भारतको पश्चिम सुक्खिम लिङ्चोम् बस्ने मूर्धन्य साहित्यकार तथा पद्मश्री बिबि मुरिङ्ला ज्यूको साङ्सिङ्मा (भोज सुद्ध्याइ) कार्यक्रममा ‘लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड’को तर्फबाट गई असार ६ गते घर फर्कन्छु । पशुपतिनगर बजारमै पुग्दा सिँवा माविका शिक्षक सुरेश लिङ्खिम सरले फोन गर्छन्, ‘भाषाको तालिम छ, आउनु’ भनेर ।
थकित, ज्यान । अनि गान्तोकको सुक्खिम विश्वविद्यालयको अतिथि गृहमा असार ५ गते रात नुहाएका थिएँ । घर पुग्दा बिमारै हुन्छु । सिँवाबजार जाने मनै छैन । रविन पतङ्वा र सुरेश लिङ्खिम सरहरूको अनुरोधलाई काट्न सक्ने स्थिति पनि छैन किनकि फक्ताङ्लुङ् गाउँपालिकाको बजेटबाट आर्थिक वर्ष अन्तकालमा जसरी भए पनि लिम्बू तथा मातृ भाषी शिक्षकहरूलाई एक हप्ते तालिम दिनैपर्ने प्रस्ताव ‘स्थानीय लिम्बू तथा मातृभाषा शिक्षक सङ्गठन फक्ताङ्लुङ्’ले गरेको रहेछ ।
जडीबुटी सेवनमा ‘तिन चार दिनमा ज्यानलाई सन्चो भएजस्तो भएपछि आउने प्रयास गर्छु’ भनेर आश्वासन दिन्छु, सुरेश सरलाई । जब्बरजस्तो, अनिको ज्यानलाई सिँवाबजार स्थित मावि भवनमा हुने लिम्बू तथा मातृभाषाको शिक्षकहरूलाई सीप अभिवृद्धि तालिम दिन असार ११ गते शनिवार हिँड्छु । भतिज डिल्लीहाङ् नेम्बाङ्को पल्सर १५० को मोटरसाइकल लिएर ।
बिहान ७ बजेतिर खाजा खाई लालीखर्कको पेट्रोल रेस्टुराँमा मोटरसाइकललाई अघाउँजी खाना दिएर पानीसँग लाप्पा पर्दै सरासर लाग्छु । गोपेटारको बान्तवा आशिष् होटेलमा खाना खान्छु, ११ बजे । कावेलीमा पुगेर दाँत माझी फेरी लगातार कुदेर बानन्दे पुग्छु । बानन्देको तल्लोपाटा हुँदै दोभान जाने कच्ची मोटर बाटो पछ्याउँछु । बाफरे, बाटो त । उहिले मेरो गाउँमा मोटर बाटोको सुरुवातभन्दा बिजोक र विकट । मतलब, बाटोमा ढुङ्गाका ठुलठुला टाउकाहरू बाक्लो क्षितिजमा देखिने । जत्ति नजिक पुग्छु, त्यही ढुङ्गा टाउकाहरूको बिच र चेप भएर चारखुट्टि मोटरसाइकल लैजान्छु । कहिले बिसाउँदै त कहिले बाटो सोध्दै । दोभान नजिक पुगेर एक पसलेलाई तमोर कोरिडोरको बाटो सोध्छु । उत्तरै दिन सकेनन्, कस्तो दिमाग ? अनुमानको भरमा लाग्छु, उत्तरी बाटोतिर । तमोर किनार पुगेर उकालिन्छु, तमोरको आवाज र सुसेलीसँग कावा खेल्दै । दाहिनेतिर तमोरको अजंग आवाजको इन्सानले ओरालो दगुर्दै म ठ्याक्कै विपरीत । पानी परेको रहेछ अलिक अघि, बाटामा पानी र खोल्साहरूको स्तरवृद्धि भएको । निक्कै माथि पुगेपछि पहिले हिँडेका मूल मोटर बाटोमा पुगेजस्तो भो । यो थुम्मा रहेछ । तमोर पार हुन्छु, पुल नाघेर । फेरी निक्कै माथि पुगेर मित्लुङ्को पुलबाट फेरी वार हुन्छु, दुईपटक तमोर नाघेर फुरुम्बो खोला तर्छु ।
