स्वस्थानी कार्की

चिसो पनि के सारो मनै लोभ्याउने । चिसो खुट्टा घाम खोज्न थाल्छ । वर्षको यो बेला हातखुट्टा जति चिसा भए पनि मेरो मन पुराना न्यानो यादहरूले सेकिए जस्तै हुन्छ । 

गर्मी भर्खंरै बिदा भएर जाडो सुरु हुनै आँट्यो । घाम पनि अँटेरी गरेर आउन मान्छ तर पनि अतितका सम्झनाले मन हुरुक्कै हुने गरि सेकाएर जान्छ । सिर्रसिर्र अशान्त हावा चले पनि मन टक्क अडिर केइ टाढाको चिज हेरे जस्तै शान्त भइदिन्छ । न कसैसँग बाज्न मन लाग्छ, न त केइ तर्क गर्न मन लाग्छ ! आलश्य जस्तो पनि केइ छैन, एक किसिमको हलुङ्गो भावना नि । 

हरेक साल यही समय आउँछ, केइ नयाँ लिएर अनि हरेक वर्ष म 'पुरानो म'लाई सम्झेर आँखा बन्द गर्छु, खुइय लामो सास फेर्छु अनि बस मुस्कुराउन मन लाग्छ । 

कस्ता कस्ता पलहरू आउँछन् जान्छन्, मिठातिता । कहिल्यै सकिँदैन जस्ता लाग्ने, कति चाँडै सकिएको जस्ता लाग्ने । कुनै दोहोरिए हुन्थ्यो जस्ता लाग्ने, कुनै अब पुग्यो जस्ता लाग्ने । आज त्यही समय आयो तर ति पल बितिगए । 'अब केके होला' भन्ने सोचाइमै कति पल मरि पनि गए । केके सोच्छौँ हामी केइ थाहै नभ ? थाहै नपाइ ? कति भविष्य रङ्गाउँछौँ हामी वर्तमानको रेखै नकोरी । तर, हरेकपल्ट फर्केर वर्तमान नै आउँछ, अनि हामी अतीत सम्झी बस्छौँ, जहाँ केवल भविष्य थे, भविष्यका कुरा अनि कल्पना थे । 

कति पारिलो घाम लाग्यो, अगि देखि चिसा परेका मेरा खुट्टा सेकाउँन लागेँ म । एउटा न्यानो आभास शरीरले पनि पायो । चिसोमा अचानक घाम पाएर या मेरा बन्द आँखा बहुलाएर बरर्र आँसु खस्यो । न दुःखको, न सुखको आँसु, बोहुलाउनु पनि साच्चै कुनै सीमा हुँदैन । मेरा कपालले काइयोँको स्पर्श पाउनु दुर्लभ कुरा हो । तर यो समय मेरो मनको नजिक छ, मेरो तनको पनि । आफ्ना कुराहरू भए भन्दा पनि बढी प्यारा लाग्छन्, जस्तै रूप, विचार, स्वभाव, सम्झना अनि अतीत । ऐना हेरेँ । 'कस्तो निख्खर सेतो अनुहार, रगतै नभए झैँ' धेरैले भनेथे,आज विचारेँ । ....अँ साँच्चै केइ छैन जस्तो, खोक्रो । कपाल मुसारेँ, कोरे । यो दोस्रोपल्ट हो आजै । साच्चै सौभाग्यको कुनै गिन्ती हुँदैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।