विभिन्न मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अतिवृष्टि, खडेरी र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ ।

विगतका क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन शताब्दीऔँसम्म जारी रहने र यसले समुद्र एवं त्यसको सतहलाई असर गर्ने प्रतिवेदनमा औँल्याइएको छ । तर अझै यो भन्दा विकराल स्थिति आउन नदिने उपाय पनि सुझाइएको छ । यसका लागि कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको छ।

उच्च जोखिममा विश्व

यो शताब्दीमा विश्वव्यापी तापमान १.५ डिग्री सेल्सियसले अथवा त्यो भन्दा बढीले वृद्धि हुने प्रतिवेदनमा आकंलन गरिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन ‘कोड रेड’ अर्थात् मानव जातिका लागि उच्च खतराको घण्टी भनेका छन् । 

अहिलेको जलवायु संकट कोइला र अन्य जीवाश्म इन्धनले पृथ्वीलाई ध्वस्त पार्न लागेको संकेत भएको पनि गुटेरसले बताए । जलवायु मामिलासम्बन्धी अमेरिकी दूत जन केरीले विश्वव्यापी तापमान १.५ सेल्सियसले बढ्नुअघि नै त्यसलाई नियल्त्रणमा ल्याउन विश्व एक ठाउँमा उभिनुपर्ने आवश्यकता भएको औँल्याएका छन् ।

स्वीडेनकी अभियानकर्मी ग्रेटा थनबर्गले प्रतिवेदनले जारी सङ्कट पुष्टि गरेको तर त्यसविरुद्ध साहसिक निर्णयहरू लिने कुरा व्यक्तिमा निर्भर गर्ने बताएकी छन् । उनले विश्वका नेताहरूले मुखले ठीक्क पार्ने गरेको तर गम्भिर नभएको आरोप लगाएकी छिन् । 

प्रतिवेदनका मुख्य निचोडहरू 

सन् १८५० देखि १९०० को अवधिमा भन्दा सन् २०११ देखि २०२० को अवधिमा विश्वव्यापी जमिनको सतहको तापक्रम १.०९ सेल्सियसले बढी रह्यो ।

विगत पाँच वर्षमा सन् १८५० यताकै सबैभन्दा बढी तापक्रम वृद्धि भएको छ ।

सन् १९०१ देखि १९७१ सम्मको तुलनामा समुद्रको सतह तीन गुणले बढेको छ ।

विश्वव्यापी हिमनदीहरूमा हिउँ हराउनु र आर्कटिकमा हिउँ घट्नुको मुख्य कारक मानविय प्रभाव रहेको देखिन्छ ।

लूसहित अति गर्मीका कारक हुने प्रकोप बारम्बार बढ्न थालेको छ । र, सन् १९५० को दशकयता जबकि चिसोका घटनामा  कमि आएको छ ।

(एजेन्सीको सहयोगमा )
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार