मध्यप्रदेशको पान्ना टाइगर्स रिजर्भमा हुकर्दै गरेका चार डमरुलाई छोडेर आमा बघिनी मरेपछि आश्चर्यसँग अहिले ती डमरुहरूको लालनपालन अर्को भाले बाघले गरिरहेको छ । बाघको उक्त क्रियाकलाप एकदमै नौलो भएको बाघविद्हरूले बताएका छन् ।
मध्यप्रदेशको पान्ना टाइगर्स रिजर्भमा हुकर्दै गरेका चार डमरुलाई छोडेर आमा बघिनी मरेपछि आश्चर्यसँग अहिले ती डमरुहरूको लालनपालन अर्को भाले बाघले गरिरहेको छ । बाघको उक्त क्रियाकलाप एकदमै नौलो भएको बाघविद्हरूले बताएका छन् ।
भारतको मध्य प्रदेश बाघको प्रदेशको रूपमा चिनिन्छ । २०१९को गणना अनुसार त्यहाँ मात्रै कुल ५२६ बाघ थिए । रिपोर्ट अनुसार २०२१ जुलाइ १ सम्ममा २४ बाघ मध्यप्रदेशले गुमाइसकेको छ । सन् २०२० मा २६ र २०१९मा २८ बाघ उक्त प्रदेशले गुमाएको थियो । सबैभन्दा धेरै बाघ मरेको रेकर्ड पनि मध्यप्रदेशकै छ । सन् २०१२ देखि २०१९ सम्ममा त्यहाँ १७२ बाघ मरेका छन् ।
यही जुन ६ को बिहान पान्ना टाइगर्स रिजर्भको छेउको गाउँमा एक भाले बाघले एउटा गाई मार्यो । त्यो दिनभरि उक्त बाघ त्यही इलाकामा रहीरह्यो तर उसले गाई खाएन । रजर्भ अधिकारीहरूको लागि यो केही अनौठो लाग्यो । अनि तिनले यसको कारण पत्ता लगाउन गार्डहरू खटाए ।
तिनले यो पत्ता लगाएकी त्यो बाघले गाई मारेको इलाका चार डमरुहरूको क्षेत्र थियो । अनि यो P243 कोड दिइएको बाघ तिनै डमरुहरूको बुवा थियो । एक महिना अघि डमरुहरूको आमा मरेकी थिई । त्यसैले पनि बुवा P243 को क्रियाकलापलाई शंकास्पद रुपमा लिइयो । के यसले उक्त गाई डमरुहरूलाई खान देला ? यही प्रश्न वन अधिकारीबीच उब्जिएको थियो । नभन्दै उक्त गाई डमरुहरूले खाए ।
बाघको प्रजातिमा डमरुहरूलाई खुवाउने, हुर्काउने, शिकार खेल्न तथा इलाका नियन्त्रण गर्न सिकाउने जस्ता काम आमा बघिनीले मात्र गर्ने गर्छन् । त्यो दुई वर्ष सम्म कायम रहन्छ, जतिबेलासम्म डमरुहरू हुर्केर आफ्नै इलाकामा स्वतन्त्रसँग विचरण गर्न सक्दैनन् । भाले बाघले यो सबै हेरचाह गर्दैनन्, उनीहरू मात्रै संरक्षक जस्तो बन्छन् ।
तर P243 ले फरक व्यवहार देखाएको थियो । P243 ले डमरुहरुको लालनपालन गरिरहेको छ भन्ने अरू आधार पनि थिए । मे २१ मा उक्त बाघले त्यही इलाकामा एक बाह्रसिंगा मारेको अधिकारीहरूले देखेका थिए । उसले उक्त सम्भार पनि डमरुहरूसँग मिलेर खाएको थियो । यो घटनाले भन्छ यो बाघको परम्परागत लैङ्गिक भूमिकामा पूर्णतः परिवर्तन आएको थियो । बघिनी मरेपछि ऊ डमरुहरूको हेरचाह गरिरहेको थियो ।
रिजर्भको ब्यावस्थापन पक्षले अहिले जोडी मरेको यो बाघको गतिविधि नियालिरहेको छ
पान्ना टाइगर रिजर्भका फिल्ड निर्देशक युके शर्मा भन्छन्, ‘हो, उसको गतिविधिले देखाउँछ कि यो भाले बाघले डमरुहरूको हेरचाह गरिरहेको छ । हामी बाघ र डमरुहरूलाई अनुगमन गरिरहेका छौँ ।’ बघिनी भने गत मे १५मा मरेकी थिई । मृत्युको कारण थाहा हुन सकेको छैन ।
‘बघिनी मरेपछि हामीले यी डमरुहरू पत्ता लगायौँ र उक्त इलाकामा क्यामरा जडान गर्यौं । उक्त बाघ नियमित जसो त्यहाँ जाने गरेको हामीले थाहा पायौँ । उसबाट डमरुहरूलाई केही खतरा देखिँदैन । डमरुहरू यो भाले बाघसँग खेलेको तथा सँगै शिकार खाएको हामीले देखेका छौँ’, शर्माले बताएका छन् ।
