मलिषा याक्थुङ्बा लिम्बू

पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई कर्मथलो बनाएका लेखक मलिषा याक्थुङ्बा लेखन/सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न छन् ।

याक्थुङ (लिम्बू) भाषा र आधुनिक लिपिका मूर्धन्य साधक, व्याकरण तथा कोषकार, पाठ्यपुस्तक लेखक, भाषा अनुवादक, गायक, साहित्यकार तथा भारतका पद्म श्री श्री बिबि मुरिङ्लाको निधन थाहा पाएपछि केही हामीहरू मलामी जाने सल्लाह हुन्छ तैपनि मैले भ्याउन नसकेकाले पनि गइन । र सल्लाह दिन्छु, बरु उहाँको सुद्धसङ्खे भोज (साङ्सिङ्मा)मा कार्यमा जाने । सबैले ‘हुन्छ’ भन्छन् । मलाई लाग्छ, सायद महिना दिनपछि कार्जे गर्दो हो । तर होइन रहेछ । नौदिनमा काम गर्ने भएछ । नौदिनमा किन गर्ने भए, त्यो मलाई थाहा भएन ।

मैले चैँ दश दिनमा मेरो बुवा, आमा र भाइ माहिलालाई फराःक्लो गरी पठाएको छु । किनकि थिबोःङ् याक्थुङ्को अन्तिममा जाने स्थान नै शून्य क्षेत्रमा भएको हुनाले दशलाई शून्य स्थान मानिन्छ । अनि नेपालका याक्थुङ् (लिम्बू)हरूले सुद्धसङ्खे वा साङ्साङ् सेसे वा फोजे? भनिन्छ भने सुक्खिमकाले साङ्सिङ्मा भन्ने बोली चलन रहेछ भन्ने थाहा पाउँछु ।

हुँदै गर्दा ‘असार ३ गते जानुपर्छ’ भनेर मलाई भवानी तावाले फोन गर्छन् । ‘कोको जान्छन् हौ’ भनेको त नामावली त निक्कै राम्रो फेहरिस्त सुनाउँछन् । ‘लु भैगो, यता याम्बोःङ् क्षेत्रबाट एकजना जान निश्चित हुन्छ’ भन्दिएपछि बाँकी फोनबाटै सम्पर्क हुन्छ । सकभर याक्थुङ् प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा जाने मनसाय व्यक्त हुन्छ । म त ढुक्कै हुन्छु किनभने ‘लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड’बाट कुनै एकजना जाने सवालमा । उता जाने सवालमा जेठ मसान्त बैठक हुन्छ बोर्डको । सकभर बोर्डबाट एकजना प्रतिनिधि तर सुक्खिमसँग परिचित व्यक्तिलाई पठाउने खोँच मेरो थियो तर असहमत भएपछि बाध्यकारी मलाई बनाउँछन् । क्वै नभएपछि मैले लामो सास तानेर ‘हुन्छ’ भन्छु । किनभने असार १० भन्दा पूर्व केही गाउँ पालिका र एक नगरपालिकाहरूमा प्रोपोजलहरू लानुपर्ने थियो र छ । त्यो योजना सबै काटिने भो । मेरो सास रोकिने नै भो, तसर्थ । सुक्खिम गएर ६ गते फर्काइ अनि एकदिन बसेर असार ८ गते नै याक्थुङ् (लिम्बू) भाषाको कक्षा ११ र १२ को परीक्षामा जानुपर्ने सर्त हुन्छ । समय खाँदियो, यसै बेला मेरा लागि ।



सास रोकिँदा–रोकिँदै पनि असार ३ अथवा २०२२ जून १७ तारिखमा म, डिकधोज लावती, भवानी तावा र राजेन्द्रकुमार जबेगु चार जना मात्तै समवेदना यात्रामा निस्कन्छौँ । डिक सरले फेदेनहुँदै याम्बोःङ्सम्म मलाई मोटरसाइकलबाट लिन आएर राँके पुग्छौँ । उता भवानी र राजेन्द्रहरू फिक्कल पुग्छन् । लोकल ट्याक्सीमा चढेर राजदुवाली मास्तिर खाना खान्छौँ । लगभग साढेबार बजे फिक्कल पुग्छौँ र लगत्तै पशुपतिनगरको भ्यान चढ्छौ, उल्टो बसाइँमा । बडो गजब लाग्छ, कहिले सुल्टो बसाई त कहिले उल्टो बसाइँमा यात्रा, चक्कर लाग्छ, मनहरू र यथार्थ बसाइ अनुभूति पनि । पशुपतिनगरमा नगद परिवर्तन गरेपछि दार्जिलिङमा रिजर्भ गरेर पुग्छौँ, दुई बजेतिर । गुरुजी भन्छन् ‘सर, ढोका मार्नुहोस् ।’ डिक सर छक्क पर्छन् अनि मैले पो ‘ढोका बन्द गर्नु रे’ भन्दा पो थाहा पाउँछन् । ढोका तान्छन् गड्याम्मै । त्यहाँबाट जोरथाङ्का लागि टिकट काटेर लगभग डेढ घण्टा पर्खेर जोरथाङ् लाग्छौँ ।

