फनिश्याम थारू
|

थारू नेपालका आदिवासी हुन् । नेपालको पूर्व मेचीदेखि पश्चिमसम्मका तराई, भावर एवं दूनप्रदेश तथा उपत्यका गरी जम्मा २७ जिल्लामा र भारतका केही प्रान्तहरूमा यस जातिको आवादी छ । यस जातिको उत्पत्तिकथा अलमलिएको छ । तथापि थारूजाति गौतम बुद्धका सन्तान हुन् भन्ने कुरामा अचेल अधिकांश विद्वान्हरूको मत स्थिर हुन पुगेको छ । यसलाई आधार मान्ने हो भने थारूजाति एकदमै प्राचीन जातिको रूपमा देखा पर्छ । थारूहरूको झौलो उन्मुक्त हुने कुराले थारू जातिलाई ३ हजार वर्षभन्दा बढी पुरानो प्रमाणित गर्दछ । यति पुरानो जातिको साहित्यिक इतिहास त्यति पुरानो छैन । भए पनि कालक्रमले ती सबै प्रतीक गर्भमा हामीबाट ओझेल हुन पुगेको छ र आज थारूजातिको भाषा माथि नै प्रश्नचिह्न खडा गरी यिनीहरूको ग्राफ्नो मौलिक भाषा छैन भन्ने दुष्प्रयासहरू समेत गरिँदै छन् । तर नेपालका भाषाविद् हरूदेखि लिएर नेपाल तथा भारतको जनगणनामा समेत यिनीहरूको भाषाको नामकरण 'थारूभाषा' भनी गरिसकिएकोले त्यस्ता दुष्प्रचार स्वतः निराधार साबित हुन पुगेका छन् । यस सम्बन्धमा अर्को कुरा के स्मरणीय छ भने थारू भाषामा मैथिली, भोजपुरी र अवधीको सामान्य प्रभाव नपरेको होइन, तर सामान्य प्रभाव पर्दैमा यसलाई मैथिली, भोजपुरी वा अवधी भन्न मिल्दैन । एउटै भाषापरिवारबाट निस्केका भाषाहरूमा सामान्य समानता देखिनु कुनै आश्चर्यको कुरो होइन । भाषिक प्रकृतिको विश्लेषण गर्ने हो भने थारू भाषा अरू भाषाभन्दा भिन्न र मौलिक देखिन्छ । थारूको अतिरिक्त थारूको संसर्गमा रहेका अन्य स्थानीय जातिहरू पनि यस भाषाको प्रयोग गर्दछन् । नेपाल अधिराज्यमा बोलिने यसै थारूभाषाको साहित्यिक इतिहासको विकासक्रम झोल्याउने प्रयास यहाँ गरिएको छ ।

थारू साहित्यको सुदीर्घ इतिहास छैन । आधुनिक थारू साहित्यको विकासको सूत्रपात २००७ सालको जनक्रान्तिबाट भएको मानिन्छ । २००७ सालको जनक्रान्तिपश्चात् नै श्री बढवा थारूबाट बढक्क जोर्नी गीत दाङगोराहरूको थारू साहित्यमा देखा पर्छ । थारूसाहित्यको शुभारम्भ बढवाकै गीतहरूबाट सर्वप्रथम भएकोले महेश चौधरीले उनलाई थारू भाषाका आदिकवि भनेका छन् । त्यसपछि २०१५/१६ सालतिर जीवराज आचार्यको हम्र यो हमार बम्बा भन्ने कृति प्रकाशित हुन्छ । यसको लगत्त स्व. कवि रामप्रसाद रायको बऊआ और बहुरियाको प्रकाशन हुन्छ। हो हमार खम्बाका भन्दा बऊआ और बहुरियाका कवि भाषिक तथा साहित्यिक दृष्टिकोणले बढी प्रखर र सशक्त देखिन्छन् । यसरी थारसाहित्यको इतिहासको शुभारम्भ गीत र कविताबाट हुन पुगेको छ ।

थारू कल्याणकारी समिति दाङले २०२४ सालतिर सखिया गीतको प्रकाशन गरेर सर्वप्रथम बारुलोकसाहित्यको सङ्कलन र प्रकाशनको सूत्रपात गरी बालोकसाहित्यलाई नै नयाँ दिशा प्रदान गर्‍यो । यसै क्रममा २०२८ सालमा थारूलोकगीतको सङ्ग्रह प्रकाशित गरी प्रो. प्रफुल्लकुमार सिंह 'मौन'ले उल्लेखनीय कार्य गरे । त्यस्तै २०२८ सालतिरं स्व. वि नेवलाल पौडेल 'अभागी'को प्रेरणा र सहयोगबाट दसैँको शुभ अवसरमा दाङ बेबाङमा बाँके बर्दिया, कैलाली, कञ्चनपुर र दाङदेउखुरीका थारूभाषा तथा साहित्यप्रेमीहरूको भेलाले सर्वप्रथम लगुनलाल चौधरी, महेश चौधरी र भगवती चौधरी रहेको त्रिसदस्यीय भाषा तथा साहित्य सुधार समिति पश्चिमाञ्चल, नेपालको गठन गर्‍यो । थारू साहित्यको उठानमा यस समितिको महत्त्वपूर्ण योगदान रह्यो । स्थापनाको लगत उक्त संस्थाले हमार कछाई भन्ने अपिल थारू भाषामा प्रकाशित गरी थारू भाषा तथा साहित्यको उत्थानको लागि आह्वान गरेको थियो । त्यसै वर्ष उक्त संस्थाका एक कर्मठ तथा प्रतिभाशाली व्यक्ति महेश चौधरीको सम्पादत्वमा गोचाली (२०२८) थारू साहित्यिक पत्रिकाको प्रकाशन भयो । गोलाची थारू भाषाको सबभन्दा जेठो साहित्यिक पत्रिका हो । यसै पत्रिकाबाट थारू भाषासाहित्यमा साहित्यिक पत्रिका प्रकाशन गर्ने नयाँ युगको सूत्रपात हुन पुगेको छ । यसका जम्मा ७ अंकहरू हालसम्म प्रकाशित भएका छन् । उनकै निजी प्रयासमा माँगर, बडकीमार भाखा, झुमरागीत गुरु बाबाके जलमोती (१२३६ श्लोक) को प्रकाशन भयो । उपर्युक्त साहित्यिक कार्यले थारू कल्याणकारी सभा काठमाडौँका सदस्यहरूलाई पनि कुतकुत्यायो र फलस्वरूप भूपू न्यायाधिवक्ता रामानन्द सिंहको प्रधान सम्पादकत्वमा थारू संस्कृतिको प्रकाशन २०३३ सालदेखि हुन थाल्यो । थारू भाषाको यो माहिलो साहित्यिक पत्रिका हो । यसको नवम पुष्प प्रकाशित भई स्थगित समेत हुन पुगेको छ । यसमा रामानन्दप्रसाद सिंहको सप्तरिया भाषामा श्रीमद्भगवद्गीताको अनुवाद तथा पूर्व मेचीदेखि पश्चिम महाकालीका जुनसुकै क्षेत्रका साहित्यिक व्यक्तिहरूकाे रचनालाई जस्ताको त्यस्तै स्थान दिई पूर्वपश्चिमकाे भाषिक दूरी मेटाउने सकारात्मक प्रयास गरेको देखिन्छ । यस पत्रिकाको स्तरीयता साहित्यिक गरिमा काम गर्न सफल रहेको छ । यसको देखादेख देशका विभिन्न ठाउँबाट थारूभाषामा साहित्यिक पत्रिकाहरूको धमाधम प्रकाशन हुन थाल्यो। २०३५ मा बद्गबहादुर थनेतको प्रमुख सम्पादकत्वमा थारू आकुरा नवलपुरबाट प्रकाशित भयो । यसैको हाराहारीमा चितोनबाट फुन्गीको पनि प्रकाशन भयो ।

थारू साहित्यको विकासमा २०४० को दशक अत्यन्त महत्त्वपूर्ण देखिन्छ । थारू जातिको समुत्थानको लागि धेरै संस्थाहरू स्थापित भए र ती संस्थाहरूको सक्रियतामा यस दशकमा थारूभाषामा धेरै पत्रिकाहरू प्रकाशन हुनुको साथै मौलिक कृतिहरूको प्रकाशन पनि हुन पुगेको देखिन्छ । पत्रिकातर्फ हौली परिवार सुनसरी, मोरङले हौली (२०४२), युवा थारू सामाजिक सेवा परिवार सुनसरीले थारूसंस्कार  (२०४५), थारू युवा परिवार काठमाडाैँले बिहान (२०४६), फनिश्याम थारूको सम्पादकत्वमा थारू विकास समन्वय परिषद्, विराटनगरले डलयेती (२०४७), थारू कल्याणकारी सभा मोरङले थारू कल्याणकारी सभाको १३ श्री महासम्मेलनको स्मारिका (२०४७), कैलाली क्याम्पस थारू विद्यार्थी परिवार धनगढीले टेह्यी (२०४७), प्रगतिशील थारू युवा सङ्गठन, काठमाडौँले हरिदेव चौधरीको सम्पादकत्वमा चीरखा (२०४७ को उत्तरार्द्धमा), महेन्द्र क्याम्पस, नेपालगन्जले टेंस (२०४८), तेजनारायण कठर्तनवीको सम्पादकत्वमा आँइख (२०४९), थारू भाषासाहित्य परिषद्ले थारूपत्र (२०४६), दाङ थारू विद्यार्थी समितिले हमार पहरा (२०४६) को प्रकाशन शुरू गर्‍यो । यी साहित्यिक पत्रिकाहरूमा शिष्ट साहित्यको अतिरिक्त लोकसाहित्यका विभिन्न विधाहरू छापेर सांस्कृतिक गरिमालाई बचाउने चेष्टा गरिएको छ । यसै क्रममा सिर्जना विकास केन्द्र, काठमाडौँले शान्ति चौधरीको कविता बिगडल थारू समाज हे भन्ने कविता पम्प्लेटिङ्ग रूपमा प्रकाशित गर्‍यो । यसरी २०४० को दशकमा थारूभाषामा प्रकाशित साहित्यिक पत्रिकाहरूको ओइरो नै लागेको देखिन्छ ।

साहित्यिक पत्रिकाको प्रकाशनको दृष्टिकोणले २०४० को दशक जति महत्त्वपूर्ण देखिन्छ त्यति नै साहित्यिक कृतिहरूको प्रकाशनको दृष्टिकोणले पनि महत्त्वपूर्ण देखिन्छ । यस सन्दर्भना २०४० को पूर्वार्द्ध शून्य देखिए तापनि २०४४ सालमा बेझलाल चौधरी र रामप्रसाद चौधरीको संयुक्त प्रयासमा थारूलोकगीत नचनवा गीतको प्रकाशन भयो । २०४० भन्दा पूर्व जितिया पवानीकथा पनि प्रकाशित भइसकेको छ । युवा कवि सियाराम चौधरीको पोह फाइट गेलै कवितासङग्रह २०४७ मा प्रकाशित भयो भने प्रतिभाका धनी हृदयनारायण चौधरीको थारूजाति और समय २०४८ मा प्रकाशित भयो । यसभन्दा पहिले उनके कथासङ्ग्रह कहली सुनली बुझली प्रकाशित भइसकेको थियो । सियाराम चौधरीले गद्यकवितामार्फत थारूसाहित्यमा नयाँ युगको सुत्रपात गरेका छन् भने हृदयनारायण चौधरीले सरस र सामाजिक यथार्थका कथामार्फत थारूसमाजलाई दिशाबोध गराउनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । तत्पश्चात् २०४८ सालमै छाराको प्रकाशन भयो । यो महेश चौधरी, कामताप्रसाद चौधरी र लीलागम्भीर चौधरीद्वारा रचित गीतिनाटक हो । यसै वर्ष पहुराको पनि प्रकाशन भयो । यसमा मङ्गल चौधरी र महेश चौधरीको रचना र खुशीराम पोख्रेलकाे रचनाको भाषानुवाद परेका छन् । २०४८ सालमै थारू जनकला मच दाङदेउखुरीले थारूभाषामा रचित जनवादी गीतको प्रकाशन गर्‍यो । थारूभाषामा सबभन्दा पछिल्लो तर अत्यन्त महत्वपूर्ण कृतिको नाम हो शाक्यमुनि बुद्ध । २०४६ वैशाखमा प्रकाशित यस कृतिका लेखक तेजनारायण पञ्जियार हुन् । शाक्यमुनि बुद्धको जीवनमा आधारित यो ग्रन्थ औपन्यासिक शैलीमा लेखिएको छ । यसको प्रकाशनले थारूसाहित्यमा औपन्यासिक विधाको थालनी हुन गएको छ ।

प्रजातन्त्रपश्चात् थारूभाषा र साहित्यको उत्थानमा नयाँ गति आएको छ । जातीय उत्थानको लागि स्थापित थारू सामाजिक संस्थाहरूले समेत थारू साहित्यिक पत्रिकाको प्रकाशनमा विशिष्ट अभिरुचि देखाएका छन् । हालै बाराको फत्तेपुरमा सम्पन्न राष्ट्रिय स्थासाहित्य सम्मेलन र आगामी फागुन ७/८ गते कल्याणपुर, सप्तरीमा हुने अन्तर्राष्ट्रिय चार साहित्य सम्मेलनले आगामी दिनहरूको लागि नयाँ दिशाबोध गराउने नै छ । अस्तु !

पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्‍यौँ, तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित 'समकालीन साहित्य' (वर्ष ३, अंक ३, पूर्णाङ्क ११ साउन-भदाै-असाेज २०५०) बाट साभार 'थारू साहित्यको ऐतिहासिक विकासक्रम' शीर्षककाे आलेख । प्रस्तुत आलेखले थारू साहित्यकाे ऐतिहासिक जानकारीलाई सङ्ग्रहित गर्नेमा समेत आशावादी छाैँ । सं. 

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार