दिनेश कुलुङ फोनिबु

भरतसँग हाम्रो भेट जसरी भयो, एउटा संयोगले भएको थियो । उमेरले म जेठो भएपनि विवेकले म भन्दा ऊ सिनियर थियो । धेरै समय सँगै बितायौँ । उसको हरेक अभिव्यक्तिहरू सुन्दा अनि हेर्दा अचम्म लाग्थ्यो । मानौँ मैले पेट पाल्ने कुरा गर्थे, उसले पेट नै फुटाइदिने कुरा गर्थ्यो । मैले मापसे गरेर होस खुलाउन चाहन्थे, उसले पानी पिएर होस गुमाउन  चाहन्थ्याे । म भात खाएर खाटमा सुत्थेँ, ऊ मसी र रङ खाएर क्यानभासमा सुत्थ्याे । मैले नयाँ कपडा किन्थे, उनले लगाएको कपडा दिनदिनै प्वाल ठूलो-ठूलो बनाउथ्याे । म मानिससँग लजाउथेँ, उनी घाम सूर्यसँग लजाउथे । किनकि ‘त्यो सूर्यले मलाई देखेर हासिरहेको छ, सूर्य नभए मलाई कसैले देख्ने थिएन’-भन्थे । मैले आफ्नो पीडा भनेर मन हलुका बनाउन चाहन्थे तर उनले पीडा लुकाएर मन झन गहुँगो बनाउन चाहन्थे । किनकि ‘क्यानभासलाई म धेरै माया गर्छु, concept र  feel भएन भने क्यानभास एउटा पेपर सरह बेअर्थ बन्छ र conceptual feelings आउनको लागी मन भारी हुनुपर्छ’- भन्थे । जब हामी बाहिर निस्कन्थ्यौँ, एउटै प्रकृतिमा तपाईं हामीले जे देख्छौँ नि उसले त्यो हेर्दैनथ्यो, किनकि ऊ अरू नै देख्थ्यो र देख्न चाहन्थ्यो मानौँ हामी बच्चा छँदा आकाशमा बादलको मुस्लोभित्र सेतो खरायो, हात्ती, सेतो हाँस, चल्ला देखिएजस्तै । उसले नै मलाई Abstract and concrete बीचको दूरी सिकाउथ्यो । मैले फ्रुटी जूसको खोल देख्थे, उसले त्यसलाई भ्रष्टचारीले चुसिसकेको देश भनेर देख्थ्याे । 

मलाई भोक लागेको थियो मेरो नास्ता पप्पीलाई खुवाइदिन्थे । अनि भन्थे ‘धेरै पटक बाहिर कुकुरलाई साथी बनाएर रात बिताएको छु ।’ तर किन त्यसरी बाहिर रात बिताए मैले त सोधिन किनकि मलाई उसकाे परिस्थिति थाहा थियो । त्यसैले तपाईंले पनि नसोध्नु होला । पीडालाई पनि रमाइलो ठट्टा बनाइदिन्थे । निकै भोक लागेर भात पकाउँदा जहिले पनि प्रेसर कुकरमा भन्दा मेरो टाउको खोपेर त्यसमा भात पकाइयो भने छिटो पाक्छ भन्थे । ‘कुकरको सिट्टी लाग्दा मेरो पनि टाउकोमा त्यस्तै सिट्टी भइदिएको भए मान्छेहरूको भिडमा पनि मेरो टाउकोमा सिट्टी लागिरहन्थ्यो होला’- भन्थे ।यो कुरामा रुनुपर्ने हो हामी तर मर्मलाई बुझपचाइदिएर हाँसिन्थ्यो । नभन्दै भरत (आफ्नै)  शरीरमा प्रेसर कुकुरको टाउको भएको सिट्टी लागिरहेको black in white चित्र बनाएर मलाई देखाएर भन्थ्यो यदि मलाई बु्झ्ने कोही छन् भने उहाँहरूको नजरमा म यस्तो देखिन्छु । क्यानभासमा कसैलाई मेरो तस्वीर बनाउन लगाइयो भने मेरो चित्र यस्तै बनिन्थ्यो होला भन्थे । उसलाई क्यानभास किन कसरी यस्तो भूत चढेको थियो मैले कहिल्यै सोधिन । किनकि उसका ती अलौकिक जस्ता लाग्ने शब्दहरू मैले बुझ्दिन भन्ने डर ममा थियो । किनकि म मान्छेसँग लजाउने मान्छे थिएँ । उसलाई आफ्नो कलाको तारिफ मन पर्दैनथ्यो, किनकि उसले प्रायः आफ्नो कलाभित्र आफूलाई मात्र  समावेश गरिरहन्थ्यो जसभित्र आफ्नो चाहना र बाध्यता बीचको नमिठो सम्झौता, रहरसँगको आत्मसमर्पणका कुरा यस्तै-यस्तै थुप्रै ब्ला ब्ला ......... !



कहिलेकाहीँ उसको मन चुलबुल हुन्थ्याे । उसैले सिकाएको गीत मलाई गाउन लगाएर सुन्थे अनि थ्याङ्स भन्थ्यो । किनकि कहिले आफूलाई सिनेमाको हिरो देख्थे कहिले सबैभन्दा कवाडी देख्थे । कहिले अन्तराष्ट्रिय सेलिब्रेटी देख्थे भने कहिले संसारको भिखारी देख्थे । कहिले प्राकृतिक देख्थे त कहिले अप्राकृतिक देख्थे आफूलाई । तर जहिले पनि आफूलाई क्यानभासमै देख्थे । यसरी ६७/६८ सालताका हाम्रो संगत थियो । त्यसपछि उसले Kathmandu University कलेज सानो हात्तीवनमा अध्ययन शुरु गरेपछि हाम्रो दूरी टाढा हुँदै गयो । उसलाई नाम र दामको कुनै पर्वाह थिएन । बस क्यानभासमा संसार उतार्नु थियो ।  

मान्छेको मनमा भएर पनि कुनै शब्दले भन्न नसकिने कुरा शब्दद्वारा सम्प्रेषण गर्न नसकिने, अदृष्य तर वास्तविक कुरा क्यानभासमा उतार्नु थियो । तर नढाटी भन्नुपर्दा  फुस्रो क्यानभासको पाना र रङ किन्ने पैसा थिएन जसकाे जोहो गर्न सम्पूर्ण व्यावहारिक जिम्मेवारीको भारी बोक्न एउटा यस्तो महान चेलीको साथ पाएको छ साेनी राई (शान्ति) सधैं सलाम छ मेरो पनि उहाँलाई । भरतभन्दा पनि शान्ति दिदीसँग झन बढी हाम्रो संगत नजिक थियो । आफ्नै दिदी जस्तो पनि साथी जस्तो पनि । त्यसैले कहिलेकाहीँ मैले सोध्थे दिदी तपाईंले आफ्नो भविष्यबारे नसोच्ने ? उहाँ भन्नुहुन्थ्यो- मैले ‘आफ्नो भविष्य सोचे भने भरत पागल हुन्छ, भरतको लागि  मैले आफूलाई बिर्सनु पर्छ’- भन्नु हुन्थ्यो भने भरतले धेरै पटक (भरत) आफूभित्र दिदी हराइरहेकी तस्वीर बनाउथ्यो । अनि दिदीलाई हाम्रो combination दामी देखिने रहेछ भनेर झिस्काइदिन्थे । दिदीले २ वटा प्रेसमा काम गर्नुहुन्थ्यो राती समाचार टाइपिङ गरेर सबेरै प्रकाशन गर्नुपर्ने भएकोले दिदीको ड्यूटी राती थियो । ड्यूटी राती जानुहुन्थ्यो अनि राती अलि ढिलो आउनुहुन्थ्यो तर उहाँँहरूको कोठामा राती बाहिर गेट बन्द हुनेभएकोले हाम्रोमा आउनुहुन्थ्यो । अनि मेरो ल्यापटपमा पनि रातभरि टाइपिङ गर्नु हुन्थ्यो । मेरा छिमेकीहरूले दिदीलाई राती काम गर्ने भन्ने नराम्रो दृष्टिले  हेर्थे । मैले दिदीलाई केही भन्दिन्थे ।

छिमेकीलाई दिदीले प्रेसमा काम गर्नुहुन्छ भनेको मेरो कुरा कतिको विश्वास भयो थाहा भएन । यस्तै यस्तै अरू धेरै कुरा ...................!



त्यसपछिका समय आफ्नो व्यावहारिकता र जिम्मेवारीले टाढिएका यतिका समयपछि भरतको एकल चित्रकला प्रदर्शन हुँदै गरेको खबर सुन्न र देख्न पाउँदा एकातिर मन खुसीले कापेको छ भने अर्कोतिर त्यो विगतको परिस्थिति सम्झेर मन पोलेको छ । उसले भोगेको र मैले देखेको कुरा लेख्ने मेरो हिम्मत पुग्दैन । अझ भन्ने हो भने मेरो क्षमताले नै भ्याउँदैन । सायद मैले लेख्न चाहेको कुरा पनि भरतले क्यानभासमा हो भने राम्ररी उतार्न सक्थ्यौँ होला । अहिले नै ठूलो सफलता मिलिसकेको छ भन्ने अर्थमा यो सबै कुरा लेखेको होइन । बाँकी थप सफलताको शुभकामना दिने क्रममा विगतका कुरा आँखा नजिक आइदियो त्यसैले थोरै केही नलेखी रहन सकिन । All the best Mr. Bharat .

-दक्षिण कोरिया 

नोट: चित्रकार भरत राईको  एकल चित्रकला २०२१ डिसेम्बर १८ देखि २०२२ जनवरी १७ सम्म Wind horse Gallery जावलाखेल नजिक भनीमण्डल ललितपुरमा प्रदर्शन भइरहेको छ ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार