विश्व फुटबलको इतिहास हेर्ने हो भने आधुनिक फुटबलको शुरुवात १२औँ शताब्दीमा बेलायतबाट भएको देखिन्छ । त्यसबेलाको फुटबल खेल निकै हिंस्रक र डरलाग्दो हुन्थ्यो । कुनै विशेष नियममा नबाँधिएको फुटबल खेल्नको लागि ठूलो मैदानको आवश्यकता पर्दथ्यो । कति संख्या खेलिने भन्ने निश्चित नहुँदा जथाभावी खेल खेलिने गरिन्थ्यो । खुट्टाले मात्र होइन हातका मुक्काले पनि फुटबललाई हान्न पाइन्थ्यो । तर बलबाट खेलिने खेलको शुरुवात भने इसा पूर्व ३००० वर्ष पहिले मेसोमेरिकन भनेर भनिने अहिलेको उत्तर अमेरिकी देश मेक्सिको नजिकै शुरुवात भएको थियो । एज्टेक सभ्यताको समय रबरका बलबाट खेलको शुरुवात भएको थियो । 

Tchateli भनिने सो खेलमा बललाई सूर्य देवताको प्रतिकको रुपमा खेलिन्थ्यो । तसर्थ हार्ने टिमको क्याप्टेनको बलि देवतालाई दिइन्थ्यो ।

आधुनिक फुटबलको शुरुवात भने जङ्गबहादुरको शासनकालको शुरुवात तिर बेलायतमा भएको थियो । बेलायतीहरुले फुटबल खेलका केही नियमहरु बनाएका थिए । यस पछि वि।सं १९२० मा बेलायतमा फुटबलले व्यवसायिकता पायो । टिम मात्र होइन फुटबलको एशोशियसन नै बन्यो । साथै फुटबलमा केही महत्वपूर्ण परिवर्तनहरु भए । यस एशोशियसनले फुटबल नाम गरेको खेलमा हातले बल छुन नपाउने नियमको शुरुवात भयो । अब बल्ल वास्तविक फुटबल बन्यो । साथै फुटबलको आकार र तौलको मानक पनि बनाइयो । यसरी शुरु भएको फुटबलको विश्व प्रतियोगिता वि।सं १९८७ को असार २९ गते १३ देशको सहभागितामा शुभारम्भ भयो । 

पहिलो विश्वकपको शुरुवात हुने समयसम्म नेपालमा पनि फुटबलका क्लबहरु बनिसकेका थिए । क्लबहरु बिच फुटबल खेल हुन थालेको थियो । नेपालमा फुटबलको इतिहास हेर्ने हो भने नेपालमा शिकारका लागि आएका बेलायती राजकुमार प्रिन्स एडवर्डले फुटबल बोकेर आएको देखिन्छ । प्रिन्स एडवर्डसँग आएका बेलायतीहरुले मनोरञ्जनको लागि विसं १९७८ को पुस ३ गतेको बिहान ठोरीमा फुटबल खेलेको इतिहास भेटिन्छ ।

शायद यो नै नेपाल भित्र फुटबल खेल खेलिएको पहिलोपटक हुनुपर्छ । यहि समयको आसपासमा जङ्गबहादुरका भाइका नाति नारायण नरसिंह राणा भारतमा अध्ययनको लागि पुगेका थिए । त्यहाँ उनले फुटबल खेल्न थालेका थिए । छुट्टीको समय नेपाल फर्कदाँ उनले नै नेपालमा फुटबल भित्राएको भनिन्छ । जङ्गबहादुर राणाका भाइ बद्रि नरसिंह राणाका नाति एवं नेपालको पहिलो इञ्जिनियर द्वय कुमार नरसिंह राणा तथा किशोर नरसिंह राणाका भतिजा थिए नारायण नरसिंह राणा । यिनको साथी चन्द्र थापा पनि भारतमा नै अध्ययनमा रहदाँ यि दुइले नै नेपालमा फुटबलको शुरुवात गरेको भनिन्छ । पछि जुद्धशम्शेरका नाति नरशम्शेरले नेपालमा फुटबललाई व्यापक बनाएका थिए ।

केही धनी तथा राणा परिवारका सदस्यहरुले हावा भरेका फुटबलले नै खेल खेले पनि अन्य नेपाली केटाकेटीहरुले भोगटे, कपडाको पोको तथा भैसीको भुडीमा कपडा कोचेर फुटबल खेल्दथे ।

तर बेलायती राजकुमारको नेपाल आगमन र नेपाली विद्यार्थीले भारतमा अध्ययनका क्रममा फुटबल खेल्नु अगाडि नै नेपालीहरुले फ्रान्सको मैदानमा फुटबल खेलेको देखिन्छ । पहिलो विश्व युद्धमा लडाइको लागि फ्रान्स पुगेका गोर्खालीहरु फुर्सदको समय मनोरञ्जनको लागि फुटबल खेलेका थिए । विसं १९७२ साउन ८ गते फ्रान्सको सेन्ट फ्लोरिसमा गोर्खालीहरुले सिग्नल कम्पनीसँग फुटबल खेल खेलेका थिए । हुन त कहिँकहिँ विसं १९७० मा नारायण नरसिंहले फुटबल खेल भित्राएको भनिन्छ । तर आधिकारिक जानकारी बटुल्न खोज्दा वि।सं १९७० को दशकमा भन्ने पाए । विसं १९५५ तिर जन्मेका नारायण नरसिंहले पनि काका कुमार नरसिंह तथा किशोर नरसिंह झै भारतमा अध्ययनको लागि गएका थिए । उनी विसं १९७५ पछि नै भारतमा अध्ययनको लागि पुगेका थिए । तसर्थ प्रिन्स एडवर्डले सौराहामा फुटबल खेल्ने समय तिरनै नारायण नरसिंहले पनि फुटबल नेपालमा भित्राएको मान्न सकिन्छ ।

विसं १९९० को आसपासमा फुटबलका प्रतियोगिताको शुरुवात भएको देखिन्छ । जुद्धशम्शेरका नातिहरु जावलाखेल टिम, भीमशम्शेरका नातिहरु टंगाल दरबार टिम, वीरशम्शेरका नातिहरु ठमेल टिम जस्ता राणाका छोरा नातिहरुको टिमहरु बन्न थालिसकेका थिए । यि टिमहरु मैत्रिपूर्ण रुपमा बबरमहल, टंगाल, ठमेल, सिंहदरबारमा खेलहरु खेल्दथे । सिंहदरबारको बिलियर्ड घर अगाडि चौरमा फुटबल खेलिन्थ्यो र राणाका उच्च पदस्थहरु बिलियर्ड घरमा बसेर खेल हेर्दथे । धेरैजसोले बिलियर्ड घर भन्न नजानेर ब्लेड घर भन्दथे ।

विसं १९९१ मा जावलाखेल एघार, एनआरटी (न्यूरोड टिम) एघार, महावीर एघार, जनपक्षिय एघार तथा अन्य टिम सहित १३ वटा टिम बिच प्रतियोगिता भयो । यस मैत्रिपूर्ण खेलमा नरशम्शेरको टिम विजयी भएको थियो । यस खेलपछि भने जुद्धशम्शेरले फुटबलको प्रतियोगितामा नै बन्देज लगाइदिए । राजनैतिक रुपमा जनताहरु राणा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हुँदा खेलको माध्यमबाट पनि एकत्रित भइ राणा विरुद्ध कार्यक्रम हुन सक्ने आशंकामा पनि फुटबलको प्रतियोगितामा बन्देज लगाएका थिए । तैपनि गैर राणाहरु सानो सानो समुहगत रुपमा भित्र भित्र खेल खेल्न भने रोकेनन् । अन्ततः राणा प्रधानमन्त्री भीमशम्शेरको समयमा विसं २००४ सालमा नरशम्शेरकै अगुवाइमा नेपाल फुटबल संघको गठन हुन सम्भव भयो । पहिलोपटक राजा त्रिभुवनले आफ्नो नाममा शिल्डको स्थापना गराइ त्रिभुवन च्यालेन्ज शिल्ड खेल प्रतियोगिताको आयोजना भयो । नरशम्शेरको नरेश एघारले पहिलो पटक त्रिभुवन च्यालेन्ज शिल्ड जित्न सफल भयो ।



विसंं २००७ सालको क्रान्तिको लहरमा फुटबल सेलायो । सबै राजनैतिक उद्धेश्य प्राप्तिको लागि नै भागिरहदा खेल प्रति रुचि हुने घट्न थाल्यो । देशमा प्रजातन्त्र प्राप्ति पछि फेरी २००८ सालमा नेपाल फुटबल संघ सक्रिय हुन थाल्यो । २००५ सालदेखि हुन नसकेको त्रिभुवन च्यालेन्ज शिल्डको प्रतियोगिता २००८ सालमा फेरी शुरु भयो । यस पटक भने राजधानी बाहिरको टिम जलेश्वर एघारले जित्न सफल भयो । यसपछि प्रत्येक वर्ष त्रिभुवन च्यालेन्ज शिल्ड भइरह्यो ।

राजा त्रिभुवनले त्रिभुवन च्यालेन्ज शिल्डको शुरुवात गरेपछि त्यसको केही वर्ष पछि अर्को महत्वपूर्ण प्रतियोगिता रामजानकी कप शुरु भयो । २००४ सालमा राणा प्रधानमन्त्री पद्मशम्शेरले स्थापना गराएको यो कप २००८ सालपछि नेपाल पुलिसले लगातार तीन पटक जितेर आफ्नै बनायो । २०११ मा रामजानकी कप नहुने भयो । त्यसैबेला ज्ञानबहादुर याक्थुम्बा प्रहरी प्रमुख हुनुहुन्थ्यो । प्रहरी संगठनबाटै पैसा उठाएर त्यसै वर्षदेखि शहिद स्मारक कपको शुभारम्भ गराए । पहिलोपटकको प्रतियोगितामा महावीर क्लब नै विजयी भयो । त्यसैबेला साना उमेरकाहरुको लागि बाल महावीर टिम पनि गठन भएको थियो । पछि महावीर क्लबले योङ महावीर टिमपनि बनायो ।

२००९ सालमा देवीमाया मेमोरियल शिल्ड शुरु भएको थियो । तर धेरै वर्ष निरन्तरता हुन सकेन । २०१३ सालमा राजा महेन्द्रको शुभराज्याभिषेकको अवसरमा सानो टुँडिखेल अर्थात कमलपोखरीमा दशरथ रङ्गशाला बन्यो । यसपछि भने अधिकांश खेल दशरथ रङ्गशालामा नै हुन थाल्यो ।

प्रतियोगिताहरु पनि क्रमश बढ्न थाल्यो । २०१३ सालमा शुभराज्याभिषेक शिल्ड, २०१८ सालमा महेन्द्र गोल्ड कप, २०२५ सालमा नर ट्रफी शुरु भएको थियो ।  

२०१६ साल कार्तिक १५ गते नेपालको फुटबलको इतिहासमा अविस्मरणिय खेल भएको थियो । त्यस दिन दशरथ रङ्गशालामा भएको च्यारिटी खेलमा नरेश ११ को नेतृत्व राजा महेन्द्रले गरेका थिए भने प्रधानमन्त्री ११ को नेतृत्व जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले गरेका थिए । नरेश ११ को टिममा राजा महेन्द्र, अर्थ मन्त्री सुवर्णशम्शेर, प्रहरी प्रमुख रंगविक्रम शाह, युवराज हिमालय, युवराज बसुन्धरा, राजाका एडिसी शेरबहादुर मल्ल, लोक विक्रम शाह ९गोलकिपर०, नरशम्शेर राणा, निरशम्शेर राणा, हरि विक्रम शाह तथा सुरेन्द्र शम्शेर राणा सम्मिलित थिए । यता प्रधानमन्त्री ११ मा प्रधानमन्त्री बिपी कोइराला, होरा प्रसाद जोशी, तुलसी गिरी, भरतशम्शेर राणा, जमानसिंह गुरुङ, डा. त्रिवेणी प्रधान, महेश्वर शम्शेर राणा, प्रकाश चन्द्र ठाकुर, सुरेन्द्रबहादुर शाह, रोमविक्रम थापा तथा धिरविक्रम शाह सम्मिलित थिए । खेलको रेफ्रीमा पदमबहादुर खत्री थिए । केबल ६० मिनेटको खेलमा राजा तथा बिपी दुबैले पुरै समय खेले । खेलको अन्त्यतिर होराप्रसाद जोशीको पासमा बिपीले १ गोल हानेर प्रधानमन्त्री ११ विजयी भएको थियो ।

३ दशकअघि दशरथ रंगशालामा भागदौडमा परि ९३ जना खेलप्रेमीले ज्यान गुमाउन पर्यो । दशरथ रंगशालामा घटेको उक्त दैवी प्रकोपलाई विश्व खेल इतिहासको ठूलो दुर्भाग्यपूर्ण क्षण मानिन्छ। रंगशालामा भएको दुर्घटनामा भएको मानवीय क्षतिका हिसाबले दशरथ रंगशालाको घटना समग्रमा चौथो ठुलो घटनाका रूपमा लिइन्छ । 

नेपाली फुटबल टोलीले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा भने वि।सं २०२० सालमा पूर्वी पाकिस्तानमा भएको आगा खान कपमा भाग लिएको थियो । वि।सं २०२० को कार्तिकमा तत्कालिन पूर्वी पाकिस्तान हालको बंगलादेशको ढाकाको बंगबन्धु खेल मैदानमा भएको सो खेलमा नेपालले दुइ खेल खेलेको थियो । काठमाडौ एघार र विराटनगर एघारका खेलाडी मिसाएर बनाएको सो नेपाली टिममा तालमेलको कमि थियो । आ(आफ्नै शैलीमा खेल्ने दुइ टिमलाई एउटै टिम बनाइँदा तालमेल मिल्नै सकेन । क्याप्टेन राजबहादुर सिंह थिए भने टिमको मेनेजर नरशम्शेर थिए । पश्चिम पाकिस्तानसँग भएको पहिलो खेलमा ७ गोल खाएको थियो भने दोश्रो खेल वन्डर्स क्लबसँग पनि हार खायो । तेश्रो खेल पाकिस्तान पुलिससँग भने प्रकाश विक्रम शाहको एक गोलले नै खेलमा विजय दर्ता गर्यो । 

प्रस्तुतीः सुनिल उलक

पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्‍यौँ, ओल्ड फोटोज अफ नेपालद्वारा प्रकाशित 'नेपालमा फुटबल, प्रधानमन्त्री बिपीले गोल गर्दा राजा महेन्द्रको टिम पराजित' शीर्षककाे इतिहास । इतिहासपाठलाई यथाशक्य मूलपाठकाे वर्णविन्यासअनुसार संरचित गरिएकाे छ । -स. 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...