एकातिर इतिहासदेखि नै साँस्कृतिक अतिक्रमण भोगिरहेको समुदायले मुक्कुमलुङ, तिम्बुङ, मिलुङ्ग, फक्ताङलुङ्ग जस्ता पहिचान र नामहरू गुमाइसकेको छ । अर्कोतिर बचेको खुवालुङमाथि सत्ताको कुदृष्टि कायमै छ । यस्तो बेला यही नश्लीय सत्ताले कहीँ दूर भूगोलको मध्यम नेताको नामका स्थानीय भूगोल र संरचनाकै नामकरण गर्छ भने यो आक्रोश जायज छ ।
शनिबार सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्यो । यद्यपि बजेटका यावत् गुण–अवगुण र अन्य प्रसंगभन्दा ताप्लेजुङ्गको सुकेटार विमानस्थलको नयाँ नामकरणले हलचल भने ल्यायाे । बजेट प्रस्तुतका दौरान अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थल नेकपा (एमाले)का स्वर्गीय नेता रवीन्द्र अधिकारीको नाममा परिवर्तन गरिने जानकारी दिए । त्यस्तै तेह्रथुमको निर्माणाधीन चुहानडाँडा विमानस्थलको नाम पनि स्वर्गीय व्यापारी आङछिरिङ शेर्पा नामकरण गरिने घाेषणा समेत अर्थमन्त्रीले गरेका थिए ।
१५ फागुन २०७५ मा एयर डायनास्टी हेलिकप्टर दुर्घटना हुँदा अधिकारी, शेर्पा सहित सात जनाको निधन भएको थियो । पोखराका एमाले नेता अधिकारी लगायतको टोली स्थानीय मुकुङ्गलुङ्ग अर्थात् पञ्चायत कालपछिको पाथीभरा भ्रमणमा निस्केका थिए । त्यही उनीहरूकाे दुर्घटनामा निधन भएपछि विमानस्थलकाे नाम अधिकारीकाे नामबाट राख्न खाेजिएकाे बुझ्न सकिन्छ ।
दुर्घटनामा परी निधन हुने यी दुई व्यक्तिहरूको पूर्वको लिम्बुवान भूमिसँग ‘गोरु बेचेको साइनो’सम्म पनि छैन । सरकारले एकाएक लिम्बुवान भूमिकाे पहिचान र स्वत्वमाथि प्रहार गरेसँगै सामाजिक सञ्जालमा भने तीव्र आक्राेश देखिएकाे छ । कवि चन्द्रवीर तुम्बापोले फेसबुकमा कटाक्ष गर्दै आफ्नो आक्रोश यसरी पोखेका छन्ः "ताप्लेजुङ सुकेटार विमानस्थलको नामकरण स्व. रवीन्द्र अधिकारी विमानस्थल ? कसरी ? उहाँको दुःखद देहान्त ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको थियो । जसको कारणले गर्दा विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल हुनुपर्ने ? बुझ्न सकेको छैन । यो त मैले खनजोत गर्दै अवाद गर्दै ल्याएको मेरो गैह्रीखेतको लालपुर्जा तपाईंको नाममा भए जस्तै सरासर काइते कुरा भयो महाशय ।"
कवि चन्द्रवीरलाई मात्र होइन, यो आदिम थातथलोका स्थानीय लिम्बु आदिवासी सबैको यस विषयले चित्त दुखाएको छ। यसलाई सबैले पहिचान माथिको सिलसिलेवर आक्रमणको रूपमा हेरिरहेका छन् । र, यो आक्रोश कोरोना कहरबीचको लकडाउनमा अहिले सामाजिक सञ्जालमा निक्कै मुखरताका साथ पोखिएको छ । लिम्बुवान क्षेत्रकै प्रतिनिधि तथा मुलुकका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्गबोले लेखेका छन्, "स्व. रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पाको सम्मानको लागि सरकारले निर्माण गर्ने अरू कुनै नयाँ पुर्वाधारमा वा उहाँहरूको आफ्नै भौगोलिक क्षेत्रको महत्वपूर्ण आयोजनामा नामकरण गरोस् । तर आफ्नै इतिहास, पहिचान, रैथाने संस्कृतिमा आधारित ताप्लेजुङको सुकेटार विमानस्थल (जो सञ्चालनमा छ) र चुहानडाडा विमानस्थलको नाम जे छ त्यही रहन दिनुपर्छ वा नयाँ नामकरण गर्ने भए स्थानीय सरोकारवालासँगको अन्तरक्रियाको निष्कर्षको आधारमा टुङ्गोमा पुग्नु पर्छ ।"
वर्तमान सरकारद्वारा यस्तो गैरजिम्मेदार अभिव्यक्ति कसरी आयो, ठ्याक्कै भन्न सकिने आधार त छैन तर सत्ताको नश्लीय चरित्रसँग चिर–परिचित वर्ग र समुदायले यस प्रकरणलाई एकल नश्लीय हेपाहा प्रवृत्तिको निरन्तरतासँग जोडेर हेरिरहेका छन् । त्यसैले त पूर्व मन्त्री आङ्गबोले थप लेखेका छन्, "इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञान माथि राज्यको हस्तक्षेप र हेपाहा प्रवृत्तिले शासक, शासन व्यवस्था र प्रणालीमाथि नै आक्रोश, अविश्वास, घृणा पैदा गराउँछ र भिडन्ततिर लैजान्छ ।" आङ्गबोले बजेट मार्फत भएको यो गम्भीर कमजोरीलाई सरकारले समयमै सच्याउन चेतावनी समेत दिएका छन् ।
यसै सिलसिलामा अर्का कवि सुनिल आङ्गबोले राज्यको ढुकुटीबाट हेलिकप्टर चडेर ताप्लेजुङ आउँदा दुर्घटना भइ मृत्यु भएका रवीन्द्र अधिकारीकाे नाममा भैराखेकाे विमानस्थल बनाउने कुरा असम्भव भएको प्रतिक्रिया दिएका छन् । त्यसैगरि कवि मोक्तान थेवाले यसलाई सत्ताको उन्मादका रूपमा अर्थ्याएका छन् । त्यस्तै स्वर्गीय अधिकारी र ताप्लेजुङबीच कुनै सम्बन्ध नभएको जगजाहेर रहेकाे बताउँदै कलाकार रञ्जिता लिम्बू लेख्छिन्, "रविन्द्र अधिकारीप्रति हामी ताप्लेजुङवासीको सम्मान छ । तर सुकेटार नामप्रति हामी ताप्लेजुङवासीहरूको गर्व पनि छ । हाम्रो गौरव हो, ऐतिहासिकता हो मेट्न दिइँदैन ! स्थानीय पहिचानको अतिक्रमण स्वीकार्य छैन । ताप्लेजुङको सुकेटारलाई रविन्द्र अधिकारी नामाकरण गर्नु ताप्लेजुङवासीको भावनामा चोट पुर्याउनु हो । रवीन्द्र अधिकारी र सुकेटार विमानस्थलबीच कुनै सम्बन्ध छैन । यो निर्णयबाट सरकार पछि हट्नै पर्छ ।"
त्यसो त यस विषयमा विरोध गर्नेमा स्थानीय लिम्बू समुदाय मात्र छैन । रवीन्द्र अधिकारकाे गृहनगर पोखरा बस्ने लेखक सरस्वती प्रतिक्षा समेतलाई यो कुराले आश्चर्यचकित पारेको छ । उनले लेखेकी छन्, "ताप्लेजुङ सुकेटार विमानस्थलको नामकरण स्व. रवीन्द्र अधिकारी विमानस्थल राख्नुभन्दा बरू पोखराको नयाँ विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीको नाममा राख्दा भावनात्मक रूपमा बढी न्यायिक हुन्थ्यो कि ? ...रवीन्द्र दाइको सपना र स्पन्दन त यहीँको माटोको कण–कणमा छ ।"
