आलोक प्रकाश पुतुल

शस्त्र माओवादी विद्रोहको प्रभाव अहिले छत्तीसगढको अचानकमार टाइगर रिजर्भमा पर्दैछ । उक्त बाघ संरक्षण क्षेत्र भएको मुङ्गेली जिल्लालाई भर्खरै केन्द्र सरकारले माओवादी प्रभावित जिल्लाको सूचीमा समेटेको छ ।

माओवादी प्रभावित भनेर जिल्लाको वर्गीकरण गर्नुको मुख्य औचित्य भनेको त्यहाँ थप साधनस्राेत तथा नीतिगत हस्तक्षेप गर्नका लागि हो । मुङ्गेलीलाई माओवादी प्रभावित तोकिसकिएपछि यसको सुरक्षा प्रावधान ‘सेकुरिटी रिलेटेड एक्सपेन्डियोर’ (एसआरइ) अन्तर्गत पर्छ । यसले मुङ्गेलीलाई संवेदनशील जिल्लाको रूपमा राखेको छ । 

अब मुङ्गेलीमा नक्सलवादी गतिविधि नियन्त्रण गर्न तथा तिनलाई रोक्न संकटग्रस्त क्षेत्रमा संकटकाल लगाउने एवं नियन्त्रित क्षेत्रमा संकटकाल हटाउनेसम्मको व्यवस्था हुनेछ ।

छत्तीसगढका तीनमध्ये दुई उदन्ती सितानदी तथा इन्द्रवती बाघ संरक्षण क्षेत्र वर्षौदेखि माओवादीको बाहुल्यता भएको इलाकामा पर्दै आएका छन् । अहिले आएर अचानकमार टाइगर रिजर्भमा माओवादी गतिविधि बढ्न थालेपछि राज्यको वन विभागको चासो बढेको हो । 

चार वर्षको अवधिमा छत्तीसगढमा बाघको संख्या आधाले घटेपछि यस्तो चासो बाहिरिनु स्वाभाविक नै हो । २०१४ मा राज्यभरी ४६ बाघ थिए । २०१८ को गणनामा केवल १९ बाघ पाइएका थिए । त्यसमाथि थप २०१८ को गणना यता अचानकमारमा मात्रै अरू थप तीन बाघ मरेका छन् ।

राज्यको अधिकांश क्षेत्रमा माओवादी गतिविधि बढेपछि वन विभागका क्रियाकलापहरू पनि साँघुरिएका छन् । विभागका अधिकारी तथा अन्य सहयोगी कामदारहरू हतियारधारी समूहका कारण केही भइहाल्छ कि भनेर जंगलमा पाइला हाल्न पनि डराउँछन् । 

अचानकमार टाइगर्स सिजर्भको नयाँ इलाकामा माओवादीको उपस्थिति बाक्लिनुलाई लिएर ‘एडिसनल डाइरेक्टर जनरल अफ प्रोजेक्ट टाइगर इन इन्डिया’ तथा ‘मेम्बर सेक्रेटरी अफ नेसनल टाइगर अथोरिटी’ एसपी यादव भन्छन् – ‘बाघ संरक्षण प्रयासमा उग्र वामपन्थी गतिविधिले नकरात्मक असर पार्नेछ । यसका कारण अग्रपंतिमा खटिने कर्मचारीहरूको बाघ संरक्षण क्षेत्रभित्रका गतिविधिलाई खुम्च्याइदिन्छ । फलस्वरूप बाघ र आहारा प्रजातिको अनुगमन प्रभावकारी हुँदैन, चोरी–शिकार विरोधि गतिविधिलाई निरुत्साहित पार्नेछ अनि समग्रमा संरक्षण प्रयासलाई नै प्रभावित तुल्याउनेछ ।’

हिंसाको खतराले पर्यटन र संरक्षणमाथि नै असर पार्छ

१९८३ मा स्थापित इन्द्रावती टाइगर रिजर्भ छत्तीसगढको पहिलो बाघ संरक्षण क्षेत्र हो । २७९९.०७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो रिजर्भको कोर क्षेत्र नै १२५८.३७ वर्ग किलोमिटरको छ । यो रिजर्भ उदान्ती सितानदी र अचानकपुर टाइगर्स रिजर्भ हुँदै मध्यप्रदेशको कान्हा तथा महाराष्ट्रको पेन्चसँग जोडिन्छ । आन्द्र प्रदेशको कावल हुँदै यो महाराष्ट्रको तादोबा र सिरोन्चासम्म जोडिन्छ । यो रिजर्भको एक खण्ड उदान्ती सितानदी टाइगर रिजर्भ हुँदै उडिसाको सुनबेदा सेन्चुयरीमा समेत जोडिन्छ ।

इन्द्रावती टाइगर रिजर्भ बिजापुर जिल्लामा अवस्थित छ । बिजापुर क्षेत्रमा विगत तीन दशकदेखि माओवादीहरूको जगजगी छ र सशस्त्र द्वन्द र हिंसाका अत्यधिक घटनाहरु पनि यही क्षेत्रमा हुँदै आएका छन् । यसै वर्ष अप्रिल ३ मा बिजापुर जिल्लामा माओवादी आक्रमणमा परी २२ सुरक्षकर्मी मारिएको समाचार आएको थियो । 

गत वर्ष सेप्टेम्बरमा भाइरामगढ रेञ्जमा खटिएका इन्द्रावती टाइगर रिजर्भका रेञ्जर पनि माओवादीद्वारा मारिएको आशंका गरिएको छ । 

माओवादी हिंसाका कारण इन्द्रावती टाइगर रिजर्भमा विगत धेरै वर्षदेखि पर्यटन ठप्प भयो । अधिकारीहरूका अनुसार, बाघ गणनाको लागि मध्यवर्ती क्षेत्रमा समेत क्यामरा ट्र्याप जडान गर्न असम्भव छ । त्यसका अतिरिक्त इन्द्रावती र उदन्ती सितानदी टाइगर रिजर्भभित्र रहेका १०७ वटा गाउँहरूलाई अन्त पुनःस्थापना गर्न वा सार्न पनि वन विभागले सकेको छैन । 

केन्द्रिय सरकारको रिपोर्टले इन्द्रावती टाइगर रिजर्भ अतिवादी वामपन्थी समूहका कारण दुई दशकदेखि प्रभावित हुँदै आएको छ भनेको छ । यसकै कारण रिजर्भको कोर क्षेत्रमा स्टाफहरु कुनै पनि गस्तीमा जान सकेका छैनन् । परिणाम स्वरूप रिजर्भ व्यवस्थापनका कार्य तथा अनुगमनका गतिविधिहरू हुन नसकेको उल्लेख गरिएको छ ।

‘सबैलाई थाहा छ, शताब्दीऔंदेखि वन्यजन्तु र स्थानीय आदिवासीहरू जंगलमा सँगसँगै बसिरहेका छन् । अनि त्यहाँ जंगलभित्र आदिवासी र वन्यजन्तुबीच सद्भावपूर्ण सह–अस्तित्व रहँदै आएको थियो । संरक्षण नीतिले यो सह–अस्तित्वलाई नकारेको छ । आदिवासीले कहिल्यै जंगल र वन्यजन्तुलाई क्षति पुर्याएनन् र पुर्याउने पनि छैनन् ।’

यद्यपि, इन्द्रावती टाइगर रिजर्भ देखि १७० किमी पर रहेको आफ्नो कार्यलयमा बसेर यो संरक्षण क्षेत्रका फिल्ड डाइरेक्टर अभय श्रीवास्तव भन्छन्, रिजर्भका फिल्ड कर्मचारीले सन्तोषजनक ढंगले आफ्नो काम गरिरहेका छन् । उनका अनुसार, रिजर्भका ७६ पैदल गस्ती गर्ने फिल्ड स्टाफले रिजर्भभित्र नियमित जसो घुमफिर र अनुगमन गरिरहेका छन् । 

माओवादीको बोली नै यस क्षेत्रको कानुन हो 

मोङ्गवे–इन्डियासँगको कुराकानीमा श्रीवात्सव भन्छन्– ‘हाम्रा फिल्ड स्टाफले आफ्नो काम प्रभावकारी ढंगले गरिरहेका छन् । हाम्रा तीन रेञ्जहरू मध्यवर्ती क्षेत्रमा पर्छन् अनि पाँच रेञ्ज रिजर्भको कोर भागमा पर्छन् । हामी कोर क्षेत्रमा छिर्न सकेका छैनौँ । तर, जति नै चुनौतीहरू भएपनि मध्यवर्ती क्षेत्रमा भने फिल्ड स्टाफहरूले राम्रो गस्ती तथा अनुगमन गरिरहेका छन् । हामी सकेको गरिरहेका छौँ ।’

त्यसैगरी, इन्द्रावती टाइगर रिजर्भमा फिल्डमा खटिने एक फिल्ड कर्मचारीले मोङ्गवे–इन्डियालाई भने कि माओवादीलाई जानकारी नगराइकन कुनैपनि क्षेत्रमा घुस्न पाइँदैन । कसैलाई पनि थाहा छैन कि जंगलभित्र के भइरहेको छ । तर, जंगल तथा वन्यजन्तुको दूर्दशा निम्तनुमा माओवादीहरूले भने सरकारी नीतिलाई दोष दिँदै आएका छन् । 

रिजर्भ क्षेत्रबाट गाउँहरू सारेर पुनर्बास गराउन एनटिसिएले जारी गरेको आदेशको खण्डन गर्दै माओवादीका डन्डकरन्य विशेष क्षेत्रीय कमिटीका प्रवक्ता एवं माओवादी नेता विकल्प भन्छन् – ‘सबैलाई थाहा छ, शताब्दीऔँदेखि वन्यजन्तु र स्थानीय आदिवासीहरू जंगलमा सँगसँगै बसिरहेका छन् । अनि त्यहाँ जंगलभित्र आदिवासी र वन्यजन्तुबीच सद्भावपूर्ण सहअस्तित्व रहँदै आएको थियो । संरक्षण नीतिले यो सहअस्तित्वलाई नकारेको छ । आदिवासीले कहिल्यै जंगल र वन्यजन्तुलाई क्षति पुर्याएनन् र पुर्याउने पनि छैनन् ।’

‘पहिला ब्रिटिश उपनिवेशले अनि पछि उत्पीडनकारी भारतका शासक वर्गले जनविपरीत, आदिवासीको खिलाफका नीतिहरु अख्तियार गरे । जल, जमिन र जंगलमा लुट मच्चाए । त्यसैले नै संरक्षणमा अहिले यो स्थिति आएको हो । जंगल माफिया, खनिज माफिया, वन्यजन्तु तस्कर माफियाले निरन्तर लुट मच्चाउँदा प्राकृतिक प्रक्रिया एवं जंगल, वन्यजन्तु र आदिवासीबीचको सहअस्तित्वमा विचलन आएको हो’ विकल्प थप बताउँछन् । 

त्यसैगरी, उदन्ती सितानदी टाइगर रिजर्भका सहायक निर्देशक आयुश जैन भन्छन्– ‘सबै विकासका लक्ष्यहरूमा माओवादीको अवरोध आउँछ । यहाँको सबैभन्दा ठूलो चुनौती भनेको क्यामरा ट्र्याप राख्नु नै हो । यहाँको कुल्हादीघाटमा बाघहरू विचरण गर्छन्, त्यहाँ यदि वर्षमा हामीले ५–१० दिन मात्रै क्यामरा ट्र्याप राख्न सकेपनि त्यो ठूलो उपलब्धि हुनेछ । यो क्षेत्रमा किन बाघ गणना सहज छैन भन्ने प्रमुख कारण यही नै हो ।’

इन्द्रावती टाइगर रिजर्भसँगैको उदन्ती सितानदी टाइगर रिजर्भको कथा पनि केही फरक छैन । २००९ मा बाघ संरक्षण क्षेत्र घोषणा गरिएको यो रिजर्भको क्षेत्रफल १८४२.५४ वर्ग किलोमिटर छ । यसको कोर क्षेत्र ८५१.०९ वर्ग किलोमिटरको छ । तर, आजसम्म माओवादीले उदन्ती सितानदी टाइगर रिजर्भको कुनै कर्मचारीलाई माओवादीले क्षति पुर्याएका छैनन् । 

नयाँ क्षेत्रका नयाँ चुनौतिहरू

विगत २० वर्षदेखि नै अचानकमार टाइगर रिजर्भमा माओवादी गतिविधिहरू हुने गरेको रिपोर्ट आइरहेकै छ । तर, प्रशासनले ति रिपोर्टहरूको वेवास्ता गर्ने गरेको छ । अधिकारीहरूका अनुसार, बास्तार क्षेत्रमा माओवादी नियन्त्रण गर्न सुरक्षा फौज थप्दा उनीहरू महाराष्ट्र, मध्य प्रदेश र छत्तीसगढतिर विस्तार हुन्छन् । अनि, मुङ्गेली जिल्लाको अचानकमार टाइगर रिजर्भभित्र आफ्ना गतिविधि बढाउन थाल्छन् । ९१४.०१७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो रिजर्भको कोर क्षेत्र ६२६.१९५ वर्गकिलोमिटरको छ । यो रिजर्भ बोरामदेव हुँदै मध्य प्रदेशको कान्हा टाइगर रिजर्भसँग जोडिन्छ ।

बिलासपुर रेञ्जका प्रहरी आइ जि रतन डाँगी भन्छन्– ‘भविष्यमा यस्ता गतिविधि बढ्न सक्ने ठाउँको मुल्याङ्कन गर्दै त्यस्ता क्षेत्रमा सुरक्षा दस्ता बढाउनुपर्छ । जुनसुकै हालतमा पनि हामी मुङ्गेली जिल्लालाई नक्सलवादीहरूको नियन्त्रणमा जान दिन चाहँदैनौँ ।’

यद्यपि, अचानकमारका फिल्ड निर्देशक एस जगदिशन भन्छन्, अचानकमारमा नक्सलवादीहरू सक्रिय रहेको प्रमाणित गर्ने त्यस्ता खास गतिविधिहरू देखिएका छैनन् । राज्यको ‘कन्जरभेटर अफ फरेस्ट’का प्रमूख नरसिंह राओले अचानकमार टाइगर रिजर्भ भएको जिल्ला मुङ्गेलीलाई सरकारले माओवादी प्रभावित जिल्लाको सूचीमा राखेको विषयमा आफू अनभिज्ञ रहेको बताए । माओवादी हस्तक्षेपका कारण इन्द्रावती तथा उदन्ती सितानदी टाइगर रिजर्भमा अफ्ठ्यारो स्थिति आएको भन्ने कुरालाई पनि राओले ठाडै नकारे । 

छत्तीसगढका टाइगर रिजर्भहरूमा पर्यटनको अभाव भएको सम्बन्धमा पनि राओले भने – ‘माओवादीका कारण यहाँ पर्यटन नआएका होइनन्, सुविधा र पुर्वाधारको अभावका कारण यहाँ पर्यटन गतिविधि हुन सकेको छैन । पर्यटक बढाउन यहाँ पर्याप्त विकास, पाहुनाको लागि आराम गृह तथा पर्यटन प्रवर्धनका गतिविधिहरू हुनुपर्छ ।’

तर प्रशिद्ध वन्यजन्तु विज्ञ राजेश गोपालका अनुसार, मध्यप्रदेशको कन्हा, झारखण्डको पालामु तथा छत्तीसगढको अचानकमार टाइगर रिजर्भहरूमाथि माओवादी गतिविधिका कारण नकरात्मक प्रभाव पारेको छ । वन विभागका कर्मचारीमाथि यसको असर पर्ने गरेको छ । यसले निश्चय नै बाघ लगायत अन्य वन्यजन्तुमा पनि असर पुर्याएको छ । गोपालका अनुसार, छत्तिसगढ बाघको लागि एकदमै महत्वपूर्ण क्षेत्र हो तर तिनको संरक्षण र विस्तारको लागि सहकार्य हुन जरुरी छ । 

‘हामीले सामना गर्नुपरेको यो सबैभन्दा ठूलो चुनौती हो । यस क्षेत्रमा माओवादी बढ्नुका मुख्य कारण र तत्वहरूमा ध्यान दिनुपर्छ । बेरोजगारीको समाधान तथा विकासका कामहरू गरिनुपर्छ । यदि हामीले तमाम समस्याहरूको समग्रमा सम्बाेधन गर्न नसके वन विभाग र कर्मचारीहरूले अरू धेरै समस्याहरूबाट गुज्रनुपर्छ ।’

गोपाल भारतका ‘प्रोजेक्ट टाइगर’का संयोजक तथा एनटिसिएका मेम्बर सेक्रेटरी थिए । उनले दशकौँदेखि मध्य भारतका थुप्रै बाघ संरक्षण क्षेत्रको प्रमुख भइसकेका छन् । अहिले ‘ग्लोबल टाइगर फोरम’का जनरल सेक्रेटरी गोपालका अनुसार प्रहरी परिचालनले मात्रै माओवादी हस्तक्षेप रोकिन्न । 

गोपाल भन्छन्, ‘हामीले सामना गर्नुपरेको यो सबैभन्दा ठूलो चुनौती हो । यस क्षेत्रमा माओवादी बढ्नुका मुख्य कारण र तत्वहरूमा ध्यान दिनुपर्छ । बेरोजगारीको समाधान तथा विकासका कामहरू गरिनुपर्छ । यदि हामीले तमाम समस्याहरूको समग्रमा सम्बाेधन गर्न नसके वन विभाग र कर्मचारीहरूले अरू धेरै समस्याहरुबाट गुज्रनुपर्छ ।’

मोङ्गबे–इन्डियाबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार