काठमाडाैँ - 'तिनपाते', 'के माया लाग्छ र ?', 'बटौली' जस्ता गीतमार्फत कथात्मक शैलीमा फरक-फरक स्वाद पस्केर बजारमा लोकप्रिय बनेका निर्देशक नवीन चौहानको निर्देशनमा 'बाफ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोमार्फत नवीनले राष्ट्रियताले पनि सम्बन्धमा प्रत्यक्ष परोक्ष प्रभाव परेको गम्भीर कुरालाई कलात्मक ढङ्गले समेट्न खोजेका छन् । नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापन देखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथामा निर्माण गरिएको यस गीतको भिडियो नेपाल भारत सीमासँग देशप्रेम अनि सामाजिक संरचनालाई गज्जबले उजागर गरेको निर्देशक नवीन चौहानको भनाइ छ । भन्छन् -'सीमा नहुन्थ्यो भने यो वा त्यो हुन्न थियो होला, कसैले सिमाकै कारण संसार उड्ने स्वतन्त्रता गुमाउन पर्ने थिएन होला ।'
'तीनपाते', 'साईली', 'दुबो फुल्यो' जस्ता अनेकौ लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको गीत गायक तथा संगीतकार सुजन चापागाइँ र विधा तिवारीको आवाजमा सुन्न सकिने छ । गीतको संगीत संयोजन गंगा थापाले गरेका छन् भने संगीत सुजनकै रहेको छ ।
म्युजिकल फिल्म ’बाफ’मा गायनमा स्थापित भएका गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउँद, रिञ्छेन तामाङ्ग लगायतको अभिनय देख्न सकिन्छ । यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ ।
भिडियो पूर्वी इलामको इण्डिया र नेपालको सीमानाका सन्दकपुर, जौबारी आसपासमा छायांकन गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...