस्तो लाग्यो र झन् हौसिएर आर्मी इन्डिया आर्मी भिड्न गको थिए । पास हुँदै गुम्पाडसम्म पुगे, अन्त्यमा खै के भयो मा फालिए, म अभागी पो छु कि के हो जस्तो लागेको थियो त्यो बेला । उनी आफ्नो बाल्यकाल देखिको लाहुरे बन्ने सपना छुटेको अनुभव यसरी सुनाउछन् ।
लाहुरे बन्ने सपनाले उनको पढाइ छुटायो । बुवाआमाको खस्कदो उमेरसँगै खस्कदो घरको आर्थिक स्थितिले आफ्नो जिम्मेवारी थपिएको महसुस गरेर उनले बिहे गरे र रोजगारीको सिलसिलामा लागे मलेसिया । करिबकरिब ५/६ वर्षको मलेसिया बसेको क्रममा धेरै उतारचढाब भोगे उनले । कम्पनीको हेपाहा प्रवृति, काम सकेर नआएको तलब, घरपरिवारसँग बिग्रेको सम्बन्धले उसलाई डिप्रेसनमा पुर्यायो । धेरै साथीभाइको हौसला र सहयोग सँगै अझै पनि केही जिन्दगी बाँकी छ भन्ने आसले फर्क्याएर ल्यायो नेपाल उनलाई ।
नेपाल आएर पहिले त मलाई सम्हालिन केही समय लाग्यो, यतिकै बस्नु हुन्न है भनेर साथीहरूसँग कुरा हुन थाल्यो तब मैले हर्राबर्रा बेचेँ । जुन हाम्रो क्षेत्रमा जताततै फालाफाल पाइन्छ । म गाउँबाट हर्राबर्रा भेलाएर दमकमा लगेर बेच्थे । त्यही हर्राबर्रा इण्डिया लगेरपछि खोकीको औषधिको रूपमा नेपाल फर्किन्थ्यो । अचम्म छ है ! उनी आफ्नो व्यवसायको पहिलो अनुभवको बारे यसरी सुनाउछन्, व्यवसायको क्रममा आफूले जे खाेजिन्छ त्यही मात्र देखिन्छ जस्तो भयाे । व्यापारको क्रममा दैनिकी सानोतिनो व्यापारव्यवसाय गर्ने मान्छेहरूसँगको भेटघाटमा उनले च्याउ खेतीको बारे सुने । त्यसबारे आफूलाई अझै कौतुहलता जागेपछि केही व्यवसायीहरूकाे अनुभव सुन्दै स्वाध्ययन गरेर उनले च्याउ खेती शुरू गरे ।
गाउँमा च्याउ आतंक थियो त्यो बेला । बिखालु च्याउको कारणले मान्छे मरेको समाचारहरू प्रशस्त रूपमा मिडियामा बज्थ्यो त्यसले गर्दा मान्छेहरूले मलाई खुब उडाउथे । नहुने काम किन गरेको ? मान्छे मर्छ यसको च्याउले सम्म भनेको सुने अरूबाट मलाई पनि अलिअलि डर त थियो तर व्यवसाय पनि गर्नु थियो । मैले अरूको कुरा भन्दा पनि मेरो व्यवसाय रोजे त्यो बेला । उनी थोरै मुस्कुराउँछन्, उनले च्याउ खेती शुरू गरेको करिब एक वर्षपछि इलाम ज्ञानकेन्द्रको आयोजनामा सम्पन्न भएको ७ दिनको व्यावसायिक रूपमा च्याउ खेती तालिममा उनी सहभागी भए ।त्यही तालिम उनको लागि कोसेढुंगा साबित भयो ।
तालिम लिएपछि उनलाई च्याउ खेतीबारे अझै विस्तृत रूपमा जानकारी भयो । च्याउलाई चाहिने तापक्रम, उत्पादनका लागि चाहिने कच्चापदार्थ कसरी तयार गर्ने सबै कुरासँगै बजारीकरणको पनि थोरै जानकारी पाए । सबैकुरा सुनेपढे जतिको सजिलो हुँदैन व्यवहारमा ल्याउन । उत्पादन त भयो, त्यसलाई बेच्नको लागि समस्या आयो ।जहाँ समस्या त्यहाँ समाधान भने जस्तै उनी च्याउकाे पोको पारेर मान्छेको घरघरमा पुर्याउथे । कसैले किन्थे, कसैले किन्दैनथे । 'बिके पनि नबिके पनि मेरो काम मेरो प्रोडक्टबारे मान्छेलाई बुझाउनु थियो, सुनाउनु थियो', उनी भन्छन् ।
