‘कोई अपसाना जिसे अन्जाम तक लाना न हो मुमकिन
उसे एक खुबसूरत मोड देकर छोडना अच्छा ।’
‘किन लेख्न छाडिस् ?’ भन्ने समकालीन प्रश्नको जवाफमा लुधुयानवीको यही पंक्ति दोहोर्याउँदै साहित्यका गल्लीहरूमा हिँडिरहँदा अकस्मात एउटा कविताले मेरो बाटाे काट्यो । र, त्यो शुभसाइत ठहरियो ।
आपाका साथीहरू
आफूलाइ कम्युनिष्ट भन्थे
म सोच्थेँ-
‘कम्युनिष्ट भनेका
मेरा आपाका
साथीहरू हुन् ।'
(अबोध, नोरी कवितासङ्ग्रह- ईश्वर थोकर)
थोकरको यस कविताले मलाई यसप्रकार दुख्ने गरी चिमोट्यो कि म यही पंक्ति गुनगुनाउँदै हाँसिरहन थालेँ । अन्ततः मैले यो निर्णय लिए कि ‘म ईश्वर थोकरलाई भेट्छु ।’
आजभोलि लेखन-पठन संस्कृति मात्रै होइन लेखन-पठनका साँध-सीमा (जातीय, लिङ्गीय, वर्गीय सीमा आदि)बारे कुराहरू बाक्लिएका छन् । यसका फाइदा-बेफाइदा दुवै छन् । फाइदा-सचेतता बढेको छ । बेफाइदा-सचेतता बरालिँदा सिर्जनशीलता चोइटिन पुगेको छ । ‘लेखक सचेत हुनुपर्दछ तर अत्यधिक सचेतताले गुदी कुरा नदिने पो हो कि ?’, ‘एउटा महिलाबारे एउटा महिलाले नै लेख्नुपर्दछ’ ‘झरीबारे लेख्न झरीमै भिज्नपर्दछ’ लगायतका अत्याधुनिक विमर्शहरू मसँग ठोक्किरहन्छन् । फेरि, यिनै बहस-विमर्शका मध्यान्तरमा मन्टो, कमलेश्वर, भूपी, पारिजात, रिमालका पनि प्रसंग उठ्छन्, जसले उतिबेला यी सीमारेखा बोध गरेनन् या नाघिदिए । तर एउटा कुरा पक्का हो- दूराग्रहपूर्ण धारेहात र गुट-उपगुटले धुम्मिरहेको समकालीन साहित्यिक याममा थोकर उपस्थिति ‘खुल्दो क्षितिज’ हो, शुभसाइत हो ।
हामीले अनामनगर भेट्ने निधो गर्यौँ । आफ्ना प्रकाशित कृतिहरूः नर्स नोरीप्रति समर्पित कविता 'नोरी' कविता सङ्ग्रह, ल्हुइला गोङमा डान्बा (अर्थात् जीवनका पाइला) नामक संस्मरण सङ्ग्रह, जीवनसाथीप्रति समर्पित ‘लीला’ (शृङ्खाल कविताको सङ्ग्रह) एवं प्रकाशोन्मुख कृतिहरू वाला स्वीटर (अर्थात् रातो स्विक्टर), सिरिया, इला, नर्स एवं ईश्वर थोकरप्रति समर्पित कवितासङ्ग्रह (विकेश कविन) सहित गारुदा एण्ड न्यू पोयम्स ओफ एस्त्रल प्लनेस (GARUDA and New Poems of Astral Planes, David B. Austell) लगायतका कृतिहरूसहित मछेउ आइपुगेका प्रिय कवि थोकरलाई मैले मुस्कानले स्वागत गरें ।
थोकरको आफ्नै बहिनी प्लिक्सिप्रति समर्पित किताब 'प्लिक्सि', तामाङ भाषामा प्रकाशित पिङ्गई गजल सङ्ग्रह प्रकाशित भइसकेका थिए । यसैगरी, टुर्हिल्ड’ नामक संस्मरणसङ्ग्रह प्रकाशोन्मुख छ, जसबारे उनी भन्छन्, “मेरो जीवनमा हार्दिकताका साथ जोडिएर आउनुभएका महिलाहरूबारे संस्मरणसङ्ग्रहको नाम ‘टुर्हिल्ड’ राखिदिएँ ।”
विक्रमको २०४४ सम्वतमा सालमा काभ्रेको तिमालमा जन्मिएका अक्कलबहादुर थोकर (ईश्वर थोकर) भक्तपुरमा बस्दछन् । भक्तपुरेहरूसँग संगत गर्दै, भक्तपुरका मठमन्दिर, पाटीहरूमा खेल्दै हुर्केबढेका थोकर विशेषतः छोटा कविता लेख्छन् । उनले आफ्नो बाल्यकाल सम्झदै लेखेका छन्-
छोकः मेरो बाल्यकाल
क्याफे न्यातापोल
सामुन्ने
एउटा बूढो किलामा
स्कूल बस
नआउञ्जेलसम्म
झुन्ड्याइरहन्थेँ– रातो तुम्लेट ।
जब, बस आउँथ्यो
स्कूल बस
खोलेर सुटुक्क सुकुलढोका
र, लगत्ते गुड़थें
म
सिङ्गो बाल्यकाल बोकेर
(प्लिक्सी कवितासङ्ग्रहबाट)
प्लिक्सी कवितासङ्ग्रह
कथाकार तथा समीक्षक दिनमान गुर्मछान यसैले त भन्छन्, “काभ्रेमा जन्मिएर भक्तपुरमा हुर्किएका तामाङ मातृभाषी ईश्वर संस्कृतिका कवि हुन् । भूगोलमा जहाँ बाँचे, त्यही ठाउँलाई माया गरे । त्यसैले भक्तपुर कवितामा जहीँतहीँ झुल्किरहन्छ ।”
यसैगरी, कवि तथा पत्रकार सुन्दर शिरीष भन्छन्, “उसले कविता सुनाउँदै गर्दा मेरो मन भक्तपुरमा रुमल्लिएथ्यो । क्याफे न्यातापोल, पाँचतले मन्दिर र अगाडिको टौमढीको सत्तल । वहा । मान्छे आफ्नो बाल्यकाललाई कसरी वर्णन गर्न सक्छ ? म त्यसपछि निरन्तर उसको कविताको पाठक बनेँ ।”
अमेरिकी कवि डेभिड अस्टेल र सिर्जना शर्माका साथ, विसं २०७१, क्याफे न्यातापोल, भक्तपुर
छोटा कवितामा नवपुस्ताको मोह बढिरहेकै परिदृश्यमा समकालीन कविहरूको भनाइ रहेको छ, ‘आजको मान्छेलाई लामो पढ्न समय नै छैन । यसैले समयले पक्डिरहेको हौँ ।’ तर, थोकर यसो भन्दैनन् । उनका अनुसार कविता अक्षरहरूको थुप्रो मात्रै होइन, सिमित शब्दमा आफूले भन्न खोजेको कुराले पूर्णता पाउँछ भने त्यो नै कविता हो । “लामो-छोटो त शाब्दिक लम्बाइको कुरा न भयो । तर थोरै शब्द खर्चेर आफ्नो कुरालाई प्रष्टाउन भने अभ्यास नै चाहिन्छ”, उनी भन्छन् ।
