अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

हिले मलाई उज्यालो मनपर्थ्यो , अहिले मलाइ अँध्यारो मन पर्छ किनकि अँध्यारोमा सबै कुरा छोपिन्छ, म पनि । चन्द्र पाण्डेकाे लेखन र राेशन कुमार मेहताकाे निर्देशन रहेको  नाटक "जिउँदो आकाश" मा गरिमा बनेर यो संवाद बोलिरहँदा मलाई हामी जति सहज रुपमा लैंगिक समानताको भाषण छाड्छौँ । व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्न त्यति सहज छैन । कानुनकाे कागजमा लेखिएको अधिकार व्यवहारिक रुपमा सजिलै पाउने भए सायद कोहिपनि मान्छेले अधिकारको नाममा, समानताको नाममा, पहिचानको नाममा सत्ता र सरकार सम्मुख न्यायकाे भिख माग्न यसरी आवाजहरु उठाइरहनु जरुरी थिएन । खासमा याे देशमा मात्रै हाेइन सिंगाे ग्रहमै विभेदका श्रृङखला सयाैँ बर्षदेखि चलिरहेको छ । वर्गीय विभेद, जातिय विभेद, लैङ्गिक विभेद,नश्लिय विभेद आदि इत्यादि । मैले प्रसंग जाेड्न खाेजेकाे चाहिँ लैङ्गिक विभेदकाे हो  । हामी महिला तथा पुरुष एकअर्कालाई स्विकार गरेकाे समाजले आखिर लैङ्गिक अल्पसंख्यक [ LGBTI ] समुदायलाई  अझै किन अप्राकृतिक मान्छौँ ? किन आम मानिस सरह स्विकार गर्न सक्दैनाैँ ? 

हाम्रो नेपाली शब्दकोषमा अप्राकृतिकलाई यसरी ब्याख्या गरिन्छ कि, अस्वाभाविक ,अस्वाभाविक ढंगको , अर्कै खालको ,के-के स्वभावको यसको अर्थ यो हुन जान्छ कि प्राकृतिक भन्नाले हाम्रो सहजतासँग मात्र सम्बन्ध राख्छ ।

गौरव जन्मले पुरुष हो तर उसलाई गुडिया, पुतली खेल्न मन पर्छ । केटि साथी बनाउन मन पर्छ । चुरा, जामा ,लिपस्टिक लाउन मन पर्छ । सानो छँदा यहि कुरा रमाइलो मान्ने समाजले उ हुर्कँदै गएपछि उसको यहि व्ययवहारमा प्रश्न चिन्ह खडा गर्छ । हुनपनि हो एउटा केटाले केटा मन पराउनु ,केटीले केटी मन पराउनु , केटा भएर केटीजस्तो व्ययवहार गर्नु केटी भएर केटा जस्तो व्यवहार गर्नु । हामीले मानी ल्याएको प्रकृति भन्दा हाम्रो स्वभाविकता भन्दा धेरै फरक कुरा हो । केहि वर्ष अघि टाइम म्यागजिनले मानिसको ६० जति लैङ्गिक पहिचान भएको उल्लेख गरेको छ । टाइम म्यागजिनको अनुसार उ र उनी भन्दा फरक फरक लैङ्गिक परिभाषाको निर्माण गरिरहेको छ । तर नेपाली समाजमा  अझै पनि तेस्रो लिङ्गी  पहिचान र  परिभाषाको बिषय बनिरहेको छ । हामीलाई सानैदेखि रटाईँदै आएकाे कुरा हाे, मान्छेहरु दुई प्रकारको हुन्छ पुरुष र महिला । अरु जो हुन्, ति सबै अप्राकृतिक हुन् या कुनै जन्ममा पाप गरेर अहिले भोग्न जन्मेको हुन् भनेर विभेद गरिन्छ । मलाई लाग्छ प्रकृतिलेनै दिएकाे सम्पूर्ण कुरा स्विकार गर्न नसक्ने खास हामी चाहिँ अप्राकृतिक छाैँ ।

पुरुषतिर जाउँँ  मनले दिदैन , महिलातिर जाउँ तनले दिँदैन, बिचमा बसौँ स्वयमसेवकले दिँदैन , अब म कहाँ जाउँ ? गौरव  गरिमा बन्दा सम्मको यात्रामा आउने संवाद हाे याे । हामीले विगत धेरै वर्ष देखि बोक्सीको आरोपमा कुटपिटको घटना सुनेको छौँ , दाइजो प्रथाको घटना सुनेको छौँ , महिला हिंसाको घटना सुनेको छौँ ,बाल हिंसाको घटना लगायतको विभिन्न घटना दुर्घटनाको समाचार हेरेको छौँ पढेको छौँ तर कुनै तेस्रो लिङ्गी  समुदायको मान्छे आफ्नो लैङ्गिक पहिचानको कारणले बलात्कृत भएको , मारपिट भएको , लखेटिएको घटनाहरु अक्सर मात्र सुन्न, पढ्न र हेर्न पाइन्छ । यसकाे मतलब याे हाेइन कि तेश्राे लिङ्गीहरु माथि यस्ता घटनाहरु कम घटिरहेको छ । तेश्राे लिङ्गीमाथि असंख्य घटनाहरु घटिरहेका छन् । तर कोहिमान्छे आफुमाथि यति धेरै कुरा बित्दा पनि किन आउन सक्दैन समाजमा खबर ? किन बन्न सक्दैन उनीहरुमाथिकाे दमनकाे,शाेषणकाे,विभेदकाे प्रमुख समाचार ? 

नाटक तयारीको दौरानमा करिब ४/५ महिना लाग्यो मलाई गौरवदेखि गरिमा सम्मको यात्रा तय गर्न । यात्राको क्रममा धेरै तिता मिठा कुराहरु झेल्नुपर्यो । जति समय तयारी हुन लाग्यो त्यो भन्दा धेरै समय गरिमाबाट आफु बन्न लाग्यो मलाई । पछिलो समय पहिचानको मुद्दाको कुरा उठिरहँदा मेरो मनमा सधैं अल्झिरहेकाे कुरा  कोहिमान्छे कसरी आफूलाई लुकाएर बस्न सक्छ जीवनपर्यान्त ? हामीले उठाएको मुध्दाहरुले जातिय पहिचानको मुद्दा ल्याउला , धर्म पहिचानको मुद्दा उठाउँला  , वर्गीय  पहिचानको मुद्दा ल्याउला तर प्रश्न यहाँनेर छ साँच्चै हामी के लैङ्गिक पहिचानको मुद्दा उठान सक्दैनाैँ या उठाउन चाहँदैनाैँ ?  

हामीलाई थाहा छ हामीले ओढ्ने आकाश एउटै हो, टेक्ने धर्ति एउतै हो, घाम, जुन, हावा, पानी सबै एउटै हाे । हामीले बाँचेका परिवेश, हामीले भाेगेकाे समय , हाम्रो स्वच्छन्दता डुल्ने ग्रह एउटै हाे । यी सबै कुरा थाहा पाएको हामीले आफ्नो अनुहार आकृति,आफ्नाे कदकाे छायाँ,आफु हुनुकाे अर्थ खाेज्दै हिँड्ने हामी अरुकाे अस्तित्व किन स्वीकार गर्न सकिरहेका  छैनाैँ  ? मात्रै यति स्वीकार गर्न सकिएछ भने मात्रै पनि हाम्रो समाजकाे साैन्दर्य अझै रङ्गिन हुँदै जानेछ । अन्त्यमा मान्छे मान्छेकै भीडमा  लुकेर बाँच्न नपराेस् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...

सम्बन्धित समाचार