भर्ती लाग्दा सिपाहीले जे सपथ खाएका हुन्छन् ‘म जे गर्छु देशका लागि सत्य र निष्ठाका साथ गर्नेछु’ सायद देशको व्यवस्था पनि त्यस्तै निस्पक्ष र सत्य हुँदो हो त भर्खरै सम्पन्न ‘थ्री नेसन्स कप फुटबल प्रतियोगिता’ खेलमा आफ्नो देशको लागि उनको नाममा पनि १÷२ गोल हुने थिए, या भनौँ तीन करोड नेपालीसगैँ मुलुकको झण्डा बोकेर विजय उत्सव मनाइरहेका हुने थिए ।
उसो त उसलाई पनि विपक्षीको पोलमा नेपालको जीतको गोल हुँदै गर्दा दर्शकसँगै खुशीको हाँसो छोडेर रमाउन÷चिच्याउन मन नभएको कहाँ हो र ? अझ भनौँ आफैँ मैदानमा उत्रिएर गोल गर्न मन थियोे होला, देशको नाममा, माटोको नाममा ।अफसोँच उसले रंगशाला खेलमैदानमा उत्रिएर खेल खेल्नु त परै जावोस् , रंगशालासम्म आएर आफ्नो देशको खेल हेर्ने सौभाग्य समेत पाएनन् । उनले देशको खेल हेरे, आफ्नो समकालीनहरुको खेल त जरुर हेरे तर ठुलो रंगशालाको प्याराफिटबाट होइन, आफ्नो ठुलो मनको प्याराफिटबाट ट्याबको सानो स्कृनमा देशको खेल हेरे, आफुसँगै खेल्ने आफ्नो संगीहरुको खेल हेरे । यो भन्दा लाचार र पिडादायी समय के हुनसक्छ देशको लागि गोल गर्छु भनेर दशकौँदेखि पसिना बगाइरहेका एक खेलाडीको लागि ।
तस्वीरः गोल नेपाल
नेपाली टिमले 'थ्री नेसन्स कप फुटबल प्रतियोगिता' को ट्रफी उचालिरहँदा उनी खुशी त थिए , तैपनि खाफैँ मैदानमा उत्रिई खेल खेलेर जित्नु जति खुसी कहाँ मिल्छ र ? नेपाली टिममा खेल्ने सपना र मोहले उनलाई केन्द्रसम्म घिसारेर ल्यायो अझैपनि घिस्रिनै रहेका छन् ।सुदुर पूर्वको सुर्योदय इलाममा जन्मेका उनी वाल्यवस्था देखिनै फुटबलमा आफ्नो भविष्यको रङ्ग खोजिरहेका छन् ।एक समय पूर्वको इलाम पाँचथर झापा लगायत इण्डियाको मिरिक, दार्जिलिङ, सिक्किमसम्म ’खैरे’ नामले परिचित थिए उनी । त्यहि नामलाइ अझै उचाई दिन २०६७ सालमा उनी सपनाको घुम्ति र जंघार तर्दै ३७५५ किलोमिटर गोलाई काट्दै काठमाण्डौँ छिरे । यहाँ उनले अखिल नेपाल फुटबल संघ(एन्फा)मा आबद्द भई २ वर्ष खेल खेले। तर ’ए’ डिभिजन खेल खेल्न नपाइने छाँट बुझेपछि उनी सपनालाई झुत्रो झोलामा कोचाएर फेरि पूर्वै फर्किए ।
मङ्गोलियन अनुहार अनि राई समुदाय भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ ? हो अवस्यनै पल्टन । निम्न वर्गीय परिवारमा हुर्केको उनलाई परिवारको अनि सुखद भविष्यको दबाब पक्कै थियो । र त फूटबलमै जीवनको रङ्ग भर्ने चाहनालाई कुल्चिएर ब्रिटिस गोर्खा पल्टनमा २ पटकसम्म सपनाको बलि दिने असफल प्रयास गरिरहे । ब्रिटिस गोर्खाले उसको जनताको निन्द्राको सुरक्षा दिन उनको अनिदोलाई काबिलियत सम्झेन । तर २०७० सालमा भारतले भने उसको जवानीमा आँखा लगाई छाडे र गेट पासको खुसी थमाई दिए । छातिको साहस नपाएर सिमाहीन अग्लिन सक्ने स्वाभिमानको उचाई