आज ‘सिथि नखः’ अर्थात् उपत्यकाबासीको परम्परागत पानी दिवस । संयुक्त राष्ट्रसंघले मार्च २२ लाई विश्व पानी दिवस मनाउन थालेको मात्रै २८ वर्ष हुँदैछ । कति वर्षअघि सिथि नखः शुरू भयो यसको कुनै ज्ञात इतिहास छैन । जे होस् कहिले जेठको अन्त्यतिर त कहिले असारको शुरूमा आउने यो दिनमा उपत्यकाबासीले ढुङ्गेधारा, पोखरी, इनार लगायतका पानीका स्रोतहरूको सरसफाई तथा मर्मत सम्भार गर्ने गर्छन् । आज पनि उपत्यकाबासीले पानीका स्रोतहरू सरसफाई गर्दै सिथि नखः मनाएका छन् । 


आक्लोहिटी सरसफाई गरिदैँ



५४० वर्ष अघि निर्माण गरिएको आक्लोहिटीमा ६० सालसम्म आलोक हिटीमा सुख्खा र वर्ष दुवै मौसममा पानी आउँथ्यो । आक्लोहिटी ६९ सालबाट सुक्न थालेको थियो । ढुङ्गेधारा अभियन्ता शुशील श्रेष्ठले आलोकहिटीको आगा (अन्डरग्राउण्ड रिजर्भ) को २ इन्च तलबाट पानीलाई निकास दिँदै आलोकहिटीलाई पुनर्जीवित बनाएका थिए । तर यो दीर्घकालीन समाधान भने थिएन । 


आक्लोहिटीको पानी जाने निकास पोखरी



एकातिर घरघरको बोरिङ्गका कारण हिउँदमा पानीको सतह हिटीको मुहान भन्दा तल पुग्थ्यो । अर्कातिर वर्षामा पानीको सतह बढ्दा आगाबाट दुई इन्च घटाएर पानीको निकास दिँदा धारामा पानीको फोर्स यति बढ्यो कि पानी थाप्न नै सकस पर्यो । तर यसपाली यो धारामा छिट्टै पानी आएको छ । वर्षा शुरूमात्रै भएको छ, तर अहिले नै यो हिटीका पाँच धाराबाट प्रति २४ घण्टा पाँच लाख लिटर पानी आइरहेको छ । 


मंगलहिटी


उपत्यकाको हिटीमा अधिकांश पानी झर्ने टुँटीमा मकरको मुख हुन्छ । मकर गंगाको वहान हो भने पानीका सबै स्रोतहरूलाई गंगाकै रूपमा लिने गरिन्छ । गंगा शिवजीको शिखरबाट बहने मान्यताका कारण हिटीमा शिवको मूर्तिपनि राखिएको हुन्छ, जल अर्पण गर्नको लागि विष्णु, सूर्य र गणेशका मुर्तिहरू पनि हुन्छन् । हिटी सभ्यता यहाँको संस्कृतिसँग पनि अभुतपूर्ण रूपमा जोडिएको छ । उपत्यकाको सभ्यतालाई हिटी सभ्यता भन्नु सायद अनुपयुक्त नहोला । हिटी सभ्यता, समृद्धि, धर्म र संस्कृतिको बिम्व मात्र थिएन, ल्हुहिटी आफैँमा एउटा ‘पब्लिक स्फेयर्स’ पनि थियो ।


सरसफाई गरिदैँ बगलामुखीस्थित क्वन्तीहिटी परिसर 


कुनै समय गर्मीमा चिसो र जाडोमा तातो पानी आउने पाटन दरवार स्क्वायर्सको मंगलहिटी परिसरमा सरसफाई गरिँदै । कुनै दिन दक्षिणी ललितपुर तिरबाट ल्याइएका पाटनका पोखरीहरू भर्ने राजकुला नै पाटनका ढुङ्गेधाराहरूको मुख्य स्रोत थियो । यो मंगलहिटी अंशुबर्माका छोरीका छोरा भारवीले बनाएका हुन् ।  लिच्छवी–मल्लकालीन ढुङ्गेधारा निर्माण राज्यको वास्तुकला, शिल्पकला, प्रविधि लगायत समृद्धिको मानक पनि थियो । यसको निर्माण ठूलो शान र सौकतको विषय थियो । ‘जलदान महादान’ भन्ने हेतुले पनि शासक तथा ठूलाबडा ढुङ्गेधारा निर्माणमा अभिप्रेरित हुने गर्थे ।


मंगलहिटी सरसफाई गरिदैँ



उपत्यकाको पानीको अर्को प्रमुख स्रोत भनेको भूमिगत जलस्रोत हो । त्यसमा पनि उपत्यकाको अधिकांश ढुङ्गेधारा जहाँ मुल त्यही नै निर्माण गरिएका थिएनन् । ती मुलभन्दा केही वरपर थिए । अलिक सहज र निचो ठाँउमा ढुङ्गेधारा बनाइएको पाइन्छ । मुलबाट ढुङ्गेधारासम्म पानी पुर्याउने पनि उपत्यकाबासीसँग विशिष्ट रैथाने प्रविधि थियो । 



पाटनको लुहिटी–अर्थात् सुन्धारामा परिसरमा सरसफाई गरिँदै


लुहिटीमा भएका तिनै धारामा पित्तलका सुनौला टुँटी त छन् । तर एक थोपा पनि पानी छैन । राम्रो वर्षात् हुँदा असार–साउनदेखि दुई–तीन महिना पानी आउने यो धारामा भने यसपाली अझै पानी आएको छैन । ४० साल अघि भने त्यहाँ बाह्रैमास पानी आउँथ्यो । जब दुई सय मिटर पर रहेको पाटन औद्योगिक क्षेत्र भित्र डिप बोरिङ गरियो, तब लुहिटी मृत धारामा परिणत भयो ।


मंगलहिटी


हिटीको सबैभन्दा सशक्त पक्ष भनेको त्यसको मौलिक र अनुपम प्रविधि नै हो । हिटीको बाहिर देखिने वास्तु जत्तिको सुन्दर छ, जमिनमुनिको पानी प्रवाह गर्ने, नाली, डुँड, आगा (आक्युफायर वा अन्डरग्राउण्ड ट्याङ्क) तथा अटल (पानी छान्ने ठूला घ्याम्पा)को व्यवस्थापन आफैँमा कम रहस्यपूर्ण भने छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार