काठमाडाैँ । प्रसिद्ध धार्मिकस्थल अर्जुनधारामा पर्यटकीय आकर्षण बढाउन परिसर बाहिर कलात्मक स्वागतद्वारलगायतका कलाकृति निर्माण गरिएको छ । धाम क्षेत्रको बाह्य आकर्षण बढाउन अर्जुनधारा नगरपालिकाको रु २८ लाखको लागतमा नगरकै प्रवेशद्वार अर्जुनधारा–६ स्थित महानन्द चोकमा कलात्मक स्वागतद्वार बनाइएको नगरपालिकाका सूचना अधिकृत हेमराज सेढाइँले बताए ।

विर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्रमा बनाइएको स्वागतद्वारको माथिल्लो भागमा महाभारतकालीन युद्धमा अर्जुनले बाण हान्दै गरेको प्रतिमा राखिएको छ भने खम्बाको दुईतिर महानन्द सापकोटा र भानुभक्तको अर्धकदको शालिक बनाइएको छ । महाभारतकालीन पौराणिक आख्यानसँग जोडिएको अर्जुनधारा जलेश्वर धाममा बर्सेनि दशाैँ लाख तीर्थयात्री आउने गर्छन् । पशुपतिनाथको पेगोडा शैलीमा निर्मित यस धामको मूल मन्दिरमा पूजा गर्न दिनहुँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

यही कारण यसलाई पूर्वको पशुपतिनाथको रुपमा पनि चिनिन्छ । धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलले भरिभराउ रहेको अर्जुनधारालाई ऐतिहासिक तथा धार्मिक नगरका रुपमा चिनाउन नगरपालिकाले मन्दिर रहेको शनिश्चरे बजारलाई धार्मिक मान्यता अनुरुपको नगरीको रुपमा विकसित गर्ने कार्य गर्दै आएको छ ।

नगरपालिकाले बजारमा महाभारतकालमा श्रीकृष्ण भगवानले अर्जुनलाई उपदेश दिइरहेको दृश्यबोध हुने विशाल प्रतिमा स्थापना गरिसकेको छ । यहाँ घुम्न आउने यो प्रतिमामा सेल्फी फोटो खिचाउन रुचाउने गरेको स्थानीय यलम्बर साप्ताहिका कार्यकारी सम्पादक राजन साम्पाङ बताउन्छन् ।

शनिश्चरेलाई झापाकै पुरानो बजार मानिने गरेको हुँदा बजारको बीचमा पचासौँ वर्ष पहिलेको अवस्था झल्काउने गोरुगाडाको विशाल प्रतिमासमेत राखिएको छ । बजार क्षेत्र हुँदै अर्जुनधारा जलेश्वर धाम, सुखानी सहिल स्मृति पार्क, कैदले पर्यटकीयस्थल, शङ्कराचार्य पीठ लगायतका ऐतिहासिक तथा धार्मिकस्थल पुगिने हुँदा यहाँ रात्रिकालीन उज्यालो सौर्य बत्तीको व्यवस्था मिलाइएको छ ।

अर्जुनधारा साहित्य र संस्कृतिको सङ्गमस्थल भएको जनाउँदै अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी सेढाइँले प्रवेशद्वारमा आदिकवि भानुभक्त र महानन्द सापकोटाको सालिक राखिएको बताए । अर्जुनधारामै हुर्किएका कृष्ण धरावासी, सञ्जीव उप्रेती, दुबसु, सरोज ओली, कुमार भट्टराई, जयप्रसाद ढकाल, कृष्ण बराललगायतका साहित्यकार देशकै ख्याति प्राप्त छन् ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले सय वर्ष पुरानो शनिश्चरे बजारको झल्को दिने उद्देश्यले गोरुगाडा र धार्मिक महत्व दर्शाउन कृष्णले अर्जुनलाई रथमा राखेर गीताको उपदेश दिइरहेको प्रतिमा बनाएर राखिएको बताए । 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...