दार्जिलिङबाट लागेपछि मलाई यस्तो निद्रा लाग्छ कि केही गर्दा पनि आँखा खोल्नै सकिन । पुरै निदाएर जोरथाङ् चेकपोस्टमा पुग्छौँ । चेकपोस्टमा कर्मचारी एक मादेन खेवा रहेछ उनले सक्दो सहयोग गरेर जोरथाङ् बजार पुग्छौँ । डिक सरको ढिप्पीले हामी गेजिङ् जाने भनी खोला पार आएर बस्छौँ । पर्खँदा एउटा ट्याक्सी आउँछ र उनलाई लेक्सेपसम्म लैजाने र उसैले गेजिङ्को एक साथीलाई गाडी पर्खन लाउँछन् । लाग्यौँ, लेकसेप । क्षणभरमै लेकसेपमा पल्टी भएर गेजिङ् लाग्छौँ । बेलुका लगभग ८ बजे गेजिङ्को खड्का होटेल पुग्छौँ ।



भारत प्रवेश भएपछि केही घण्टा पुरै अन्धकारमै छौँ । काँ फोन गर्ने, काँ नगर्ने । हुनु त भारत प्रवेश भएपछि नेपालको आवरण मोडल नै डाउन हुन्छ । जङ्गलहरूको संरक्षण, सहर व्यवस्थापन लोभलाग्दो छ । जत्ति बाक्लो सहर भए पनि व्यवस्थापन भने मज्जैले बनाएको देखा पर्छ, हरित क्षेत्रका लागि । जोरथाङ् पहिलेभन्दा निक्कै सिँगारिएकी पाउँछु, बाटाहरू सडकहरू सफा र फराकिला । जोरथाङ्को ट्याक्सी स्टैण्ड अनि सडकहरू टेक्दा गएको ६ वर्षको नोष्टाल्जिक हुन्छु । मनमनै भन्छु ‘ओ जोरथाङ्, गएको ६ वर्षमा झण्डै सडकमा सुताएको हैन । तिमी कत्ति निष्ठुरी अनि दया विहीनता किनभने तिम्रा होटेलमा, सडकमा, चोकमा, पसलमा, घुम्तीमा, चिया पसलमा नेपाली बोल्दै बस्छौ तर वास्तविक तिम्रो नेपालीहरू आउँदा निक्कै गिज्यायौँ हैन ।’ यसरी मनहरू खेल्दै छन् । एक्कासि अर्को मनमा आउँछ ‘हैन, तिमी अर्कैको अनि म अर्कोको मान्छे उफ् ।’

गेजिङ्को खड्का होटेलमा वाईफाई भन्ने सुक्खिम जस्तो विकसित मुलुक तर दुर्लभ साधन प्राप्त हुन्छ । खाना खाएपछि सुक्खिमका मित्रहरूसँग भिडियो कलमा भेट हुन्छ, गफगाफ । भोलि बिहान साङ्सिङ्मा कार्यक्रममा पुग्नुछ । आराम गर्छौँ ।



असार ४ गते जून १८ तारिख बिहान उठेर योगा सक्दै नुहाइ वरी हामी गेजिङ् बजार एक क्षण निस्कन्छौँ । वरिपरि हरियाली जंगलको बिचमा एक सुन्दर बजार लमतन्न छिन् । जसमा भनेर साध्यै छैन, उनको वातावरणहरू । पानी सिमसिमले जिक्याउँदैछिन् भने कुहिरो घुम्टोले इत्रिँदै छिन् । खाजा खाएर होटेलबाट बिदा लिन्छौँ फोजे?मा लैजाने फलफूलहरू किन्छौँ । यसै बेला यो गेजिङ्को नामबारे सामान्य अर्थ खोज्छु । एकजना मित्रले भने ‘गेजिङ्को मूल शब्द त ग्याल्सिङ् हो । ग्याल्सिङ्बाट गेजिङ् भएको हो र ग्याल्सिङ् भन्नाले ‘भारी बिसाउने’ भन्ने अर्थ लाग्छ ।’ ग्याल्सिङ् कुन भाषा हो भनेर सोध्दा थाहा भएन भन्ने जवाफ पाउँछु । मैले भने ‘बिबि मुरिङ्ला अनुसार यो गेजिङ् नाम त केजिङ्मा (च्याब्रुङ लुकाउने)बाट केजिङ्हुँदै गेजिङ् भएको हो भनेर पहिले मलाई सुनाउनु भएको थियो ।’ यस विषयमा उनीहरू मौन साँध्छन् । यही समयमा भवानीले त्यहीँ नजिकको छ्योर्तेनलाई फोटो खिच्छन् ।

हामी लाग्छौँ, ट्याक्सी स्टैण्डबाट रिजर्भ गरी लाङ्गाङ्, तिक्जेक हुँदै लिङचोम्सम्म । तिक्जेकमा नेपाली साहित्यका मूर्धन्य स्रष्टा तथा स्रष्टा प्रकाशनका अगुवा केदार गुरुङलाई भेट्छौँ, फोटो सेसन हुन्छ । यसपछि लिङ्चोम जाँदै गर्दा भीर सडकमा पुग्छौँ । भीरको माथिल्लो पाटामा अचम्मको पानी तिरमिराउँदै गरेको देखिन्छन् । याने कुनै स्त्री बच्चाहरूले पिसाप शौच गरे झैँ । यो देखिएपछि राजेन्द्र जवेगुले कन्यादेवीको कथा सुनाउँछन् । नमज्जाले पुरै हाँस्छौँ ।



लगभग १० बजे बिहान पद्म श्री बिबि मुरिङ्लाको घरमा पुग्छौँ । आँगनमा मानिसहरूको भीड, प्रवेश क्षेत्रमा दुइटा दमाहा र घण्टी । दमाहा बजाउने र घण्टी बजाउनेहरू उई याक्थुङ्बाहरू नै । ताल मिलाएर बजाउँदा रहेछन् । नेपालमा भने दमाहा हुँदैनन्, ट्याम्को मात्र हुन्छन् तर बजाउने दमाईहरू हुन्छन् । यहाँ फरक संस्कृति रहेछ ।

आँगनको भीडमा विष्णु मुरिङ्ला सरसँग भेट हुन्छ । उहाँले सबै त्यहाँको सामाजिक संस्कारको वस्तुस्थिति मिलाउनु हुन्छ । चिया नास्ता कक्ष सिरानतलामा लैजानु हुन्छ । बडो सादा संस्कृति देख्छु । जुस, फलफूल, सेल प्रकारहरू मात्र रहेको । त्यहीँबिबि मुरिङ्लाका छोरीहरू सुशीला र सुषमा मुरिङ्ला अनि बुहारीसँग नेपालदेखि ल्याइएको समवेदना–पत्र प्रतिष्ठानका प्राज्ञ सचिव डिकधोज लावतीले वाचन गरी याक्थुङ् प्रज्ञाप्रतिष्ठानको कुलपति राजेन्द्रकुमार जबेगुबाट र लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डको संयोजक मलिसा याक्थुङ्बा लिम्बूबाट हस्तान्तरण हुँदै फोटो सेसन हुन्छ ।

दुःखद कार्यमा सबैको मलिन हुनु स्वाभाविकै हो । उहाँका छोरीहरू र बुहारीमा अन्तरात्मा त पक्कै भक्कानिएकै हुनुपर्छ । तर समाजको अगाडि निक्कै मनहरू थमाएर बसेका छन् । बरु मैले पो यसो सम्झन पुग्छु ।

‘ ........

मेन्निमा मेन्धाःमा तेन्ओ केबे मेम्बि आम्बो – एहेँ एँएँ एहेँ एँएँ
चुङ्जिआङ् येत्छाने याप्मि केजोगे मेम्बि आम्बो – एहेँ एँएँ एहेँ एँएँ

........’ छोरीहरूको तर्फबाट हाःम्लाक्वा अचानक मनमा उब्जन्छ । ‘छि? कस्तो मन हाउ’ भनेर होसियारी हुँदै समवेदना ग्रहण पश्चात् सुक्खिमका साहित्यिक तथा लेखक साथीहरूसँग चिनजान र भेटघाट हुन्छ । समल मुरिङ्ला, सुचिता मुरिङ्ला, इमाहाङ सेत्लिङ्, शसीहाङ्मा माङ्युङ, विर्ख मुरिङ्ला, मिलन मुरिङ्ला, डिएम खाम्धाक् लगायत थुप्रै मित्रहरूसँग । यसपछि खानाको लागि लाग्छौँ । खाना पनि बडो सादा अनि बफे संस्कृति । हाम्रो आफ्नो अनुकूलको हिसाबले लिन्छौँ । खानापछि विष्णु सरले बिबि मुरिङ्लाको सब दप्फन (चिहान)मा लगेर फूलबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छौँ । म निक्कै भावुक मात्र हैन, धेरै नोष्टाल्जिक हुन्छु । उहाँले भन्नु भएको थियो ‘तपाई नेपालको लागि केही हुनुहुन्छ । तपाईंसँग केही गफ गर्नुछ । म नेपाल आउन सक्दिन । केही भलाकुसारी गर्नुछ । आउनुस् ।’ यत्ति मात्र हैन, मेरो एक छिमेकी भाइले उहाँकोमा फोन गर्दा मलाई पठाई माग्नु भएछ । यो पोहोर सालको कुरा थियो । कुनै जवाफ दिन सकिन अनि फेसबुकमा उहाँले मेरो मेसेन्जरमा फोन नम्बर छोड्नु भयो तर मैले फोन गर्न पनि सकिन । त्यो मेरो नेट अर्थतामा जोडिएको थियो । चिहानमा नै उहाँसँग मौन माफी माग्छु, सशरीर भेट्न नसकेकोमा ।



मास्तिर लाग्छौँ, त्यहाँ साङ्सिङ्मा अर्थात् खाऊःमा कार्यक्रम रहेछ । नेपालको संस्कृति र सुक्खिमको संस्कृतिमा निक्कै फरकपन देख्छु । ताकतेन् बिना पिण्डहरू राखेको, केश खौरेको, मामाहरूको हातबाट किरिया पुत्रीलाई टोपी लगाएको, यसपछि फेदाङ्माले ‘मृतकको चोला देव क्षेत्र, शून्य क्षेत्र र बराजु–बाजेसँग भेट गर्न गयो है । घामको सन्तान घामले, जूनको सन्तान जूनले लग्यो है’ भनेर थोरै फलाकेर सक्दो रहेछ । थोरै खाऊः गरेर सकिन्छ, क्षणभरमै । यो सकेर सेवाढोक गर्ने, हातमा रातो दल्ने अनि नुन खोर्सानी र तरकारी राखेको दुइटा टपराहरू छुनु पर्दो रहेछ । कसैले तरकारी पनि खाँदो रहेछ । हामीले छुन्छौँ मात्तै खाँदैनौँ । यही क्रममा हामीले साहित्यकार बल मुरिङ्ला, बलराम मुरिङ्ला, एसपी माङ्युङ् र लोकचन मुरिङ्लासँग भेट हुन्छ । लोकचन सरले मलाई जोडका साथ रोक्नुहुन्छ, क्षणिक गफमा । तर समयाभाव दर्साउँछु ।

पुनः बिबि मुरिङ्लाको घर पुगेर उहाँका नातिसँग फोटो लिन्छौँ । आराम एक छिन गर्दा इमाहाङ् सेत्लिङ्सँग भेट हुन्छ । मैले प्राध्यापक कर्णहाङ् ताम्लिङ्लाई भेट्न हर प्रयास गर्दैछु तर उहाँ आउँदै हुनुहुन्छ भन्ने बाहेक अन्य जवाफ पाउँदिन । उहाँको निम्ति केही पुस्तकहरू समल सरलाई जिम्मा दिन्छु । यसरी नै मैले राजु साम्सिङ्बो, प्रेम मुरिङ्ला, सेनफुङ्मा र तिगेन्जङ्ना लिम्बूहरूलाई पनि भेट्ने अवसर जुरेन । बडो नरमाइलो हुन्छ, ममा । मेरा लागि यहाँको याक्थुङ् संस्कार नयाँ झैँ लाग्छ । साम्दाक्खोःङ् नहुँदो रहेछ । चाएःङ् नलिँदो रहेछ तर एउटा बाकस राखेर त्यहाँ आफ्नो गच्छेअनुसार नाम लेखी चिठीको खाममार्फत याङ्एःङ् (नगद सहयोग) रकम खसाल्नु पर्दो रहेछ, ब्यालेट बक्समा मतपत्र खसाले झैँ । म पनि त्यसै गर्छु । 

गान्तोकबाट हामीलाई बोलावट अत्यधिक भइरहेछ । हतार अवस्थामा प्राध्यापक आस मुरिङ्लाले फोन नम्बर पत्रखाममा पाउँछु तर गज्याङ्गुजुङ् हतार । जसमा विष्णु मुरिङ्ला, जिएम खाम्धाक्, मिलन मुरिङ्ला आदि महानुभावहरूको फोनमा व्यस्तता देखाइ रहेछन्, सन्तोष तेराप्पे, आस मुरिङ्ला र डा. बिएल खाम्धाक सरहरूले । यसैक्रममा समवेदना प्रकट गर्न सुक्खिमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ अनि वर्तमान मुख्यमन्त्री पिएस गोलेको आगमनले बाटै जाम । समवेदना क्षेत्र नै जाम अथवा कुनै धार्मिक स्थलको बजार झैँ । वास्तवमा यो याक्थुङ् (लिम्बू) साहित्यकारहरूको धार्मिक क्षेत्र नै मान्नुपर्छ र म मान्छु यो क्रममा । किनकि मैले विगत छवर्ष अघि त्यहाँ पुग्दा श्री बिबि मुरिङ्लाकै अगाडि ‘तीर्थस्थल’ (साङ्थाबु) नाममा बिबि मुरिङ्लाको बारे कविता वाचन गरेको थिएँ । त्यसबेला ‘आयाक्को हाउ’ भनेर समर्थन गर्नु भएको थियो । सायद आज त्यै मेरो कविताको भाव जस्तै मानिसहरू जमघट हुँदैछन् ।



लिङ्चोम गाउँमा निक्कै सुधारहरू भएछन्, छ वर्षमा । विद्यालयका भवनहरू थपिएर, आईवि मुरिङ्ला स्मृति बाल शिक्षा सञ्चालन गरेर, बाटोहरूमा पक्की बनाएर परिवर्तन देख्छु । सडकहरू स्तरवृद्धि देख्छु ।

हत्तारे बिदा लिएर तलतिर विष्णु मुरिङ्ला सरकोमा एक छिन बस्छौँ, गान्तोक पठाउने सिलसिलामा । निवर्तमान र वर्तमान मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू, भारतका सांसद इन्द्रहाङ् सेत्लिङ्, सुक्खिमका विधायकहरू वरिष्ठ सुक्खिम सरकारका कर्मचारीहरू आदिको कारणले बाटोमा गाडीहरूको जाम, एक डेढ घण्टा पुरै कुर्नुपर्ने । जिएम सर र विष्णु सरहरूको फोन पुरै जाम । इमाहाङ् सरले पनि कुनै बाटोहरू अपनाउँदै । यो क्रममा सन्तोष तेराप्पेले गेजिङ्को अन्तिम ट्याक्सी र यात्रुमा पनि उनको एक घनिष्ठ मित्र रहेको पाएछन् क्यार । त्यही यात्रुलाई जुनसुकै अवधिसम्म पनि ट्याक्सी पर्खन लगाएछन् । बाफरे बल्ल–बल्ल सास फेर्न पाउँछौँ । 

विष्णु मुरिङ्ला सरको ट्याक्सीबाट हामी गेजिङको एस मोडसम्म लाग्छौँ, इमाहाङ्, जिएम र विष्णु सरहरूलाई बिदा गर्दै । ट्याक्सी अघि बढ्दै जान्छ । म लोकचन सरको आग्रह, मनले बार–बार फर्काइ रहन्छ । याने कि लिङ्चोम त्याग्न कठिन भएको छ, भावमा । लोकचन सर कार्जेमा अधिक व्यस्त । उहाँ विना कार्जेको सफलता नहुने भएकैले हामीसँग दिलचस्पी गफ हुन सकेन । यही कारणले सुखप्रद भएन, एकल । सिमसिम पानीले बेलामौका जिस्क्याउने, बादलसँग कहिले कँह लुकामारी खेल्ने परिस्थिति बिच हामी लिङ्चोमलाई छोड्न बाध्य हुन्छौँ । हुनु त लिङ्चोम वरिपरिको केही स्रष्टाहरूका लागि मैले विष्णु सरलाई ‘केयुक्ना नु आयुक्ना’ युक्ना साहित्य आधारित निबन्ध सङ्ग्रह नामोल्लेख गरी जिम्मा दिएकै छु । यसैबाट ‘मन शान्ति, आत्म शान्ति, शान्ति शान्ति होस्’ भन्ने बाहेक अन्य रहेन ।

विष्णु सरका छोराले ड्राइभ गरेर पुग्छौँ, गेजिङ्को एस मोडमा । ट्याक्सीले पर्खी राखेको अवस्था । हामी हतारमा पर्खी राखेको ट्याक्सीमा छिर्छौँ । त्यहाँ एक यात्रु छन् । हेर्दा क्षेत्रीजस्तो तर बोलक्कड तर याक्थुङ्बा हुँ भन्नुहुन्छ । जत्ति ट्याक्सी अघि बढ्छ त्यत्ति नै खोजमूलक, तर्कमूलक र अर्थमूलक गफहरू थाल्छन् । ‘अँ अँ’ भन्दा अन्य रहेन हाम्रो । किनभने उहाँ के कस्ता हुन् थाहै छैन । सायद जासुस, शङ्का उपशङ्काभित्रको कुरा । वार–वार फोन आइरहन्छ उहाँकोमा । कसको हो थाहा हामीलाई हुने कुरै भएन । यहाँ पुग्यौँ, हामीसँगै छौँ आदि इत्यादिका कुरा । कता–कता हाम्रो मनमा डर पनि । उहाँले बेला–मौका नेपालका याक्थुङ् थरीहरूको माङ्गेन्ना यक्, थरगत र तिनीहरूको नखाने खाद्यवस्तुहरूको कुरा, ऐतिहासिकता र इतिहासको कुरा, बैराँगी काइँला, येहाङ् लावतीको कुराहरू मनग्यै नजिकबाट गर्छन् । डा. चैतन्य सुब्बाको निधनले पुगेको क्षतिका कुरा, डा. मारोहाङ् खवाहाङ्को कुरा, त कहिले कुमार लिङ्देनको लिम्बुवानको कुरा, कहिले राजेन्द्र लिङ्देनको राजावादीको कुराहरू धारावाहिक गर्छन् । उहाँको घर कहिले सिलगढी त कहिले सुक्खिम पनि भन्नुहुन्छ । याक्थुङ् भाषामा त्यत्रो ज्ञान नभए पनि छासमिस रूपमा बोल्न भने छोड्नु हुन्न । संस्कार विधिबारे पनि धारावाहिक ज्ञानवोधहरू बताउनुहुन्छ । नेपालमा कुमार लिङ्देनलाई कहिले सघाउने कुरा गर्छन् भने कहिले राजेन्द्र लिङ्देनलाई नेपालको प्रधानमन्त्री बनाउनु पर्छ भन्ने उहाँको तर्कले हामी झनै ताजुब हुन्छौँ । जासुस नै होला जस्तो लाग्छ । कहिले सुक्खिमका डा. विएल खाम्धाकका कुरा, आस मुरिङ्लाको कुरा, त सन्तोष तेराप्पे त लँगौटीको कुराले पनि मन खोल्नै सकिन । उहाँ कस्तो मानिस हो भन्ने कुरामा ।



हामी मल्ली पार गरेर ‘किर्ने’ भन्ने ठाउँको एक होटेलमा उहाँको सत्कार फेदोःङ् लिन्छौँ, फाक्सासँग । यसबेला आस मुरिङ्ला सरलाई फोन गर्न पत्रखाम खोज्छु । गोजीमा छैन । झोलामा हालेको पनि याद छैन । काँ खसालेँ, थाहै भएन । क्या, फसाद ? ताजुप छु । खाना खाएपछि राजेन्द्र जबेगुले सहयोगी मित्रलाई एक किताब दिन उहाँको नाम माग्नुहुन्छ । अर्नव सुब्बा, सुन्छु । जब राजेन्द्रले पुस्तक उपहार दिएपछि त झन् उहाँका एक छिमेकी याङ्नामे भन्ने बुढालाई फोनै गरेर राजेन्द्रसँग सम्पर्क बढाउँछन् । अचम्मलाग्दो बन्दैछ । गफ गर्ने कुरामा त के ? अध्ययन गर्ने कार्यमा अत्ति तेजिलो साबित गर्दैछु । कुन पुस्तक नेपालको नपढेको हो र ? जस्तो लाग्ने । हामी रानीपूल पुग्ने बेलामा कुनै ट्याक्सीमा तुरुन्त कल गर्छन् । कल मै ‘रानीपूल मास्तिर आउनु’ भनेर हामीलाई त्यहीँ उतार्छन् अनि चिया खाने मोडमा छौँ । फोन आउँछ उनकोमा । ‘लु सन्तोष तेराप्पे आइ पुगेछ । जानुपर्छ, चिया नखाऊँ, यहाँको नियम कडा छ । सन्तोषले मलाई मार्छ’ भनेर अर्डर चिया पनि छोड्छौँ । सन्तोषको ट्याक्सीमा चढ्न अगावै म बाहेक साथीहरूले फोटो खिच्छन् किनभने मेरो मनमा अझै अपुरो अनुसन्धान ताजा छ । हतारैमा बिदा हुन्छौँ, अर्नव सुब्बासँग ।

रानी पुलदेखि उकालिन्छौँ, ट्याक्सीबाट । बिचमा मैले सन्तोष तेराप्पेलाई सोध्छु । ‘हैन, यो अर्नव सुब्बा कस्तो मान्छे हौ र पुरै नेपाल निलेको रहेछ । क्षेत्री जस्तो पनि छ । कहिले राजावादी राजेन्द्र लिङ्देनको कुरा, त कहिले लिम्बुवानवादी कुमार लिङ्देनको कुरा गर्छन् ? बडो जासुस लाग्छ । थरगत र जातिगत इतिहास अध्ययन त मैले मानेँ ? सन्तोष सर ।’ सन्तोष सर बोल्छन्, ‘यो मान्छे भारतीय सरकारी बैङ्कका जिल्ला मेनेजर (स्थायी कर्मचारी) हाकिम हुन् । अहिले उनी गेजिङ् जिल्लाको बैङ्क हाकिम, अर्नव सुब्बा (कुरुम्बाङ्) । साह्रै सहयोगी र अध्ययन व्यवसायी । इन्जिनियर सकेर बैङ्कमा मेनेजरको स्थायी जागिरे । उनी मेरो अनन्य साथी । गान्तोक, यसवेला सधैंं आउने भएकाले उहाँको गाडी होला भनी फोन गरेका थिएँ । तर उनको गाडी कसैले घुम्न लगी दिएकाले ट्याक्सी चढेको रहेछ । उनलाई गान्तोक आउने ट्याक्सीलाई रोकाउन लगाएका थिएँ । र मैले बार–बार फोन गरेँ नि सर ।’ बाफरे पुनः नोष्टाल्जिक हुन्छु, अर्नव सरको कुराहरूमा । मैले उहाँलाई ढिलै गरी मात्र मुरी–मुरी धन्यवाद दिन्छु । जो मैले सोचेकोभन्दा अर्कै व्यक्ति, तुरुन्त नेपालीमा पनि याक्थुङ् (लिम्बू) जातिमा एकमुटु भइहाल्ने र सहयोग गरी हाल्ने उहाँको प्रवृत्तिले म ढिलो प्रभावित हुन्छु । यै त होला नि ‘लाटो लड्छ चार बल्ड्याङ, बाठो लड्छ बाह्र बल्ड्याङ’ । अर्नव सुब्बालाई हार्दिक धन्यवाद दिन्छु र माफ पनि माग्छु । जो तपाईंको अगाध माया, प्रेम, सद्भाव र सहयोगलाई चिन्न नसकेकोमा ।

गोधुली साँझ, याक्थुङ् हिममा पुग्छौँ । यो भवन ‘सुक्खिम याक्थुङ् साप्सक् सङ्जुम्भो (सुयासास)’ को अधीनमा छ । टप तलामा लाइब्रेरी रहेछ । हामी चारजना लगायत केही सरहरू पुग्छौँ । यसमा पनि नजिक चिनजान सनबिर पाराङ्देन छन् । एक छिनमा डा. बिएल खाम्धाक् पुग्नुहुन्छ । सबै बसेर संस्थाको पागा (खादा) सम्मान ग्रहण हुन्छ । फोटो सेसन अनि चियापानी । यसपछि एकछिन् गफ, याक्थुङ् साहित्यबारे । डा. साहेब हरेस खानुहुन्छ, सुक्खिमको साहित्य सम्बन्धमा । तैपनि दुई–चार जनाबाटै सुरु गर्नुपर्छ, केही गर्नुछ भने भनेर सर्त राख्छु र मान्नु हुन्छ । भोलिपल्टका लागि सबै कार्यक्रम ढाँचाहरू केके छन् त्यसको आधारमा अन्तर्देशीय काव्य यात्रा र विबि मुरिङ्लाको समवेदना स्वरूप गर्ने । यसमा सन्तोष तेराप्पे सरलाई जिम्मा हुन्छ र उहाँले सेड्युल बनाउनु हुन्छ । हामी बेलुका खाना खान सेःक्मारी होटेलमा जान्छौँ । निक्कै खोजेरमात्र पुग्छौँ ।



सेःक्मारी होटेलमा जाँदै गर्दा प्राध्यापक आस मुरिङ्लाको फोन सनबिर सर मार्फत प्राप्त हुन्छ । वास्तवमा हामीले गेजिङ् पुगेर सम्पर्क गर्दा गान्तोकमा पुगेपछि उहाँको साथमा रहने भन्ने थियो तर फसादमा छौँ । किनकि भारत प्रवेश भएपछि न वाईफाई प्राप्त छ नत फोन नम्बर नै । दिउँसै अन्धकार यात्रामा दगुरी रहेको अवस्थामा प्राध्यापक ज्यूसँग सम्पर्क हुन सकेन । त्यस बेलासम्म हामी सन्तोष तेराप्पेको सहयोगमा याक्थुङ् हिम पुगेका छौँ सेःक्मारी होटेलमा खाना लिन्छौँ, खाना सबै सुयासास संस्थाले बेहोर्छन् । डा. साहेब निक्कै विरक्त मान्छन् । हामी पुनः बास याक्थुङ् हिममा पुग्छौँ । अचम्म लाग्छ । आजभन्दा ६ वर्ष अघि यसलाई सुब्बा भवन भनिएको थियो तर आज याक्थुङ् हिम । नाममा विनिर्माण भएजस्तो । हुनु त याक्थुङ् बेलैमा हुनुपर्दथ्यो, सुब्बा भई दियो । यसको मूल पहिचान त याक्थुङ् हो त्यसैले अन्य भाषाहरूको ठाउँमा सुब्बालाई याक्थुङ् बनाउनु कथ्यतामा विनिर्माण भएजस्तो भए पनि यो विनिर्माण हैन । भाषिक जेनोसाइड भैसकेको अवस्थामा भाषिक पुनरुत्थान भएको भन्नुपर्दछ ताकि भाषिक जेनोसाइडको क्रमभंगतामा आफ्नो पहिचानतिर ।

याक्थुङ् हिम् करोडभन्दा बढी लगानीले बन्दै गरेको अवस्था छ, साततले पक्की । यही एकरात बित्छ । बिहान अथवा असार ५ गते उठेर केही मास्तिर सादा नास्ता लिन्छौँ । लेखक तथा युमाइज्मको सोधकर्ता जसराज पन्धाकको घर लाग्छौँ । पूर्व खबर भएकाले भेटका लागी सिकुवामा आतुर रहनु भएको रैछ । पुग्नासाथ केही परिचय, परिचय नवीकरणहरू हुन्छ । मैले ‘केयुक्ना नु आयुक्ना’ कृति हस्तान्तरण गर्छु । अग्रभागको सिकुवा बसाइँमा उहाँले खोज गरी प्राप्त गरेको ज्ञान, दीक्षा, अनुभव र विज्ञानका कुराहरू धारावाहिक रूपमा सुनाउनु हुन्छ । मलाई ज्ञात हुन्छ, निक्कै पुस्तकहरू अध्ययन गरी केही खोजमूलक अनुसन्धान गरेका बारे । वर्तमान किरात सम्बन्धी निक्कै गहकिलो खोजहरू प्रकाशन गर्नु भएको रहेछ । हामीलाई उक्त पुस्तकहरू उपलब्ध गराउनु हुन्छ । दुई तीन घण्टा बसाई पछि पुस्तकहरू लिएर याक्थुङ् हिम फर्कन्छौँ । हाम्रो गाइड भने सनवीर पाराङ्देन सर हुनुहुन्छ । उहाँले खाना खान लैजाँदै प्राध्यापक आस मुरिङ्ला महोदयको होटेल रिजर्भ तिर लम्क्यौँ । याक्थुङ् हिमबाट केही मास्तिर, सिक्किम विश्वविद्यालयको निजी ‘अतिथि भवन’ रहेछ ।



युनिभर्जिटिले यस्तो सुविधा सम्पन्न होटेल बनाए पनि वाईफाई जोड्नै बिर्सेजस्तो । लगभग साढे बाह्र बजे म र डिकधोजलाई रुम नं. २०१ र भवानी अनि राजेन्द्रको रुम नं. २०५ मा पस्छौँ । गाइड सनवीर सरलाई फर्काएर एकछिन आराम गर्दैगर्दा प्राध्यापक आस मुरिङ्ला महोदय टुप्लुक्क आइपुग्नु हुन्छ । ‘सेवारो’ अभिवादनमा उहाँले त पागा (खादा) लगाएर स्वागत गर्नुहुन्छ र स्वीकार गर्छौँ । केही पुस्तकहरू लिनदिन कार्यक्रम हुन्छ । ‘केयुक्ना नु आयुक्ना’ निबन्ध सङ्ग्रह हस्तान्तरण गर्छु । केही क्षण भलाकुसारी पश्चात् हामी एमजी मार्ग घुम्न निस्कन्छौँ । सेःक्मारी होटेलमा पुगेर कडा नास्ताहरूको अर्डर सेवन गर्छौँ । सिमसिम पानीले अचकल्टो रुझान बनाई दिँदै छ यात्रा जिन्दगीलाई तथापि अटेर । एमजी मार्ग, फोटो सेसन, लालबजार हुँदै याक्थुङ् हिमतिर प्राध्यापक सरलाई लिएर जान्छौँ, एउटा सुक्खिमे रम किन्ने निहुँ पारेर । हुँदै याक्थुङ् हिममा प्रवेश हुन्छौँ ।

याक्थुङ् हिममा नयाँ लिम्बू भाषाका शिक्षकहरूको नियुक्ति पश्चात् एक ओरिएनटेसन कार्यक्रम रहेछ । यो सकिनासाथ ‘अन्तर्देशीय काव्य यात्रा’ र वि.वि. मुरिङ्लाको समवेदना हुने भए । पर्खाइमा गफ निक्कै हुन्छ, एकजना चेली रिमाहाङ्मा नेम्बाङ् पनि पुस्तकालयमा पुस्तकको खोजी पुग्नु । भलाकुसारी त निक्कै हुन्छ । मलाई लाग्छ, सुक्खिममा याक्थुङ् भाषाबाट डक्टर अफ फिलोसफि (डाक्टर)का लागी प्राध्यापक श्री आस मुरिङ्ला नै पहिलो व्यक्तिको रूपमा निस्कँदै हुनुहुन्छ । एकवर्ष सकेर दोस्रो वर्षको कुदाइमा रहनु भएको जानकारी मलाई दिनुहुन्छ । उहाँलाई डाक्टर उपाधिका लागि उत्तरोत्तर प्रगतिको कामना पनि दिन्छु ।

