खासमा ‘ग्रेट ग्रिन वाल’ भनेको साहेल क्षेत्रमा सिङ्गो अफ्रिका महादेशको पूर्वदेखि पश्चिमसम्म न्यूनतम १५ किमी चौडाइको नयाँ जंगल उमार्नु हो । यसको लम्बाई ७,६०० किमी हुन आउँछ भने यो एउटै जंगलले २० मुलुकको सिमाना पार गर्छ । 

नेपाल सरकारले बजेटमा जब भारतलाई ढुङ्गा, बालुवा, गिटी निर्यात गरेर ब्यापार घाटा कम गर्ने अवधारणा अघि सार्यो, पछिल्लो समय रातारात भइरहेको चुरे दोहन तथा बन र पर्यावरण विनासका लामा फेहरिस्तहरू एकाएक बाहिरिए । जंगल नै सखाप पारेर पहाड नै फोरिएका, डोजर लगाएर बन्जर पारिएका खोला–नालाका विद्रुप दृष्यहरू पनि बाहिरए । 

पर्यावरण विनाश र त्यसले निम्त्याएको जलवायु परिवर्तनसँगै बाढी, पहिरो, खडेरी जस्ता अकल्पनीय प्राकृतिक विपद्हरू अहिलेका सबैभन्दा डरलाग्दा चुनौतीहरू हुन् । र, यस्ता विपद्बाट सबैभन्दा प्रताडित हुने भनेका सिमान्तीकृत तथा विपन्न वर्गहरू नै हुन् । त्यसैले आज पर्यावरण विनास (इकोसाइड) लाई आम सर्वसाधारणको कत्लेआम (जेनोसाइड) कै रूपमा लिने गरिन्छ । 

पर्यावरण विनाशको यही गाम्भीर्यतालाई मध्यनजर गर्दै सिङ्गो विश्व अहिले दिगो पर्यावरणीय संरक्षणको लागि पृथ्वीलाई नै हरित बनाउन संघर्षरत छ । आज विश्वभर भइरहेका वन विस्तारका केही उल्लेखनीय परियोजनाहरू द मार्जिनले प्रस्तुत गरेको छः 

मोलाइ फरेस्ट

सन् २००८ मा आसामको अरुनाचपारीमा ११५ वटा हात्तीको बथानले मान्छेको बस्ती विनाश गरेको थियो । त्यो हात्तीको बथान खोज्दै जब सरकारी अधिकारीहरूको टोली एउटा विशाल जंगलमा पुगे जुन ब्रह्मपुत्रको भंगालोले घेरिएको थियो। उनीहरू आफैँ तीनछक परे किनकि यत्रो घनाजंगलको बारेमा उनीहरू मात्र होइन सबै सरकारी निकायहरू अनभिज्ञ थिए । इतिहासदेखि नै यो क्षेत्र केवल बालुवाको थुप्रो थियो । 

यो ५५० हेक्टर ब्रह्मपुत्रको बालुवाको किनारलाई घनाजंगलमा परिणत गरिदिएने एक्ला व्यक्ति थिए जादब मोलाइ पाएङ । आसामको मिसिङ आदीवासी पाएङ एउटा सामान्य कृषक मात्र हुन् । दूध बेचेर जीविकोपार्जन गर्नु उनको नियमित पेसा हो । अहिले पनि उनी यही नै गर्छन् । तर उनले विगत ४० वर्षमा यिनले हुर्काएको जंगल देखेर संसार चित्त खान्छ ।

सन् १९८९ मा पाएङ १६ वर्षका किशोर थिए । उनी ब्रह्मपूर्णको किनारामा हिँड्दै थिए । त्यहाँ उनले बाढीले बगाएर ल्याएका असंख्य सर्पहरू रूखको छहारी नपाएर मरेको देखे । त्यतिबेला उनले त्यस बगरमा २० वटा बाँसका तामा रोपे । त्यसपछि लगत्तै गोलाघाट जिल्लाको वन विभागले नजिकैको अरुनाचपारीमा २०० हेक्टर जंगल विस्तार गर्ने पाँच वर्षे योजनामा मजदुरको रूपमा खटिए । यो परियोजना सकिएपछि अरू कामदार फिर्ता भए तर उनी रोपेका बिरुवाको मलजल र संरक्षणमा निरन्तर खटिए । 

