फ्र्यांकी फ्रान्ज

विक्रम संवत् अनुसार सूर्य एक राशिबाट अर्को राशीमा प्रवेश गर्ने दिनलाई संक्रान्ति भनिन्छ । यसै दिन महिना पनि फेरिन्छ, त्यसैले वर्षभरिको प्रत्येक महिनाको एक गते विभिन्न संक्रान्ति पर्दछन् । यसै संक्रान्तिलाई नेवा: भाषामा 'सँल्हु' भन्ने गरिन्छ । माघ महिनाको पहिलो दिनको संक्रान्तिलाई नेवा: समुदायले 'घ्य: चाकु सँल्हु' अर्थात् घ्यू र चाकु खाने संक्रान्तिको रुपमा मनाउँदै आएका छन् । 

के-के गरिन्छ ?
यस दिन कुनै नेवास् समुदायको बिहानै नुहाइधुवाइ गरि शुद्ध हुने परम्परा छ भने कुनै नेवा: समुदायको नुहाउन नहुने परम्परा रहेको पाइन्छ । यस दिन बिहान आमाको हातबाट तेल लगाउने चलन रहेको छ, जसमा हरेक आमाले आफ्नो सन्तानको सुखशान्ति, चिरायु तथा रोगव्याधिबाट मुक्त रहोस् भन्ने कामनाका साथ आफ्नो सन्तानको टाउकोको चक्र रहेको ठाउँमा तोरीको तेल लगाइदिने प्रचलन रहेको छ । यसरी तेल नलगाइदिएसम्म केही नखाई निराहार बस्ने चलन पनि रहेको छ । 

यस दिन परिवारको सबैजना मिलेर सँगै बसि तरुल, घ्यू, चाकु, घ्यू-तिलको लड्डु, चाकु-तिलको लड्डु, समयबजी आदि खाने गरिन्छ भने घरको देवतालाई पनि सोही खानेकुरा चढाउने गरिन्छ । संक्रान्तिको दिन छोरीचेली पनि आमाको हातबाट तेल लगाउन माइत जाने गर्दछन् भने माइतिमा दाजुभाइसँगै बसि भोज खाने पनि गरिन्छ । यस दिन बिहान आमाको हातबाट टाउकोमा तेल लगाइन्छ भने दिउँसो घाममा बसेर शरिरभरी मज्जाले तेल लगाउने चलन रहेको छ, जुन हाल विस्तारै कम हुँदै गएको पाइन्छ । 

यस दिनलाई नेवा: समुदायले आफ्नो कामकाजबाट छुट्टि लिइ घरमा आमाबुबा तथा चेलीबेटीहरुसँग बसि पारिवारिक भेटघाट गर्ने दिनको रुपमा लिएको देखिन्छ । अरु बेला खेतीको तथा घरकै कामकाजको चटारो भइरहने भएकोले यस दिन मज्जाले घाम तापेर जिउमा तोरीको तेल तताएर लगाउने र मालिस गर्ने दिनको रुपमा लिएको पनि देखिन्छ । 

चाडपर्व तथा संस्कृती 
आजको दिन काठमाडौंमा एउटा परम्परा साह्रै रोचक छ, त्यो हो तेल र नुनको भाउ हेर्ने ! आजको दिन काष्ठमण्डपमा पूजा गरि गजुरमा ध्वजा फहराउने र गाईलाई अन्न खुवाउने चलन रहेको छ भने यस दिन नुन र तेलको भाउ बराबर भयो कि भएन भनी हेर्ने चलन रहेको छ । यसको पछाडि एउटा कथा रहेको छ ।

किंवदन्ती अनुसार काष्ठमण्डप निर्माण सम्पन्न भएपछी तान्त्रिक बन्धनमा रहेका कल्पवृक्ष देवताले आफूलाई मुक्त गरिदिन आग्रह गर्दा, जुन दिन नुन र तेलको भाउ बराबर हुन्छ, त्यो दिन यस सत्तलको प्राण-प्रतिष्ठान पनि गरौंला र तपाईंलाई पनि मुक्त गरिदिउँला भनी वचन गरेको मानिन्छ । सोही अनुसार हालसम्म पनि माघे संक्रान्तिको दिन भाउ हेर्ने चलन छ र भविष्यमा कुनै दिन दुबैको भाउ बराबर भएमा काष्ठमण्डपको प्राण-प्रतिष्ठान गर्नुपर्ने मान्यता रहेको छ । 

यसैगरी हरेक १२ वर्षमा एकपल्ट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन अर्थात् यसै माघे संक्रान्तिको दिनबाट एक महिनासम्म पनौतीमा मकर मेला लाग्ने गर्दछ । तीन नदिको संगम मानिने त्रिवेणीघाटमा स्नान गर्ने तथा इन्द्रेश्वर र तोला नारायणको दर्शन गर्न पनौतिमा घुइँचो लाग्ने गर्दछ । हरेक १२ वर्षमा एकपल्ट विशेष योगमा यहाँ अमृत जल प्रवाह हुने जनविश्वास रहेको पाइन्छ र मकर मेला अविधिमा स्नान गरेमा रोगबाट मुक्त हुने, ग्रहदशा शान्त हुने तथा पाप पखालिने विश्वास गरिन्छ। 

अन्य समुदायमा 

देशभर यस संक्रान्तिको दिन विभिन्न स्थानमा आ-आफ्नो संस्कृती अनुसार विभिन्न पूजा, मेला हुने गर्दछ भने किराँत, मगर र थारु समुदायले यस दिनलाई विशेष रुपमा मान्ने गर्दछन् । किराँत, थारु र मगर समुदायको यसै दिन नयाँ वर्ष सुरु हुने गर्दछ भने यस दिन आफ्नो मौलिक संस्कार अनुसार प्रकृति पूजा तथा अन्य चाडहरु मनाउने गरिन्छ । आजबाट थारुहरुको नयाँ वर्ष २६४६ सुरु भएको छ भने मगरहरुको मिनाम ल्हेस ५०१५ सुरु भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।