केही परका आफन्तको सहयोगमा सोनुले खाल्डो खनेकी थिइन् र बा–आमाको शव खेतमा गाडेकी थिइन् । किनकी शव जलाएमा भाइरस फैलन्छ भनेर गाउँलेहरुले जलाउन दिएका थिएनन् ।
-सौरव शर्मा
नयाँ दिल्लीबाट ५२० किमी पर उनाओ जिल्लाको अजरायल केडा गाउँका वीरेन्द्र कुमारले उनको मृत छोरोको सद्गति गर्नको साटो शव गंगाको किनारामा गाडिदिए ।
‘१८ वर्षे मेरो छोरा अरुण कुमार १० वर्षको उमेरदेखि पक्षधातबाट पीडित थियो । जब उ रोगले थलियो, निजी अस्पतालले भर्ना लिन मानेन ।’ आफ्नै गाउँको झुप्रो अघि ५४ वर्षे बाबुले सुनाए, ‘त्यसैले हामीले उसको उपचार स्थानिय डाक्डरसँग गर्यौ, त्यसको पनि उपचार खर्च महिनाको २००० भारु लाग्थ्यो । यति गर्दा–गर्दैपनि यही मे ९मा छोरोले घरमै अन्तिम श्वास लियो ।’
कुमारको परिवारको मासिक आम्दानी ७,००० भारु मात्रै छ, त्यसैले छोरोको सद्गति गर्न उनीसँग पैसा थिएन । ‘हाम्रो मुख्य पेशा भनेको खेतीकिसानी हो, अलिअलि भएको पैसा छोरीको विहेमा खर्च भयो । हामी ऋणमा डुबेका छौं । त्यसमाथि हामी दलित हौं, अब तपाईं नै सोच्नु हामी कति गरिब छौं’, उनले सुनाए ।
दलित समुदायलाई अछुतको रुपमा लिने गरिन्छ । भारतीय जात व्यवस्थाको सबैभन्दा पुछारमा राखिएको यो समुदायलाई शताब्दीऔंदेखि संरचनात्मक रूपमै उत्पीडनमा पारिएको छ । ‘मेरो धर्म अनुसार मृतकलाई जलाउनुपर्छ, गाड्न हुन्न । तर गरिबीकै कारण मैले छोरोलाई गाडे । सद्गतिको लागि कम्तीमा १५ हज्जार लाग्छ, मसँग पैसा थिएन ।’ उनले सुनाए, ‘मैले १३ दिनको दिन छर–छिमेक बोलाएर खाना खुवाएर चोख्याउन पनि सकिन । एकदुई जना मात्र भेला भयौँ । यसले मलाई भित्रैदेखि पोलिरहेको छ ।’
कुमारका अनुसार उनले इष्टमित्र तथा छर–छिमेकबाट सर–सापट पनि लिन पाएनन्, किनकी सबैजना कोरोना भाइरस लकडाउनका कारण यस्तै नियतिबाट गुज्रिरहेका छन् ।
जब अप्रिलमा भारत दोस्रो चरणको कोभिड–१९को डरलाग्दो संक्रमणबाट गुज्रियो, उत्तरी राज्य उत्तर प्रदेश र बिहारमा गंगाको पानीमा सयौं शवहरू तैरिरहेको देखिएको थियो । त्यसैगरी गंगा किनारको बालुवामा आधा छोपिएका सामूहिक चिहानहरू पनि त्यत्तिकै देखिन्थे । ती शवहरूलाई गेरु वस्त्रले बेरिएको थियो ।
कोभिडमा दाहसंस्कार खर्च सकियो
उत्तर प्रदेशको कानपुर नजिकै बिथुरका पूजारी राकेस कुमार उपाध्यायका अनुसार महामारीमा दाहसंस्कार खर्च आकासिएको छ । सद्गति गंगा किनारामा गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार दाहसंस्कार गर्न आवश्यक दाउरा तथा अन्य सामाग्रीको अचानक अभाव भएको उपाध्यायले बताए ।
‘महामारी अघि चार क्विन्टल दाउराको २५०० भारु पर्थ्या । अहिले दाम दोब्बरले बढेको छ ।’ पूजारीले बताए, ‘सामान्यतया एक जनाको लागि ५५००को दाउरा लाग्छ । अन्य सर–सामाग्रीमा १५०० जान्छ । शव शववाहन वा टयाक्टरमा ल्याउन अर्को एक हज्जार खर्च हुन्छ । त्यसैले अहिले दाहसंस्कार गर्न मात्रै ८००० भारु खर्च हुन्छ । मार्चमा जम्मा पाँच हजारले पुग्थ्यो’, पुजारीले सुनाए ।
गंगा किनारामा पालुवामा आधा छोपिएका कोभिड–१९ संक्रमितका शव । फोटोः रोयटर्स
गंगा नदीमा तैरिरहेका तथा बालुवामा छोपिएका शवका तस्वीरहरू बाहिरिएपछि कति जिल्ला प्रशासनहरूले कतिपय ठाउँमा कोभिड–१९ बाट मृत्यु हुनेको लागि शववाहन, दाउरा तथा दाहसंकारको खर्च ब्यहोर्ने बताए ।
त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले राज्यका अधिकारीहरूलाई नै सम्मानपुर्वक दाहसंकार गराउन निर्देशन दिएका थिए । ‘धार्मिक परम्परा अनुरूपपनि शव नदीमा मिल्काउन मिल्दैन’ भन्दै यदि त्यो गरेमा जरिमाना गरिने चुनौति पनि आदित्यनाथले दिएका थिए ।
तर दाहसंस्कार गर्न लाग्ने खर्च अरू पनि छन् । पूजारी उपाध्याय भन्छन्, ‘अन्य खर्चमा पूजारी खर्च पनि हो, चिता तयार गर्ने तथा जलाउनेको शुल्क सरकारले निर्धारण गरेको छैन । गच्छे अनुसार मानिसले स्वविवेकले दिने गरेका छन् । उपाध्याय अनुसार विपन्नहरूले पैसाकै अभावमा नदीमा शव बगाइदिने वा बालुवामा पुर्ने काम गरिरहेका छन् । ‘कानपुरदेखि गाजीपुरसम्मनै गंगाको बगरमा शवहरू गाडिएका छन्’, उनी भन्छन्, ‘एकै घण्टामा बालुवामा खाल्टो खन्न सकिन्छ ।’
श्रीमानको शव जलाउने दाउरा भएन
गाजीपुरको गाहमर गाउँको गंगा किनारको नर्वघाटको बरको बोटमा एउटा ब्यानर टाङ्गिएको छ । ‘कसैले पनि शव नदीमा नमिल्काओस्, प्रति क्विल्टन दाउराको ६५० दरले दिइनेछ भने आर्थिक रूपमा कमजोर परिवारको दाहसंस्कार खर्च प्रशासनले ब्यहोर्ने छ’, ब्यानरमा लेखिएको छ ।
बिहारसँग सीमाना जोडिएको यो जिल्लामा ३२ वर्षिय कविता देवि २४, अप्रिलमा कोभिड–१९को संक्रमणका कारण मरेका उनको श्रीमानको शोकमा छिन् । ‘हामीले श्रीमानको शव गंगामा बगाइदियौं, किनकि हामीसँग दाउरा थिएन’ तीन वर्षे बच्चाकी आमा कविता देविले सुनाइन्, ‘हामीसँग पैसा थिएन, एक दिन पहिला मरेका जेठाजुको दाहसंस्कारमै सबै सकाएका थियौं ।’
कविताका अनुसार, उनका देवर, ससुरा र अन्य आफन्त मिलेर शवलाई नदी किनारमा लगेर बगाइदिने निर्णय लिन्छन्। उनका मृत श्रीमान डकर्मी हुन् भने पाँच जनाको परिवारको लालनपालन सबै उनकै काँधमा थियो ।
गंगामा तैरिरहेका कोभिड–१९संक्रमितका शव । फोटोः टाइम्स अफ इन्डिया
गाउँ परिषदका पूर्व प्रमुखले बिरामी परेर गाउँमा दुई दर्जन भन्दा बढी मरेको बताएका छन् । ‘आर्थिक अभावका कारण धेरैले नदीमा शव ल्याएर बगाएका छन्’, उनले भनेका छन् ।
गाउँले नै दाहसंकार गर्न मानेनन्
बिहारकै अरारिया जिल्लाकी बासिन्दा सोनु कुमारले आफ्ना बा–आमाको शव खेतमा पुरेकी छिन् । किनकी कोभिड–१९ संक्रमण सर्छ भनेर गाउँलेहरू सहयोग गर्न आएनन् । १८ वर्षिया सोनुले मे ३ मा बुवालाई र त्यसको चार दिनपनि कोभिडकै कारण गुमाएकी थिइन् ।
‘हामीले बुवाको उपचारकै क्रममा ऋण काडेका थियौँ त्यसैले पनि आमाको उपचार गर्न सकेनौँ’ उनले फोनमा बताएकी छन्, ‘दुःखको कुरा अन्त्यष्टि गर्न हामीलाई गाउँको कसैले सहयोग गरेन, शवदहन गर्ने कुरामा पनि विरोध गरे।’
केही परका आफन्तको सहयोगमा सोनुले खाल्डो खनेकी थिइन् र बा–आमाको शव खेतमा गाडेकी थिइन् । किनकी शव जलाएमा भाइरस फैलन्छ भनेर गाउँलेहरूले जलाउन दिएका थिएनन् । ‘सरकारबाट केही क्षतिपूर्ति त मिलेको छ, यसले क्रृण तिर्न सहयोग पुग्छ । तर मेरा बा–आमा अब फर्कने छैनन् । मरेपछि पनि हामीले तिनको सद्गति गर्न पाएनौं, यो एकदमै पीडादायक छ ’, सोनु भन्छिन् । अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...