आज नाग पञ्चमी, हिन्दुहरूले नाग अर्थात सर्पको पूजा गर्ने दिन । सर्पलाई फरक–फरक समाज, सस्कृति धर्म अनुसार फरक–फरक ढंगमा चित्रण गरिएको छ । हिन्दु धर्मले सिधै यसलाई ईश्वरसँग जोडेको छ भने क्रिश्चियनहरूले दुष्टात्मासँग । तर वर्षमा एकदिन सर्पको पूजा गरेर बाँकी दिन लखेटी–लखेटी सर्प मार्ने प्रवृतिपनि हामीसँगै छ । सर्पलाई जसले जसरी लिएपनि यसको पर्यावरणीय महत्व भने विशिष्ट छ ।
विश्वमा सर्प
सर्प घस्रेर हिँड्ने एक सरिसृप वर्गको प्राणी हो । यस वर्गमा १० सेमि मात्र भएको अन्धा सर्पदेखि ६ मिटर लामोसम्मका अजिङ्गर र राजगोमन समेत पर्छन् । यसको शरीरलाई टाउको, घाटी, जिउ र पुच्छर गरी चार खण्डमा बाडिएको हुन्छ र टाउको पनि प्रजाति अनुसार विभिन्न आकारका हुन्छन् । पुच्छर पनि जमिन र समुन्द्रमा बस्ने प्रजातिको बेग्लाबेग्लै हुन्छ । नेपालको हिमाल, पहाड, चुरे तथा समतल तराई सबै भू-भागमा विभिन्न खाले सर्पहरू पाइन्छन् ।
त्यस्तै संसारमा जम्मा ३५०० प्रजातिका सर्पहरू भएको तथ्याङ्क छ । तीमध्ये जम्मा ६०० प्रजातिका सर्प मात्र विषालु मानिन्छन् । त्यस्तै भारतमा २७१, चीनमा २०९ र नेपालमा जम्मा ७७ प्रजातिका सर्पहरू पाइएका छन् । यी सर्पको प्रजातिहरूमध्ये जम्मा २०५ जति मात्र विषालु हुन्छन् भने बाँकी सबै विषरहित हुन्छन् । भारतमा ६१, चीनमा ३५ र हाम्रो देश नेपालमा २१ प्रजातिहरू मात्र विषालु सर्पको रूपमा चिनिएका छन् ।
यस इलाकामा पाइने मध्ये पनि गोमन, करेत, पुवाले (कोरल) सर्प, रसेल्स भाइपर र सोऊ–स्केल्ड भाइपर गरी जम्मा चार प्रजातिका सर्पहरू चाहिँ निकै घातक मानिन्छन् ।
सर्पका प्रकारहरू
मेरूडण्डीय समूहको सरिसृप वर्ग भित्रपनि उपवर्गहरू छन् । तीमध्ये पनि स्क्वामाट उपवर्गमा छेपारा तथा सर्पहरू पर्छन् । नेपालका सर्पहरूलाई स्क्वामाटा उपवर्ग (अर्डर)को सर्पेन्टिज भन्ने उपवर्गमा राखिएको छ । यस उपवर्गलाई पनि बोइडी, कलुब्रिडी, इलापिडी, भाइपेरेडी र डाइफ्लोपिडी गरी जम्मा पाँच परिवारहरूमा बाँडिएको छ ।
यी हरेक परिवारले सर्पहरूको वेग्लावेग्लै गुणहरू सामूहिक रूपमा देखाउँछ । हरेक परिवार विभिन्न गुण भएका जाति वा प्रजातिहरूमा बाँडिएका छन् । ठूलो शरीर र ढिलो हिँडाइ भएका सर्पहरू बोइडी परिवार भित्र पर्छन् । जस्तैः पाडे अजिङ्गरहरू यस वर्गमा पर्छन् ।
अधिकांश सामान्य सर्पहरू कलुब्रिडी परिवारमा पर्छन् । यिनको पेटतिरको कत्लाहरू पिठ्यूँतिरको भन्दा निकै ठूला साथै प्रायः शरीरको जत्रै चौडा हुन्छ । यस समूहका प्रजातिहरू घातक खालको विषालु छैनन् । हरहरा सर्प (एम्फिस्मा स्टोलाटम), गहने सर्प (इलाफे फोरफाइरेसिया), धामन सर्प (टाइयस म्यूकसस) आदि यस समूहमा पर्छन् ।
त्यसैगरी, बाटुलो टाउको, खबटे कत्ला, छरितो जिउँ, बढी सुल्कने क्षमता भएका सर्पहरू इलापिडी परिवारमा पर्छन् । यस परिवारका सबै सर्पहरू अति विषालु खालका हुन्छन् । एक थोप्ले गोमन (नजा काउथिया), दुई थोप्ले गोमन (नजा नजा), राजगोमन (ओफियोफ्यागस हान्ह) तथा करेटहरू (बङ्गरस स्पेक) यस समूहमा पर्छन् ।
च्याप्टो तीनकुने टाउको, घाटी साँगुरो, जिउँ पोटिलो, मसिना कत्ला, नाथ्रो र आँखाको बीचमा खोपिल्ट परेको पिट, ठाडो परेको आँखाको नानी, सुल्कने शरीर भएकाहरूलाई भाइपेरेडी परिवारमा राखिएका छन् । जस्तैः गुर्भे (ओभोफिस मन्टिकोला), हरेउ (टाइमेरेसुरस ग्रामेनी), आदि ।
यसैगरी सानो झिनाे शरीर भएको तथा आँखाको थोप्ला मात्र भएको साथै करिब १० सेमी जति मात्र लम्बाइ भएका साना सर्पहरू टाइफ्लोपिडी परिवारमा राखिएका छन् । जस्तैः गनेउले सर्प (र्याम्फोटाइफ्लप ब्रामिनि) ।
किन कोही सर्प विषालु हुन्छन् ?