२०७२ सालबाट व्यावसायिक रूपमा च्याउखेती शुरू गरेका उनले आजको दिनसम्म व्यवसायमा धेरै उतारचडाब भोगेको छन् । स्थानीय सरकार बनेपछि गाउँका धेरै युवाहरू गाउँमै केही गर्नुपर्छ भनेर बाहिरबाट फर्केको देखेर उनी खुसी हुन्छन् । स्थानीय सरकारले पनि केही गर्छु भन्ने युवाहरूको लागि कृषिमूलक वा अन्य विभिन्न सिपमूलक तालिमको आयोजना गरिदिए । सँगै स्थानीय स्तरको उत्पादनलाई बजारीकरणमा अलिकति चासो दिए अझ रामो हुने उनी बताउछन् ।
थोरै लगानीबाट शुरू गरेको च्याउ खेती शुरू गरेको उनले अहिले मासिक ७० हजार आम्दानी गर्छन ।उनी भन्छन्, 'च्याउबाट घाटा हुँदैन, मौसमको कारणले हो च्याउ बिग्रने । धेरै तातो भयो भने बिग्रन्छ तसर्थ तापक्रम नाप्नलाई थर्मामिटर प्रयोग गर्नु पर्छ । २२-२३ डिग्री तापक्रम ठिक्क हुन्छ, च्याउको लागि । तापक्रम बढेको बेलामा जमिन र छाना चिस्याउनु पर्छ । फेरि यसको लागि २४ सै घण्टा खटिनु पनि पर्दैन । यसबाट बचेको समयमा हामी अन्य काम पनि गर्न सक्छौँ ।' च्याउ सँगसँगै उनी मौसमी तरकारी खेतीसँगै गाउँघरमा हुने विभिन्न सामाजिक कार्यक्रममा पनि संलग्न हुन् भ्याउछन् ।
स्थानीय तथा राष्ट्रियस्तरको च्याउ खेती सम्बन्धी तालिममा समेत सहभागीता जना आएको उनी यदि स्थानीय सरकारबाट स्थानीय स्तरमा नै च्याउको महत्व बुझाउन सकियो र ठूलो उद्योगसँग सम्झौता गर्न सकियो भने हाम्रो कुनैपनि उत्पादन खेरो जादैन भन्ने बताउछ ।
अहिले उनीसँग नमुना कृषि फार्म स्थापना सहयोग कार्यक्रम अन्तर्गतको कृषि विकास निर्देशनालय प्रदेश न. १ विराटनगरको सहयोगमा तयार भएको तीनवटा र आफ्नै पुराना ३ वटा टनेल छ । जुन एउटा टनेलमा उनी २ हजार सेलेण्डर लगाउँछन् । एउटाबाट उनी हरेक महिना १ लाखसम्मको च्याउ उत्पादन गर्छन् । जसबाट उनले आफूसँगै केही युवाहरूको लागि पनि रोजगारीको बाटो खोलिदिएको छन् ।
कुनैबेला लाहुरे सपना देख्ने उनी समयसँग बहकिँदै कहिले मलेसिया कहिले कता हुँदै अहिले गाउँको सफल कृषकको रूपमा परिचित छन् । यदि आँट छ र मन छ भने सबैतिर सम्भावना देखिन्छ । उनी थप्छन्, 'विदेशमा हामी कामदार मात्रै हुन्छौँ, यहाँ म आफैँ मालिक हो । म खुसी छु । म आफ्नो परिवारसँग छु, आफ्नै देशमा छु ।
नयाँ व्यवसाय गर्नेहरूलाई जहिले अरूको सफलता असफलतासँग आफूलाई दाँज्छन, त्यो गलत हो । तपाईंको सफलता असफलता तपाईंको हातमा छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...