त्यसैगरि, गायिका एवं लोक भाका अध्येता झुमा लिम्बुले ठट्यौली पारामा व्यङ्ग्य गरेकी छन्, "ताप्लेजुङमा जानीजानी ठोक्की मर्छन्, पुरेतले एक्छिन नजाउ भन्दा पनि । मरेर अमर हुने मन छ ? ताप्लेजुङ जानुस् ठोक्की मर्नुस् ! ठाउँ थुप्रै छ, तिम्रै नाम गर्दिम्ला मायालु ।’
त्यसो त ताप्लेजुङमा दुर्घटना भएर मृत्यु हुनेमा एक्लै मन्त्री रवीन्द्र मात्रै छैनन् । हामीले अघिल्लो दुर्घटनामा अझ दिग्गज पर्यावरणविद् डा. हर्क गुरुङ तथा मन्त्री गोपाल राई लगायतलाई ताप्लेजुङकै धुन्सामा गुमाएका थियौँ ।
व्यावसायिक प्रयोजनका लागि सम्बन्धित ठाउँमा केवलकारको सम्भाव्यता अध्ययनको लागि निस्केको टोली हेलिकप्टर दुर्घटनामा पर्छ । आफ्नो ठाउँसँग कुनै साझो सम्बन्ध नभएको कुनै मूक–अमूक व्यक्तिको मृत्यु हुन्छ र त्यसैको नामबाट आदिम संरचनाको र ठाउँको नामाकरण हुन्छ भने निश्चय नै त्यसको चर्को विरोध हुन्छ । यो निर्णय एकदमै अपरिपक्क रहेकाे भन्दै पारग क्षेत्रीले यो निर्णयलाई हावादारीको संज्ञा दिएका छन् । उनले लेखेका छन्, "पञ्चायत कालमै सञ्चालनमा आएको ताप्लेजुङको सुकेटार विमानस्थल आज आएर ओली सरकारले रवीन्द्र विमानस्थल नामकरण गरेको सुन्दा यो सरकारको हावादारी निर्णय भन्ने लागेको छ । पूर्व पर्यटन मन्त्री पाथीभरा दर्शनमा आउँदा हेलिकप्टर दुर्घटनामा परेर बित्नु भयो । उहाँलाई सम्मान गर्नुपर्छ तर ऐतिहासिक पहिचान बोकेको सुकेटार विमानस्थललाई विस्थापित गर्नु चाहिँ सरकारको शतप्रतिशत गल्ती हो । यसको विरोध सबैले गरौँ। यसको नामकरण तुरुन्तै सच्याइयोस् ।"
त्यसो त ताप्लेजुङ्गमा दुर्घटना भएर मृत्यु हुने रविन्द्र अधिकारी एक्लाे होइनन् । हामीले अघिल्लो दुर्घटनामा अझ दिग्गज पर्यावरणविद् डा. हर्क गुरुङ तथा मन्त्री गोपाल राई लगायतलाई ताप्लेजुङ्गकै धुन्सामा गुमाएका थियौँ । तर तिनको नाममा संरचना बन्ने कुरो कहिल्यै उठेन । विमानस्थलका लागि निःशुल्क जग्गा उपलब्ध गराइदिने त्यहाँका स्थानीय मादेनहरूले कहिल्यै कुनै हिस्सा खोजेनन् । त्यसैले त लेखक तथा प्राध्यापक अमर तुम्याहाङ्ग लेख्छन्, "ताप्लेजुङको विमानस्थलको नामकरण किन ? पहिला हेलिकप्टर दुर्घटनामा मन्त्री गोपाल राई, डा. हर्क गुरुङ लगायतको मृत्यु भएको थियो, ताप्लेजुङ घुन्सामा । उहाँहरूको नाममा त सुकेटार विमानस्थल नामकरण भएको थिएन । त्यो एयर पोर्ट बनाउनलाई भूपू मन्त्री विष्णु मादेन र उनका वंशबन्धूले त्यो जग्गा दिएका हुन् । नामकरण गर्ने भए उनको नाममा गर । भूपू मन्त्री चन्द्रप्रसाद पालुङवा हवाइजहाज दुर्घटनामा नै वितेका थिए । एयरपोर्टको नामकरण गर्ने भए उनको नाममा गर । अहिले स्वर्गीय रविन्द्र अधिकारी कै नाममा यस विमानस्थलको नामकरण किन ? हामीलाई स्वीकार्य छैन ।’