सँगसँगै उनी आफ्नो नजिकैको ब्रह्मपुत्रको बगरलाई जंगल रूपान्तरण गर्न लागिपरे । यो उनको एकल प्रयास थियो । यो जंगल अहिले एउटा संरक्षण क्षेत्रमा परिणत भैसकेको छ । जसलाई भारत सरकारले उनको नामबाट ‘मोलाइ फरेस्ट’ को उपमा दिएको छ । अहिले यो क्षेत्र पाटे बाघ, गैंडा र हात्तीको बासस्थान भएको छ । यो बाँदरहरू एवं गिद्ध लगायतका थुप्रै पशुपंक्षीको आश्रयस्थल बनेको छ । यहाँ अहिले सयौँ प्रजातिका लाखौँ रूख छन् । ३०० हेक्टर त बाँसका प्रजातिले मात्र ओगटेको छ ।


मोलाई फरेस्टमा जादव पायङ्ग मोलाई । फोटोः हिन्दुस्थान टाइम्स


त्यसो त झण्डै १०० संख्याको हात्तीको वथान वर्षेनी मोलाइ फरेस्टमा आउने गर्छ र झण्डै ६ महिना यही नै बस्ने गर्छ । केही वर्ष पहिला एकै वर्ष १० वटा छावा यो वनभित्र जन्मिएका थिए । यसबाट अनुमान लगाउन सकिन्छ जादभ मोलाइ पाएङ एक्लैले कत्रो ठूलो जंगल उमारेर हुर्काउन सफल भएका छन् । 

उनले सन् १९७९ मा यो अभियान शुरू गरेका थिए । सन् २००८ यता भने यस क्षेत्रलाई पनि वन विभागले नियमित अनुगमन गर्दै आएको छ । यहाँको वन्यजन्तु संरक्षणमा तिनले पाएङसँग सहकार्य पनि गर्दै आएको छन् । त्यसो त मोयाङ राज्यका अन्य क्षेत्रमा गएर यस्तै जंगल बिस्तार गर्न तयार छन् । तत्काल भने उनी अर्काे किनारामा पनि यस्तै जंगल निर्माण गर्दैछन् । 

पाएङ कुनै सरकारी कर्मचारी या एकेडेमिसियन होइनन् । न त उनले एनजिओ, आइएनजिआको पैसा लिएर बन बनाएका हुन् । उनी गाई/भैंसीको गोठबाट दुध बेचेर गुजारा चलाउँछन् । उनका सयौँ गाई/भैंसी बाघले खाइसकेका छन् । यद्यपि उनी यो पीडाको जड कारण मान्छेले गरेको वन विनाशलाई दिन्छन् । 

‘तपाईं एक्लैले यत्रो विशाल जंगल कसरी रोप्नुभो/हुर्काउनु भो ?’ जादभ पाएङको चेत कुन स्तरको छ, उनको उत्तरले प्रष्ट पार्छ, ‘यसमा म एक्लो छैन । मैले एक्लै केही गर्न सक्दिन । बरू यो सब यहाँ बग्ने हावाले गर्छ । यो ब्रह्मपुत्रको पानीले गर्छ । मैले त एउटा बिउ रोप्ने हो । बाँकी यहाँको हावापानीले त्यसलाई हुर्काउँछ, फुलाउँछ, फलाउँछ । यहाँको हावा र ब्रह्मपुत्रको पानीले तिनका बीज यत्रतत्र छरिदिन्छ र अरू सयौँ बिरुवा उमारिदिन्छ’, फरेस्टिङ लाइफ नामको उनको बारेमा बनेको डकुमेन्ट्रीमा पाएङ भन्छन् । 

पाएङ अहिले पनि सामान्यसँग पहिलाजस्तै आफ्नो काममा तल्लीन छन् । यद्यपि, उनले २०१५ मा भारत सरकारले पद्मश्री अवार्ड दिइसकेको छ भने आसाम एग्रिकल्चरल र कान्जिरावा विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि दिइसकेका छन् । 