कार्यक्रम प्रारम्भ हुने भो । सबै हलतिर लाग्छौँ । प्राध्यापक आस मुरिङ्ला सर घरतिर जाने भन्दै हुनुहुन्थ्यो तर भवानी र डिक सरहरूले ‘लिएर आउनु’ भनेकाले त्यस्तै हुन्छ । बेलुकाको एकछिन अन्तर्देशीय काव्य यात्रा र विवि मुरिङ्ला समवेदना चढाउनै पर्ने थियो । 

कार्यक्रमको अध्यक्षतामा प्राध्यापक श्री आस मुरिङ्ला, प्रमुख अतिथि श्री राजेन्द्र कुमार जबेगु (कुलपति, याक्थुङ् प्रज्ञाप्रतिष्ठान) र अतिथिमा म र भवानी तावा बोलाउँछन् । स्वागत मन्तव्य सुयासास संस्थाका अध्यक्ष श्री चन्दनसिं (सिएस) ताम्लिङ्ले राख्छन् । सुक्खिम तर्फबाट कविहरूमा जिएस नेम्बाङ् (लत्थिक् इङ्घङ् वैरागी ), डा. बिएल खाम्धाःक् (लासा तेन्नाम् लाबारक्नेबि), बीरहाङ बक्खिम (आबाङ्भे?रे नियारा) र सनवीर पाराङ्देन (एक शीर्षके कविता ‘चाहावा’ ८ खण्ड) अनि नेपालतर्फका कविहरूमा भवानी ता?वा (नेपाली कविता शान्ति), राजेन्द्र जबेगु (आहिम्नु अत्नेबा) र मेरो (युक्ना कविता) ‘फुङ्’ र ‘याक्थुङ् लाजे?’ प्रस्तुत हुन्छ । टिप्पणीका लागि भवानी तावाको टिप्पणी प्राध्यापक आस मुरिङ्ला (उहाँले बिर्सन नसकिने अति उपयोगी साहित्यका चर्चाहरू सहित हरेक एकको टिप्पणी समेत गरिदिनु हुन्छ), राजेन्द्र जवेगुको टिप्पणी प्रा.डा. बिएल खाम्धाःक् र मेरो कवितामा जिएस नेम्बाङ्ले गर्छन् । सुक्खिमका सबै काव्यहरूमा डिकधोज लावतीले गर्छन् भने डा. बिएल सरको आकस्मिक म गर्छु । अन्तमा मन्तव्यमा प्रमुखअथिति राजेन्द्र कुमार जवेगुले राख्छन् भने धन्यवादका लागि बिसेन फुरुम्बोले राख्छन् । यस काव्ययात्राको सञ्चालन भने सन्तोष तेराप्पेले गर्छन् र समापन हुन्छ ।



यसरी दुई देशका अन्तर्देशीय काव्य यात्रा र समवेदना कार्यक्रम टुङ्गिन्छ, बेलुका ८ बजेतिर । काव्य लेखनको विषयमा निक्कै बहस गर्नुपर्ने थियो । प्रा.डा. विएल सरले पुनः विधागत बहसको जरुर देख्नुहुन्छ भने प्राध्यापक आस मुरिङ्लाले पनि बहसको खाँचो औँल्याउनु हुन्छ । एक कोरो छलफल पश्चात् पुनः भेट्ने वादाकासाथ हामी गन्तव्यतिर राती ८.१५ मा लाग्छौँ ।

हुनु त प्राध्यापक आस मुरिङ्ला भन्नुहुन्छ, ‘हर कार्यमा हामीले अण्डालाई फुटाउन अवस्थामा पुगेका तर ती अण्डा घरपालुवा कुखुराको हुनुपर्ने कालिजको भए त राम्रो हुने अवस्था देखिन्न ।’ वास्तवमा घरपालुवा भए आफ्नै साहित्यलाई उजागर गर्न सक्छ तर बनपालुवा कालिज भए त साहित्य त जंगली भएर जानसक्छ भन्ने उहाँको पीडादायी व्यङ्ग्य बडो गजब लाग्छ । सुक्खिम याक्थुङ् साहित्य बारे अघि बढ्न नसकेको सुरलाई गतिलो व्यङ्ग्य प्रहार गर्छन् ।

बेलुका अतिथि भवनमै खाना खान्छौँ । बेलुका भवानी तावाको जलपान सेवन हुन्छ । जलपान सेवन पश्चात् म नुहाउँछु । रातभर शरीरलाई शिथिल चिसोले सताउँछ ।
असार ६ गते बिहान, हामी उठेर अतिथि भवनकै ट्याक्सी रिजर्भ गरेर देउराली स्टैण्ठमा सात बजे पुग्छौँ । एकदिन अघि नै प्रा.डा. विएल खाम्धाःक् सरले पशुपतिनगर नेपालसम्मको टिकट व्यवस्था गरेकाले ट्याक्सीमा ढुक्क छौँ । उहाँलाई मुरी–मुरी धन्यवाद दिँदै बिहानको सात बजेर पन्ध्र मिनेट जाँदा नेपालतिर प्रस्थान गर्छौँ । जीउ करक्क दुख्दै कुनै दृष्यपान नगरी लाटोजस्तो भएर राँके पुग्छु र डिकधोज सरको मोटरसाइकलबाट घर पुग्छु । सबैको जय होस् । शुभ यात्रा ।
फोटो : हिलिहाङ् लावती र भवानी तावा फेसबुकबाट  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मलिषा याक्थुङ्बा लिम्बू

लेखकबाट थप...