प्राध्यापक अमर तुम्याहाङ्गसँग रवीन्द्र अधिकारीप्रति पूर्वाग्रह नरहेकाे बताउँदै अगाडि भन्छन्, "म आफू विद्यार्थी राजनीति गर्दा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष रवीन्द्र अधिकारी कै नेतृत्वमा रहेर काम गरिएको, उहाँको सिर्जनशील, सक्षम र सपनेदार व्यक्तित्व भएका अग्रगामी नेताका हिसाबले उहाँमा मेरो सधैँ सम्मान त छँदैछ ।’ तर जहाँसम्म विमानस्थलको नयाँ नामकरणको प्रसङ्ग छ त्याे आपत्तिजनक छ ।"
यस प्रसङ्गले सरकार स्थानीय आदिवासीलाई चिढ्याउँदै तिनीहरूसँग मुठभेडतर्फ अघि बढेको छ भन्ने पनि कतिपयले आरोप लगाएका छन् । लेखक, सम्पादक तथा सञ्चारकर्मी देवेन्द्र खापुङ्गले लेखेका छन्, "जग्गादाता र निर्माणमा सहयोग पुर्याउने मादेनहरूले आफ्नो नाम खोजेनन् । र, सुकेटार विमानस्थलको नाममा परिचित थियो । तर, अहिले आएर रविन्द्र अधिकारी विमानस्थल नामकरण गर्नु भनेको युद्ध चाहनु हो । सर्सर्ती हेर्दा सरकार जनतासँग युद्ध चाहन्छ र युद्धग्रस्त भएपछि मुलुक कसैलाई सुम्पनु हो । मैले यसरी बुझेको छु ।’
त्यसो त स्थानीय समुदाय पाथीभरा भ्रमण टोलीसँग शुरू देखि नै रुष्ट थियो । किनकि सत्ताको आडमा स्थानीयसँग कुनै पनि परामर्श, सहकार्य र समझदारीविना उनीहरूले केवलकारको अवधारणा अघि सारेका थिए । एकातिर परियोजनाले रूखहरू मास्दै वातावरण विनाश गर्ने थियो भने अर्कोतिर स्थानीय समुदायको आयोजनामा कुनै हिस्सा थिएन, अपनत्व थिएन ।
त्यसो त स्थानीयहरू नामकरणको नश्लीय र औपनिवेशिक राजनीतिसँग भलीभाँती परिचित छन् । ताप्लेजुङ र पाँचथर बीचको तिङबुङ पोखरीलाई विष्णु पोखरी बनाइयो । तिङबुङको नाम मात्रै फेरिएन, योगेश भट्टराई पर्यटनमन्त्री हुँदा सरकारी बजेट निकासा गरेर पोखरीको सौन्दर्यलाई नै मास्दै छेउमा कंक्रिटको विष्णु मन्दिर समेत बनाइयो । मुक्कुमलुङलाई पञ्चायत कालमा मात्रै पाथीभरा बनाइयो । अनि खस–आर्यको तीर्थस्थलमा रूपान्तरण गरियो । त्यसैले पनि सामाजिक अभियन्ता राम मादेनले अहिलेको प्रसङ्गमा लेखेका छन्, "मुक्कुमलुङ (कथित पाथीभरा) लाई याक्थुङ (लिम्बू) समुदायको आस्थाको स्थल भनेर सारा लिम्बूहरूको चुम्लुङले घोषणा गरिसकेका छन् । लिम्बूलाई नसोधीकन अतिक्रमण गर्न प्रेरित भई गुरुयोजना बनाउन बजेटमा आउनु जातिय सद्भाव खलबल्याउने नियत हो । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।"
पूर्वमा मात्रै यस्ता जनजातिकाे आस्थामाथि नाम र धर्मका नाममा कैयौँ साँस्कृतिक अतिक्रमणहरू भएका छन् । त्यसैले पनि किराँत याक्थुम चुम्लुङ्गकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो लेख्छिन्, "हेप्नुको पनि सीमा हुन्छ नि ! सुकेटार विमान स्थललाई रवीन्द्र अधिकार विमानस्थल रे । के सुन्दै छु । नाराङ्स्याङ्लो । तेह्रथुममा भक्तराज कन्दङ्वा, पान्थरमा पद्यम सुन्दर लावती, ताप्लेजुङमा बिष्णु मादेन. नमुनाको रूपमा नाम लिए कहिले आएन के के सुन्न पाइन्छ । बरू सुकेटारको नाम परिवर्तन गर्नु छ भने मुकुम्लुङ, सिरिजंगा लाल्सोर सेन्दाङहरू राखियोस् । एकल नश्लीयवाद मुर्दावाद ।"
यो अहिलेको नामकरणको विषयसँग एउटा धेरै लामो साँस्कृतिक दमन तथा हेजेमोनी एवं औपनिवेशिक इतिहाससँग जोडिएको छ । त्यसैले पनि कवि एवं सञ्चारकर्मी विमला तुम्खेवा लेख्छिन्, "ताप्लेजुङ सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राखिनु आफैँमा आन्तरिक उपनिवेश हो । बुझ्नलाई यति नै काफी छ । यतिको धेरै स्थानीय जनजातिहरूले भनिरहेछन्, यो ठाउँ उनीहरूको आस्थाको केन्द्रबिन्दु हो र त्यो ठाउँको रैथाने नाम मुकुम्लुङ, सिरिजंगा, लाल्सोर सेन्दाङ हो तर सरकार बुझ्न चाहदैन । कुरा स्पष्ट छ, आफ्नै थाकथलोमा पहिचान हराएर बाँच्नु पर्ने आउने वाला दिनको नमुना ।"
तुम्खेवाको पोस्ट शुभम शर्मा, शान्ता नेपाली तथा अभिनेता दयाहाङ राई लयायतले सेयर गरेका छन् ।
यो नामकरणको विषयमा गैर–लिम्बु समुदाय पनि त्यत्तिकै तातेको देखिन्छ ।
स्पन्दन दिपक खनाल लेख्छन्, "रवीन्द्र अधिकारीको ताप्लेजुङमा दुःखद अवसान भयो त्यो दुःखद थियो । तर, मान्छे जहाँ मर्यो त्यतै उसकाे नाम राखी हिन्ने हो र । रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा एउटा मात्रै ऐतिहासिक स्तम्भ बनाउने हो जसले उसलाई सम्झाई रहोस् । तर, सुकेटार विमानस्थलको नाममा चाहिँ घोर आपत्ति र विरोध छ । लिम्बूवानको माटोलाई तिम्रो खुसीले चलाउने अधिकार छैन । रवीन्द्र अधिकारीप्रति श्रद्धा छ तर सरकारले यो अतिक्रमण र गद्दारी नगरोस् लिम्बूवानको माटो ज्यूँदाहरू बसेको माटो हो बरू मृत्यु हामीलाई प्रिय लाग्छ तर अब अन्याय स्वीकार्य हुने छैन । जुन एकात्मकवादी सत्ताले घोषणा गरेको नाम छ त्यो तत्काल फिर्ता लिन जोडदार अपिल गर्दछु । यदि मेचीनगरमा चिहान खनेको जस्तै बलमिच्याइँ गरेमा सुकेटारमा सरकारको चिहान खनिने कुरामा दुई मत छैन । जय लिम्बुवान ।"
हरेक ठाउँको आफ्नै इतिहास, पहिचान र गौरव हुन्छ चाहे त्यो ठूलो ठाउँ होस् या सानो । सुकेटारको पहिचान र नामकरणको पनि आफ्नै लोकश्रुतिहरू छन् ।
हरेक ठाउँको आफ्नै इतिहास, पहिचान र गौरव हुन्छ चाहे त्यो ठूलो ठाउँ होस् या सानो । सुकेटारको पहिचान र नामकरणको पनि आफ्नै लोकश्रुतिहरू छन् । दिलेन्द्र कुरुङ्गबाङ्ग याक्थुम्बा लेख्छन्, "सुकेटारको पुरानो नाम सुक्या तेल्लक/सुके तेल्लक हो । हावा साह्रै चल्ने, लाग्ने ठाउँ भएकोले याक्थुङ भाषामा सरिःत् केसुःक्पा, सरिःत् सुःक् भनियो। अलि बसेको जग्गा भएकोले सुक्या, सुके तेल्लक नाम रह्यो । खस भाषामा बतासेटार हुन्छ । तर सुक्या तेल्लकलाई सुकेटार बनाएर खसकरण गरिएको थियो । त्यतिले चित्त नबुझेर अब रवीन्द्र अधिकारी नै बनाइ पठाएछ । यसरी नै गाउँ ठाउँ खसकरण वा औपनिवेशिकरणमा पर्दै आयो, पर्दै गएको छ ।" याक्थुम्बाले यस विरुद्ध एकजुट हुनुपर्ने आवाज पनि उठाएका छन्, "सुकेटार विमानस्थलको नाम फेरेर रवीन्द्र अधिकारी बनाइनु नौलो घटना होइन । गोरखाराज्य विस्तार भएदेखि यताको कन्टिन्युटी हो यो । यस्ता त हजारौँ भएका छन् । हामीले क्रिया भएपछि प्रतिकृया दिने प्रतिरक्षात्मक खालको नभै आक्रामक (अफेन्सिभ) ढंगले अभियान सञ्चालन गर्न जरुरी छ । यसका लागि औपनिवेशिक नीति बिरुद्ध देशव्यापी सञ्जाल बनाएर जानुपर्छ ।"
त्यतिमात्रै होइन सुकेटारसँग आफ्नै लोककथा पनि रहेको छ । मुन्धुम संस्कृतिविद् अर्जुन माबुहाङका अनुसार, पहिले सुकेटारमा सोक्पा/यति बस्थ्यो । फुङलिङ ८ नाङखोलेङ सेसेम्बुका शेरबहादुर माबोका अनुसार, अदौमा उनका पुर्खा संसाबु/तमोरखोलाबाट आएर सुकेटार आसपास ओढारमा बसेछन् । पाहा हेर्नलाई सिटा बालेछन् । साेक्पाले देखेर आगो तापेछ । कुस्ती खेलेछन् । हारजित नभएपछि सोबु सुप्तेसि/मित लगाएछन् । सोक्पाले आफ्ना लडाकु मित्रलाई डाँफे/मुनाल/साम्दाङ्वा/यामलाक्वा उपहार दिएछन । उपहार पाएका माबोले रमाउँदै पासो/इदाक थापेर डाँफे/मुनाल मारिखान थालेछन् । तर, माहामारी फैलिन थालेपछि उक्त ठाउँ छोडेछन् । सम्भवतः सोक्पाबाट नै सुके हुँदै सुकेटार भयो कि भन्ने उनको तर्क छ ।
जे होस् माबुहाङले पनि नयाँ नाम प्रकरणलाई दह्रो व्यङ्ग्य गरेका छन्, "अब एयर होस्टेसलाई सुकेटार विमानस्थललाई रवLन्द्र अधिकारी विमानस्थल भन्न कर लाग्यो ।’
एकातिर इतिहासदेखि नै साँस्कृतिक अतिक्रमण भोगिरहेको समुदायले मुक्कुमलुङ, तिम्बुङ, मिलुङ्ग, फक्ताङलुङ्ग जस्ता पहिचान र नामहरू गुमाइसकेको छ । अर्कोतिर बचेको खुवालुङमाथि सत्ताको कुदृष्टि कायमै छ । यस्तो बेला यही नश्लीय सत्ताले कहीँ दूर भूगोलको मध्यम नेताको नामका स्थानीय भूगोल र संरचनाकै नामकरण गर्छ भने यो आक्रोश जायज छ । लेखक वियस राईले पनि आक्रोस पोखेका छन्, "तिम्बुङ, मुक्कुमलुङ, सुकेटार ! ???"
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...