तिबेला सामाजिक सञ्जालमा कमेडी च्याम्पियन सिजन – २ को ३४ औं भाग चर्चामा छ । च्याम्पियनुका निर्णायक एवं वरिष्ठ कलाकार सन्तोष पन्त निर्णयमाथि नकारात्मक र सकारात्मक प्रतिक्रिया आइरहेको छ । पन्त एकपटक पुनः विवादमा तानिएका छन् । पन्तले हास्यविधाको ‘पान्टोमाईम’ भनिने नयाँ शैलीलाई नबुझी विक्कीलाई हतोत्साहित गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध दर्शकहरू खनिएका छन् ।

विवादमा तानिएपश्चात पन्तले आफूले नबुझेको कमेडी नेपाली समाजले कसरी बुझ्न सक्ला भनेर प्रश्न गरेको तर नयाँ प्रयोगसँग आफू सन्तुष्ट रहेको बताइसकेका छन् । 

“हामीले मिश्रित खालको प्रतिक्रिया पाइरहेका छौँ ।  कुनै पनि चीज पहिलोचोटी आउँदाखेरि त्यसको भविष्य के-कस्तो हुन्छ होला भने अडकलअन्दाज गर्नुभन्दा पनि भविष्यलाई पर्खनु नै उपयुक्त हुन्छ होला । 'एम भेरी हैपी' कि हाम्रो प्लाटफर्ममार्फत उहाँले (विक्की)ले यसखालको कमेडी पस्कनुभयो ।”, कमेडी च्याम्पियनको निर्मातामध्ये एक केकी अधिकारीले द मार्जिनसँग भनेकी छन् । 

“जहाँसम्म विक्कीको प्रस्तुतिको कुरा छ, यसभन्दा पहिलेको जस्तै हास्ने या लाफ्टर धेरै आउने खाले प्रस्तुति थिएन । तर, कमेडी च्याम्पियनको स्लोगन नै थियो,  ‘हामी केही नयाँ खोज्दैछौँ, नयाँ गर्दैछौँ’ भन्ने ।  यस्तो भनिरहँदा हाम्रो इच्छामुताबिक नयाँ फर्म्याट आउँदा, अझ  त्यसमा पनि हामी लाफ्टरमात्रै खोज्ने कि, कमेडीको नयाँ फर्म्याट पनि आयो है भनेर खुसी हुने ?”, उनले मार्जिनसँग कुराकानीको क्रममा भने, “विक्की हरेकपटक प्रयोग गर्ने कलाकार हो, हिजो  कला बेसी थियो । म त उसको प्रस्तुतीलाई लिएर निकै खुसी छु ।” 

हास्नै पर्ने अनिवार्यता किन ?

यस विवादमा मूलतः कमेडी भनेपश्चात हसाउनै पर्छ भन्ने अनिवार्यतालाई अगाडि सारिएको छ । के त्यसै हो ? कमेडी भन्नासाथ हसाउनु नै पर्ने हो ? मुख बंग्याएर हुन्छ कि क्यारिकेचर गरेर हुन्छ,  हँसाउनै पर्ने हो ? जाति विशेष, स्थान विशेषको लवज, पहिरनलाई नक्कल गरेर भए पनि  हँसाउनै पर्ने हो ? 

जति पनि हास्य शृंखलाहरू हिट छन्, गुणस्तरीय कमेडी देखाउन नसकेको तीतो यथार्थता नै हो । क्षणिक ताली र सस्तो लोकप्रियताका लागि गम्भीर विषयमाथि सतही व्यंग्य भइरहेको वास्तविकता नै हो । अझ, उठाइएका विषयवस्तु र चरित्रचित्रणले जाति वा वर्गविशेषलाई ठेस पुर्‍याइरहेकै छन् । थेगोहरू द्विअर्थी खालकै छन् । बालमनोविज्ञान, प्रौढमनोविज्ञान, अपांग-अशक्तको मनोसामाजिक पाटाहरूमाथि लेखक, कलाकार, निर्माता ध्यान पुर्याउन नसकिरहेको पनि साँचो नै हो । ‘कुनै विकल्प नभएकाले हास्य शृंखला हेर्नुपर्ने बाध्यता रहेको दाबी’ गर्ने अनुप सुवेदी के साँचो छन् ? ‘कलात्मकता र प्राविधिकरूपमा अब्बल नभए पनि समय र बजेटको तुलनामा अहिलेका हास्य सिरियल उत्कृष्ट मान्नुपर्छ’ भन्ने हरिवंश आचर्य सही छन् ?