P243 कोड गरेको भाले बाघ, फोटोः पान्ना टाइगर्स रिजर्भ
‘जानकारी अनुसार, यो P243 कोड भएको भाले बाघ दुई वर्षभन्दा अघिदेखि P213-32 कोड गरेकी बघिनी सँगसँगै थियो । ऊ अरू बघिनीसँग देखिएको थिएन । मे १५ मा बेलुका बघिनी गाडिएको ठाउँमा गाडेको एक घण्टाभित्रै पुगेको थियो । अर्को दिन उ बघिनी मरेको स्थानमा गएर घण्टौँसम्म टोलाएर बसेको थियो । त्यतै आसपासमा कतै डमरुहरू पनि हुन पर्छ ।’ पार्क प्रशासनको रिपोर्टमा भनिएको छ ।
‘बाघले मसिनो कल पनि दिएको थियो, त्यो पक्कै उसले डमरु बोलाएको हुनपर्छ’ रिपोर्टमा उल्लेख गरिएको छ । ‘उक्त बाघको गतिविधिले भन्छ कि त्यसले डमरुलाई असर पार्ने छैन । बरू उसले तिनको सुरक्षाको जिम्मा लिएको छ । तर, आमा मरेपछि डमरुहरूको व्यवहारमा कस्तो परिवर्तन आइरहेको छ, हामीलाई त्यति थाहा छैन । हामी थप चासो राखिरहेका छौं’, शर्माले भनेका छन् ।
पान्ना टाइगर रिजर्भ मध्य प्रदेशको विद्या हिलमा अवस्थित संवेदनशील बाघ–बासस्थान हो । पतझर जंगलले ढाकिएको यो क्षेत्र १५९८.१ वर्ग किलोमिटरमा फैलिएको छ ।
टुहुरा डमरुलाई थप खाना पुर्याउनुपर्ने हुनसक्छ
यी डमरुहरूकी आमा बघिनी P213-32 को घाँटीमा अनुगमनको लागि रेडियो कलर जडान गरिएको थियो । १२ मेमा जब ५–६ घण्टादेखि बघिनी हिँडडुल गर्न छोडेको रिजर्भका कर्मचारीले थाहा पाएका थिए । उनीहरू त्यसलाई खोज्न निस्किएका थिए । बघिनीको अघिल्लो देब्रे खुट्टामा चोट लागेको थियो । उसलाई उपचारको लागि ल्याइएको थियो र त्यसै क्रममा ऊ मरेकी थिई ।
‘पोस्टमर्टमबाट पनि बघिनीको मृत्युको खास कारण खुल्न सकेन । थप परीक्षणको लागि तिनवटा ल्याबमा बघिनीको रगत र शरीरको भाग लगिएको थियो’, रिजर्भको रिपोर्टमा उल्लेख गरिएको छ ।
बघिनी मरेको दुई दिनपछि हात्तीमा क्यामरा ट्र्याप सहित गएको ५० जनाको टोलीले डमरुहरू पत्ता लगाएको थियो । सबै डमरुहरू स्वस्थ्य र सन्तुष्ट देखिएका थिए । बुवा बाघ त्यही आसपासमा थियो र उसले अनुगमन टोलीको निगरानी गरेको थियो ।
‘डमरुहरू आठ महिनाका थिए । यसको अर्थ तिनले अझै शिकार गर्न जानेका थिएनन् । आमाको मृत्यु अघि तिनले आमाले मारेको शिकार सँगै खान थालिसकेका थिए । तर, आफैँ भने शिकार गरेका थिएनन् । त्यसैले जंगलमै तिनको रेखदेख गर्ने निर्णय हामीले गर्यौँ । आसपासमा शिकार छोडिदिए उनीहरू आफैँ खान सक्ने थिए । यदि त्यस इलाकामा शिकार नभेटिए तिनका बुवा या अन्यले मारेका शिकार डमरुको इलाकामा राखिदिने थियौँ’, शर्माले भनेका छन् ।
अहिलेसम्म टुहुरा डमरु हुर्काउन सकिएको छैन
मध्य प्रदेशमा टुहुरा डमरु जंगलमै हुर्काउन पहिला पनि धेरै प्रयास गरिएका छन् । तर, ति कुनै पनि प्रयास सफल भएनन् । २०१७ मा भादग्रा टाइगर रिजर्भमा तीन टुहुरा डमरु भेटिएका थिए । शिकारीले तिनको आमालाई मारेका थिए । रिजर्भले तीन वटै डमरु बचाउन खोजेको थियो । तर, तीनै वटा डमरु भाइरल इन्फेन्सनका कारण मारिएका थिए ।
त्यही निकुञ्जमा २०१७ मा डेड महिनाका डमरुलाई आमाले छोडेको थियो । डमरुहरू एकदमै कमजोर थिए । रिजर्भले ल्याएर ती डमरुहरू घरायसी वातावरणमा हुर्कायो । कसैगरी पनि तिनलाई शिकार गर्न सिकाउन सकिएन । यो प्रयास निरर्थक भयो । अन्ततः तिनलाई भूपालको जुलोजिकल पार्कमा राख्नपर्यो ।
विज्ञहरूका अनुसार आमा मारिएका डमरुहरू हुर्काउनु एकदमै चुनौतीपूर्ण हुने गर्छ । ‘बाघले सवलसँग शिकार गर्न कम्तीमा दुई वर्षको हुनपर्छ । त्यसअघि तिनले आमाको सहयोगमा सजिला शिकार गर्न सिक्छन्’, भादग्रा टाइगर रिजर्भका पूर्व अधिकारी म्रिदुल पाठक भन्छन् । टुहुरा डमरु फेला पर्दा पाठक त्यहीँ कार्यरत थिए ।
‘भाले बाघले डमरुहरू स्याहारेको यो पहिलो पटक भने होइन, तर यो एकदमै बिरलै हुने घटना हो । जंगलका टुहुरा डमरु हुर्काउन र तिनलाई अन्य जनावरबाट बचाउन पार्क प्रशासनलाई कठिन हुन्छ’, पाठक भन्छन् । सन् २०११मा रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा पनि यस्तै घटना घटेको थियो । दुई महिनाका दुई डमरु छोडेर आमा बघिनी मरेकी थिई । डमरुहरूको रेखदेख तिनका बुवा बाघ T-25 ले गरेका थिए ।
के बुवा P243 ले बच्चाहरुलाई शिकार खेल्न पनि सिकाउला ? कि तिनीहरू आफैँ शिकार गर्न सिक्नेछन्, त्यो हेर्न बाकीँ नै छ । रिजर्भका अनुसार अहिले आठ महिनाका यी डमरुले खानको लागि आफै शिकार फोर्न चै जानिसकेका छन् ।
P213-32 कोड गरेकी बघिनीको एक डमरु, फोटोः पान्ना टाइगर्स रिजर्भ
‘शिकार गर्न सिक्नु बाघको जन्मजात विशेषता हो । तिनीहरू आफैँपनि शिकार गर्न सिक्न सक्छन् । तर आमा बिना तिनलाई शिकार गर्न सिक्न गाह्रो हुन्छ । यदि उनीहरू स्वस्थ्य, सबल तथा बलिया निस्केमा अबको केही महिनामै आफ्नो आहारा आफैँ जुटाउने छन्’, शर्माको धारणा छ ।
अहिले यी सबै चुनौतीहरू मध्यनजर गर्दै डमरुहरूलाई जंगलमै हेरचाह गर्ने काम रिजर्भले गरिरहेको छ । ‘बाघको आनीबानी नियाल्दा, बाघका बच्चाहरू सामान्यतया १२–१३ महिनाको भएपछि शिकार गर्न शुरू गर्छन् । त्यसैले पनि यी डमरुहरूलाई अरू ४–५ महिना खुवाएर बचाउनुपर्ने हुन्छ’, शर्माको धारणा छ । यी डमरुहरू अहिले ५० देखि ६० किलोग्रामका छन् । अब ३–४ महिनामा उनीहरू पूर्ण रूपमा ८० देखि ९० किलोग्रामसम्मका हुनेछन् । यसको लागि यो ३–४ महिनाको अवधिको लागि तिनलाई २५–३० वटा शिकार चाहिन्छ ।
‘बुवा P243 लाई रेडियो कलर जोडिएको छ । डमरुहरूलाई कलर लगाइएको छैन । त्यसैले तिनीहरू ठ्याक्कै कता हुन्छन् भन्ने थाहा हुन्न’, रिजर्भको रिपोर्टमा भनिएको छ । यदि बुवा P243 को अर्को कुनै बघिनीको सम्पर्कमा आए ती दुवैले डमरुहरूलाई कस्तो व्यवहार गर्छन् भन्ने पनि अनुगमन गर्नुपर्नेछ ।
‘यदि बुवा P243 ले डमरुहरूलाई छोडेमा त्यतिबेला डमरुहरूलाई के गर्ने भनेर विशेष योजना बनाउनु पर्छ । केही महिनापछि तिनीहरू आफैँ शिकार गर्न सक्षम भइसकेपछि पनि तिनको लागि लामो समयसम्म अनुगमन जारी राखिने छ’ रिजर्भको रिपोर्टमा उल्लेख गरिएको छ ।
भारतको मध्य प्रदेश बाघको प्रदेशको रूपमा चिनिन्छ । २०१९को गणना अनुसार त्यहाँ मात्रै कुल ५२६ बाघ थिए । रिपोर्ट अनुसार २०२१ जुलाइ १ सम्ममा २४ बाघ मध्यप्रदेशले गुमाइसकेको छ । सन् २०२० मा २६ र २०१९मा २८ बाघ उक्त प्रदेशले गुमाएको थियो । सबैभन्दा धेरै बाघ मरेको रेकर्ड पनि मध्यप्रदेशकै छ । सन् २०१२ देखि २०१९ सम्ममा त्यहाँ १७२ बाघ मरेका छन् ।
(यो लेख मोङबे मा प्रकाशित मनिष चन्द्र मिश्रको ‘इन रियर बियाभर, मेल टाइग। केयर्स फर कब्स अफ्टर मदर्स डेथ’को अनुवाद हो ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...