विषालु हो कि विषरहित सर्प हो बुझ्नको लागि यसको दन्तीकरणमा विष दन्त (फ्याङ)को अवस्थितिलाई अध्ययन गर्नु पर्छ । दन्तीकरणमा विष दन्तको आधारमा सर्पहरूलाई तीन समूहमा बाँड्ने गरिन्छ ।
ओपिस्थोग्लिफ (पाश्चदन्त)ः यो समूहको विष दन्त मुखेओडारको पछिल्लो भागमा हुन्छ । यो पनि विशेष खोल भित्र हुन्छ । यसर्थ यो पाश्च्यदन्त डस्नको लागि निकाल्न निकै समय लाग्ने भएकोले धेरै विरलै मात्र यसको टोक्ने गर्छ । यो समूहमा प्राय कलुब्रिडी परिवारका सर्पहरू पर्दछन् । जस्तैः साभे, चङ्खे सर्प, बिराले सर्प, माटे सर्प आदि । यो परिवारमा पर्ने एक याब्र्डोफिस प्रजातिको सर्पबाहेक अन्य सबै विषरहित सर्प मानिन्छन् ।
प्रोटोग्लिफ (अग्र अचल विषदन्त धारी)ः यस समूहका सर्पहरूको विषदन्तको मुखे ओडारको अघिल्तिर हुन्छ, जसले गर्दा कुनै बस्तुलाई झट्ट टोक्न सजिलो पर्छ । यसले मुख उघ्रन साथ विषदन्तहरू पनि ठाडो पर्ने भएकोले शिकारलाई टोक्दा सिधै दाँत गाडेर विषलाई शरीर भित्र छिराइ दिन्छ । जसका कारण मान्छे वा शिकार तुरन्त मर्न सक्छ । यो समूहका सबै सर्पहरू घातक खाले विषालु हुन्छन् । जस्तैः गोमन, राजगोमन, करेत आदि ।
सोलेनोगलिफ (चल अग्रदन्त)ः यो समूहको विष दन्तको अवस्थिति मुखे ओडारको अग्र भागमै भए तापनि यताउति चल्न सक्छ । आवश्यक परेको बेला बाहिर निस्कन्छ अनि अरू बेला पछिल्तिर दोब्रिएर रहन्छ । यस समूहको उदाहरणमा नेपालमा पाइने गुर्भे समूहको सबै सर्पहरू पर्छन् । यिनीहरू पनि निकै विषालु हुन्छन् ।
सर्प र वातावरण
हुनत विशेष नागपञ्चमी तथा अन्य बेला हाम्रो समाजमा सर्पको पूजा गरिन्छ । तर वर्षभरि यसलाई लखेटी–लखेटी पनि मार्ने प्रचलन हाम्रैमा छ । तर सर्पहरूले हाम्रो पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छन् । यसले खाद्य संयन्त्रलाई सन्तुलन राख्ने गर्छ ।
सर्पले पारिस्थितिक प्रणालीमा शिकारी र शिकारको दोहोरो भूमिका खेलेको हुन्छ । प्रकृतिले धेरै सर्पहरुलाई विषग्रन्थी तथा विषदन्त मानिसलाई डस्न वा मार्न होइन, आफ्नो खाद्य शृङ्खलाभित्र भोजन प्राप्तिको लागि शिकार खेल्न बनाइदिएको हो । कुनै सर्प जलचर हुन्छ जुन पानीमा रहेका दुषित पदार्थ वा जन्तुहरूलाई खाई पानीलाई स्वच्छ राख्छ । त्यस्तै पाखामा बस्ने सर्पहरूले बालिनालीमा लाग्नेकिरट पतङ्गलाई तथा अन्यहानिकारकहरूलाई खाइदिने गर्छ ।
त्यसैगरी, रूखजीवी सर्पहरूले बगैँचाका फल लाग्ने रूखहरूमा बस्ने विभिन्न शिकारी जन्तुहरूलाई मार्ने वा खाने गर्ने भएकोले फलफूल जोगिन सक्छ । यसरी पर्यावरणमा यसको स्थान सधै निकै महत्वपूर्ण ठानिएको छ ।
यसले हाम्रो वातावरण स्वच्छ राख्न साथै वातावरणको पारिस्थीतिक प्रणाली सन्तुलन राख्नमा ठूलो भूमिका खेल्ने गर्दछ । साथै सर्पले हाम्रो बालीनाली खाईदिने मुसाहरू खाएर हामी किसानहरूको साथीको रूपमा पनि हामीलाई सहयोग पु¥याउने गर्दछन, र हामीलाई कहिल्यै सर्पले टोक्दा त्यसको प्रतिविष पनि सर्पको विषले नै बन्ने भएकाले सर्पहरूको संरक्षण गर्न आवश्यक छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...