एक दिनमा सुटिङ सकेर सिरियल बनाउने परिपाटी छ । यसले आर्ट कसरी फस्टाओस् ? पत्रिकाले जे-जे समाचार लेख्छ, त्यसिलाई विषयवस्तु बनाउने चलन छ, कमेडी कसरी प्रस्फुटित होओस्, वर्षाैदेखि हामी जे हिट छ, त्यसमै चल्यौँ, परिवर्तन गर्न सकेनौँ । सकेनौँ कि खोजेनौं ? प्रश्नहरू यावत छन् । उत्तरहरू यावत छन् । तर, यी प्रश्न र उत्तरहरूको मझधारमा बिक्की अग्रवाल उभिएका छन् । उभिएर प्रश्नकर्ता र उत्तरकर्ता दुवैतर्फ पालैपालो हेर्दैछन् । उनको यहि हेराइ नै शनिबारको प्रस्तुति हो । पेन्टोमाइम अभिनय हो । 

प्रथमतः कमेडी के हो भन्नेबारे चर्चा गरौँः

कमेडी के हो ?

प्रथमतः कुनै पनि कुरा अभिव्यक्त गरिन्छ भने अभिव्यक्तिको माध्यमहरू हुन्छन् । अभिव्यक्ति प्रस्तुत गर्ने तरिका हुन्छन् । उद्देश्य हुन्छ । टार्गेटेड अडियन्सको को हो भन्ने कुराको ख्याल  राखिन्छ । कुनै पनि समाजमा नवपुस्ता र प्रौढपुस्ता दुवै हुन्छन् । दुवैमध्ये कुनै एक या दुवै पुस्ता नै  टार्गेटेड अडियन्स हुन् सक्छन् । 

हास्य व्यंग्य क्षेत्र (कमेडी) मूलतः साहित्य (नाटक अन्तर्गत) कै एक विधा हो ।  कमेडी भनेको कुनै पनि काल्पनिक या वास्तविक घटनालाई यसपप्रकारले प्रस्तुत गर्नु हो, जसले दर्शकहरूसँग सिधासिधा संवाद गरोस् । अझ भनौँ,  वातावरण, पृष्ठभूमि, डायलगको सहायताले जिन्दगीको सहजताप्रति इशारा गरोस्, गर्न खोजोस् । 

कमेडी के हो र कसो हो भनेर थुप्रा सिद्धान्तहरू अघि सारिएका छन् । ‘कमेडीमा पात्रलाई दुर्भाग्यको सामना गर्न परेता पनि अत्यमा सबै ठिक हुनु पर्दछ’ भन्ने सर्वव्यापी मान्यता रहीआएको छ । ‘कमेडीले हास्न बाध्य पार्नुपर्छ । कमेडीको उद्देश्य नै खुसी प्रदान गर्नु हो ।’ भन्ने अर्कोथरि मान्यता छ । ‘व्यक्तिहरूको आचारणलाई सुधार्नु र समाजको बहुआयमिकतासँग परिचय गराउनु कमेडीको विशेषता हो’ भनेर नवसर्जक मानिरहेका छन् ।  

अरस्तुका अनुसार कमेडी त्यस्तो कार्य हो, जसले मानवका कमजोरीहरू र दुर्गुणहरूको प्रतिनिधित्व गर्न खोज्छ। यस क्रममा थोरबहुत  बढाइचढाइ पनि गरिन्छ, ता कि ती हाँस्न योग्य हाेउन् । उनी सामन्य व्यक्तिहरूको नक्कल गर्नुलाई कमेडी मान्दछन् । तर पछि, यो चलन परिष्कृत हुँदै गयो । 

जुनसुकै दुखदायी कहानी पनि अन्त्यसम्म आइपुग्दा ठीक हुन्छ भने त्यो कमेडी भयो । ट्राजेडी (दुःख)लाई कमेडी होइन भनेर प्रायले मान्दै आएको पाइन्छ । या, अझ भनौँ- एउटा शुद्ध कमेडीमा दुःख हुँदैन, खुसहाली मात्रै हुन्छ भन्ने प्रचलित भाष्य हो ।   

पहिलेपहिले कमेडी सामन्य व्यक्तिचित्र जस्तो हुने गर्थ्यो तर त्यसमा सामाजिक आयामहरू पछि थपिएको हो । यो शृंखला यद्यपि जारी छ । कमेडीलाई उपन्याससँग तुलना गर्न सकिन्थ्यो तर कमेडी व्यक्तिगत या सानो घेरामा रहन सक्दैन । कमेडी सार्वजनिक स्थल या समूहमा आउनै पर्छ । कमेडीको पहिलो उद्देश्य सामाजिक फोहोरलाई औल्याउनु मात्रै नभएर बढार्ने प्रयास गर्नु पनि हो । हामीकहाँ औल्याउने काम मात्रै भएको छ । विभिन्न टेली शृंखलाहरूले समस्याहरू औंल्याउने नाउँमा सामाजिक विभेद, जातीय लान्छाना, लैंगिक त्रुटिपूर्ण चारित्रिक विशेषता लगायातका कुराहरूलाई ध्यान दिन नसक्दा चिप्लिएका प्रशस्त उदाहरणहरू छन् । पछिल्लो ‘जुठे’ टेलिशृंखलाको विवाद एउटा उदाहरण हो । 

साहित्यमा पाँच तरिकाको कमेडीको चर्चा पाइन्छः

पहिलो - क्लासिकल कमेडीः 
यसमा ग्रीक एवं ल्याटिन नीतिनियमलाई पछ्याइन्छ । यसमा कमिक (हाँसो) र ट्राजेडी (आँसु) को घुलन हुँदैन । यसैलाई शुद्ध कमेडी भन्ने गरिन्छ । यसले एक व्यक्ति भन्दा पनि एक समाजको चित्रण गर्न खोज्दछ ।  

दोस्रो - रोमान्टिक कमेडीः 
यस जेनराले ग्रीक एवं रोमनले बनाएका कुनै पनि नीतिनियम फ्लो गर्दैन । सेक्सिपियरलाई पहिलो रोमान्टिक कमेडी लेखेका थिए । यो प्रेमसँग सम्बन्धित हुने गर्दछ । जोन लेली, रोबर्ट ग्रिनी, जर्ज पिली, शेक्सपियर लगायतले रोमान्टिक कमेडी लेखेका थिए ।  

तेस्रो - कमेडी अफ ह्युमरः 
बेन जोन्सनमार्फत यस प्रकारको कमेडी प्रचलित एवं प्रसिद्ध भएको पाइन्छ । ह्युमर शब्द प्राचीन ग्रीकको ‘ह्युमोरल चिकित्सा प्रणाली’बाट विकसित भएको हो । जसले मानव शरीरमा तरल पदार्थको सन्तुलन कसरी राख्ने भन्नेबारे काम गर्छ । मानव शरीरमा रगत, मूत्र, वीर्य (सेमिनल फ्लुइड), योनी स्राव (भेजाइनल सेक्रेसन्स), सेरेब्रोस्पेनल फ्ल्युड, पेरिक्यार्डियल फ्ल्युड लगायत जैविक तरल पदार्थहरू हुने गर्दछन् । यिनै तरलहरू सन्तुलन भएको खण्डमा नै कुनै व्यक्ति मानसिक एवं शारीरक रूपले स्वस्थ हुने हो । अतः  मानव स्वास्थ्यको खातिर ‘कमेडी अफ ह्युमर’ एक थेरापी थियो/छ । 

