काठमाडौँ - सञ्चारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक भएकाे छ ।
आइतबार सार्वजनिक भएको गीत मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लाेकार्पण गरेका हुन् ।
गीतको म्यूजिक भिडियोले विभिन्न ऐतिहासिक, सांस्कृतिक महत्वका स्थानहरूको प्रचारमा योगदान दिने मेयर श्रेष्ठले बताए । त्यस्तै उनले स्थानीय नेपालभाषाकाे सम्बर्द्धन गर्ने गीत, संगीतमा आफ्नो पनि सहयोग रहने प्रतिबद्धता जनाए ।
गीत लोकार्पण कार्यक्रममा रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले प्यारोडी गीतका रुपमा सृजित ‘हाकु मैंचा’ले आफ्नो मौलिक रूप पाएको उल्लेख गर्दै संगीतकार जुगल डंगोलको साथले नवरूप प्राप्त गर्न सफल भएको स्मरण गरे ।
‘हाकुमैंचा’ म्यूजिक भिडियो बालमुकुण्ड प्रजापतिको निर्देशनमा तयार भएको छ भने देवेन्द्र प्रजापतिको छायाँकन एवं सम्पादन रहेको छ ।
नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् । त्यस्तै कलाकारहरु डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर, लिजा तथा निशा प्रजापतिको समेत साथ रहेको छ ।
दीपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियोग्राफी, आशा तामाङको श्रृंगार रहेको यस म्युजिक भिडियो निर्माणमा महेशप्रकाश हाडाले व्यवस्थापन गरेका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्षसमेत रहेका बज्राचार्यका हामी दुई किनार, अस्वीकृत माया, ग्यानापु स्टाइल, बुदिंया भिंतुना लगायत गीत चर्चित छन् । त्यस्तै उनले ‘तसकं यःम्ह’ गीतबाट सर्वोत्कृष्ट गायक नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड’ समेत जितेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...