सिस्ने खोलामा अस्थायी काठको मोटर पुल लगाएको रहेछ । यो पार गरेपछि त, घरदेखि लगातार यात्रा, विश्राम शून्य, शारीरिक नियन्त्रण समेत झ–झन्डै गुमाउँछु । बाटो नाघियो कि तमोरमै झरिन्छ । अडिने ठाउँ छैन । तमोरको घोर्ले बैँस छ, पुरै कुर्लँदै । अलैँचीका बगानहरू सप्रेको देख्छु, पुरै जाँतो जस्तो भएर । एकछिन–एकछिन बस्दै, बस्दै गरेर सिँवाबजार दिनको दुई बजे ‘थ्री जेके होटेल एन्ड लज’ (प्रो डाकमान लिङ्खिम) अगाडि पुग्छु । थाकेको ज्यान, शरीरका सबै नसा र अङ्गहरू पुरै गलेको, पुरै विश्रामका लागि बिस्तारा माग्दैछ । छि? कस्तो ज्यान । होटेल साहूजीलाई कराउँछु कोही बोल्दैनन्, सुन्दैनन् । एकजना साना नानीलाई सोध्छु । ‘बारीतिर गएको होला’ भन्छिन् । म पहिले पनि आएकाले साहूजीको बारी र उहाँको बोर्डिङ मलाई यावत छ । उतै लाग्छु, त्यहाँ पनि भेट्दिन । बेखुसीले फर्कन्छु, थकावट ज्यान लिएर, लख्रक्–लख्रक गर्दै । होटेल अगाडि फलामे चौतारामा जबरजस्त बस्छु, अर्धगले निद्रा अनि अर्को आधा थकित शरीर ।
एकजना मजस्तै पाहुनाले अघिदेखि चियाइ राखेका रहेछन् । म बसेको स्थानमा आई सोध्छन् । ‘तपाई काँबाट आउनु भा, कसलाई खोज्नु भा ?’ जवाफ दिन्छु ‘म पाःन्थःरबाट आको, गलेको छु । डाकमान जीलाई खोजेको । उहाँ हुनुहुन्न ।’ ‘ए, खोज्छु है’ भनेर घरको तल्लो तलापट्टि जान्छन् अनि फेरी मास्तिर तुरुन्तै आउँछन् र मलाई भन्नुहुन्छ । ‘ए, तपाई पाहुना हुनुहुँदो रहेछ । मास्तिर कोठामा गएर आराम गर्नु नि । उहाँ त प्रार्थनामा लागेका रहेछन् ।’ यो कुरा सुनेपछि थकावट शरीरमाथि अर्को व्यभिचार भयो जस्तो लाग्यो । सिरदेखि पातलैसम्म अर्को थकान थप । खुइय गर्नु बाहेक अन्य विकल्प र सान्त्वना रहेन ममा । किनकि लिम्बू जातिमा घरधनी बिना कोठामा जाने, बस नभनी बस्ने र खानु नभनी खाने संस्कारै छैन । पर्खन्छु, छिनछिनमा हाई काढ्दै । आँखाको ढकनी पुरै झुकेको, तन्काई–तन्काई खोल्छु । निक्कै बेर पर्खेपछि एक पटक उहाँको फोनमा मिसकल गर्छु किनभने एक दिन अगावै ‘म सिँवा आउँदै छु है’, कर्ण फुसफुसमा भनेका थिएँ ।
लगभग दुई घण्टा पछि प्रार्थना सकेर निस्कन्छन् मास्तिर, म बसेको स्थानमा, ४ बजे । मलाई देखेपछि कोठाहरू सजाउँछन्, हतारमा । त्यसैबेला साहूजी डाकमान सरलाई जिस्क्याउँछु । ‘हैन हाउ डाकमान सर, म यहाँ आएर थकित भई बसेको पीडा प्रभुले खबर गरिदिनु भएन कि क्या हो, हजुरको प्रार्थनामा ।’ यो तर्कपछि एक पटक दिल खोलेर मज्जैले हाँस्छौँ दुवै । मभन्दा चार–पाँच दिन अघि सिँवा माविमा लिम्बू भाषाको कक्षा ११ र १२ को परीक्षामा पर्यवेक्षक भई आउने लालबहादुर नेम्बाङ् सर र सुरेश सरलाई फोन गर्छु । उहाँहरू पनि दुई घण्टाभित्र आई नपुग्नु बेमज्जा ममा रहिरह्यो, शरीरभरि । तथापि उहाँहरू टुप्लुक्क आइपुग्छन् । एकछिन गफगाफ गरी थकित ज्यानलाई विश्राम लिन्छु ।
असार १२ गते, आजदेखि १८ गतेसम्म लिम्बू भाषाको शिक्षकहरूलाई सीप अभिवृद्धिका लागि तालिम हुने । बिहान १० बजे उद्घाटन भनिएता पनि मध्यान्ह १ बजेतिर मात्र सुरु हुन्छ । पीडावोध छ, प्रमुख अतिथि निम्त्याएका वडा सदस्य पनि आइपुग्न नसक्नु । गाउँपालिकाको बजेट तर गाउँपालिकाको प्रतिनिधि बिनै उद्घाटन हुन्छ । धन्न, सिँवा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मचिन्द्र तबेबुङ् टुप्लुक्क आइपुगेकाले राहत पुग्छ । कार्यक्रम ढिलै सुरु । अध्यक्षता मिङ्सो साम्रा, सञ्चालन धनहाङ् लिम्बू, स्वागत मन्तव्य परशुराम गुरुङ र मन्तव्य मचिन्द्र तबेबुङ् । उद्घाटन समारोह भनिएको तर सबै हतारका कारण उद्घाटन गर्ने तालिकामा नै पो छिरेनछ । कार्यक्रम मात्रै । ‘याक्को? फेक्वाओ च्वाःत् केलेःङ्बा’ (मानेको पातमा पानी चिप्लिने) जस्तै भो हाम्रो कार्यक्रम । मेरो दिमागले पनि साथ दिएनन् तत्बेला । यसै दिन तिनसेसन कक्षा सम्पन्न गर्छौँ । सेसनको अध्यक्ष चयन, प्रतिवेदक, व्यवस्थापक र मनोरञ्जक चयन र आचारसंहिता निर्माण तय गरी हतारमा स्वर वर्ण र व्यञ्जन वर्णको चिनारी, लेखन सीप र साना, आधा र पूर्ण अक्षरहरूको चिनारी ।
सिँवाबजार, गर्मीले हपहप । बाफरे, बाक्लो बोर्किले ढाकेको छ, भुईँ तातेको छ, ज्यान पाकेको अवस्था । लगभग, समुद्री सतहदेखि छसात सय पनि छैन जस्तो । भनौँ, तराईको कुनै स्थान । छेउदेखि बग्ने तमोरको एकोहोरो सुसेली । बजारको माथिल्लो पाटा लामो भीर, पारी पनि तस्तै । १५ गते बेलुकातिर खाम्बुलिङ् नाहाङ्मा मन्दिर अवलोकनमा म, लालबहादुर, रविन पतङ्वा र मिङ्सो साम्रा खेजेनिम् (खेजेक्नाम्) गाउँको तल्लोपाटा जान्छौँ, हाङ्बोरुङ् मास्तिर तमोर पार गर्दै । अर्को खोला पनि झोलुङ्गे पुलबाट तर्दै । भीरहरूमा मोटर बाटो खनिएका रेखाहरू देखिन्छन् भने गाउँहरू पातलो । आक्को हाउ, अलैँची त क्या गजपले फलेको । यसो हेर्दा जिर्मले जस्तो देखिने बोटहरू । गोलसाई वा कुनै प्रकारका । जाँतोजस्तै डल्लो बसेका छन् अलैँचीहरू । दानाहरू त खै के भनौँ, कागतीको दाना हो कि अम्बकको दाना । असारमै यत्रा दानाहरू असोजसम्ममा कत्रो होला ? अचम्म लाग्छ मनमा । मास्तिर मन्दिरतिर लाग्छौँ । धान फल्ने धनहर टार खेतहरू सबैमा अलैँची, केरा खेती पनि उस्तै देखिने । थो–थोरै मक्कै तर लोखर्के मुसाहरूको रजाइँ । घोगाहरू पुरै कुरूप ।
मन्दिर पुगेर यसको रहस्य खोज्छु । चाहेजस्तो कुनै भावार्थहरू त पाउँदिन । वरिपरि तिनपाटा भीर र माथिल्लो पाटा भने बारी भएर उठेको थुम्की अथवा प्राकृतिक रूपमा उठेको जुरो । यो जग्गा अन्छङ्बो थरीहरूको पुर्ख्यौली किपट रहेछ । टुप्पीमा खाम्बुलिङ् नाहाङ्माको आठपाटे मन्दिर र मन्दिरको पूर्वपाटा महागुरु फाल्गुननन्दको सालिक पूर्ण कद । यो मन्दिर २०५२ सालमा अशोक सवेन्हाङ्को सक्रियतामा निर्माण भएको, २०७२ सालको महाभूकम्पले भत्काएपछि पक्की मन्दिर बनाएको । कुनै ताका धर्मको विवाद हुँदा यो मन्दिरलाई नष्ट गर्ने प्रयास पनि भएको । नष्ट गर्नु धर्म यात अपराध, कुनै मेरो चासो रहेन त्यहाँ । खाम्बुलिङ्को शाब्दिक अर्थ खोज्छु । त्यहाँ १९९४ मा जन्मेका वृद्ध बिचारसिं अन्छङ्बो रहेछन् तर जोसिला, फुर्तिला र जाँगरिला । उहाँले हामीलाई चिया पकाएर ल्याइदिनु हुन्छ । र भन्नुहुन्छ ‘यो खाम्बुलिङ् भनेको त उहिले सत्तेजुगमा सावायेत्हाङ् (आठमहाराजा) हरू यहाँ आएर बसे रे र यहीबाट साराका सारा याक्थुङ्बाहरू विभाजित भएको हो रे ।’ अलिक अपुरा तर सुन्नैपर्ने छोटो लोकआख्यान् सुन्छु । वास्तवमा खाम्बुलिङ्को अर्थमा खाम् (माटो) पु/बु (जुरो) लिङ् (उठेको, चढेको, उम्रेको) . खाम्बुलिङ् (माटोको जुरो उठेको/उम्रेको) भन्ने लाग्छ ममा । र दृश्य त्यस्तै देख्छु, रिट्ठे आँखाले । ‘नाहाङ्मा’ लडाईकी शक्तिशाली देवी ।
यो मन्दिर जुनसुकै अर्थले भनिएता पनि सावायेत्हाङ् (आठ महाराजा) र खाम्बुलिङ्को वास्तविक खोज र अनुसन्धान गर्नुपर्दछ भन्ने लाग्छ । सावायेत्हाङ् (आठ महाराजा)हरू यो धर्तीमा उपस्थिति रहेको काल र खाम्बुलिङ् शब्द निर्माणको काल मिल्छ मिल्दैन ? अनि माटोको कार्बन परीक्षण गर्दा त्यस कालखण्डमा पुग्छ पुग्दैन ? सोच चैँ गम्भीर रूपमा लिनै पर्छ र म तस्तै हुन्छु । ‘अल्पज्ञानी भयङ्करी’ हुन्छ कि भन्ने मेरो मनमा हुँदाहुँदै पनि केही सुझाव मिङ्सो साम्रा सरलाई भन्छु । किनकि सावायेत्हाङ (आठ महाराजा)सँग जोडिएको खाम्बुलिङ् जस्तो सुन्दर प्रागैतिहासिक र प्राकृतिक धरोहरभित्र प्राकृतिक बनावटले नबनाएर सिमेण्टेड रसायन प्रयोग गर्नुले कार्बन परीक्षणमा पुरानो साबित हुन सक्ला ? भन्ने प्रश्न रह्यो, ममा ।
याक्थुङ् शिक्षकहरू २९ जना र सँगै एक कोठामा शेर्पा शिक्षकहरू ४ जनालाई शिक्षण सीप अभिवृद्धिका लागि तालिम लगातार ६ दिन हुन्छ । शेर्पा भाषा प्रशिक्षक मातृका शेर्पा हुनुहुन्छ । शेर्पा शिक्षकहरूको भित्रात्म मैले पत्ता पाउन सकिन तर याक्थुङ् शिक्षकहरूको भने मज्जैले थाहा पाउँछु । होला, भाषा शिक्षकहरूको व्यवस्थामा सरकारको गम्भीरता नभएर । तर त्यो पनि हैन, सरकार त निरीह नै छ किनकि भाषा, संस्कार, साहित्य, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मेवारी त उनकैको हो । हो, फक्ताङ्लुङ् गाउँपालिकामा धेरैअघि (गाउँ विकास समितिको अवस्था) देखि नै लिम्बू भाषाका शिक्षकहरूको नियुक्ति गरी अहिलेसम्म अविच्छिन्न रूपमा शैक्षिक क्रियाकलापमा सेवारत भएको पाउँछु । तर उहाँहरूलाई उचित व्यवस्थापन त के ? पढाउँदैनन् भन्ने उल्टो विचर्चा गरेर पेसामा घूनपुतली लगाई रहेको पाउँछु । हुनु पनि विद्यालय व्यवस्थापन समितिले भाषाको शिक्षकमा नियुक्ति गर्ने, तलब वर्तमान स्थितिमा ५ हजार दिने अनि सबै पिरियड पढाउनु भन्नु त्यस विद्यालयले ती शिक्षकको श्रम व्यापक रूपमा शोषण गरेको मानिन्छ । शैक्षिक विभेदता कुरा अनि श्रम शोषणको बहस सँगसँगै थोरै तलब । कुनै पनि एक शिक्षकले न्यूनतम चार र अधिकतम छ पिरियड पढाउँछन्, एक दिनमा । स्थायी वा करार शिक्षकको चार पिरियडको हिसाबले भन्ने हो भने वर्तमान तलबको प्रतिविषय मासिक ७ हजार भेट्छ । छ पिरियडको हिसाबले मासिक ४५ सय प्रतिविषयले पाउँछन् । उता सबै विषयको मासिक ५ हजार तलब दिनु कहाँ न्याय हुन्छ ? चार विषय पढाउँदा प्रतिविषय मासिक १२ सय ५० भेट्छ भने छ विषयको प्रतिविषय मासिक ८ सय ३३ रूप्पे भेट्छ । तसर्थ भाषा शिक्षकमा नियुक्ति पाएका शिक्षकहरूको थाप्लोमा श्रम शोषण मात्र हैन, बोक्न नसक्ने अजंगको भारी बिसाइएको छ, स्थानीय सरकारले । ‘बोके बोक्, नबोके मर’ नेपाली उखान झैँ । अझै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले ४५ मिनेटको पिरियड हटाएर पाठ्य घण्टा (क्रेडिट आवर) तोकेको छ ।
तालिमका लागि चार प्रकारान्तरका लिम्बू शिक्षकहरू छन् जस्तो पाउँछु, यथार्थ जे रहे पनि । पहिलो, राम्ररी अध्ययन गरी शिक्षणमा दक्षता मात्र हैन, भाषा र लिपिमा पोख्त नै हुनुपर्छ । त्यसैले सीप सिक्नै पर्छ । दोस्रो, के तालिम लिनु, अलिअलि अक्षर चिनाउन सक्ने सीप सिके भयो नि । प्रमाणपत्र चैँ लिनै पर्छ । तेस्रो, हैट के तालिम लिनु, अल्छीलाग्दो । पैसा पचौनी । प्रमाणपत्र पाए हुन्छ । अन्तिम, थैट किन तालिम लिने, सिक्ने ? आफैँ जानी राखेको, बोली राखेको, लेखी राखेको । पर्दैन । यस्ता मनोभावहरू थिए कि जस्तो लाग्छ अन्तरङ्ग बुझ्दा । तथापि ‘फक्ताङ् तङ्गर सिङ्बङ्लो, लाङ्भो काम्गर वाःभोःक्लो’ (भाव ः काँध मिलेमा बलो बोक्न सकिने, पैताला मिलेमा जँघार तर्न सकिने) उक्खान झैँ याक्थुङ् शिक्षकहरूको प्राण भने मिलेको पाउँछु र यही नै खुशीत्व हुन् ।
तालिम असार १२ देखि १६ गते लगातार बिहान सात बजेदेखि बेलुका ५ बजेसम्म दैनिक चार सेसनको रफ्तारमा पेसागत सीप अभिवृद्धिका लागि कक्षा सञ्चालन हुन्छ । मलाई लाग्छ, पहिलो र दोस्रो दिनसम्म ‘लटर–पटर, चना मटर’को रूपमा उपस्थिति पाउँछु । तेस्रो दिनदेखि केही शिक्षक साथीहरू अलिक गम्भीर मोडमा पुगेको देख्छु अथवा कक्षाले निक्कै सिरियस बनाउदैछन् । बोली परम्पराहरूमा अक्षरहरूको प्रकारान्तर, व्याकरणीय हिज्जे, शब्द संरचनाहरूको रखाई बसाइँहरूमा सामान्य वैज्ञानिकता र मानकी प्रशिक्षणले निक्कै चिन्तनशील बनाउँछन् । वास्तवमा उहाँहरूको कक्षा कार्य र सहभागिता अनि प्रस्तुतिमा साँच्चै सुधारोन्मुख हुँदै गएको देख्छु । परीक्षा र प्रयोगात्मक अभ्यास (सूक्ष्म शिक्षण) मा प्रायशः सबै शिक्षकहरूले ध्यानपूर्वक मन लगाएर सहभागी भएको पाउँछु । यसले मलाई जोसिलो, जाँगरिलो र हिम्मतिलो साबित बनाउँछ । परीक्षामा फक्ताङ्लुङ् ३ लिङ्खिमका वडा सदस्य श्री सन्तोष काम्बाङ्ले सुपरिवेक्षण गरी उत्तर पुस्तिकामा हस्ताक्षर गर्नुहुन्छ । यत्ति मात्र हैन, ७० प्रतिशत शिक्षकहरूले लिम्बू भाषा प्रयोग गरेरै सूक्ष्म शिक्षण गरेको पाउँछु । अक्षरांकको हिसाबले समग्रमा ‘बि प्लस’ ल्याएर उत्कृष्ट हुनु पुगेको अभिषेक केदेमलाई हृदयदेखि नै धन्यवाद दिन्छु र एउटा मेरो निबन्ध सङ्ग्रह ‘केयुक्ना नु आयुक्ना’ युक्ना साहित्य कृति प्रदान गर्छु ।
प्रशिक्षण हलभित्र पूर्णीमाया लिम्बू म्याडमको मनोरञ्जन समयमा गाएको पालामले मलाई आमोद–प्रमोदमात्र हैन, वैंशका पुरानो पानाहरू पल्टाउन भ्याउँछन्, तरुनीका तस्बिरहरू लिएर । अचानक मेरो मनबाट पालामी जवाफ फुर्छ, त्यसबेला ।
‘.......
फक्ताङ्लुङ् लिङ्खिम्, सिँवा पाङ्जुम् ।
हुमुनेत् तेन्ओ पज्यु आजुम् ।।
याम्धाङ्वा वहःङ्, सःक्ल पेःक्लो ।
हुसिङ्रे मिःम्हा, च्यरक् मेःक्लो ।।
सेमिक्ला चेप्मा, युःप्पाए ने ।
सप्फाबा हुसिङ्, चुःप्पाए ने ।।
साःङ्गोसिङ् तेहिम्, लुङ्मा पहिःम् ।।
वस्योमा सिङ्इन्, खेम्मारक् ने ।
सोलुङ्मा पहिःम्, सेम्मारक् ने ।।
........’ (भाव ः ....फक्ताङ्लुङ् गाउँपालिकाको लिङ्खिम् सिँवाबजार तालिम हलमा भेलियौं । तमोर नदी कुर्लिँदै जान्छिन्, सिकाइका प्रेमहरू थोरै मेटिन्छ । एक छिनको सिकाई क्षणभरमै सकिने । विरह चल्दै छुट्टिने नै ....।) पूर्णीमाया म्याडमप्रति एक फेर समर्पण रह्यो पालाममा ।
समापन समारोह १७ गते असार, तोकेको समयमा व्यापक रूपमा समापन गर्न चाहन्छन् तर हुनसक्ने स्थिति देख्दै छैन । गाउँपालिकाका एकजना पनि प्रतिनिधि आउन नसकेकोमा खल्लो आभास हुँदै छ, तत्क्षण । हुन त ‘कागलाई बेल पाक्यो, हर्ष न विश्वात्मा’ भने जसरी गाउँपालिकाले न खुसी नै मानेका रैछन् यात जिम्मेवार नै ठानेका । त्यस्तै देखिँदै छन्, यो पलहरू । तथापि लिम्बू भाषाका अभियन्ता श्री लिङ्खिम र सिँवा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र तवेवुङ्को आगमनले नयाँजोश र जाँगर भने थप सिर्जना हुन्छ र उहाँहरूकै मन्तव्यले समापन हुन्छ । वास्तवमा स्थानीय स्थायी सरकारले बजेट दिएर पनि अनुगमन र समापन समारोहमा उपस्थित नरहनु भाषिक हेय भाव हो कि ? भन्ने लाग्छ । आफ्नै गाउँपालिका भरीका मातृभाषा शिक्षकहरूको प्रशिक्षण कार्यक्रममा ठूलो लगानी गरी आफैँ नै आइपुग्न नसक्नु र समय निकाल्नु नसक्नुको मक्सदले कुदृष्टिका प्रश्नहरू आफैँ जन्मिने र तेर्सिने बनाउने नै हो । यस्ता प्रश्नै–प्रश्नहरू बिचमा राज्य, प्रदेश र स्थानीय सरकारले बेवास्ता गर्दै ल्याएका भाषा शिक्षकहरूलाई कसरी स्थायीमा लैजाने र भाषा लिपिलाई सरकारी कामकाजी भाषा र लिपिमा कसरी बनाउने ? भन्ने दुुरगामी चुनौतीहरू हामी सामु खडा छन् । यस्तै अपुरो र अधुरो सपनाहरूसँगै समापन समारोहमा प्रमाणपत्र र डिक्सनरीहरू चकलेट वितरण जस्तै हुन्छन्, खोटी कर्म जैसे ।
सम्झनायोग्य केही अवस्थाहरू फेला पार्छु । प्रशिक्षणको मध्यकालदेखि शिक्षक मकर लिम्बूलाई शारीरिक अस्वस्थ रही रहनु सुक्ष्मशिक्षण ताका पुष्पा लिम्बू म्याडम आफ्नो परिवारलाई बिदा गर्न जानु र शिक्षक पूर्णीमाया लिम्बूलाई अचानक करेन्ट लागेर ढल्नु मेरो लागी एक बिर्सन नसकिने अविस्मरणीय क्षणहरू बन्छन् । शिक्षक सुरेश लिङ्खिमको व्यवस्थापनमा कार्य व्यस्ततासँगै प्रशिक्षणमा सहभागी हुनु, रविन पतङ्वा पनि उस्तै असिन–पसिन भएर व्यस्त । मिङ्सो साम्रा र रविन पतङ्वा अनि कल्पना लिम्बू मिसले पनि सूक्ष्म शिक्षणमा सहभागी हुन नपाउनुमा उहाँहरूको कार्य व्यस्तता नै महादोषी हुन पुग्छन् । त्यति मात्र काँ हो र । चारजना मिसहरूले दुधेबालकदेखि टुकु–टुकु हिँड्ने आफ्ना सन्तानहरू समेत ल्याएर प्रशिक्षणमा हदै दुःखकासाथ सहभागी हुनु झन् नतमस्तक नै हुन्छु, म । भाषा मोहका कारण सायद उपस्थित रहेको हुनुपर्छ । अझै गजब, लिम्बू भाषाका शिक्षक परशुराम (सन्देश) गुरुङ र उषा राईको उपस्थितिले झनै गौरवान्वित हुन्छु । भन्नुपर्छ मैले, म्याडम उषा राईले त झन् अक्षरांकमा ‘बि’ ग्रेड नै ल्याउन सफल हुन्छिन्, धेरै लिम्बू भाषाका शिक्षकहरूलाई पछि पारेर ।
शेर्पा भाषाका प्रशिक्षक मातृका शेर्पासँगको भलाकुसारी र चिन्ताहरू पनि सम्झन योग्य नै छन्, मेरालागि । श्री लिङ्खिम सरसँगको वार्तालापहरू अझै समयानुकूल छन् । अझै तमोर किनारामा बस्दा सुरेश सरले लिङ्खिममा पहिले पहिरोले गाउँ नै बगाएको स्थानहरू हेराएर म त विरक्त नै हुन्छु । हुनु त पहिरोले दुःख दिलाए पनि ती हरेक पहरा, भीर, कुना, काप्चाका जङ्गलहरूमा फल्ने अलैँची लोभलाग्दो नै छन् । यस क्षेत्रको मुख्य आयस्रोतको मसिहा नै ठान्नुपर्छ, अलैँची । कालो माटो, पानीका मुहानहरू प्रशस्त र उर्वर क्षेत्र ।
यस्तै–यस्तै अनुभवहरू सँगाल्ने मौका दिने ‘स्थानीय लिम्बू तथा मातृभाषा शिक्षक सङ्गठन’ र फक्ताङ्लुङ् गाउँपालिकालाई मुरी–मुरी धन्यवाद दिन्छु । महानुभावहरू सुरेश लिङ्खिम, रविन पतङ्वा र मिङ्सो साम्रालाई धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरूकै पहलमा यो भेट सम्भव रह्यो भन्नु उत्तम रहला । प्रशिक्षण कालभरि मेरो सहपाठी लालबहादुर नेम्बाङ् सरलाई धन्यवाद दिन्छु र ‘थ्री जेके होटेल’ मालिक डाकमान सर र स्टाफ परिवारलाई पनि । डाकमान सर र स्टाफ परिवारहरूको न्यानो मायाले बार–बार अस्वस्थ ज्यानलाई फुर्तिलो बनाई रह्यो, पल–पलमा ।
रातभर र उज्यालो अवस्थासम्म पानी परेर पनि खाजा खाएर असार १८ गते बिहान ८.१५ बजे सिँवाबजार छोड्दै खाना खान कावेली पुग्छौँ, म र लालबहादुर नेम्बाङ् । कावेलीका ताजा माछाको तिहुनले खाना खाएपछि गोपेटारमा पानी छेक्न प्लास्टिक किन्छौँ । फेदेनबजार पुगेर शङ्कर आत्माको पार्सल हस्तान्तरण, चिया खाएर लगभग बेलुकाको ५ बजे गन्तव्य पुग्छौँ । यहाँहरू सबैलाई धन्यवाद ।
फोटो साभार ः डाक लिम्बू, मातृका शेर्पा, साम्रा मिङ्सो, अभिषेक लिम्बू, निर्मला तामाङको फेसबुकबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...