चौथो - कमेडी अफ म्यानरः 
यसमा चरित्र (आनीबानी) चित्रण बढी गरिन्छ । यसमा बदमाशी बेसी हुन्छ । यस प्रकारको कमेडीमा महिला-पुरुष एक-अर्काको कटाक्षेप गरिरेहका हुन्छन् । शंकालु लोग्ने र शंकालु स्वास्नी एउटा उदाहरण भयो ।  

सामाजिक मूल्यमान्यतामाथि घोचपेच गर्नु यसको मुख्य उद्देश्य हो । षडयन्त्र रच्नु, त्यसअनुरूपको लवजसहित चरित्र निर्माण गर्नु आदि यसकाे विशेषता हो । साथै, यस विधाको कमेडीमा आर्टिफिसियल देखिने जोखिम पनि बढी हुन्छ ।  हामीहरूको कमेडी यतैकतै अल्झिरहेको छ । घोचपेचको नाममा ज्यादा नै पर्सनल, व्यक्तिको नितान्त वैयक्तिक कुराहरूलाई चलाउने प्रयास भइरहेका छन् ।

विलियम कोंग्रिभले यस विधाको कमेडीमा कलम चलाएको पाइन्छ । जिर्णोद्घार अर्थात् रेस्टोरेसनको समयकाल  (सन् १६६०-१६८८) ताका  यस खाले कमेडी देख्न पाइन्थ्यो । 

पाचौँ - सेन्टिमेन्टल कमेडीः
यसमा कमेडी र ट्राजेडी दुवै हुन्छ । यसलाई ‘ट्राजीकमेडी (Tragicomedy)’ पनि भनिन्छ । प्राचीन ग्रीकररोमनहरू यस विधालाई मन पराउँदैन थिए । उनीहरू कमेडीसँगसँगै ट्राजेडी असम्भव हुने मान्यता राख्दथे ।  तर, चाखलाग्दो कुरा- यसको शुरूवात इंग्ल्याण्ड (जेम्स प्रथमको समय)बाट भएको इतिहास छ ।  

इटालियन एवं स्पानिस लिट्रेचरको यस विधामाथि ठूलो प्रभाव छ । यस विधामा सिरियसनेस (आँसु) र हैप्पिनेस (हनासो)को बरोबारजस्तो अनुपात रहन्छ । निराशताले गाजीरहँदा फरक भावना प्रदान गर्नको लागि बीचबीचमा हास्यरस दिनु यसको विशेषता हो  (या भाइसभर्सा) । यो मध्य १८ औँ शताब्दीमा मध्यम वर्गीय परिवारले खुबै रुचाएको विधा हो , त्यसपछि यो विधाको कमेडी दिनानुदिन प्रस्फुटित हुँदै गयो । 

 यस विधाले न पूर्णतः हास्न दिन्छ, न पूर्णतः रुन दिन्छ । यसकारण यसलाई दरकिनार गरिँदै आइएको छ । तर कलापारखीहरू यसैलाई असली जीवन मान्छन् र यसको प्रसंशा गरिरहने गर्दछन् । जीवन पनि यस्तै छ, हाँसो र आँसुको समिश्रण । सुख र दुखको घुलन । शेक्सपियरको अलावा डा. जोन्सोन, जोन ड्राइडेन लगायतका लेखकले प्रथमतः यस विधामा कलम चलाएका छन् । विक्कीले गरेको कमेडी सेन्टीमेन्टल विधा अन्तर्गत पर्दछ ।

छैटौँ - कमेडी अफ डायलग, कमेडी अफ इन्सिडेन्ट लगयातका विधाहरू पनि वर्तमान समयमा प्रचलनमा रहेका छन् । यिनीहरूले डायलगमा फोकस हुने (जाकिर खान, अनुभव सिंह वासी), या घटनामा फोकस हुने गर्छन् । 

पान्टामाईम कमेडीः
बेलायतबाट सुरु भएको  पान्टामाईम कमेडीलाई म्युजिकल कमेडी या फर्म अफ थिएटर मानिन्छ । सिन्ड्रेलाको कथा विश्वभर प्रख्यात छ, जुन पान्टामैम अन्तर्गत नै पर्दछ । चार्ली च्यापलिन यसका लिजेन्ड एक्टर हुन् । चार्लीका अधिकांश चलचित्र यसैमा आधारित छन् । 

संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउनु ‘पेन्टोमाइम अभिनय’ हो । आजभोलि भावभंगी कला सँगसँगै गीत, थप्पड, नृत्यको पनि प्रयोग गरिन्छ । रोमन शास्त्रीय रंगमञ्चसँग सिधासिधा यस अभिनय विधा पश्चिमी संस्कृतिको एक हिस्सा हो । राज कपुर हिन्दी चलचित्रका डायलग सहितका पेन्टोमाइम कलाकार हुन् । कपुरका चलचित्रमा सम्वाद पनि भेटिन्छ । ‘मेरा नाम जोकर’ पेन्टोमाइममा आधारित भएर बनाइएको प्रसिद्ध भारतीय चलचित्र हो । बिडम्बनाको कुरा, त्यो फिल्म चलेन । नचल्नुको अर्थ हो, त्यतिबेला यो फिल्म बुझ्ने या त्यो स्तरको विकसित मानसिकता भएको दर्शक नै थिएनन् । सही समयमा सही काम गर्न नसक्नु कपुरको कमजोरी हुन् सक्ला तर, गलत समयमा सहि काम गर्नु उनको बहादुरी हो । 

बिक्कीको प्रस्तुतिः
बिक्कीको प्रस्तुतिमा देख्न सकिन्छ, हास्ने र रुने वा सुख र दुःखको दुवै भाव एकपछिअर्को (कतै सँगसँगै) गर्दै पोखिएको छ । उनले उदासी र हास्यरस सँगसँगै पस्किएका छन् । म्युजिकल सेन्ससनका कारण उदास भइरहेका दर्शकहरू जब बिक्की मन भन्दै पेट छाम्छन्, गलल हास्छन् । 

प्रप्सहरू भरपुर प्रयोग गर्ने बिक्कीले ‘सुतिरहेको आफू’ माथि ओढाईएको लुगा झिक्छन् । भाले बसाइँ र चराको चिरबिरसँगै उनी हात तन्काउदै स्टेजमा प्रवेश गर्छन् । 

“म मन हो, मन ।  (सुते झैँ गर्दै) मान्छे सुते पनि  (हाइ गर्दै) मन कहिल्यै सुत्दैन । (इशारा गर्दै) त्यो यता, उता डुलीबस्छ ।” 

रमाइलो संगीत‘। सँगसँगै खुसी भएको फेसियल एक्सप्रेसन । 

तर एक्कासी उनी अली पर पुग्छन् । संगीत परिवर्तन हुन्छ । रमाइलो संगीत उदास आवाजमा ढल्छ । सँगसँगै उदास भएको फेसियल एक्सप्रेसन र शारीरिक हाउभाउ  ।

फेरि उनी वर सर्छन । रमाइलो संगीत बज्न थाल्छ । संगीतको तालमा ताल मिलाएर उनी नाच्न थाल्छन् । 
नाच्दानाच्दै अघिको ठाउँमा आइपुग्छन्, जहाँ पुग्नासाथ् संगीतले उदास स्वर निकाल्छ । उनको चेहरामा उदासी छाउँछ । 

त्यसपछि अकमकाउछन् । दोधारे स्थितिमै उनी पूर्ववत् स्थानमा आइपुग्छन् । बसेर ठाउँको कित्ताकाट गर्छन् । अनि बुर्लुक्क उफ्रिन्छन् । फेरि उदास संगीतको पकडमा उनी पुग्छन् । 

त्यसपछि उनी वारिपारि गरिरहन्छन् । उनको उफ्राइसँगै संगीत परिवर्तन होइराख्छ । त्यसैअनुरूप हाउभाउ उनको देख्न सकिन्छ । (यसक्रममा दर्शकहरू खुसी र उदासी एकसाथ् होराख्छन्, यो प्रस्तुतिको मिठास नै यहि छ ।)

प्रस्तुतिको क्रममै उनी भाँचिएको हात बोकेर पर्दाबाहिर आउँछन् । ताली र मसिनो हाँसोको पर्रा फुट्छ । 

“मन चन्चले हुन्छ । चतुर हुन्छ.....। चुतिया हुन्छ (ए सरी, सरी, त्योचाहिँ फ्लो-फ्लोमा निस्कियो) (दायाँबाया कुद्दै) मन कुद्छ । (भर्याङ चढ्दै) मन उड्छ । र, मन लड्छ पनि (मन लड्छ भन्दै छु अहिले) ।” यसपछि उनी लड्छन् ।  यति नै बेला सन्तोष शाहको अनुहारको  हेर्न लायक बन्छ । प्रस्ट देखिन्छ, उनको जिज्ञासु आँखाले बिक्की लडे/नलडेको नियाल्दै छ । 

“तर मन जति नै लडेपनि, एक ठाउँमा कहिल्यै बस्दैन । (भूँडी मुसार्दै) मन जहिले सोचले भरिएको हुन्छ । (तैट त्यहाँ सोच होइन ग्यास भरिएको छ । मन, मन....)” यसपछि मसिनो हाँसोको पर्रा छुट्छ । 

यसैप्रकार उनको प्रस्तुति अघि बढ्दै जान्छ । दर्शकहरू, जज प्यानाल, प्रमुख अतिथि, होस्टद्वय सबै चुपी साँधेर उनको प्रस्तुति नियालिरहन्छन् । बस, एक कौतुहलता । बस्, एक छटपटाहट । बस, एक उकुसमुकुस रहिराख्छ । 

अन्त्यमा,
नेपाली हास्यव्यंग्य प्रस्तुतिमा ‘स्ट्यान्ड अप कमेडी’ शैली भित्र्याउने साम्दे शेर्पालाई हामी चिन्देनौँ । शेर्पालाई नाचिनौँ ठिक छ, तर उनको कलाकारितालाई चिन्नु अनिवार्य कुरा हो । सिताराम कट्टेललाई जबर्जस्त पारामा स्विकारिरहँदा हामी केदार घिमिरेलाई स्वीकार्न सक्दैनौँ । यो पक्षपातपूर्ण व्यहार गरिनुहुँदैन । यसको कलाकारिता पलायनको रीतिस्थितिलाई बढवा दिन्छ । 

उसो त, नेपाली समाज कमेडी बुझ्दैछ ।  राजनीतिक घोचपेच, बासी क्यारिकेचर, बेअर्थी यौन संवाद, बेतालका प्यारोडी र प्रहसनमात्रै कमेडी होइन हामी बुझ्दै छौँ ।  गुणस्तरहीन लेखन नै नेपाली कमेडीको मूलभूत समस्या हो । त्यसपछि विभिन्न प्रावधिक कमीकमजोरीहरू औँल्याउने हो । त्यो हुँदै जाने नै छ । त्यसका लागि विक्की र विक्कीजस्ताको प्रयासलाई स्वीकार्नुपर्छ । उनीहरू सराहना गर्नुपर्दछ । 

‘कुम्भकर्णपछि केही कुरा मज्जाले सुतेको छ भने त्यो मेरो किस्मत हो’ भंने बिक्कीको किस्मत के-कस्तो हुन्छ, त्यो त भविष्यको कुरा भयो । तर, बिक्कीमार्फत नेपाली कमेडीको क्षेत्रको भविष्य उज्यालो हुने कुरामा भने आशावादी हुन सकिन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार