उहिले खाना पकाउने ग्याँस लिन पनि फाराम भर्नुपर्थ्यो । डिपोजिट रकम जम्मा गर्नुपर्थ्यो । त्यसपछि पनि पालो कुरेर मात्र ग्याँस पाइन्थ्यो । तर अचेल निकै सहज छ । पसलमा गयो, लियो, आयो ।
नेपालमा खाना पकाउने ग्याँसको व्यवसायको सुरुवात भारतीय व्यापारी मुलराज गोकुलदास उदेसीले गरेका थिए । हुन त त्यस अगाडि पनि नेपालमा भारतबाट नै ग्याँसका सिलिन्डर ल्याएर बिक्री गरिने गर्दथ्यो । वि.सं. २०२६ सालमा नेपालमा नै ग्याँस उद्योग खोल्ने मनसायले भारतका प्रख्यात व्यापारी समूह मुलराज गोकुलदास नेपाल भित्रिएका थिए । पेट्रोल डिजेल नै भारतबाट ड्रमबाट ल्याएर बेच्नुपर्ने अवस्थामा ग्याँस उद्योग चलाउनु कठिनाइ थियो ।
राजनैतिक साथ भए उद्योग सञ्चालनमा सहज हुने मनसायले भारतीय राजघरानाका ज्वाइँ पशुपति शमशेर राणासँग मिलेर नेपाल ग्याँस कम्पनी खोलेका थिए । २०२७ सालमा नेपाल आयल निगमको स्थापना पछि ग्याँसको मुख्य आपूर्ति नेपाल आयल निगमले गर्ने भए पछि केही सहज भएको थियो ।
२०२८ सालमा भारतीय व्यापारी मुलराज गोकुलदासले आफ्नो स्वामित्व पनि पशुपति शमशेरलाई नै सुम्पिए । यसपछि भने श्रीमती उषाराजेको नाममा नेपाल ग्याँस कम्पनी दर्ता गराइ सिलिन्डरमा उत्पादन तथा बिक्री वितरणको थालनी भयो ।
वि.सं. २०४२ सालसम्म नेपाल ग्याँसको एकलौटी राज नै रह्यो । २०४३ सालमा एकै पटक दुई उद्योग थपिए । लुम्बिनी ग्याँस कम्पनी गैँडाकोटमा र कोशी ग्याँस उद्योग विराटनगरमा खुल्यो । यसपछि आफ्नो एकछ्त्राई गुम्ने डरले नेपाल ग्याँसले चितवनमा २०४४ सालमा अर्को उद्योग थपे । यसपछि भने बिस्तारै एलपिजि ग्याँस व्यवसायमा धेरै उद्योगहरू खुल्न थाले । २०५१ सालमा एकैचोटी हिमाल, सागर, सिद्धार्थ, बाबा, शक्ति, मनोज तथा गौरीशङ्कर गरि ७ उद्योग थपियो ।
अहिले नेपालमा ५९ वटा बोटलिङ प्लान्टहरू सञ्चालित छन् ।
तस्बीर : सुनिल उलकको फेसबुकबाट लिइएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...