द ग्रेट ग्रिन वाल

अहिले संसारमा सबैतिर धमाधम जंगल बिस्तार गरिँदै छ । आश्चर्यसँग सिङ्गो अफ्रिका महादेशले काम गरिरहेको छ । यो अभियानलाई ‘ग्रेट ग्रिन वाल’ नाम दिइएको छ भने यसमा अल्जेरिया, बुकिनो फासो, इजिप्ट, इथियोपिया, नाइजेरिया, सेनेगल लगायत २० अफ्रिकन मुलुकहरूको प्रत्यक्ष संलग्नता छ । खासमा उत्तर अफ्रिका मुख्यतः सहारा मरुभूमिले ढाकिएको छ । यो पूर्वीदेखि पश्चिमी कोस्टसम्मै फैलिएको छ । सहाराको दक्षिणी बेल्टलाई साहेल क्षेत्र भनिन्छ । 

पूर्वी मुलुक इथियोपिया र पश्चिमी मुलुक सेनेगल छुने यो जंगलको प्रमुख औचित्य भनेको जलवायु परिवर्तनसँग लड्नु नै हो । यसले भू-विनाश र मरुभूमिकरणलाई रोक्नेछ । त्यस्तै १०० मिलियन हेक्टर मरुभूमिलाई  यसले फेरि जीवन्त मात्र पार्दैन । २०३० सम्ममा ग्रामीण क्षेत्रमा ३५,००० रोजगारीहरू सिर्जना गर्दै वातावरणको २५० मिलियन टन कार्बनडाइअक्साइड सोसिदिन्छ । 

खासमा ‘ग्रेट ग्रिन वाल’ भनेको साहेल क्षेत्रमा सिङ्गो अफ्रिका महादेशको पूर्वदेखि पश्चिमसम्म न्यूनतम १५ किमी चौडाइको नयाँ जंगल उमार्नु हो । यसको लम्बाई ७,६०० किमी हुन आउँछ भने यो एउटै जंगलले २० मुलुकको सीमाना पार गर्छ । 

पूर्वी मुलुक इथियोपिया र पश्चिमी मुलुक सेनेगल छुने यो जंगलको प्रमुख औचित्य भनेको जलवायु परिवर्तनसँग लड्नु नै हो । यसले भू-विनाश र मरुभूमिकरणलाई रोक्ने छ । त्यस्तै १०० मिलियन हेक्टर मरुभूमिलाई  यसले फेरि जीवन्त मात्र पार्दैन । २०३० सम्ममा ग्रामीण क्षेत्रमा ३५,००० रोजगारीहरू सिर्जना गर्दै वातावरणको २५० मिलियन टन कार्बनडाइअक्साइड सोसिदिन्छ । 


साहेलको मरुभूमि हरित बनाइँदै । फोटोः अल जजिरा


यो अभियान २००७ मा मात्र शुरू भएको हो । ५,५३१,०४२ रूख त २०१८ सम्ममा बुर्किना फासोले मात्रै रोपिसकेको छ। जुन आफैँ गृहयुद्धमा फसेको छ । नाइजेरिया, सेनेगल र इथियोपिया जस्ता मुलुकले लक्ष्य प्राप्ति गरिसकेका छन् । यो जंगलमा रोपिएका आकाकिया जस्ता रूखको जराहरूले जमिनमा पानी संरक्षण गरेर राख्छन् जसले जमिनलाई मरुभूमिकरण हुनबाट बचाउँछ । पर्यावरणमा मात्र यसको योगदान छैन, अहिले ‘ग्रेट ग्रिन वाल’ आसपासका ग्रामीण बस्तीहरूबाट बसाइसराइबाट विस्थापित हुने क्रम रोकिएको छ । 

थ्री नर्थ सेल्टर फरेस्ट प्रोगाम 

वन पैदावर समुदायको दिगो विकासको लागि कोसेढुङ्गा बन्ने कुरा निश्चित देखिन्छ । वास्तवमा यी अफ्रिकन मुलुकहरू चीनको ‘थ्री नर्थ सेल्टर फरेस्ट प्रोगाम’ बाट प्रभावित भएका थिए । चीनले १९७८ मै २०५० मा सक्नेगरी थालेको यो अभियानले ४,५०० किलोमिटर लामो एउटै जंगल बनाउँछ जसले चीनका उत्तरका तीन ठूला प्रान्तहरूलाई नै समेट्छ । अन्ततः यसले गोभी मरुभूमिलाई ब्युँझाउन पनि ठूलो भूमिका खेल्छ । चीनले सबैतिर जंगल विस्तार गरिरहेको छ । र, उसँग संसारकै सबैभन्दा ठूलो मानव विस्तारित जंगल क्षेत्र छ । 

