टाउको दुखिरहेको छ । सुते हुने हो । तर सुत्न सकिरहेको छैन । टाउको दुखिरहेको छ । नसुती ठिक हुँदैन थाहा छ, तर सुतीसुती टाउको दुखाइ ठिक पार्नु भनेको आफैंमा टाउको दुखेको विषय हो । उसो त टाउको दुख्नु सामन्यतया आजको समयमा सामान्य कुरा हो । यसलाई असामान्य बताउनु या लेख्नु किन्चित मेरो रुचि क्षेत्रभित्र पर्दैन । 

टाउको दुख्नुका थुप्रा कारणहरू छन् । अकारण त केही हुँदैन । अकारण केही हुनु पनि आफैंमा एक कारण हो । नहुनु पनि हुनु त हो आखिर । यसो भन्दा अध्यात्मवाद मेरो घाँटी समात्न आइपुग्ला, आइरहोस् । आज अकारण टाउको दुखेको होइन । हिजोअस्ति पनि टाउको दुख्नुका पर्याप्त कारणहरू हुने गर्दथे । आजभोली मुटु पनि घोच्छ । यसमा खानपान र रहनसहनको बेसी क्षेत्रफल होला । तर, टाउको दुख्नु खानपान या रहनसहन भन्दा ज्यादा सोच, विचारसँग समबन्धित कुरा हो । सोच, विचार कला-साहित्यसँग समबन्धित कुरा हो । फेरि, कला-साहित्य आफैँमा सोच-विचारदेखि माथि उठेर अराजक हुन् खोज्ने कुरा पनि हो । यथास्थितिलाई अँगाल्नु मलाई लाग्छ, साहित्य होइन । यथास्थितिलाई अँगाल्नका लागि दैनिकी छ, दिनचर्या छस् समग्रमा आज छ, समाज पनि छ । यसैले भनेको आज कला-साहित्य होइन । हिजो कला-साहित्य हो, या अस्ति र पर्सी अझ परिस्कृत कला-साहित्य हो । आजलाई आज जसरी जिउन सके, जाने- त्यो चाहिँ फेरि कला-साहित्य हुन् पनि सक्ला ।

म आफू घटिरहेको, आफूले व्यतीत गरिरहेको क्षणभन्दा  कि अघि कि पछिलाई साहित्य मान्दछु । कला ठान्दछु । समकालीनतालाई कला-साहित्य भनिहाल्ने मनस्थितिमा म कसैगरी पुग्न सकिरहेको छैन । कोही पुगेको छ र मलाई पनि पुर्याउन सक्दछ भने त्यो चमत्कार भयो, आकस्मिकता भयो । आकस्मिकता मेरो प्रिय भोजन हो, त्यसलाई म जरूर सेवन गर्नेछु । 

समकालीनतालाई कला-साहित्य मानिदिँदा म कैयन समस्याहरू देख्दछु । हुँदाहुँदैको, तात्तातै, ओभाउँनै नपाएको, चिसिन नै नपाएको, बिसाउन नै नपाएको, तर्किन नै नभ्याएको कुनै पनि घटना, विषय, मुद्दा, विचार, आन्दोलन, घटना-दुर्घटना, परिघटना कसरी लेखनयोग्य या पठनयोग्य हुन् सक्दछ । केही बेर त पर्खौं, अलि बेर । पर्खनु भनेको खरायो हुनु होइन, कछुवा हुनु हो । समकालीनतालाई लेख्नु या कोर्नु भनेको खरायो हुनु हो । तातातो हुनु हो, हतारिनु हो । मलाई हतार मनपर्दैन । मलाई खरायो हुन मन छैन । र, दौड जित्ने कछुवा पनि भइहाल्नु छैन । थैट, विसंगत !

दौड-बाटोहरूले निम्ताएको हो । या बाटोहरू दौडको निम्तेलु हुन्, मैले बुझ्न चाहेको छैन । टाउको दुखेको यस क्षण, यो कुरालाई सोच्ने-विचारने तागत मकन छैन । नढाँटी भन्दा, समकालीनता सोच्ने, विचारने कुरा होइन । यो आफैँ हुने कुरा हो । स्वतस्फूर्त घटिरहने कुरा । समकालीनता समय हो, बगिरहने । एकै प्रवाहमा , एकै रफ्तारमा । आजलाई हिजोसँग या भोलिसँग नदाज्ने हो भने आजको सुक्ष्म प्रवाह हामी महसुस गर्न सक्दछौँ । तर, हामीलाई त्यो बानी छैन । यसैकारण हामी कला-साहित्यको भर पर्दछौँ । कला-साहित्यले आजलाई छाडेर हिजो-भोलिका कुरा गर्छन्, गरुन । यसो हुँदा साँचो अर्थमा कला-साहित्य, कला-साहित्य रहिरहन्छ । अन्यथा, यो चीजको उपस्थिति बेकार छ । आजलाई मस्त जिउने व्यक्तिहरूलाई कला-साहित्यको उत्ति वास्ता हुँदैन । ऊ आजको प्रवाहमा नै बगीरहन सक्दछ भने उसका लागि कला-साहित्य फट्यांग्राको मामा हो, जोसँग उसको कुनै सरोकार छैन । 

यहाँ एक दुई कुरा आउँछन्, उसो भए कला-साहित्यको काम के ? कलाकार-साहित्यकार उसो भए बेतुकका व्यक्तिहरू हुन् ? उनीहरू आजको प्रवाहमा हिँड्न नसक्ने चीज-वस्तु/व्यक्ति-व्यक्तित्त्व हुन् ? म भन्छु हो । हो, यसकारण कि उनीहरू हिजो, भोलिमा पनि बरोबर विचरण गरिरहेका हुन्छन् । यसो गर्नु उनीहरूको कर्तव्य हो, नगरेमा उनीहरू नैतिक रूपले भ्रस्ट हुन् । उनीहरूले आफूलाई कलाकार-साहित्यकार भनेर ठूलो अपराध गरिरहेका छन्, जसको कुनै माफीनामा छैन । तर एउटा कुरा, उनीहरूले हिजो र भोलि लेखिरहँदा आज आफू बाँच्न सक्नुपर्दछ । उनीहरू साँचो कलाकार-साहित्यकार हुन् भने त्यो सक्दछन् । त्रिकालदर्शी । तीन क्षणमा- अतीत, वर्तमान र भविष्य । कल्पना- भविष्य हो । सम्झना अतीत हो र आज ऊ आफू हो । 

हो, यस्तै कुराहरू सोचिरहनु भनेको टाउको दुखाइरहनु हो । तर मेरो टाउको दुख्न निको भएको छ, तपाईंको दुखेको छ भने तपाईंको कुरा सुनौँ । तपाईं कसरी आफ्नो टाउको दुखाइ निवारण गर्नुहुँदो रहेछ, बुझौँ, थाहा पाऔँ । 
अस्तु !

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...