Yubaraj Kandel

Mr. Kadel has been working in the field of environment and development for two decades. Currently, he is a Ph.D. Scholar at LBU.

दशैँ तिहारको समय आफैमा नेपालीहरूको लागि उल्लासपूर्ण समय हो । अध्ययन, व्यापार र अन्य कारणले घरबाट टाढा गएकाहरू यिनै चाडको बेलामा गाउँघर फर्कने भएकोले यो समय सबैको प्रिय समय मानिन्छ । सबैजना भेट हुने र सँगै बस्ने अवसर पाइने भएकोले पनि यो समयले सामाजिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ । दशैँ तिहारको समयमा स्कुल कलेज र अन्य संस्थाहरूमा लामो बिदा हुने भएको र मौसम पनि राम्रो हुने भएकोले दशैँ तिहारको समयलाई घुमफिरको लागि उपयुक्त समय मानिन्छ त्यसैले धेरै जनाले घुमफिरको लागि दशैँतिहार बिदा नै पर्खेर बसेको देखिन्छ । घुमफिर गर्न सबैलाई मन लाग्ने भएपनि कहाँ र कसरी जाने भन्ने बारेमा जानकारी नहुँदा त्यत्तिकै खुम्चेर बस्न बाध्य हुन्छन् । कहाँ घुम्न जाने भन्ने कुराको निर्णयमा आफूसँग उपलब्ध समय, स्वास्थ्य अवस्था, रुचि र खर्च गर्न सक्ने रकमले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यिनै कुराहरूलाई ध्यानमा राख्दै बुटवल सेरोफेरोमा बसोबास गर्नेहरूका लागि घुमफिरका लागि उपयुक्त ठाउँ यहाँ प्रस्तुत गरिएको छ ।

१. रारा, मुगु

कम्तीमा एक साता समय घुमफिरमा छुट्याउन सक्नेहरूका लागि बुटवल–सुर्खेत–दैलेख–जुम्ला हुँदै रारा राष्ट्रिय निकुञ्ज सम्मको यात्रा निकै रमाइलो हुन्छ । जुम्ला सिमाना सम्मको सडक पक्की भएको र त्यहाँ देखि रारा सम्मको बाटोको अवस्था पनि राम्रो भएकोले मोटर साइकल वा साना गाडीमा सजिलै जान सकिन्छ । यो यात्रा रारा तालको मनोरम दृश्यहरू त हेर्न पाइन्छ नै सिञ्जा र जुम्ली सभ्यता, कालिकोटको कठिन जीवन, दैलेख दुल्लुका धार्मिक र ऐतिहासिक ठाउँहरूका साथै सुर्खेत उपत्यकाका पर्यटकीय ठाउँहरूको समेत अवलोकन गर्न पाइन्छ । बुटवल देखि झन्डै १५ सय किमीको यात्रा पुरा गर्नको लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ भने खर्च गर्नै पर्छ ।


रारा ताल, मुगु ।


२. रुकुम र सल्यान
मुगु सम्मको यात्रा गर्न नसक्नेहरूका लागि सल्यान र रुकुम सम्मको यात्रा रोचक हुन् सक्छ । बुटवल देखि सात घण्टा मै सल्यान जिल्लाको सुन्दर कपुरकोट भन्ने ठाउँमा पुगिन्छ । अधिकांश समय कुहिरोको घुम्टोमा लुक्ने कपुरकोट कुनै हिल स्टेसन भन्दा पनि कम छैन । त्यहाँको वनस्पति उद्यान हेर्न लायक छ । कपुरकोट देखि छाया क्षेत्र घुमेर खलंगामा बास बस्न सकिन्छ । दोस्रो दिन रुकुमको मुसिकोट, चौरजहारी घुमेर सिस्ने हिमाललाई हेर्दै मध्य पहाडी लोक मार्ग हुँदै पूर्वी रुकुमको रुकुमकोट पुगिन्छ । त्यहाँको प्रसिद्ध कमल दह हेरेर सोही बाटोबाट तुलसीपुर फर्केर दाङ उपत्यका घुमेर पाँच दिनमा मज्जाले बुटवल फर्कन सकिन्छ । दाङ फर्कन नचाहनेहरू तकसेरा, लुकुम हुँदै बाग्लुङ्गको बुर्तिवांग निस्केर रिडी घुम्दै बुटवल आउन पनि सक्छन् । सार्वजनिक बस, साना सवारी साधन वा मोटर साइकलबाट पुरा गर्न सकिने यो यात्राको लागि १० हजार रुपियाँ र पाँच दिन समय भने छुट्याउनु पर्छ ।


कमल दह, रुकुम। 


३. रोल्पा र प्युठान
५ दिने यो यात्राको सुरुवात घोराही बाट गर्नुपर्छ । पहिले दिनमा बुटवलबाट घोराही हुँदै थवांग पुग्न सकिन्छ । माओवादी युद्धले चर्चित बनाएको थवांग देखि दोस्रो दिनमा प्रसिद्ध स्वर्गद्वारी मन्दिरको दर्शन गरेर भिंग्री झरेर सुलिचौर हुँदै रोल्पाको लिवांग पुग्न सकिन्छ । मौलिक खाम संस्कृतिमा रमाउन चाहनेहरूले थवाङ्गदेखि सहिद मार्ग हुँदै रुकुमको तकसेरा, काक्री र लुकुम पुगेर आनन्द लिन सक्छन् । जनयुद्धका कथा र व्यथाहरू बोकेको रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न मानिन्छ । रोल्पाबाट फर्केर विजुवार हुँदै खलङ्गा वा मच्छी पुगेर बस्न सकिन्छ । त्यहाँबाट समय भएमा गुल्मी निस्केर तानसेन हुँदै बुटवल झर्न वा भालुवांग हुँदै बुटवल आउन सकिन्छ । प्रतिव्यक्ति १० हजार खर्च हुने यो यात्राको लागि मोटरसाइकललाई सवारी साधन बनाउनु राम्रो हुन्छ ।


छाेयागा, गुल्मी ।


४. म्याग्दी र मुक्तिनाथ
आफ्नी सवारी साधन नभएका र लामो यात्रा गर्न चाहनेहरूका लागि मुस्ताङ यात्रा उपयुक्त हुन्छ । अहिले बुटवलबाट एकै दिनमा बस चढेर जोमसोम पुग्न सकिन्छ । सोही दिन नै कागबेनी र मुक्तिनाथको दर्शन गरेर जोमसोममा बास बस्न सकिन्छ । एक दिन जोमसोम घुमेर अर्को दिन म्याग्दी जिल्लाका प्रसिद्ध गलेस्वरधाम , तातोपानी घुम्न भ्याइन्छ । अर्को दिन बाग्लुंग भगवती, कुस्मा सेरोफेरो घुमेर पर्वतको फलेवास पुगेर काली गण्डकी तरेर बेलबगर हुँदै पूर्तिघाटको बाटो बुटवल झर्न वा कुस्मा देखि पोखरा हुँदै बुटवल आउन सकिन्छ । यो यात्राको लागी कम्तीमा ५ दिन र १५ हजार रुपैयाँ भने छुट्याउने पर्छ ।


मुक्तिनाथ क्षेत्र, जोमसोम ।


५. ढोरपाटन
नेपालको प्रसिद्ध सिकार आरक्ष ढोरपाटन पर्या–पर्यटनको लागि उपयुक्त छ । बाग्लुंग, रुकुम र डोल्पाको केही भूभागमा फैलिएको यो आरक्षको मुख्य भाग ढोरपाटन उपत्यका नै हो । आलु र भेडाको लागि प्रख्यात यो उपत्यकामा हिमाली जीवजन्तु र तिब्बती संस्कृति समेत अवलोकन गर्न सकिन्छ । बुटवल देखि रुद्रवेनी, बुर्तिबांग हुँदै एकै दिनमा ढोरपाटन पुग्न सकिन्छ । होमस्टे र मध्यम खालका होटेलहरू भएकोले बस्न र खानको कठिनाइ महसुस गर्नु पर्दैन । चिसो मौसम, हरियाली र हिमाली फूलहरूले त्यहाँ पुग्नेहरूलाई पक्कै पनि लोभ्याउन सक्छ । चार दिन समय हुने र १०/१२ हजार रुपैयाँ भन्दा बढी खर्च गर्न चाहनेहरूका लागि यो क्षेत्र भ्रमणको लागि राम्रो गन्तव्य हुन्छ ।

६. कुलेखानी राउन्ड
इन्द्र सरोबर नेपालको मानव निर्मित सबभन्दा ठुलो जलाशय हो । कुलेखानीको नामले चिनिने यो जलाशय मकवानपुर जिल्लामा पर्छ । हेटौडा देखि भैसे हुँदै २४८८ मिटर अग्लो सिमभंज्यांगमा पुग्दा निकै शीतलता महसुस हुन्छ । त्यहाँदेखि दामन, पालुङ, वज्रवाराही, चित्लाङ हुँदै मार्फु झर्दा कुलेखानी सरोबर भेटिन्छ । कुलेखानी सरोवरको किनारा किनारै पूर्व दक्षिण लागेपछि पूर्वी ड्याममा पुगिन्छ । कुलेखानी सरोवर वरिपरिका बस्तीहरू, कुलेखानीका माछा , नौका विहारको मज्जा लिँदै भीमसेन गढीको बाटो हुँदै ऐतिहासिक भीमफेदी आउन सकिन्छ । त्यहाँबाट हेटौडा झरेर सहिद पार्क घुमेर ३ दिनमा बुटवल फर्कन सकिन्छ । मोटरसाइकल र साना गढीहरूबाट यात्रा गर्न सकिने यो रुट भ्रमण गर्दा ८ देखि १० हजार खर्च गरे पुग्छ । 

७. अर्घाखाँची
धार्मिक र पर्या–पर्यटनको लागि अर्घाखाँची यात्रा उपयुक्त छ । बुटवल देखि एकै दिनमा सुपा देउरालीको दर्शन गरेर नरपानीको चिसो खादै सन्धिखर्क पुग्न सकिन्छ । सन्धिखर्क घुमेर ढोरपाटन मार्ग हुँदै सालझण्डी निस्केर वा घुम्ती देखि भुवनपोखरी, हार्थाेक हुँदै तानसेनको सेरोफेरो घुम्दै बुटवल आउन सकिन्छ । तीन दिन समय र ५ हजार रुपैयाँ खर्च छुट्याउने हो भने यो यात्राको मज्जा लिन सकिन्छ ।


ठाडा दह


८.कालिगण्डकी सेरोफेरो
कालिगण्डकीको सेरोफेरो सांस्कृतिक, धार्मिक र पर्यावरणीय रूपले निकै सम्पन्न ठाउँ भएकोले बुटवलवासीको लागि यो क्षेत्र घुम्नु जरुरी छ । रामपुरका फाँट, घुमेको काली गण्डकीले बनाएको खालिवनको टापु, राम्दिका मठमन्दिर र गुफा, रानिघाटको रानीमहल, प्रसिद्ध रुरु क्षेत्र, आलमदेवी मन्दिर, मिर्मिको ड्याम, मिर्मि जलाशयमा बोटिंग, सेतिवेनी दर्शन जस्ता अवसरहरू कालिगण्डकीको सेरोफेरो भ्रमण गर्दा प्राप्त गर्न सकिन्छ । २/३ दिन समय छुट्याउने हो भने यी मध्ये धेरै ठाउँहरू मज्जाले घुम्न सकिन्छ । यातायात र होटेलका सुविधा भएका यी क्षेत्रहरू घुम्नको लागि खासै खर्च पनि लाग्दैन ।

९. चुरे पदयात्रा
धेरै जनालाई लामो यात्रा गर्न जाँगर चल्दैन र उनीहरूसँग समय पनि हुँदैन । गाडीमा लामो यात्रा गर्न नचाहने र पैदलै घुमफिर गर्न रुचाउनेहरूको लागि चुरे क्षेत्रको पदयात्रा निकै उपयुक्त हुन्छ । चुरे पहाडको संरचना जति सरल छ त्यो भन्दा रमाइलो छ यहाँको सामाजिक र पर्यावरणीय जीवन । १/२ दिन पदयात्रा गर्न चाहनेहरूको लागि चुरे पहाडमा निकै सुन्दर ठाउँहरू छन् । देवचुलीदेखि चुरे पहाडै पहाड राकाचुली, सर्दी बगैँचा हुँदै दुम्कीवास, सुनवल नगरपालिकाको महल पोखरी, भुटुके, हात्तीलुंग हुँदै माथा गढी निस्केर देवदहको खैरेनी, खैरेनी देखि माथागढ़ी, ज्यामिरे, हात्तिकोट हुँदै चरंगे वा झुम्सा पदयात्राका लागि राम्रा ठाउँहरू हुन् । यो रुटमा यात्रा गर्दा चुरेको सांस्कृतिक र जैविक विविधताका साथै मनोरम हिमाल, हरिया पहाड र आँखाले भ्याउन्जेल देखिने तराईका सुन्दर मैदानको अवलोकन गर्न सकिन्छ । एकैदिनमा फर्कन चाहनेहरूका लागि नुवाकोट, वसन्तपुर, सत्यवती, झिंगामारा, स्यालवास, ठाडा , तानसेन उपयुक्त ठाउँ हुन् । फरक रुचि राख्नेहरूका लागि बाउबाजेले नुन बोकेको नुवाकोट–दोभान–सिस्नेखोला –मस्यामको यात्राले पनि रोमाञ्चकता थप्छ । उल्लेखित स्थानमा यात्रा गर्नको लागि धेरै खर्च चाहिँदैन, मात्र जोस र जाँगरको आवश्यकता पर्छ ।

१०.छेउछाउ मै छन् घुम्ने ठाउँ
घुमफिर गर्न त सबैलाई मन लाग्छ तर घुमफिरको लागि सबैसँग समय हुँदैन । आफ्नो साधन नभएका र समय कम भएकाहरूले घुम्ने ठाउँ पनि हाम्रै छेउछाउमा प्रशस्तै छ । शंकरनगर वनबाटिका, बाउन्नकोटी वन, मोक्ष धाम, मुक्तिधाम, गजेडी ताल, गैडहवा ताल, जगदीशपुर ताल, तौलिहवा सेरोफेरो, लुम्बिनी, देवदह सेरोफेरो, बर्दगोरिया, दाउन्ने, त्रिवेणी र वाल्मीकि आश्रम नजिकका घुम्न लायक ठाउँ हुन् । यी बाहेक हाम्रै छेउछाउका पुराना गाउँ बस्तीहरू घुम्न सकेमा समाज र संस्कृतिका धेरै कुराहरू सिक्न पाइन्छ । थोरै समयमा नजिकका नौला ठाउँमा घुमियो भने पनि धेरै जानकारी त प्राप्त हुन्छ नै शरीरमा स्फूर्ति समेत आउँछ ।

धेरैको नजरमा अझै पनि घुमफिर गर्नु भनेको काम नभएका र दाम खर्च गर्नेहरूले गर्ने काम हो भन्ने सोचाइ राखेको पाइन्छ । वास्तवमा यो संकीर्ण सोचाइ हो । स्वास्थ्यको लागि, ज्ञानको लागि, सामाजिक सद्भाव र मेलमिलापको लागि पनि बेलाबेलामा घुमफिर गर्नु राम्रो हो । घुमफिरले जीवन र जगतलाई बुझ्न मद्दत गर्छ । सामाजिक अगुवाहरूलाई समाजको वस्तुस्थिति बुझ्न, व्यवसायीहरूलाई व्यावसायिक योजना बनाउन, विद्यार्थीहरूलाई विषयवस्तु बुझ्न र शिक्षकहरूलाई सिकाउने कुराको संग्रह गर्न भ्रमणले ठुलो मद्दत गर्दछ । पारिवारिक र साथीहरू सँगको घुमफिरले आपसी आत्मीयता वृद्धि गर्दछ । घुम्नको लागि धेरै टाढा जाने पर्दैन । आफ्नो समय र खर्च गर्ने क्षमता अनुसार घुम्ने ठाउँहरू हाम्रै सेरोफेरोमा रहेकोले आफूलाई अनुकूल हुने ठाउँमा घुमफिर गर्दा यो दशैँ तिहारलाई अविस्मरणीय बनाउन सकिनेछ ।

तस्वीरः युवराज कडेल 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।