हाम्रा छिमेकी मुलुकहरू

जंगल विस्तारमा हाम्रा दुई छिमेकी मुलुक चीन र भारत विश्वमै अग्रणी स्थानमा छन् । नासाको २०१९ को रिपोर्टले भन्छ, ‘विश्वलाई नै हरियो बनाउने काममा चीन र भारतले सबैलाई उछिनेका छन् ।’ भारतमा अहिलै ‘ट्रि फर टाइगर’ जस्ता वृक्षारोपणका कैयौँ परियोजनाहरू छन् । यही वन विस्तारकै कारण भारतले पछिल्लो चार वर्षमा बाघको संख्या ३३ प्रतिशत वृद्धि गर्न सफल भएको छ । 

भारत र चीन त ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । पछिल्लो ५ वर्षयता वृक्षारोपण र वन विस्तारमा पाकिस्तानले विश्वलाई नै चकित पारेको छ । भूक्षयीकरण र मरुभूमिकरणका विरुद्ध सन् २०१३ मा एउटा ठूलो जेहाद नै छेड्यो । ‘विलियन ट्री प्रोजेक्ट’ अथवा ‘विलियन ट्री सुनामी’ नाम दिइएको यो अभियानले पाँच वर्षमा एक अर्ब दुई करोड रूख रोप्ने र हुर्काउने महत्वकांक्षी योजना अघि सारेको थियो । 

‘हामी बनाउँछौँ पाकिस्तान’ नाराका साथ शुरू गरिएको यो कार्यलाई अहिलेसम्मकै सबैभन्दा महत्वकांक्षी राष्ट्रिय योजनाका रूपमा लिइएको थियो । प्रायः असम्भव जस्तो लाग्ने यो ‘मिलियन ट्रि सुनामी’ अन्ततः पूर्ण रूपमा सफल भयो। सरकारी निकाय र सरोकारवाला मात्र होइन– हरेक पाकिस्तानी नागरिक यो अभियानमा जुटे । सबै जंगल संरक्षण र विस्तारमा उत्तिकै जागरुक देखिन्छन् । 


चीनले सबैतिर जंगल विस्तार गरिरहेको छ । फोटोः चाइना डेल्ली
 


हुन त पाकिस्तानको वृक्षारोपण पनि चिनको जस्तै अलिक कम वैज्ञानिक देखिन्छ । किनकि सल्लाको जंगल विस्तार ज्यादा देखिन्छ । यद्यपि, यो अभियानले ल्याएको उत्साह, परिणाम र आम नागरिकको वातावरण संरक्षण क्षेत्रमा देखिएको जागरुकताका कारण यसलाई विश्वस्तरबाटै सरहाना मिलेको छ, यो  प्रशंसनीय छ । 

भुटानको जंगलले २२ मिलियन कार्वन वर्षेनी उत्पादन गर्छ भने यसको तीन गुणा बढी कार्वनडाईअक्साइड खपत गर्छ । समग्रमा भुटानले आफूले खपत गर्ने भन्दा दुई गुणा बढी अक्सिजन उत्पादन गर्ने गर्छ । 

अझ भुटानलाई त ‘ग्रिन कन्ट्री’ नै भनिन्छ । सन् १९९१ मा भुटानको कुल भूभागको ५३ प्रतिशत मात्र जंगलको ढाकेको थियो । अहिले भुटानमा ७१ प्रतिशत भूभाग जंगलले ढाकेको छ भने त्यहाँ ८०० मिलियन रूखहरू रहेको आँकलन छ। भुटानको जंगलले २२ मिलियन कार्बन वर्षेनी उत्पादन गर्छ भने यसको तीन गुणा बढी कार्बनडाईअक्साइड खपत गर्छ। समग्रमा भुटानले आफूले खपत गर्ने भन्दा दुई गुणा बढी अक्सिजन उत्पादन गर्ने गर्छ । 

चिप्को अभियान

राष्ट्रिय स्तरमा मात्रै होइन वन संरक्षण र विस्तार मूलतः सामुदायिक स्तरबाट हुनपर्छ । यसलाई सफल बनाउने समुदायले हो । चिप्को आन्दोलन यसको ज्वलन्त उदाहरण हो । १९७४ मा अहिलेको उत्तराखण्डस्थित अलकानन्द नदीको माथिल्लो क्षेत्रमा राज्य सरकारले २५,००० रूख काट्ने टेन्डर दियो । त्यसपछि गाउँका महिलाहरू निस्किए, रूखलाई अंगालो मारे । र, आरावालहरूलाई रूख काट्न दिएनन् । यही घटना नै चिप्को अभियानको शुरूवात थियो। चिप्कोको अर्थ हुन्छ ‘अंगालो हाल’ ।

भारतको वन संरक्षणमा चिप्को अभियानको विशेष भूमिका रहेको छ । रूख काट्न नदिनको लागि उत्तरा खण्डको विभिन्न भागमा उनले चिप्को अभियान विस्तार भएको थियो । फलस्वरूप, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी उक्त राज्यमा १५ वर्षसम्म रूख काट्न नपाउने प्रावधान पारित गर्न बाध्य भएकी थिइन् । चिप्को अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान खिचेको थियो । 

रूख रोप्दै सिङ्गो विश्व

विश्वले यसरी वन बिस्तार गरिरहेको छ कि धनी भन्दा धनी देखि गरिब अफ्रिकी मुलुकहरू पनि उत्तिकै लागिपरेका छन् । ब्राजिलको अमेजनमा समेत जंगल विनाश भएका ठाउँमा २०२३ सम्ममा ७३ मिलियन रूख रोपेर ७० हजार एकड क्षेत्रफल बराबरको जंगल फेरि ब्युँत्याउने अभियान शुरू भएको छ ।

त्यसैगरी ‘ट्रि न्यासन’ परियोजना अन्तर्गत कैयौँ मुलुकहरू जंगल विस्तारमा लागिपरेका छन् । यस अन्तर्गत स्पेनमा ‘सिरा लुजार’, अर्जेन्टिनामा ‘बोक्यु योङ्स’, पेरुमा ‘कामिनो भेर्डे’, अष्ट्रेलियामा ‘वन ट्रि म्याटर्स’, केन्यामा ‘माउन्ट केन्या ट्रस्ट’ तथा नेपालमै पनि ‘इडन प्रोजेक्ट’ जस्ता परियोजना संसारभरि चलिरहेका छन् । 

नेपालको अवस्थिति

सन् १९५० देखि १९८० भित्र नेपालको आधा जंगल मासियो । पहाडी क्षेत्रमा तराइमा झैँ जंगल मासिएको नदेखिए पनि ९० को दशकमा आइपुग्दा नेपाली जंगल कुल क्षेत्रफलको ३० प्रतिशतमा सीमित भइसकेको थियो । एफएओ (फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन) का अनुसार, १९९० देखि २०१० सम्ममा मात्रैपनि प्रत्येक वर्ष ५९,०५० हेक्टर (१.२३ प्रतिशत) का दरले वन विनाश हुँदा २४.५ प्रतिशत अर्थात् १,१८१,००० हेक्टर वन नासिएको देखिन्छ । तर पछिल्लो समय सामुदायिक वनको अवधारणा सफल बनिसकेपछि नेपालको वन क्षेत्र विस्तारमा उल्लेखनीय सुधार भएको पाइन्छ । 

पछिल्लो डिपार्टमेन्ट अफ फरेस्ट रिर्सच एण्ड सर्भे र नेसनल फरेस्ट प्रोडक्स सर्भे प्रोजेक्टको संयक्त अध्ययन अनुसार, कुल भू–भागको ४४.७४ प्रतिशत अर्थात् ५,९६२,४३८ हेक्टर वन क्षेत्रले ढाकेको छ । त्यस्तै, पहाडी क्षेत्रमा उल्लेख्य ३७.८, उच्च पहाडीमा ३२.२८ चुरेमा २३.०४ र तराईमा ६.९० प्रतिशत भूमि वनले ढाकेको छ । 

वन विस्तार हुनु सकरात्मक छ र झट्ट हेर्दा मध्य तथा उच्च पहाडी क्षेत्रको पर्यावरणमा उल्लेख्य सुधार भएको भान हुनु स्वाभाविक हो । तर पछिल्ला केही केही परिणामले स्थिति सकरात्मक छ भन्दैन किनकी अहिले नेपालमा मानव र वन्यजन्तु द्वन्द्व बढ्दो छ । 

हाम्रोमा पनि वन विस्तार नभएको होइन । तर एकल स्वरूपीय ‘मनोकल्चरल प्लान्टेसन’ वृक्षरोपणका कारण हाम्रा जंगलहरू वन्यजन्तुमैत्री हुन सकेका छैनन् । सल्लाधारी यसैको उदाहरण हो ।  ३०–४० वर्ष पहिलासम्म बन्जर रहेको पहाडमा सल्ला रोपियो । सल्लाको जंगल हुर्किएर घना जंगल त भयो तर धेरैजसो ठाउँमा कुवा–धाराको पानि बिस्तारै घट्दै गयो, र सुक्यो । 

अत्यधिक पानीको शोषण गर्ने सल्लाले पानी सुकाउँदै जमिन बञ्जर र रुखो मात्र बनाउँदैन अन्य सिरु–दुबो जस्ता घाँसहरु र चुत्रो, ऐसेलु, तितेपाती जस्ता स–सना बोटविरुवालाई पनि उम्रन र हुर्कन दिँदैन ।

अत्यधिक पानीको शोषण गर्ने सल्लाले पानी सुकाउँदै जमिन बञ्जर र रुखो मात्र बनाउँदैन अन्य सिरु–दुबो जस्ता घाँसहरू र चुत्रो, ऐसेलु, तितेपाती जस्ता स–सना बोटविरुवालाई पनि उम्रन र हुर्कन दिँदैन । यस्तो जंगलमा बाँदर, चराचुरुङ्गी र अन्य स–सना शिकार प्राणीले आफ्नो खानेकुरा भेट्दैनन् र विस्थापित हुन्छन् भने चितुवा र वन बिरालो जस्ता शिकारी प्राणीलाई पनि न त्यहाँ आहारा मिल्छ न सुरक्षित वासस्थान नै । यस्ता एकल प्रजातीय ‘मोनोकल्चरल’ वृक्षारोपणका कारण पनि कतिपय पहाडी वन पर्यावरणीय चक्रमा खलल पुगेको छ र मानव वन्यजन्तु द्वन्द्व निम्त्याएको छ । 

८० को दशकमा सरकारले शुरू गरको वृक्षारोपण कार्यक्रमले पर्यावरणीय पक्षलाई नजरअन्दाज गर्दै जंगललाई आर्थिक उपार्जनको साधनको रूपमा मात्र लिँदै सल्लो रोपणलाई मुख्य प्रथामिकता दिनुको परिणाम हो यो ।

मोनोकल्चरल प्लान्टेसनः

एकातिर स्थानीय स्तरमा हाम्रा साना वन क्षेत्रहरू व्यवस्थित रूपमा विस्तार पनि भइरहेका छन् । तर अर्काेतिर, ठूला परियोजनाका नाममा परम्परागत राष्ट्रिय जंगलहरू पनि मास्दैछौँ । सम्बन्धित निकायसँग यसको ‘रेडिमेट’ जवाफ छ, ‘एउटा रूखको सट्टामा २५ नयाँ बिरुवा रोपिन्छ ।’ तर कस्ता बिरुवा रोप्ने, कहाँ रोप्ने र कसरी हुर्काउने भन्ने विषयमा सम्बन्धित निकाय सदैव बेखबर रहन्छ । 

बुझ्नुपर्ने कुरा यो हो कि, पुरानो जंगलको एउटा वयस्क रूख काट्दा एउटा रूख मात्र ढल्दैन । चराका गुँड, फूल र बचेराहरू पनि झर्छन्, टोड्कामा आश्रय लिएका विभिन्न सरिसृपहरू पनि घरबार विहिन हुन्छन् । अर्किड र झ्याउ वर्गका असंख्य परजिवी वनस्पतिहरू लोप हुन्छन् । रूखको साहारामा आकाशतिर लम्किने लहरा प्रजातिहरू नाश हुन्छन् । समग्रमा एउटा बृहत पर्यावरणीय चक्रमा खलल पुग्छ । जंगल नै विनाश गर्दा त सयौँ वर्षदेखि लडेका रूखका ठुटामा आश्रित कमिला/धमिरा, थासो र विस्टामा जीवनचक्र बिताउने गोब्रे किरा र भुसुना जस्ता स–साना जीवहरूदेखि हात्ती, गैडा र बाघ जस्ता भिमकाय प्राणीहरूसम्मलाई असर पुर्याउँछ । 

के मानव निर्मित वनले प्राकृतिक वनको क्षतिपूर्ति गर्ला त ? अँह गर्दैन । उदाहरणको लागि केरलाको ‘वायनाद संरक्षण क्षेत्र’ लाई लिन सकिन्छ । संरक्षण क्षेत्रको ठूलो हिस्सा ‘टिक प्लान्टेसन’ले ढाकेको छ । ‘टिक’ यहाँको रैथाने वनस्पति होइन । हलुका र बलियो टिकको काठ पानी जहाज र फर्निचरको लागि महत्वपूर्ण मानिन्छ । उच्च आर्थिक महत्व बोकेको ‘टिक प्लान्टेसन’ लाई ब्रिटिस इस्ट इन्डिया कम्पनीले अभियानकै रूपमा अघि सारेको थियो । 


मोलाई फरेस्टमा हात्ती । फोटोः द गार्जियन


टिक प्लान्टेसनले त्यहाँ अन्य स्थानीय वनस्पतिलाई उम्रन र हुर्कन दिएन । जंगलमा टिकले एकाधिकार जमायो । हात्तीले टिकको पात खाँदैन, यसले यसको आसपास अन्य वनस्पति र घाँसहरू उम्रन दिँदैन । फलस्वरूप आहाराको लागि सयौँ हात्तीहरू यो जंगलबाट विस्थापित हुनुपर्यो । त्यति मात्र होइन हिउँदमा टिकका सुकेको पातले भुइँ भरिन्छ-आक्कलझुक्कल लाग्ने डढेलोले जंगल ढाक्छ र कमिला–गड्यौला लगायतका जमिनमा आश्रित स–साना प्राणीहरूको पनि विनास निम्त्याउँछ ।

ठ्याक्कै यही प्रवृत्ति नेपालका पहाडहरूमा गरिएको ‘मोनोकल्चरल’ सल्लाको जंगल विस्तारमा पनि देखिन्छ । बाक्लो गरी सल्ला रोपिएको क्षेत्रमा अन्य वनस्पति र झाडीहरू पलाउँदैनन् । यस्तो जंगलमा साँच्चै भन्नुपर्दा चराले गुँड लाउनसम्म पाउँदैनन् । सल्लो मात्रै रोपिएको जंगलमा पानीको श्रोतहरू पनि मासिन्छन्– देख्दा हरियो देखिए पनि त्यहाँ ‘वायो डाइभर्सिटि’ शून्य हुन्छ । प्राणीहरूको सन्तुलित अस्तित्व असम्भव हुन्छ । 

यस्ता ‘मोनोकल्चरल प्लान्टेसन’ले पर्यावरणलाई दीर्घकालीन असर पार्ने गर्छ । सबैलाई थाहा छ, ‘वायनाद’ संरक्षण क्षेत्रको ‘टिक’ को जंगलले त्यहाँँको ‘वायो डाइभर्सिटी’ लाई तहस–नहस पारेको छ । यद्यपि संरक्षण क्षेत्रभित्र भएकाले यसलाई काटेर विस्थापित गर्न पनि वनऐनले दिँदैन ।

रातारात रूख रोप्न त सकिएला, जंगल होइन, जंगल निर्माण भने एउटा लामो पर्यावरणीय प्रक्रियाबाट गुज्रन्छ । मान्छेको एउटा सानो प्रयासमा पर्यावरणका सबै अंगहरूको पचासौँ-सयौँ वर्षको अथक र निरन्तर प्रयासबाट वास्तविक जंगलको निर्माण हुन्छ । 

रातारात रूख रोप्न त सकिएला, जंगल होइन, जंगल निर्माण भने एउटा लामो पर्यावरणीय प्रक्रियाबाट गुज्रिन्छ । मोलाइ फरेस्ट यसको एउटा उदाहरण हो । मान्छेको एउटा सानो प्रयासमा पर्यावरणका सबै अंगहरूको पचासौँ-सयौँ वर्षको अथक र निरन्तर प्रयासबाट वास्तविक जंगलको निर्माण हुन्छ । अनिमात्रै मानव–वन्यजन्तुमैत्री जंगलको निर्माण हुन सक्छ । मोलाई फरेस्ट तथा अफ्रिका महादेशले अघि सारेको ‘ग्रेट ग्रिन वाल’ लगायत अन्य ठाउँमा पछिल्ला परियोजनाहरू भने समावेशी प्रवृतिको दिगो एवं मानव–वन्यजन्तुमैत्री छन् । यो निक्कै नै सकरात्मक छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार