Author
१९ वर्षे दृष्टान्त विडारी उदयिमान वाईल्डलाईफ फोटोग्राफर हुन् । सानै उमेरदेखि वाईल्डलाईफ फोटोग्राफीमा रुचि भएका दृष्टान्तले कलिलै उमेरमा थुप्रै अनुभव बटुलिसकेका छन् । वाईल्डलाईफ फोटोग्राफीप्रतिको उनको रुचि, अनुभव तथा चुनौतिका बारेमा उनको धारणा केही फोटोग्राफी सहित द मार्जिनले जस्ताको त्यस्तै राखेको छः
दृष्टान्त विडारी
म दृष्टान्त विडारी । पढाई स्नातक तह वातावरण विज्ञान दोस्रो बर्ष । रुचिले वाईल्डलाईफ फोटोग्राफर । सानै उमेर देखिको रुचि प्रकृति र जंगलतिरै भयो त्यसैले पढाईमा वातावरण विज्ञान रोजेँ । मेरो स्थायी निवास हेटौंडा हो । पढाईको सिलसिलामा काठमान्डौं बस्छु ।
करिब दुई बर्षदेखि प्रकृति फोटोग्राफीमा लागि परेको छु । प्रकृतिको महत्व र त्यस प्रति हाम्रो कर्तव्य हरेक मान्छेलाई बुझाउनु मेरो लक्ष्य हो र यही लक्ष्यलाई पुरा गर्न फोटो मार्फत लागि परेको छु । विगत दुई बर्षको समयमा करिव ३०० प्रजातीका चराहरु, पाटेबाघ, जंगली हात्ती, एकसिङ्गे गैंडा, गौरजस्ता लोपोन्मुख जनावरहरुको तस्वीर लिईसकेकोछु ।
हालसालै मात्र पाटेबाघसँग मेरो पहिलो र निकै नजिकबाट भेट भयो । बर्दिया राष्ट्रिय निकुन्जमा दुई दिनको लागि गएको थिएँ । पहिलो दिनमा खासै सफलता प्राप्त भएन । दोस्रो दिन पनि निकै अबेर भै सकेको थियो । यतिकैमा निकै नजिक पाटेबाघ निस्कियो । बाघ र म बिचको दुरि करिब ३० मीटरको थियो । गाडीमा भएकोले खासै डर भने लागेन । मैले निर्धक्कसँग केहि तस्वीरहरु लिने मौका पाएँ ।
पाटे बाघ, बर्दिया राष्ट्रिय निकुञ्ज
वाईल्डलाईफ फोटोग्राफीलाई अन्य विधाहरु भन्दा निकै फरक र कठिन पनि मानिन्छ । जंगल भित्र जंगली जनावरहरुबाट विभिन्न किसिमका खतरा हुनसक्छ । मलाई भने ठुलाठुला भन्दा स साना जनावरहरुसँग डर लाग्छ । हात्ती, गैंडा, बाघ जस्ता जनावर टाढैबाट सजिलै देख्न सकिन्छ । तर सर्प, खजुरो, विच्छी लगायत माहुरी, अरिङ्गाल जस्ताको घारहरु भने टाढाबाट देखिँदैन र अचानक हामी नजिकै पुग्दा तिनीहरुले हमला गर्न सक्ने खतरा हुन्छ ।
थाकेर विश्राम लिने क्रममा कहिलेकाहीँ कमिलाको ताँती र किर्ना शरिर भरि सल्कने खतरा पनि हुन्छ । एक पटक म आफ्नै घर नजिकैको जंगल भित्र चित्तल खोज्दै थिएँ । अचानक एउटा माहुरीको घारमा मधुहा भन्ने चराले आक्रमण गर्याे । चराको आक्रमणले माहुरीहरु आक्रमक भएपछि म त्यहाँबाट भाग्न बाध्य भएँ ।
धेरैको सोँच भने वाईल्डलाईफ फोटोग्राफी गर्न घना जंगल, हिमाल अझै बुझ्ने भाषामा भन्नु पर्दा चुनौतिपुर्ण स्थानहरुको खोजी गर्दै जानु पर्छ भन्नेछ, तर यो सोँच पुर्ण सत्य भने होईन । हाम्रै घर वरिपरि पनि विभिन्न किसिमका जनावर तथा चराचुरुङ्गीहरु पाईन्छ । अझै मानव वस्तीबाट नजिकै पाईने जनावर तथा चराचुरुङ्गीहरुको फोटोहरु मार्फत सो बस्तीका मानिसहरुलाई त्यसको महत्व र संरक्षणका तरिकाहरुको बारेमा सजिलै बुझाउन सकिन्छ । यस्ता साना साना घटनाहरु धेरै पटक दोहोरीएका छन् । त्यस्ता घटनाहरुमा पनि आफ्नै किसिमको मज्जा भने हुन्छ ।
चित्तल, हेटौटा
वाईल्डलाईफ फोटोग्राफरको प्रमुख हतियार भनेको धैर्यता हो । धैर्य भएर कुनै उपयुक्त स्थानको पहिचान गरि जति पर्खन सक्यो त्यति नै उत्कृष्ट तस्बिरहरु कैद गर्न सक्ने सम्भावना रहन्छ । फोटो खिच्नको लागि घरबाट निस्कँदा निकै कम अपेक्षा राख्ने तर हरेक परिस्थितिको लागि तयार भएर निस्कनु पर्ने हुन्छ । कहिलेकाहीँ एउटै पनि राम्रो फोटो नभेटिन सक्छ भने कहिलेकाहीँ उत्कृष्ट भनिने फोटोहरु कैद गर्न सकिन्छ ।
वाईल्डलाईफ फोटोग्राफीमा प्रयोग हुने क्यामरा, लेन्स लगायतका सामाग्रीहरु समेत निकै महङ्गो हुन्छ त्यसैले सम्बन्धित सामाग्रीहरु आफ्नो अनुकुल र सकेसम्म लामो समय सम्म साथ दिने सामग्रीहरु आफ्नो रोजाईमा पार्नु पर्ने हुन्छ । हाल सम्म पनि हाम्रो देशमा वाईल्डलाईफ फोटोग्राफीको भविष्य भने सुनिश्चित भने छैन । खोज गर्न निकै बाँकी भएता पनि स्रोत साधनको अभाव र सरोकारवालाहरुको चासो नभएको हुँदा यो क्षेत्रमा निकै कम प्रगति भएको पाईन्छ ।
काँडे भ्याकुर, ककनी
फोटोग्राफीमा रहर भएता पनि यो विषयसँग सम्बन्धित कुराहरुको बारेमा केहि जानकारी थिएन । नेपालमा वाईल्डलाईफसँग सम्बन्धित तालीमहरुको सुविधाहरु समेत छैन । आज सम्म मैले पनि जे जति गर्न सकेको छु त्यो युट्युवको मद्दत तथा अग्रजहरुको सल्लाह सहयोगले गर्न सकेको हुँ ।
सुरुवातको समयमा साथीभाई तथा नजिकका आफन्तहरुले समेत क्यामरा वोकेर हिँडेको देख्दा खिसी गरेको अनुभव छ । उनीहरु यो पेसामा लागेर कति कमाउन सक्छस् ? यसमा भविष्य के छ ? भन्दै मेरो मनोवल गिराउने खालका प्रश्न गर्थे । परीवारको निरन्तर साथ सहयोगले आज म अझै राम्रो गर्दैछु । हिजोको दिनमा खिसी गर्नेहरुले मैले खिचेको फोटोहरुको प्रशंसा गर्छन् । तर त्यो सँगै पैसाको कुरा गर्न भने छोड्दैनन् ।
स्याल, चितवन राष्ट्रिय निकुञ्ज
ग्रे लंगुर, बर्दिया राष्ट्रिय निकुञ्ज
लुँईचे, चितवन राष्ट्रिय निकुञ्ज
मार्स मगर, पर्सा राष्ट्रिय निकुञ्ज
हात्ती, बर्दिया राष्ट्रिय निकुञ्ज
तिलहरी चरा, हेटौटा
जरायो, बर्दिया राष्ट्रिय निकुञ्ज
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...