रानीपोखरीको उत्तर–पश्चिम कुनामा, जमलको आकासे पुलको छेवैमा छ एउटा दुईतले क्याफे । जाजाबर कहिलेदेखि त्यो क्याफेमा जान थाल्यो ठ्याक्कै सम्झना छैन । तर त्यसको छतमा बसेर रानीपोखरी, त्रिचन्द्र कलेज, घण्टाघर, जामे मश्जिद, शंखधर पार्क र पोखरीको पश्चिमतिर अवस्थित दरवार हाइस्कुल हेर्नु जाजावरको नियमित कर्म थियो । बेलाबेलामा बज्ने घण्टाघरको घण्टी, आफ्नै लयमा गुडिरहने सवारीका चलायमान बत्तिहरु । त्यसको बीचमा अवस्थित रानीपोखरीका कृतिम पानीका फोहोराहरुसँगै फालिएका रंगीचंगी प्रकाशको उज्यालो । यि सबै पर्याप्त थिए एक रंगीन साँझको लागि । अझ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि त छठमा समेत पोखरी साँच्चै रानीझैँ सजीन थालेको थियो ।
जाजाबरलाई अलिकति चित्त नबुझेको केही थियो भने त्यो डल्ले पाराको बालमुकुन्देश्वरको मन्दिर नै थियो । जब उसले पुरानो शिखर शैलीको मन्दिर कुनै आदिम चित्रमा देखेको थियो त्यही प्राचीन शैलीमा उसको मोह पलाएको थियो । तर अचानक भुकम्पले रानीपोखरीलाई समेत तहसनहस पारिदियो । महानगरपालिकाले पोखरी पुनर्निमाणमा सिमेन्ट र कंक्रिड प्रयोग गर्ने भयो । कता–कता मन चस्स भयो जाजाबरको । अन्ततः उपमेयर खुद पोखरीमा ताल्चा लगाउँदै विरोधमा उत्रिइन् । नगरपालिका मौलिक शैलीमा निर्माण गर्न बाध्य भयो । खासमा पटक–पटक पानी सुकेर अवाक् बनेको नगरपालिका जसरी पनि पोखरीमा पानी अड्याउन चाहन्थ्यो । यसको लागि मौलिक उपाय पनि निस्कियो–कालो माटो (कँचा) पिटेर पोखरीमा बिछ्याउने । भक्तपुरका महिलाले पहिले त कँचाका स–सना दुई पोखरीका रिप्लिका बनाए । त्यसमा पानी अडिएपछि परिक्षण सफल ठहरियो । जाजाबरको खुशीले सिमा नाग्यो ।
नभन्दै अब रानीपोखरी परम्परागत शैलीमा निर्माण भइसकेको छ । भुईँमा कँचा बिछ्याएर पानी जमाइएको छ । रैथाने ईँटा प्रयोग गरिएको छ । रातो र सेतो रंगमा शिखर शैलीको बालमुकुन्देश्वर ठडिएको छ । छेवैमा दरवार हाइस्कुल बनिसकेको छ । भोटाहिटीतिर बीर अस्पतालको नयाँ भवन बनेको छ । क्याफेबाट जाजावर दक्षिणतिर हेर्छ । पृष्ठभुमीमा प्रताप मल्ल उसैगरि रानीसहित हात्तीमा सवार छन्, शंखधर पार्कका यो वषन्तको आगमनसँगै बोटबिरुवाले नयाँ पालुवा हालिसकेका छन् । यति लामो खडेरीपश्चात् पनि पोखरीमा पानी टिलपिल छ ।
तर अँह ! पोखरीको पानी भने विल्कुलै सफा छैन । चारैतिरका कुनामा लेउ र झ्याउ लागेको छ । पोखरीभरी पानीमा तर लागेको छ, कतै–कतै फोका उठेको छ । पानीमा प्रतिबिम्ब प्रष्ट देखिँदैन । जाजाबरलाई लाग्छ, पक्कै केही गड्बड छ यहाँ । समस्या पोखरीको निर्माण प्रक्रियामा थिएन, अरु कुनैपनि निर्माण सामाग्रीमा थिएन । थियो त पोखरीमा लगाइएको कालो माटो (कँचा)मा थियो । शंखमुल, भक्तपुर एवं उपत्यकाका सबैतिर उपलब्ध कँचा मलिलो र खेतिपातीको लागि उपयुक्त माटो हो । यसमा एमोनी भन्ने पदार्थ अत्याधिक पाइन्छ । यो मलिलो तत्व पानीमा सजिलै घुल्छ ।
कँचामा पाइने एमोनीकै कारण रानीपोखरीमा अहिले प्रत्येक तीन–चार दिनमा लेउको तह बस्छ । तर यदि यो कँचाको सट्टा गिँचा या गँथेचा प्रयोग गरिएको थियो भने यो रुखो र लेसाइलो माटोले यस्तो समस्या निम्त्याउने थिएन । अर्को कुरा गिँचाले पानीलाई जम्न दिदैँ आवश्यक मात्रामा जमिनमुनिको पानी पोखरीमा पठाउँदै रिचार्जको भुमिका पनि निर्वाह गर्थ्यो, जुन कँचाले गर्दैन । पोखरीविज्ञले यो कुरा त्यतीबेलापनि नसुझाएका थिएनन् तर सबैको ध्याउन्न पानी अड्याउनुमा थियो । कस्तो पानी भन्नेमा थिएन । त्यसैले त जाजाबरका मित्र ढुङ्गेधाराविद् शुशिल श्रेष्ठ भन्छन्, ‘खासमा डम्पिङ्ग साइड भएको छ रानीपोखरी !!
भुपेन हजारिकाको एक पात्र जाजाबर फिरन्ते यायावर हो । उ बिना उद्देश्य, बिना योजना र बिना मञ्जिल जहीँ–कहीँ घुमिरहन्छ । यो फिरन्ते जाजाबरका कतिपय कुरा अविश्वासनिय पनि लाग्न सक्छन् । यो उसको नितान्त ब्यक्तिगत अनुभव हो । द मार्जिनसँग उसका कुरा नपत्याउनु पर्ने कुनै कारण छैन, विश्वासनियता नाप्ने काम आम पाठककै हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...