गिटारिस्ट सञ्जीव बराइलीलाई स्टुडियोबाट निस्किँदा एकदमै नमज्जा लागिरहेको थियो । ठूलो स्टुडियोभित्र, ठूलो हेडफोन लगाएर, आँखा बन्द गरेर, गितारका निर्जीव तारहरूमा आफ्ना औलाहरू कुदेर मनको धुन भर्ने चाहना भखरै पूरा गरेर निस्केर पनि जति खुसी मिल्नुपर्ने उनलाई त्यति खुसी महसुस गरिरहेका थिएनन् ।

खुसी छु कि दुःखीको दोसाँधमा उभिएर अब मुहारमा कस्तो आभा बोकी हिँड्नु पर्ने अनुभूति को हिसाब लगाउँदै एकछिन टोलाइरहे उनी । आखिर के चीज थियो जो मेरै आशा मैले नै भेट्न सकिन ? त्यो के बिना पारिश्रमिक खाली हात नै थियो त ? कि अब फेरि रुम फर्कदा पनि १५ किलो मिटर रित्तो गोजी हिँड्न पर्ने भयो भन्ने ?

त्यसो त उनका त्यस्ता धेरै भोगाइहरू छन् जहाँ बिना पारिश्रमिक गितार बजाएका थिए । कतिले त कार्यक्रममा बजाउन बोलाएर त्यतिकै कार्यक्रम हेराएर फर्काएको अनुभव पनि छन् ।



१९/२० वर्ष अघि झापा, बिर्तामोडमा भएको एउटा घटना अझैसम्म उनको मानसपटलमा ताजै छ । गाउँमा ठूलो कन्सर्ट भएको थियो । राष्ट्रस्तरको कलाकारहरू बोलाइएका थिए । आयोजकले 'ल भाइहरूले पनि गाइदिन पर्यो भने ।' एक महिना लगाएर उनीहरूको ब्याण्डले एउटा गीत तयार गरे । कार्यक्रमको दिन सबै कलाकारहरूले गाए । तर उत्साह र जोशका साथ तयार भएका उनीहरूको पालो आएन । आयोजकलाई बुझ्दा राष्ट्रिय कलाकारलाई गाउन त समय पुगेको छैन तिमीहरू नगाउ भनेर पठाइ दिए । त्यो घटनाले उनलाई पहिलोपल्ट आफ्नो हैसियतको बारेमा अनुभूत भयो । आफ्नो हालतले बिझायो । र त्यसैदिन उनले आफू राष्ट्रिय कलाकार बन्ने अठोट नै गरे ।

यी अठोट बाहेक उनका रित्ता गोजीले उनलाई सपनासँग रित्ताे गराएन बरू बलियो बनायो । जमिनसँग जोडिने बनायो। स्टुडियोमा गितार बजाउँदा यति पारिश्रमिक दिन्छ भन्ने धेरैबाट सुनेको भएर हो कि ? आशा त त्यतिबेला चलेको रेट नै देला भन्ने त थिएन उनलाई तर गाडी भाडा त देला भन्ने लागेको थियो । 'गोजीमा पैसा थिएन, जाँदा हिँडेर गएको थिए अनि आउँदा चैँ पैसा दिन्छ होला अनि गाडी चडेर आउँछु सोचेको थिए तर ।' उनी हाँसोसँगै आफ्नो विगत धमिल्याउन खोज्छन् । उनी फर्कन त फर्के तर हिँड्दै नै । पारिश्रमिकको रूपमा 'धन्यवाद' बाहेक अरू कुरा पाएनन्।' यी बाहेक उनको संघर्षका कथाहरू कति छन् कति तर त्यस्तै केही चीज उनको लागि उर्जा बन्यो । फलस्वरूप आज व्यस्त गितारिस्ट बनेका छन् ।

त्यसो त उनी कुशल संगीत संयोजक र संगीतकार पनि हुन् ।  उनले आजसम्म २० हजार बढी गीतहरूमा आफ्नो गीतारको जादु भरिसकेका छन् । १ हजार बढी गीतहरू अरेन्ज गरिसकेका छन् । तथापि गर्न अझै धेरै बाकीँ रहेको कुरामा स्पष्ट छन् । उनको संगीतमा कृपा अनप्लग्डमा कृष्मा अबिगैलको स्वरमा रहेको 'मेरी आमा' बोलको गीत अहिलेको पुस्ताको जनजिब्रोमा झुण्डिएकै छ ।



तर एउटा पूर्ण संगीत बन्न यी सबैको आ-आफ्नै अस्तित्व र धर्म हुन्छ । र यिनीहरूको सम्बन्ध पारस्परिक हुने भएकोले उनी आफूलाई गितारिस्ट, अरेन्जर, संगीतकार भन्नु भन्दा पनि  संगीतको इमान्दार 'साधक' भन्न रुचाउँछन् ।

पूर्ख्यौली घर भोजपुर छाडेर उनको परिवार झापा बिर्तामोड बसाइँ सर्दा उनी ६ महिनाको मात्र थियो । त्यहीँ उनको बाल्यकाल बित्यो । एकदिन उनी यसै घुम्न हिँडिरहेको बेला उनको साथी किरण रसाइली घरको बार्दलीमा बसेर गीतार बजाइ रहेको थियो । गीतारको त्यो धुन सुनेर उ त्यसै लठ्ठ बने । आफूले पनि बजाउने चाहना व्यक्त गरेपछि साथीले गीतार दिएको थियो । तर उनले गीतारमा साथीले जसरी आफ्ना हातका औलाहरू दगुराउन सकेनन् । पहिलोपटक गीतार छुँदा एकदमै रमाइलो र खुसी त थिए उनी साथ-साथै दुःखी पनि भए ।



वयस्क वा युवा उमेरमा भन्दा पनि बाल्यवस्थामा घटेका कुनै कुनै घटनाहरूले बालचेतमा निकै मजाले डेरा बनाएर बस्दो हो । गितार बजाउने रहरले उनलाई यसरी कस्यो कि उसलाई पीडा हुन थाल्यो । त्यो रहरको बन्धन अब गितार बजाएरै मात्र टुट्नेवाला थियो । घरमा अनेक बाहाना गरेर गितार सिक्ने वातावरण मिलाइ मागे । अभावकै बीच पनि उनको परिवारले उसको चाहना पूरा गर्न कुनै कसुर छाडेनन् । उनको गितार प्रतिको लगाव देखेर उनको बुबाले पनि उनलाई गितारिस्ट नै बन्न पर्ने सल्लाह दिन्थे ।



२०६३ सालमा काठमाडाैँ छिर्दा सोचेको थिएन उनले गितार बजाएरै आफ्नो लागि स्टुडियो खोल्छु, लागेको थिएन उनलाई । आमा, बाबालाई काठमाडाैँ लिएर आफ्नै घरमा राख्छु । तर यो सबै सम्भव तब बन्यो जब उनले गितारलाई नै पूरै आयु जिउने प्रण गरे । मान्छेलाई कुनै-कुनै कुरा गर्न भगवानले नै साथ दिएको हुन्छ तर गितार बजाउन मिहेनत नै गर्नु पर्ने कुरा बताउँदै उनी भन्छन्, 'गितार बजाउन अथाह मिहेनत, धैर्य र तपस्या चाहिन्छ । यो गड गिफ्टेड हुँदैन।' उनले जबदेखि गlतार लाई मन पराए । माया गर्न थाले तब देखिनै उनी गितारदेखि अलगिएको वा टाढा रहेर एक दिन नबजाएको त्यस्तो दिन याद छैन उनलाई । कहिलेकहीँ त गितार च्यापेरै सुतेका रातहरू पनि छन् । कहिले दुःखले घाटीँ अठ्याएको बेला, कहिले खुसीले बुरुक-बुरुक उफारेको बेला त कहिले एक्लोपनको अन्धकारले चेप्टाएको बेला यसरी हरेक आभासहरू उनले गितारसँग साटेका छन् । यस कारण पनि उनी सबै विधाको संगीतमा गितारको फिल भर्न औधी रुचाउँछन् ।



'रोयल अलबर्ट हल' यूके जहाँ नेपालका पहिलो टोलीले प्रस्तुति दिएका थिए । त्यसमध्ये गितारिस्टमा उनी पनि एक थिए जसले आफ्नो प्रस्तुति दिएका थिए । त्यहाँ जानुअघि उनलाई त्यही स्टुडियो जहाँ उनलाई पारिश्रमिक स्वरूप धन्यवाद दिइएको थियो त्यहाँबाट गितार बजाउनकै लागि कल नआएको पनि होइन । यसपटक उनले मैले यति पारिश्रमिक लिन्छु भने पछि उताबाट फोन कट भएको थियो । यतिबेला उनको आवाजमा सन्तुष्टिको भाव प्रष्ट महसुस हुन्थ्यो ।

आजभोलि गितारिस्ट बराइली सोही स्टुडियोको बाटो भएर धेरै गन्तव्य हिँडिरहेका हुन्छन् । आफ्नै ठाउँमा त्यही आयोजकले आयोजना गरेको कार्यक्रममा कन्सर्ट गर्न पनि पुगिरहेकै हुन्छन् । र समय फेरिएको छ । र यो समयसँगै उसलाई हेरिने नजर पनि ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

पवित्र राई

लेखकबाट थप...

सम्बन्धित समाचार