नपाएर इण्डिया सरकारको कुरा पढ्ने चेतनाको परिक्षा दिएर अनि बल्ल पाएका थिए गेट पास उनले । तर देशकै लागि फुटबल खेल्छु, देशको लागि गोल गर्छु भन्ने मोहले उनलाई त्यो गेट पासले धेरै समय रोक्न सकेन । परिवारसँगै खुसी छु भन्ने भ्रम सायद उनमा थियो, र त यति हुँदा सम्म पनि फूटबल खेल्न भने छाडेका थिएनन् उनले । फलस्वरुप आज पनि निरन्तर फुटबल नै खेलिरहेका छन् उनी त्यो पनि आफ्नै देशमा । इण्डिया लाहुरको गेटपास त्यागिसकेपछि इण्डियाकै लागि ’सिक्किम युनाइटेड, सिक्किम–इण्डिया’ टिमबाट फुटबल भने खेल्न सुरु गरे । कहिले इण्डियाको पाल्जोर स्टेडियम त कहिले पूर्वी नेपालको खेलमैदानहरुमा आफूलाई बलसँगै कुदाउनु उनको दैनिकी जस्तै भएको थियो ।
'नेपाल कप २०७१'मा आयोजक टिम फिक्कलको लागि खेलेका उनले शानदार खेल प्रस्तुत गरे । त्यस समयताका पूर्वाञ्चल कोच जितु साहले उनको खेल मन पराएपछि उनले पूर्वाञ्चल पुलिसको लागि २ वटा खेल खेले । ०७१ ले उनको जीवनमा केहि आशा लिएर आएको बताउँछन् उनी । भन्छन्ः 'पुलिसमा भर्ती नभई पूर्वाञ्चल पुलिसको लागि खेल्न पाएँ अनि ए यता चाहिँ रहेछ है स्कोप, यता चाहिँ खेल्न पाइने रहेछ जस्तो लाग्यो अनि प्रहरी जवान भएँ ।’ तर, अफसोँच भर्ती भइसकेपछि भने सोँचे जसरी खेल्न नपाएको अनुभव सुनाउँछन्ः 'भर्ती भएपछि ६ महिना प्रहरी ट्रेनिङमा बसेँ पास आउट भएपछि मेरो दरबन्दी माहारजगञ्ज,प्रहरी एकेडेमी काठमाण्डौँमा पर्यो, अनि यता आएर ड्युटी गर्न थालेँ ।' अरु खेलाडी खेलमैदानमा प्राक्टिस गरिरहेको समय उनी भने ड्युटी गरिरहेका हुन्थे । खेलमैदान वरिपरि अरुको प्राक्टिस हेर्दै उनले २ वर्ष ड्युटी गरे । यो २ वर्ष उनकोलागि २ युग कटाउनु सरह भयो । अब हेरेर मात्र बसिरहन नसक्ने आफ्नो स्थितिलाई बुझेर उनले कमाण्डर(मेजर) लाई भनेर प्राक्टिसको समय मिलाई मागे तर भन्ने बित्तिकै सबै हुने भए अर्को ६ महिना उनी अल्मलिनु पर्ने थिएन ।
हुन त खेलप्रेमीको लागि सबै खेल आफैँमा सुन्दर लाग्दो हो के प्रिय,के अप्रिय ? तर आफु कुन खेलको लागि सम्बन्धित हो त्यसैमा हरप्रहर बिताउन पाउनु जति खुसी अन्य खेलमा कहाँ हुन्थ्यो, सायद उनलाई पनि त्यस्तै भयो । भन्छन्ः 'पहिले देखिनै फुटबल खेलेको, जुडो नखेल्ने भन्दा भन्दै पनि ६ महिना त जुडो खेल्न बाध्य भएँ । ठिकै छ आफ्नै डिफेनसिपको लागि भनेर सिकेँ अनि बल्ल सकेपछि चाहिँ प्राक्टिसमा छिर्न पाएँ ।’ प्राक्टिसमा त छिरे उनी, तर टिममा भने अझै छिर्न पाएका थिएनन्। विहानको समय प्राक्टिसमा हुन्थे अनि दिउँसोको समय ड्युटी यसरी उनले अर्को १ वर्ष आयु व्यतित गरे । कुनै–कुनै म्याच हुँदा उनलाई टिममा त लग्थ्यो तर ‘वैकल्पिक’ खेलाडीको रुपमा बसेर खेलमैदानमा निस्कनै नपाई दर्शक मात्रै बनेर फर्कुनु पर्दाको पीडा सम्झँदा मात्रै पनि मन अमिलो भएको कुरा उनी सुनाउँछन् ।
यसरी प्राक्टिसमै फुटबल खेलेर चित्त बुझाइरहेका उनको खेल टिम कोच जुमानु राइको नजरमा पर्यो तब भने बल्ल ‘हेटौडा कप’मा डेभ्यू गर्ने मौका पाए । २०७६ सालको अन्त्यतिर डेभ्यू खेलमै फाइनल सम्म पुगे । यतिबेला उनको मुहारमा सन्तुष्टिको एक धर्सो मधुरो मुस्कान देखिन्थ्यो । उनको खेल जीवनमा भर्खरै प्रकाश पर्दै थियो । मुर्झाइसकेका सपनाले पालुवा फेर्न खोज्दै थियो । खेल सकिएको १ हप्ता नबित्दै कोरोना कहर चल्यो, विश्व आक्रान्त बनेको थियो । देशसँगै उनको खेल जीवन लकडाउनमा पर्यो । तर उनको खेलप्रतिको मोहलाई लकडाउनमा पार्न सायदै कुनै कहर थियो। त्यसैले त गाउँमा गएर गाउँकै मैदानमा एक्लै भए पनि खेल्न भने छाडेनन् । यसरी फेरि १ वर्ष उनको खेल जीवन पछाडि धकेलियो ।देशमा कोरोनाको त्रास उस्तै छ, ज्यान गुमाउने र संक्रमितको संख्या दिनानुदिन गन्ति क्रममा उकालो चढिनैरहेको छ । सोसियल मिडिया र पत्रपत्रिकामा कोरोनाको नयाँ लहर पढिनै रहेकाछौँ । तथापी पनि अब भने मानिसहरु मास्क,सेनिटाइजर जस्ता सुरक्षा साधनले कोरोना प्रतिकार गर्दै दैनिक जिवन सामान्य बनाउन लडिरहेका छन् । अन्यझैँ उनी पनि प्राक्टिसमा फर्किसकेका छन् । तर यो तितोमिठो अनुभव साट्दै गर्दा भने उनी १५ दिनको बेड रेस्टमा छन् ।
तस्वीरः गोल नेपाल
लकडाउनपछिको खेल ‘विराट गोल्ड कप’ र ‘पोखरा कप’को लागि तयारी गर्दै गर्दाको समय टाउकोमा चोट लागेर २ मिनेट खेल मैदानमा बेहोस भएका उनी सेटमा जान नसकेको पिडा सुनाउँछन् भन्छन्ः ‘कत्ति संघर्ष गरेको छु यहाँसम्म आउनलाई पनि, अब खेल्ने बेला यि इन्ज्यूर ! खै केले साथ नदेको हो–हो ब्याडलक हो कि के भन्नु–भन्नु !’ यति भनेर उनले पिडा भरिएको लामो स्वास तान्छन् र फेरि थप्छन्ः ‘राष्ट्रिय टिममा खेल्ने सपना छ । खेलाडीले उत्कृष्ट अनुशासित खेल प्रदर्शन गर्न,शारिरिक र मानसिक दुवै रुपले स्वस्थ्य हुन जरुरी छ । अनि सबै भन्दा ठुलो कुरो मेहनत हुन पर्यो । तर मेहनत अनुसार चान्स चाहिँ पाउनु पर्छ भन्ने लाग्छ ।’ यसरी आफ्नो सुनौलो बाल्यवस्था देखि २८ औँ युवावस्था सम्म आइपुग्दा पनि एउटै मात्र सपना देख्ने प्रखर खेलाडी हुन्, नेपाल प्रहरी जवान साजन राई । बिरानो सहरमा पहिलो पटक पुगेका यायावरझैँ आफ्नै इच्छाहरुको भीडमा कहिले हराउँदै कहिले भेटिँदै उनी अझै पनि नेस्नल फुटबल टिममा खेल्न पाउने आशाको खेल खेलिनै रहेका छन् ।
नेपाल पुलिस क्लवको जर्सि नम्बर ४४ बाट खेल्ने प्रखर खेलाडी साजन राइ के साँच्चिकै राष्ट्रिय टिमबाट खेल्नको लागि असक्षम नै छन् त ? के राष्ट्रिय फुटबल टिम पहुँचवालाहरुको लागि मात्रै हो त ?
तस्वीरः गोल नेपाल
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...