थोकर कुनै व्यक्ति, घटना, दिनलाई पनि उत्तिकै महत्व दिएर लेखिरहेका हुन्छन् । उनी समयलाई पक्डिरहेका त छन् नै, सँगसँगै आफ्नो विगतको कहालीलाग्दो यथार्तता पनि कविता एवं संस्मरणमार्फत पस्किरहेका छन् । देखेको, सुनेको या पढेको कुरा भन्दा आफूले भोगेको कुरा लेख्नु उनको मौलिक विशेषता हो । उनका अनुसार लेख्नका लागि स्वउपस्थिति अनिवार्य शर्त हो । “मेरो कविता बुझ्नका लागि मेरो जीवन बुझ्नुपर्दछ । म आफैँले भोगेका घटनाहरूमा आधारित भएर कविता, संस्मरण र डायरी लेख्छु,” उनी भन्छन् ।
उनका हरेक कविताको पछाडि कथा छ । ती कथा जुन उनलाई सम्झन मन लाग्दैन । ती कथा जसलाई सम्झदा उनी भक्कानिन्छन् । तिनै भक्कानोहरू उनका कविता हुन् । जीवनको महत्त्वपूर्ण समय कष्टसाथ् मानसिक वार्डमा बिताएका उनी लेखाई र पढाइले नै आफूलाई स्थिर एवं गतिशील बनाएको बताउँछन् । “नयाँ जीवन प्राप्त गर्न लेखन र पठन कोशेढुङ्गा साबित भयो । पढाइलेखाइले जीवन अगाडि बढाउन निकै सहयोग गरीरहेको छ । सायद लेखन पठन नहुँदो हो त मेरो स्वास्थ्य पनि राम्रो हुँदैन थियो होला ।,” उनी भन्छन् ।
कुनै पनि व्यक्ति एवं घटनाको सम्झना उनको डायरीमा भेटिन्छ । निकै संक्षिप्त रूपमा आफ्नै जीवनको संस्मरणलाई काव्यीक चेतसहित कविता लेख्न सक्नु र तामाङ तथा नेपाली भाषा दुवैमा बरोबर लेखिरहन सक्नु थोकरको लोभलाग्दो काव्यिक व्यक्तित्व हो, विशेषता र मौलिकता हो । ‘नोरी पढेर’ शिर्षकमा सुषमा मानन्धर भूमिकामा लेख्छिन्, “अधिकांश कवितामा उनीसंग सम्पर्कमा आएका व्यक्ति र उनीहरूबाट पाएको छाप सपष्टसँग प्रतिबिम्बित हुन्छ । कवितामा उनमा गढेको नेवार संस्कृतिको रङ, अस्पतालको बसाइ- डाक्टर, नर्स तथा त्यहाँका कर्मचारीहरूसितका उनको स्नेह, दोस्रो जीवको संवेदनशीलतालाई बुझ्ने उनको भावुकता, बालसुलभ सोचाइ, उनको मानसिक बिमारी- त्यसको हिनताबोध, उनीभित्रको रुमानीपन अनि यति सबिका अलावा आशावादीपूर्ण जीवनदर्शन पाइन्छन् ।” थोकर पनि भन्छन्, “मेरी गुरुआमा भन्नुहुन्थ्यो, ‘पछाडि फर्केर नहेर्नू ।’ कविता र संस्मरण लेख्न भने मैले पछाडि नफर्की नहुने रहेछ ।” सँगै उनी यो पनि भन्छन्, “संस्मरणमा म मेरो जीवनभरिको ‘ऐय्या’ लेख्न चाहन्छु ।”
कृष्णभूषण बल, पारिजातलाई तामाङ समुदायले ग्रहण गरेन..!
तामाङ साहित्यमा उनी सन्तवीर लामा (ताम्बा काइतेन), बुद्धिमान मोक्तान तामाङ (तामाङ पहिलो लेखक, जिक्तेन तामछ्योइ ग्रन्थ) सन् १९५६०, भाषाविद् अमृत योञ्जन तामाङ लगायतलाई सम्झन्छन् । “तामाङ साहित्यमा गर्नुपर्ने धेरै कामहरू छ, यसैकारण सम्झिनुपर्ने नामहरू थोरै छन् । मलाई यो बताइरहँदा दुःख लाग्दछ कि पिङ्गाई तामाङ साहित्यमा लेखिएको तेस्रो गजल सङ्ग्रह हो ।’ भाषाविद् तामाङले मोक्तानबाट प्रारम्भ भएको तामाङ लेखनको अहिलेको यात्रासम्ममा विभिन्न विधामा २०० भन्दा बढी तामाङ कृतिहरू रहेका बताएका थिए ।
‘तामाङ लेखन मानकीकरण प्रशिक्षण–२०६८’, तामाङ डाजाङका संस्थापक अध्यक्ष इन्द्रकुमार तामाङ, भाषाविद् अमृत योन्जनसँग थोकर
थोकर भाषा पहिचान एवं सभ्यता भएको र भाषा मर्यो भने कुनै पनि जातिको पहिचान र सिंगो सभ्यता नै मर्ने कुरालाई मनन गरेर नै थोकर तामाङ भाषमा पनि बरोबर लेख्दै आइरहेका छन् । उनले यसो भनिरहँदा पंक्तिकार कृष्णभूषण बल, पारिजात जस्ता सर्जकलाई सम्झन्छ, जसले नेपाली साहित्यलाई उचो स्थानमा पुर्याए तर उनीहरूलाई तामाङ साहित्यकारका रूपमा उक्त समुदायले ग्रहण गरेन । यसो हुनुमा तामाङ भाषा वा तामाङ सभ्यतामाथि नलेख्नु नै प्रमुख कारण रहेको बिना तामाङको मत छ । समकालीन कविहरू तामाङकै विषयवस्तुमा लेखिरहेता पनि तामाङ भाषामै चाहिँ लेख्न नसकिरहेको अनुभव पनि थोकरको रहेको छ ।
राष्ट्रको बन्देजीकरणका कारण पनि तामाङ, मगर लगायत अन्य भाषाका साहित्य पातलो भएको जिकिर गर्न पनि उनी छुटाउदैनन् । “तामागं साहित्य उर्वर भएको ०४६ पछी नै हो । आन्दोलनपश्चात या अझ भनौं साठीको दशकपश्चात तामाङ साहित्यमा पहिचान, भाषा भेषभुषा, संस्कृति तथा परम्परा, अधिकार, हकदावी, नारी मुक्तिका आवाज बुलन्दरूपमा आउन थालेको हो ।” काठमाडौँ उपत्यकाका तामंगहरूको भूमि रहेको र राष्ट्रले मासिन्या मतवाली भन्दै लखेटेर आफूहरूलाई दरकिनार गरेको उनी बताउछन् । “तपाईं काठमाडौँ उपत्यकाको वरिपरी घुम्नुस, उपत्यकाको सीमनामा तामाङ दाजुभाई आज पनि भेटिन्छन् । उपत्यकाको छेउछाउमा रक्सी पारेर, भारी बोकेर आज पनि यो समुदायको आफ्नो दैनिकी चलाईरहेकै छन् ।” राजधानीकै सिमाना भएर पनि शिक्षा, रोजगारी, अधिकारको सवालमा उनीहरू पछाडि रहनुमा नीतिनिर्माणकर्ताहरूको कमजोरी रहेको उनी उल्लेख गर्छन् ।
मुकारुङ दाजुभाई, हेमन यात्री, रावत लगायत स्रष्टाहरूले ०६२र०६३ पश्चात राजनीतिकरूपमा भएको परिवर्तनको प्रत्यक्षरअप्रत्यक्ष प्रभाव भोगेको र त्यसलाई साहित्यमा उतार्दा तामाङ साहित्य उर्वर भएको उनी बुझाइ छ । “तर उहाँहरू भन्दा म अलग छु ।”
यसपछि थोकर आफू अलग हुनुको र अक्कलबहादुर तामागं ‘ईश्वर थोकर’ हुनुको कहानी अगाडि सार्छन् । “मानसिक स्वास्थ्य समस्याका कारण बाल्यकालमा म साह्रै सीमान्तकृत भएर बाँचेको थिएँ ।” उनी आफ्नो कथा सुरु गर्छन् ।
‘तामाङ संस्कृति हेर्न तमाल जानू’ भन्ने उक्ति रहेको स्थान ९तेमाल० मा जन्मिएका उनले भक्तपुरमा आफ्नो बालापन बिताएँ । आमाको कम उमेरका कारण जन्मेपश्चात उनले आमा दूध खाएनन् । बुबा पहिलेदेखि भक्तपुरमा बसेर थान्का चित्र लेख्ने गर्दथे । सेन्ट जोन्स स्कुलबाट उनले प्राथमिक शिक्षा लिए । हेडमिस अमृत्यश्वरी दैवज्ञबाट उनले पहिलो अक्षर चिने ।
थोकर ९ वर्षकै थिए, उनको जीवनमा उनले नसोचेको घटना घट्यो । उनले आफूभन्दा २ वर्ष सानी बहिनी प्लेक्सीलाई गुमाएँ । “सँगै खेल्ने, सँगै पढ्न जाने अनि सँगै घुम्न निस्कने मेरो सबैभन्दा निकट प्लिक्सि बितेपछि म घरमा बस्न सकिनँ, खुसी रहन सकिन,” थोकर आफ्नो विगत कोट्टाउछन्, “बहिनीको वियोगमा खुब रोएँ, एक्लो फिल हुने अनि रुँदै हिँड्ने म त, तर । । तर, समाजले मलाई मानसिक वार्डमा पुर्याइदियो ।”
थोकरलाई बुबाआमाले सम्झाउँथे तर, बहिनीको गुमाएको पीडाले उनलाई गहिरो आघात दियो, उनको मनस्थिति सुध्रेन । 'बहिनी हुन्जेलसम्म फिल हुन्थ्यो भने मेरो साथी उही हो । मैले साथी गुमाएँ । अहिलेसम्म पनि साथी छैन,” बोल्दाबोल्दै उनी भक्कानिन्छन् । र, भक्कानिँदै भन्छन्, “तपाईंलाई थाहा छ मैले कहिलेदेखि कविता लेख्न थाले ? बहिनी बितेकै समयदेखि उनले कविता लेख्न थाले नि ।”
र, उनको यही भक्कानो कविता बन्यो ।
दादा, खेल्न नजाने ?
टौमढीको एउटा बार्दलीमा
होमवर्क
सकिसकेपछि
मछेउ आएर
सोध्ने गर्थिन् प्लिक्सी– ‘दादा, खेल्न नजाने ?’
उनी बितेको
वर्षाैंवर्षपछि आज
टौमढी पुग्दा
उनले छाडेर गएका– तेलकासा
मसँगै गाएका– राजमती कुमती
र, उनको प्रार्थना सम्झेँ
पुनः सम्झेँ– ‘दादा, खेल्न नजाने ?
म पहिलोपटक मानसिक वार्डमा बसेको यही ठाउँमा हो ।
बहिनी गुमाएपछि ईश्वरको बाल्यकाल सुखद् रहेन । उनी हरक्षण टोलाउने हुँदै गएँ । तर घटना यति मात्रमा सीमित भएन । जनयुद्धकाल ९०५४र५५०मा उनी थप निराश र एक्लो बन्न पुगे ।
थोकर एघार वर्षको हुँदा
नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ् सुरुवात भएको माओवादी विद्रोहले हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन गराइरहेको थियो भने प्रहरी र सेनाको बर्बरता शहर केन्द्रित ठाउँमा पनि चरममा थियो । “त्यो समय माओवादी भूमिगत भएका थिए । बुबाले कम्युनिस्टलाई ‘सेल्टर’ दिएका थिए । यसैकारण प्रहरी र सेनाका नजरमा बुबा माओवादी ठहरिए । बुबालाई आफ्नै घर असुक्षित भयो । माओवादीलाई सेल्टर दिएकै कारण उहाँ भूमिगत हुनुभयो,” उनी घटनाक्रम अगाडि सार्छन्,” बुबाले महसुस गर्नुभएको डर मैले पनि महसुस गरें । बुबा भूमिगत भएपछि आफूले खाइखेलेको ठाउँ छाडेर आफ्नै थातथलो फर्किनुपर्दा म फेरि चोइटिए ।”
थोकरको ममीबुबा
यसपछि थोकरको जीवनमा दिन हप्तासरह, हप्ता महिनासरह बित्दै गए । निराश एवं उदास हुने, एक्लै बसिरहने, कोहीसँग नबोल्ने उनमा झाँगिदै गयो । आफूजतिको कसैलाई नठान्ने, एकदम चिटिक्क भएर हिँड्ने, धेरै सक्रिय हुन खोज्ने, सुत्दै नसुत्ने, उदास हुनेलगायतका लक्षण उनमा देखा पर्न थाले । यस्ता लक्षण देखिँदा उनी १३ वर्षका मात्र थिए । कक्षा ६ मा पढ्दै थिए । “कसैलाई नसोधी घर बाहिर हिँड्ने, मन्दिर एवं घाटमा गएर सुत्ने चाहिँ गर्न थाले । फिरन्ते भएछु म त”, उनी भन्छन् । परिवारले उनमा समस्या भएको अनुभव गर्यो । तर, आफूलाई केही भएजस्तै ठान्दैनथे उनी । आफूलाई आफ्नो हरेक काम याद हुने उनी बताउँछन् ।
“५८ सालको असार साउनतिर म अस्पताल भर्ना भएँ,” बोल्दाबोल्दै रोकिन्छन् थोकर र हठात् मतर्फ एउटा प्रश्न फ्याक्छन्, “कुन ठाउँ थाहा छ ? । ।यही ठाउँ । यही अनामनगरमा । म पहिलोपटक मानसिक वार्डमा बसेको यही ठाउँमा हो ।” यसो भन्दा उनको दाहिने हात लल्याकलुलुक काप्यो । उनी एकछिन रोकिएँ । रिपोर्टले भन्यो- थोकरलाई मेनिया (एक किसिमको मानसिक रोग) भएको छ । उनी अस्वाभाविक रूपमा जे–जे गरिरहेका थिए, त्यो सबै मेनियाको कारण रहेछ ।
“त्यहाँभित्र के थियो भने ठुलो कम्पाउण्ड थियो । मानसिक वार्डजस्तो पनि नलाग्ने । बाहिर बगैँचा थियो, अनार, सुन्तलाहरू फल्थ्यो । त्यो टिपेर खान्थे म त (हेहे...लामो हाँसो) । भुइँमा पल्टन्थे, मास्तिर हेर्थे । चराहरू आउथे । पुतलीहरू आउथे, तिनलाई समाउन दगुर्थे । कमिलाहरू हिँडिरहेका हुन्थे, तिनलाई हेरीबस्थें ।”, उनी आफ्नो पहिलो तीन महिने मानसिक वार्डलाई सम्झन्छन् ।
मानसिक वार्डमा ईश्वर सबैभन्दा कम उमेरका बिरामी थिए । उनी वार्डभित्रै कविता लेख्थे । नर्सहरूलाई सुनाउँथे । उनीहरू खुसी हुँदै ईश्वरलाई अंकमाल गर्थे । नर्सहरूले नै कविताका किताब ल्याइदिन्थे । कतिपयले डायरीमा केही न केही लेख्न लगाउँथे । उनी कविता लेखिदिन्थे । उनीहरू खुसी हुन्थे ।
उनले नर्स शीर्षकका थुप्रै कविता लेखेका छन्ः
नर्स- एक
उबेला मैले
तिमीलाई
कुन अर्थमा भनेको थिएँ
अहिले
यकिन भएन ।
मानसिक वार्डजस्तो
स्वर्ग मलाई
अरू लागेन ।
नर्स- छ
तिमी भन्थ्यौ-
‘मेरो बारेमा पनि
कविता लेख न ।’
तिमीले त्यसो भन्नुअगावै
तिम्रो नाममा मैले
एकाध कविता लेखिसकेको थिएँ ।
नर्स- आठ
अरूले मलाई भन्दै थिए-
‘पागल,
बहुला,
मगज खुस्केको‘’
अरूले यति भन्दाभन्दै पनि
तिमीले मलाई
उनीहरूकै माझमा प्रेमले अङ्कमाल गर्यौ
र, गर्वसाथ भन्यौ–
‘मेरो प्रिय कवि ।’
घाटमा सुत्दा पनि डर लागेन... ।
उपचार सकेर घर फर्केपश्चात थोकरलाई लागेको थियो, ‘अब म ठिक छु ।’ तर, त्यो अनुभूति उनले गाउँ गएपछि गर्न पाएनन् । उनलाई साथीहरूले ‘पागल’को उपमा दिए । अरूले हरबखत हेपिरहे जस्तै महसुस हुन्थ्यो उनलाई । साथको खाँचो परेको बेला स्कुलका साथीहरू नै टाढिए । एक्लै बेन्चमा बस्नु, टिफिन समयमा खाजा एक्लै खानु, खेल्ने-बोल्ने साथी नहुनुको पीडा एकातर्फ छ, ‘पागलसँग को बस्छ ?’ भन्ने क्लासमेटका तिता वचन उनलाई बिझ्दै गयो । घरबाट स्कुल र स्कुलबाट घर जाने बेला उनले ठूलो चुनौतीको सामना गर्नुपर्थ्याे । जब ईश्वरलाई गाउँमा मान्छेहरूले देख्थे, अनि परैबाट भन्थे, ‘पागल आयो पागल‘ ।’
'सायद आमाको सम्झाई राम्रो नभएको भए अहिलेसम्म के टिक्थेँ र म, सुसाइड गर्थे हुँला । आमाले सहनुपर्छ भन्नुभयो, आमाबाटै बाँच्ने प्रेरणा पाएँ”, उनी भन्छन् ।
कसैले हेपेजस्तो लाग्ने बित्तिकै उनी सुत्नका मन्दिरदेखि घाटसम्म पुग्न थाले । मन्दिरमा सुत्दा आनन्द आउँथ्यो रे उनलाई । घाटमा सुत्दा पनि डर लागेन भन्छन् । यसप्रकार, साथीभाइ र गाउँलेको अपमान उनको निम्ति असह्य र भारी भयो । अन्ततः २० वर्षको उमेरमा उनी फेरि अस्पतालमा भर्ना हुनुपर्यो । त्यही तनाव र पीडाको कारण उनको समस्या बल्झियो ।
थोकर २० वर्षको हुँदा
मेरा हातखुट्टा सिक्रीले बाँधिएको थियो....।
उनी दोस्रोपटक मानसिक वार्डमा भर्ना भए, यो छ महिनाको अस्पताल बसाइ रह्यो । पहिलो बसाइ जस्तो दोस्रो बसाइ रहेन । दोस्रो बसाइको बारेमा उनी खुलेर बताउन सक्दैनन्, कारण त्यहाँ उनलाई चरम शारीरिक यातना दिइयो । “त्यो अस्पताल अलि पुरानो शैलीको रहेछ, पुरानो शैलीकै उपचारपद्धतिले गर्दा मैले मानसिक हेलाहितो र शारीरिक यातना भोग्नुपर्यो । त्यतिबेला नै अहिलेजस्तो मनोविद् भेटेको भए मैले जिन्दगीभर औषधिको बैसाखी टेकेर हिँड्नु पर्दैनथ्यो,’ थोकर गम्भीर हुन्छन् ।
आमाबुबा छोराको उपचार भइरहेको होला भनेर बसे, तर आफूलाई दिनानुदिन यातना दिइएको उनी बताउँछन् । आफूलाई कसैले स्वर्ग देखेका छौं भनेर प्रश्न गरेमा ‘मैले स्वर्ग चाहिँ होइन नर्क चाहिँ देखेको छु’ भन्ने जवाफ दिनसक्ने उनी बताउछन् । “दोस्रोपल्ट बिरामी हुँदा मैले नरक देखें ।”
अस्पतालको नाम भने खुलाएनन् थोकरले । यद्यपी, यस यातनाबाट निकाल्नमा नर्स नोरी, मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटा, डा । प्रदीपमान सिंह सहित अन्य नरसहरूको ठुलो सहयोग रह्यो, उनीहरूप्रति थोकर आज पनि कृतज्ञ छन् ।
मानसिक वार्डको यातना उनले थप बताउन सकेनन् बरू यसबारे सिस्टर नोरी भुजूले ‘आशिर्वाद’ शीर्षकमा संस्मरण लेखेको बताए ।
क. नोरी भुजूले लेखेको संस्मरण
म विसं २०५९ सालमा नर्सिङको पढाइ सकेर बसेको थिएँ । त्यसै सालमा मलाई काठमाडौँको एउटा अस्पतालमा काम गर्ने अवसर मिल्यो । मैले यसअघि ‘मानसिक बिरामीहरू धेरै एग्रेसिभ हुन्छन्’ भन्ने सुनेको थिएँ, देखेको थिइनँ । त्यहाँ पुगेपछि त्यो भ्रम स्वतः हट्यो । त्यहाँ नेपालका वरिष्ठ मनोचिकित्सकहरू काम गर्नुहुन्थ्यो । विसं २०६४ सालतिरको कुरा हो । म सधैँजसो दिउँसोको ड्युटीमा थिएँ । डाक्टरको क्लिनिकबाट फोन आयो, ‘अक्कल नामको बिरामी आउँदै छ, भर्ना गरीदिनुहोला ।’ नभन्दै एक घन्टाको अन्तरालपछि बिरामी आइपुग्यो ।
‘ऊ धेरै एग्रेसिभ छ ।’ डाक्टरले अर्डर गर्नुभयो, ‘सिक्री लगाइदिनू ।’
डाक्टरले अर्डर गरेको औषधि हेरेर म छक्क परेँ । उसलाई यति धेरै औषधि ख्वाइन्थ्यो कि जुन अरू बिरामीले खाएको भए त्यहीँ मर्थे ।
मेरो मनमा अनेक प्रश्नहरू उठ्न थाले र मैले डाक्टरलाई तत्काल सोधिहालेँ, ‘अक्कलको औषधि अलि घटाउन मिल्दैन डाक्टरसाब ?’ उहाँले मतिर फर्केर जवाफ दिनुभयो, ‘औषधि कम गर्यो भने उसको कन्डिसन कन्ट्रोल गर्न गाह्रो हुन्छ ।’
समय बित्दै गयो । उसको स्थिति जस्ताको तस्तै थियो । केही सुधार आएको थिएन । औषधि घट्नुको साटो झन्झन् बढ्दै गयो । औषधिको मात्रा बढेर दिनमा तेत्तीस ट्याब्लेटसम्म पुग्यो । औषधिको प्रभावले गर्दा नै अक्कल अत्यधिक मोटाएको थियो । यो कुरालाई मैले अर्को डा । प्रदीपमान सिंहसामु पनि राखेँ । उहाँले उसको अवस्था हेरेर औषधि घटाइदिनुभयो । पछि यही कुरामा डाक्टर–डाक्टरबीच असमझदारी पैदा भयो । उसलाई अँध्यारो छिँडीभित्रको एउटा बेडमा सिक्री लगाएर राखिएको थियो । ऊ हलचल गर्न सक्ने अवस्थामा थिएन र उसलाई वेलावेलामा त्यहाँका गार्डहरूले शारीरिक यातना पनि दिन्थ्यो । उसको यस्तो जीर्ण अवस्थालाई मूकदर्शक भएर टुलुटुलु हेर्नुको विकल्प मसँग थिएन ।
यति हुँदाहुँदै पनि उसको तकियामुनि एउटा थोत्रो डायरी र कलम सक्रिय देख्थेँ । उसको अवस्थामा अझै सुधार आएको थिएन र डाक्टर आएर भविष्यवाणी नै गर्नुभयो, ‘अब, यो केटो जिन्दगीभरि ठिक हुन सक्दैन ।’ डाक्टरले ‘ठिक हुँदैन’ भनेपछि निराश भएर उसको बुबाले ‘घर नै लान्छु’ भनेर उसलाई त्यहाँबाट लिएर जानुभयो ।
अस्पतालको अगाडि एउटा कलेज थियो । त्यस कलेजमा मातृका देवकोटा स्नातक तहमा सोसिएल वर्क पढ्दै हुनुहुन्थ्यो र हाम्रो अस्पतालमा सोसिएल सर्भिसका लागि उहाँ बारम्बार आउनुहुन्थ्यो । त्यसै क्रममा उहाँले एक दिन अक्कलको हबिगत देख्नुभयो ।
अक्कल घर गएको थाहा पाएपछि उहाँले मलाई उसको बुबाको फोन नम्बर माग्नुभयो, जुन मेरो खिलाफ थियो । पछि उहाँले भन्नुभयो, ‘तपाईंंले उहाँको नम्बर दिएर मलाई सहायता गर्नुस् । म उसका लागि केही गर्न इच्छुक छु ।’ त्यसपछि मैले अक्कलको बुबाको नम्बर उहाँलाई दिएँ र मनमनै प्रार्थना पनि गरेँ, ‘हे ईश्वर । मेरो अक्कललाई बचाइदेऊ ।’
उहाँले अक्कललाई डाँछीस्थित अर्कै अस्पताल सामुदायिक मानसिक स्वास्थ्य सेवा केन्द्रमा भर्ना गरीदिनुभयो र डाक्टर पनि परिवर्तन गराइदिनुभयो । पहिलेको डाक्टरको ठाउँमा अब उसलाई डा । प्रदीपमान सिंहले हेर्न थाल्नुभयो ।
डाँछीमा भर्ना गरेको एक महिनापछि अक्कलको औषधि तीन ट्याब्लेटमा झर्यो र त्यही समयमा त्यहाँबाट डिस्चार्ज भएर ऊ आफ्नो बुबासँगै घर फर्कियो ।
अन्ततः उसले ‘दोस्रो जुनी’ पाएरै छाड्यो ।
केही समयको अन्तरालपछि उसले एकजना नर्सले राखिदिएको ‘ईश्वर थोकर’ नामबाट ‘पिङ्गाई’ र ‘प्लिक्सी’ नामका दुई कृतिहरू लेख्यो, जसलाई पछि प्रकाशनमा ल्यायो ।
‘मैले त्यहाँ धेरै कविताहरू लेखेँ ।’ उसले आफू पहिला बसेको अँध्यारो छिँडीलाई सम्झिएर भन्यो, ‘तीमध्ये केही कवितालाई मात्र प्लिक्सीमा ल्याएँ ।’
उसले अहिलेसम्म जेजति कविता लेख्यो, ती सबै औषधिको बैसाखी टेकेर लेखेको हो ।
अक्कल अहिले यति राम्रो लगनशील कवि भएर जीवनको बाटो अगाडि बढिरहेको छ । मलाई ऊ देख्दा यति गर्व लाग्छ कि म शब्दमा नै वर्णन गर्न सक्दिनँ । मेरो सदैव उसलाई आशीर्वाद छ कि ऊ यसरी नै अगाडि बढिरहून् । कहिल्यै पछाडि फर्केर हेर्न नपरोस्, हार्दिक शुभकामना ।
ख. ‘सिस्टर नोरी भुजूको नाममा’ थोकरले लेखेका छन्ः
१ .
डाक्टरले मलाई आफ्नो कार्यकक्षमा बोलाउनुभयो । मेरा हातखुट्टा सिक्रीले बाँधिएको थियो । ओठ थरथर काँपिरहेको थियो । हिँड्दा कुप्रिएर हिँड्नुपर्थ्यो । सिस्टर नोरी भुजूले डाक्टरसम्म पुर्याउन मलाई सहायता गर्नुभयो । पुगेलगत्तै डाक्टरले मतर्फ फर्केर भन्नुभयो, ‘अक्कल । तिम्रो उपचार सम्भव छैन । तिम्रो बुबा पनि आजभोलि नै आउँदै छन् । घर जाने होइन त अब ?’ डाक्टरकै अगाडि सिस्टर नोरीले भन्नुभएको सुनेँ, ‘डाक्टरसाबले अक्कललाई त्यसो भन्न नहुने थियो ।’
नर्स नोरी भुजूसँग थोकर
२.
अस्पतालबाट डिस्चार्ज भएर आएको केही दिनपछि मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाले सोध्दैखोज्दै मलाई भेट्न भक्तपुरमा आउनुभयो । म पलङमा पल्टिरहेको थिएँ । मलाई औषधिले चारैतिर घेरिरहेको थियो ।
उहाँले बुबालाई भन्नुभयो, ‘दाइ । तपाईंं निराश नहुनुस् । म अक्कलका लागि केही सहायता गर्न चाहन्छु । उसको उपचार सम्भव छ, त्यसैले सोध्दैखोज्दै आएको हुँ ।’
यसअघि, उहाँ र जर्मन नागरीक डा । जर्ज बछुबरले मलाई सोही अस्पतालमा भेटेर ‘पछि भेटौँला’ भनेर छुट्टिनुभएको थियो । सिस्टर नोरीको सहायताबाट मनोसामाजिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाले मलाई सही डाक्टरकहाँ उपचारका लागि लग्नुभयो ।
डा. प्रदीपमान सिंहको नेतृत्वमा उपचार थालेको एक महिनामै मेरो औषधि तेत्तीस ट्याब्लेटबाट तीन ट्याब्लेटमा झरेको थियो र स्वास्थ्यमा पनि धेरै मात्रामा सुधार आएको थियो । एक महिनापछि म डिस्चार्ज भएर बुबासँगै घर गएँ र घर गएको केही वर्षपछि सिस्टर नोरी भुजूले मेरो नाममा ‘आशीर्वाद’ शीर्षकमा एउटा संस्मरण लेख्नुभएछ । कापीमा लेखेको संस्मरण मलाई देखाउनुभयो । (नयाँ पत्रिका)
ग. मानसिक स्वास्थ्य अधिकारकर्मी मातृका देवकोटाको नाममाः
तिमीलाई भेटेपछि मैले
एकाएक ‘मानसिक वार्ड’ सम्झेँ
र, तिम्रो अँगालोमा
खुब
बेरिएँ ।
तिमीले मेरा कुराहरू
निःशर्त
सुनिरह्यौँ ।
मैले पनि तिमीलाई
आफ्ना कुराहरू
निःशर्त सुनाइरहेँ ।
तिमीले
एक ठाउँमा आजित भएर बोलेका थियौ–
‘वर्षाैंदेखि हामी कान थुनेर बसेका छौँ,
सुन्नुभन्दा पनि सुनाउने मात्र गरेका छौँ ।’
मैले घाट र मन्दिरमा सुत्न उहिल्यै छाडिसकेँ
यसको सम्पूर्ण श्रेय तिमीलाई दिएँ ।
-ईश्वर थोकर
(यस कविता कात्तिक ६, २०७८ मा स्वास्थ्य साहित्यमा प्रकाशित भएको छ ।)
घ. डा. प्रदीपमान सिंहः
हरेक भेटमा
तिमीसित केही न केही कुरा गर्थे मैले
केही खुसीका
केही उदासीका
केही जीवनका
केही मनका
एकदिन
उदासी नै उदासीका कुरा बेसी गरें सायद
उतिखेरै
तिमीले भनेको कुरालाई यतिखेर सम्झिएँ
“जीवन लामो छ ।”
हो रहेछ ।
(नोरी कवितासङ्ग्रह, ईश्वर थोकर)
मेन्टल इल्नेस भएको म एक्लो र प्रथम कवि होइन ।
नेपालमा मेन्टल इल्नेस भएका कविहरू धेरै छन्, थोकर मात्रै एक्ला र प्रथम होइनन् । “एकदुई जनाको नाम लिन्छु है । मैले नाम लिन मिल्छ,” उनी भन्छन्, “गोपाल प्रसाद रिमाल, मन्जुल, विष्णु नवीन (इलाम) ।” थोकर प्रश्न गर्छन्, “उहाँहरूले किन आफ्नो जीवनको संस्मरण लेख्नु भएन ? उहाँहरूले आफ्नो मानसिक विचलनको कुरालाई किताबको रूपमा किन साझा गर्नु भएन ?” उनीहरूले आफ्नो मानिसक विचलनको बारेमा लुकाउनको लागि त्यसो गरेका हुन् कि भनेर थोकर शंका व्यक्त गर्छन् । “तर म लेख्छु किनकि मेरो पीडा अहिलेको पुस्ताले थाहा नपाए पनि पछि आउने पुस्ताले थाहा पाउनुपर्दछ ,” उनी भन्छन्, “ईश्वर थोकरको समयमा मानसिक वार्डमा यस्तो हुँदो रहेछ भनेर आउने पुस्तालाई थाहा दिनुपर्दछ भन्ने मलाई लाग्दछ ।”
त्यसपछि म भएँ- ईश्वर.....
अस्पतालबाट डिस्चार्ज हुने बेला उनलाई नर्स कुसुमले उपहार दिने भइन् । जीवनमा भेट होला नहोला, म उपहार दिन्छु( कुसुमले भनिन् । 'पक्कै कलम वा डायरी हुनुपर्छ । सम्झना आयो । तर नर्सले दिइन् नाम' उनले भने, 'त्यसपछि म भएँ- ईश्वर ।' अक्कल लामाको नाममा धेरै कविता उनले लेखिसकेका थिए । नर्स कुसुमले नयाँ नाम दिएपछि २०६६ सालमा चारु मासिक 'न्यातपोल दबु'मा ईश्वर नाममा कविता प्रकाशनमा आयो । यसप्रकार ६४ सालमा २० वर्षको उमेरमा अक्कलबहादुर लामा ‘ईश्वर थोकर’ बने ।
त्यस घटनालाई ‘कुसुम सिस्टर’ नामक संस्मरणमा थोकरले यसरी लेखेका छन्ः
‘म मानसिक वार्डबाट डिस्चार्ज हुँदै थिएँ ।
त्यही समयमा कुसुम सिस्टरले भावुक हुँदै भन्नुभयो, ‘अक्कल । आजबाट तिमी डिस्चार्ज हुँदैछौ । अब, हाम्रो भेट होला/नहोला !’
मैले केही बोल्न नपाउँदै उहाँले फेरि मतर्फ फर्केर भन्नुभयो, ‘‘तिमीलाई म एउटा मायाको चिनो दिँदैछु । स्वीकार ल ।’
यति भनेर उहाँले तुरुन्तै एउटा कागजको टुक्रा मेरो हातमा थमाइदिनुभयो । त्यहाँ उहाँले लेख्नुभएको थियो–
प्रिय अक्कल ।
तिमीजस्तो कविसित नजिकबाट सङ्गत गर्न पाउनु मेरो भाग्य हो ।
तिमी कवि हौ । कविहरूको आफ्नै साहित्यिक नाम हुन्छ । तिमीलाई पनि म एउटा त्यस्तै नाम दिँदैछु ।
साहित्यमा आजबाट तिमी ‘ईश्वर थोकर’ भयौ । यही नामबाट कविता लेख्दै जाऊ ।
मेरो आशीर्वाद छ ।
तिमीलाई माया गर्ने
कुसुम’
(स्वास्थ्य खबर)
अहिले मैले बाँचिरहेको मेरो जीवन दोस्रो जीवन हो ।
अस्पताल यात्रा ०७० सालमा पुनः दोहोरिएको थियो तर त्यो ४५ दिनको मात्रै रह्यो । त्यसपछि उनलाई अस्पताल बस्नुपरेको छैनन् । औषधि भने लिइरहेका छन् । ‘अहिले आत्मबल बढेको छ । कार्यव्यस्तताले पनि होला,’ उनी भन्छन्, ‘०७० सालसम्म मेरो व्यस्त हुने ठाउँ थिएन । तर अहिले म व्यस्त छु । जीवनभरि स्वस्थ हुन हामी व्यस्त हुनुपर्दो रहेछ ।’ उनी अहिले पत्नी लिला पुनमगरसँग निराशा त्यागेर आशालाग्दो जिन्दगी व्यतीत गरिरहेका छन् । “अहिले मैले बाँचिरहेको मेरो जीवन दोस्रो जीवन हो । मभित्र पीडाका किस्साहरू अनेकौँ छन् । लेख्दै जानेछु,” उनी भन्छन् ।
पत्नी लिलासँग थोकर
उनी आजभोलि विभिन्न पत्रपत्रिकाहरू लेखिरहेका हुन्छन् । जहाँ उनले आफ्ना जीवनका रोचक र उज्याला पक्षहरू लेखिरहेको भेटिन्छ । एक उदाहरणः
‘मैले त खत भनेर हटाइदिएको थिएँ’
मैले एउटा फोटो स्टुडियोमा गएर फोटो खिचाएको थिएँ । स्टुडियो मालिकले भन्नुभयो, ‘फोटो भोलि दिउँसोपख तयार हुन्छ । त्यही समयमा लिन आउनुहोला ।’
भोलिपल्ट म स्टुडियो पुगेँ ।
फोटो यसो हेरेँ । मेरा दुई आँखाको माझमा कोठी थियो । फोटोमा गायब देखेँ । तत्काल मैले स्टुडियो मालिकलाई सुनाएँ, ‘फोटोमा त मेरो कोठी छैन त ?’
उहाँले स्पष्टीकरण दिँदै भन्नुभयो, ‘मैले त खत भनेर हटाइदिएको थिएँ ।’
‘कहाँ खत हुनु ।’ मैले भनेँ, ‘त्यो त मेरो पहिचान हो ।’
त्यसपछि उहाँले मेरो कोठीसहितको फोटो तयार पारेर दिनुभयो ।
(प्रसङ्गवश- संस्मरण, तेमाल अनलाइन)
विकेश कविन भन्छन्, “म आफैँ 'ईश्वर थोकर' भएर यी कविताहरू लेखें”
बाल्यकालमा लामो समय विभेद भोगेका उनले पछिल्लो समय भने सबैबाट माया र सद्भाव पाउन थालेका छन् । कवितामा उनको दख्खल हुँदै गएको छ । उनलाई सम्मान गर्नेहरू बढ्दै गएका छन् ।
पछिल्लो समय उनलाई समर्पण गरेर कवि विकेश कविनले कवितासङ्ग्रह नै तयार गरेका छन्, जसबारे बताउँदै कविन भन्छन्, “मेरा प्रिय कवि ईश्वर थोकरलाई पढ्ने र बुझ्ने क्रममा उनीमाथि एउटा कविता भए पनि लेखूँलेखूँ भन्ने लागेको थियो । र,संयोगवश उनीमाथि कैयौँ कविता शृङ्खलाबद्ध रूपमा लेखेछु । लेख्दालेख्दा कविताहरूको सङ्ग्रह नै पो बनिगएछ । जहाँका सबैसबै कविताहरू अप्रकाशित छन् अहिलेसम्म । यहाँ जेजति आश्चर्यहरू भए, ती सबै मेरा निम्ति सुखद् संयोग नै हुन् ।” कविनले अझ अगाडि लेखेका छन्, “म 'ईश्वर थोकर' नै भएर यी कविताहरू लेखेको हुँ । प्लिक्सीबारे कविता लेख्दा म प्लिक्सीसँगै थिएँ । ऊसँगै खेलिरहेकोरपढिरहेको/घुमिरहेको । उसको निधन हुँदा कम्ता पीडा भयो र मलाई । म कतिकति छटपटाएँ । कसैले बुझेनन् मेरो छटपटी । तिनै छटपटीलाई कविताका माध्यमबाट पोखेँ । मन्दिररघाटमा सुतेँ एक्लै, चिसो भुइँमा । मलाई मानसिक वार्डमा लगियो । सिक्रीले बाँधियो । सबैले 'पागल' भने । कम्ता पीडा भयो मलाई । तर, यही बेला नर्सहरू भेटिए र मलाई माया गरे । मलाई कविताहरू लेख्न लगाए । तिनै कविताहरू हुन् जुन मैले लेखेर तपाईंंलाई पठाइदिएँ । छिरिङ आई अनि मलाई अँगाली । उसको अँगालोसँगै कविता पनि पग्लिगएछ । नोरी आइन् । माया गरीन् । साथ दिइन् । प्रेम दिइन् । जीवन दिइन् । तिनै जीवनलाई लेखिदिएँ- कविताका रूपमा । बिस्तारै 'कोसिस' गरीरहेँ 'ल्हुइला गोङमा'का निम्ति । र निरन्तर गरिरहेको छु ।
'म आफैँ 'ईश्वर थोकर' भएर यी कविताहरू लेखिरहँदा कैयौँ समुद्र खसाइदिएछु आँखाबाट ।'
कोसिस नै रहेछ सबै कुरा....!
०७१ सालयता ईश्वर काममा व्यस्त छन् । कोसिस नामक संस्थामा उनी कोषाध्यक्ष छन् । उनी अचेल कोसिसबाट कुनैबेला आफूले जस्तै होस गुमाएका साथीहरूको उद्धारमा सक्रिय छन् । “म आफूजस्तै साथीहरू भेट्दा म आफैँलाई भेटेजस्तो अनुभव गर्छु । परिवारको सदस्य भेटेजस्तै लाग्छ,” उनी भन्छन्, “भावनाहरू मिल्छन्, पीडा मिल्छन् अनि भोगाइहरू समानान्तर रेखामा लामबद्ध हुँदै गएकाले आफैँलाई अनुभव गर्ने अवसर मिल्छ ।”
पछिल्लो समय सिमान्तकृत, पहिचान जस्ता शब्दहरू सुनिन थालेको छ तर यही कुरालाई लिएर थोकर भन्छन्, “सिमान्तकृत भनेको को ? समाजले हरेक बखत कन्टेनरमा मिल्काईरहेको ईश्वर थोकर मानसिक रूपमा कम्जोर हुँदैमा सो व्यक्तिले केही गर्न सक्दैन भनेर कानूनमा लेखिनु गलत रहेको बताउँदै उनी भन्छन्- “लौ मलाई हेर्नुस, उदाहरण मै हूँ । आखिर कोसिस नै रहेछ सबै कुरा.....!”
थोकरले झैं विश्वभर नै मनोसमाजिक अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो नागरिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र सामाजिक अधिकारको उल्लङ्घन भएको महसुस गरीरहेका छन् । मनोसमाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई भेदभावपूर्ण व्यवहार र उपहास गरिएको लामो इतिहास छ । रोजगारीको हक र अवसरमा निषेध या प्रतिबन्ध, सामाजिक बहिष्करण र भेदभावपूर्ण व्यवहार, शारीरिक शोषण/हिंसा, मानसिक स्वास्थ्य सेवाको पहुँचमा समस्या, यौन शोषणरहिंसा, गैरकानुनी रूपमा हिरासतमा लिने कार्य, बिहेबारीको अवसरबाट वञ्चित गरिनु, स्वतन्त्ररूपले जीउनका लागि साधनहरूको कमी, सामान्य स्वास्थ्य सेवाबाट बञ्चित गरिनु एवम आर्थिक शोषण लगायातका कानूनी एवं राजनीतिक त्रुटी विधमान नै रहेको छ । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (UNCRPD) को हस्ताक्षरकर्ता देश हो । नेपालको नयाँ संविधानले पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई मौलिक हकको रूपमा समावेश गरेको छ तर त्यो व्यवहारमा देखिएको छैन । यहाँनेर उनी प्रश्न गर्छन्, “हिंस्रक मानसिक वार्ड (यातना शिविर) र ती संस्थाहरूलाई सञ्चालनको अनुमति दिएर सरकारले कुन संवैधानिक प्रावधान र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्दैछ ?”
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार संसारभरि हरेक चारमध्ये एक जनालाई मानसिक समस्या हुन्छ । यस तथ्याङ्कलाई आधार मान्ने हो भने विश्व जनसङ्ख्याको २५ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रसित हुन्छन् । नेपालको हकमा कति प्रतिशत जनसङ्ख्यामा मानसिक समस्या छ भन्ने तथ्याङ्क हाल उपलब्ध नभए पनि जनसङ्ख्याको ३० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या छ भन्ने अनुमान लगाइन्छ । स्वास्थ्य सङ्गठनले २०१२ मा गरेको अध्ययन अनुसार, नेपाल जनसङ्ख्याको अनुपातमा धेरै आत्महत्याको दर हुने देशको सूचीको सातौँ नम्बरमा छ । आत्महत्याको कारणलाई केलायौँ भने ९० प्रतिशत आत्महत्या मानसिक समस्याको उपज देखिएको छ ।
सरकारले मानसिक स्वास्थ्यलाई दिने महत्व सरकारले मानसिक स्वास्थ्यलाई विनियोजन गर्ने बजेटबाट स्पष्ट हुन्छ, जुन कुल स्वास्थ्य बजेटको १ प्रतिशतभन्दा पनि कम हुन आउँछ । मनोचिकित्सक, मनोविद् र मनोविमर्शकर्ताहरू औँलामा गन्न सकिने सङ्ख्यामा छन् । सर्वप्रथम, मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गतालार्इ सरकारले प्राथमिकतामा राखोस् भन्ने थोकरको अनुरोध छ । उनी भन्छन्, “मानसिक समस्या भएका व्यक्तिहरूको समस्याहरूलाई सम्बोधन गर्नु त कहाँ हो कहाँ, सरकार उल्टै हामीहरूलाई भोट हाल्नबाट बन्चित गरी बसेको छ । कोसिस नेपालले यस्तै कुराहरूको निरन्तर पैरवी गरीरहको छ ।”
‘सेल्फपाेट्रेट’ नामक कवितामार्फत थोकर भन्छन्ः
उसले
सिद्धिचरण पढ्यो
र, मनमनै
गुनगुनायो– ‘आमा ! तिनीहरूले जेसुकै भनून्...।’
थोकरबारे विश्व सिग्देल पनि भन्छन्, ‘हृदयको एक एक सुस्केरा कविता हो, हृदयको एक एक उच्छवास कविता हो, हृदयको एक एक निश्छल सम्बोधन कविता हो । जीवनका सप्पै सप्पै पल कविता बाँचिरहेका छन् प्रिय कवि थोकर ।”
साच्चैमा, थोकरले जीवनका सप्पै सप्पै पल कविता बाँचिरहेका छन् ! उनलाई निरन्तर काव्य साधनाको कामना ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...