काठमाडाैँ । रेडियोकर्मी एवं गायक तथा रचनाकार सुरजबीर बज्राचार्य  शब्द रहेको जन्मदिनको शुभकामना गीत आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएकाे छ । गायक तथा रचनाकार बज्राचार्यको नेपालभाषामा लोकप्रिय  रहेको जन्मदिन गीतको नेपाली संस्करण काठमाडौं भृकुटीमण्डप स्थित बुद्धविहारमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त गीत सार्वजनिक कार्यक्रम भएको हो ।

कार्यक्रममा  प्रमुख अतिथि वरिष्ठ कलाकार श्रेष्ठले नेपालभाषाको लोकप्रिय गीतलाई विस्तार एवं ब्यापकता दिन अन्य भाषाहरुमा पनि गीत निर्माणको कार्यको प्रशंसा गर्नुहुँदै जन्मदिनको गीतको सफलताको लागि शुभकामना व्यक्त गरे ।

भिक्षु कोण्डन्य महास्थविरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले मैत्रीभावले भरिएको यस गीतको लोकार्पण कार्यक्रम आयोजना गर्न पाउँदा खुशी भएको उल्लेख गर्नुहुँदै आफ्नो जन्मदिनमा यस गीतका गायक, रचनाकार सुरजबीरका साथ समूहले प्रस्तुत गरेको नेपालभाषाको जन्मदिनको गीतले भावविभोर बनाएको स्मरण गरे । उनले यही गीतको अन्य भाषाको संस्करणको समेत निर्माण गर्ने कार्यलाई सहयोग गर्न तथा लोकार्पणमा आफू एवं बुद्धविहार अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य तथा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले गीतका बारेमा राय राखे ।

गायक तथा रचनाकार सुरजबीर बज्राचार्यले स्वागत मन्तव्यको क्रममा  नेपालभाषामा निर्मित “बुदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना गीत) प्रति समाजले दिएको माया र प्रोत्साहन नै यो गीत अन्य भाषामा पनि निर्माण गर्दै जाने कर्मको उर्जा रहेको बताए । यस अघि गायक बज्राचार्यको मातृभाषा नेपालभाषामा सार्वजनिक भएको जन्मदिनको गीतले हाल जन्मदिन मनाउँदा बजाउने, गाउने तथा गीत बजाएर सगुन दिने नव संस्कृतिकै रुपमा समाजमा स्थान प्राप्त गरेको छ । यस गीतलाई अन्य विभिन्न भाषामा निर्माण गर्दै जाने उद्देश्यले यो गीत निर्माण गरिएको हो ।

उक्त समारोहमा संगीत संयोजक जुगल डंगोल, चेज होम एप्लायन्सेजका सुरेश मल्ल, पेजथ्री पाक्षिकका दर्शनवीर शाक्य, गायक बज्राचार्यका बुबा नामसंगिती गुरु तथा हिरण्यवर्ण महाविहारका आजु चित्रवीर बज्राचार्य, धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्य, युवक बौद्ध समूह, काठमाडौंका अध्यक्ष मदनबहादुर तुलाधर, बौद्ध महिला संघका उपाध्यक्ष बीना कंसाकारको समेत अतिथिका रुपमा उपस्थिति रहेको हो । कार्यक्रममा धन्यवाद ज्ञापन भने विहारका सदस्य सानुबाबु साय्मिले गरेका थिए ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...