श्रीलंकाली तमिलहरूले राज्य र बहुसंख्यक सिंहला समुदायबाट आफूहरूले विभेद र उत्पीडन खेप्नु रहेको आरोप विगत अनेकौ दशकदेखि लगाउँदै आएका छन् । श्रीलंकाको जटिल जातीय समस्या यसैको सेरोफेरोमा केन्द्रित रहेको छ । त्यहाँको तमिलबहुल उत्तरी क्षेत्रमा पृथक राष्ट्र तमिल इलमको निर्माणका लागि असीको दशकदेखि आरम्भ भएको सशस्त्र संघर्ष दक्षिण एसियाको इतिहासको एउटा प्रमुख सशस्त्र आन्दोलन हो त्यहाँका तमिलहरूले मुलुकको उत्तर र पूर्वी भागलाई छुट्टाएर पृथक तमिल इलम खडा गर्ने उद्देश्यका साथ लिट्टेको नेतृत्वमा असीको दशकदेखि आन्दोलन आरम्भ गरेका हुन् । यो आन्दोलनमा लिट्टेका अतिरिक्त अन्य अनेकौ तमिल संगठनहरू पनि संलग्न रहेको पाइन्छ । तर तीमध्ये सबैभन्दा शक्तिशाली संगठन लिट्टेको रहेको थियो । भारतको दक्षिणवर्ती राज्य तमिलनाडुमा रहेका तमिल र श्रीलंकाली तमिलहरूबीच गहिरो धार्मिक सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको छ । आरम्भदेखि नै तमिल इलमको आन्दोलनलाई भारतका तमिलहरूले आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्दै आएका थिए । भारतको तमिलनाडु राज्यमा तमिलहरूको संख्या लगभग ७ करोड रहेको छ ।
त्यसो त श्रीलंकामा जातीय विवाद र झडपहरू पहिलेदेखि नै हुने गरेको इतिहास रहेको छ, तर त्यहाँ वर्ष १९८३ मा घटेका साम्प्रदायिक घटनाहरूबाट श्रीलंकाको जातीय द्वन्द्व एउटा नितान्त नयाँ चरणमा प्रवेश गरेको थियो । त्यस वर्ष जुलाईमा देशव्यापी रूपमा भड्किएको साम्प्रदायिक हिंसामा ठुलो संख्यामा तमिलहरू मारिएका थिए । तमिल विरोधी हिसापछि बदलास्वरूप लिट्टे र अन्य तमिल सशस्त्र संगठनमा आबद्ध तमिल छापामारहरूले श्रीलंकाली सुरक्षा फौजमाथि आक्रमणका थुप्रै घटनाहरू घटाएका थिए । यहींबाट श्रीलंकामा बहुसंख्यक सिंहल र अल्पसंख्यक तमिलहरूबीच चरम शत्रुताको अवस्था सृजना हुनगई युद्ध आरम्भ भएको थियो । तमिल समुदाय विरुद्धको हिंसा र प्रतिहिंसाबाट आफ्नो मुलुकलाई आन्तरिक र बाह्यरूपमा खतरा भएको राष्ट्रपति जयवर्धनेको धारणा थियो । सिंहली शक्तिहरू र अनुशासन कमजोर रहेको श्रीलंकाली सेनाका असन्तुष्ट घटकहरूले आफ्नो सत्ता उल्टाउन सक्ने भय पनि राष्ट्रपतिलाई थियो । यसका अतिरिक्त, तमिलहरूको ठुलो संख्यामा जनधनको क्षतिबाट भारतमा तमिलहरूको भावना भड्किने सक्ने सरकारले अनुमान गरेको थियो । जयवर्धने सरकारको विचारमा १९७१ मा पूर्वी पाकिस्तानमा हमला गरेजस्तै तमिलहरूको पक्ष लिएर भारतले श्रीलंकामाथि हमला गर्न सक्ने सम्भावना प्रबल बनेको थियो । सिंहलीहरूको बाहुल्य रहेको सरकार यसबाट भयभीत बनेको थियो । श्रीलंका भारतबीच जुलाई १९८७ मा सम्झौता हुनुभन्दा पहिलेसम्म श्रीलंकाका राजनैतिक, रक्षागत र कूटनीतिक निर्णयहरू यसै भयलाई ध्यानमा राखेर लिइएका थिए । यसै पृष्ठभूमिमा सत्ताधारी युएनपीले दक्षिण एसियाली क्षेत्र भन्दा बाहिरका भारतविरोधी क्षेत्रीय शक्तिहरूसित यस संकटको समाधानका लागि सैन्य सहयोग लिने निर्णय गरेको थियो ।
बहुसंख्यक सिंहलीहरूबाट अल्पसंख्यक तमिलहरूमाथि विभेद र उत्पीडन भएको आरोपमा कति सच्चाई छ रु सिंहला समुदाय तथा श्रीलंकाको सरकारमाथि यो आरोप भारतका तमिलहरूले मात्र होइन, त्यहाँको सरकार र सबैजसो राजनीतिक दलहरूले समेत लगाउने गरेका छन् । भारतको आफ्ना छिमेकी मुलुकहरूसँग विद्यमान रही आएको जटिल सम्बन्धको पृष्ठभूमिमा तमिलहरूमाथिको भेदभावको आरोप वा सवालको सीधा उत्तर पाउन कठिन छ । तथापि, यदि तथ्यांकीय प्रमाणलाई आधार मान्ने हो भने श्रीलंकाली तमिलहरूमाथि भेदभाव भएको भन्ने विषय अतिरंजनापूर्ण भएको देखा पर्दछ । बहुसंख्यक सिंहलीहरूले अल्पसंख्यक तमिलहरूमाथि विभेद गर्ने गरेका छन् भन्ने कुराको खण्डन श्रीलंकाका तत्कालीन कृषि मन्त्री गामिनी जयसूर्यले २५ अगस्ट १९८३ मा श्रीलंकाली संसदमा दिएको भाषणमा यसरी गरेका थिएः
श्रीलंका डेढ करोड जनसंख्या भएको सानो टापु देश हो । यो जनसंख्यामा ७४ प्रतिशत अर्थात् लगभग १ करोड १० लाख सिंहलीहरू रहेका छन् । श्रीलंकाली तमिलहरू १८ लाख अर्थात् १२६ प्रतिशत रहेका छन् । नवीनतम भारतीय मूलका तमिलहरूको संख्या ८ लाख भन्दा केही माथि रहेको छ । यस्तो अवस्थामा यदि तमिलहरूले शिक्षा, रोजगार र अवसरको क्षेत्रमा भेदभाव भएको छ भनेर आन्दोलन गर्दछन् भने त्यसमा बिल्कुल सच्चाई छैन । वास्तवमा तमिलहरू सरकारी, सार्वजनिक र निजी क्षेत्रमा जनसंख्याको अनुपात भन्दा दुई या तीन गुणा बढी पदहरूमा नियुक्त भएका छन् । औपनिवेशिक शासकहरूको फुटाऊ र राज गरको नीति अन्तर्गत बहुसंख्यक समुदायको मूल्यमा अल्पसंख्यकहरूले शिक्षा र रोजगारका क्षेत्रमा अधिक अवसर र सुविधाहरू पाउने गरेका छन् । आज यसै १२६ प्रतिशत जनसंख्याबाट ३४ प्रतिशत इन्जीनियर छन्। २८९ प्रतिशत सर्वेयरहरू छन्, ३५१ प्रतिशत चिकित्सकहरू छन्, ३८.८ प्रतिशत पशु चिकित्सकहरू छन्, ३०.२ प्रतिशत मेडिकल प्राविधिज्ञहरू छन् तथा सरकारी सेवामा ३३.१ प्रतिशत लेखापालहरू छन्
माथिका तथ्यांकहरू हेर्दा श्रीलंकाली तमिलहरूमाथि राज्यले भेदभाव गरेको छ भन्ने देखिन्न । ती तथ्यांकहरूले बताउँछन् कि आर्थिक र सामाजिकरूपमा तमिलहरूको जीवनस्तर सिंहलीहरूको भन्दा कमजोर छैन १९७८ को आमनिर्वाचनमा तमिलहरूको छाता संगठन तमिल मुक्ति मोर्चा श्रीलंकाली संसदको सबैभन्दा ठुलो विपक्षी दल बन्न सफल रहेबाट राजनैतिकरूपमा समेत तमिल समुदायलाई पछि पारिएको भन्न सकिन्न । तर, तमिल भाषा, संस्कृति र समग्र तमिल जातिहरूलाई हेर्ने दृष्टिकोणको जहाँसम्म प्रश्न छ त्यसमा सिंहल उच्च अहंकारवाद रहेको आरोप सही हुन सक्छ । अमेरिकामा गोराहरूको उच्च नस्लीय अहंकार, बंगलादेश, पाकिस्तानमा मुस्लिम उच्चताभास, भारत र नेपालमा हिन्दू उच्चताभाषलाई पनि केही हदसम्म यसै श्रेणीमा राख्न सकिन्छ ।
अब पुनः जुलाईका साम्प्रदायिक दंगाहरूबाट चर्चा आरम्भ गरौ । सिंहली र तमिलहरूबीच द्वन्द्व चर्किदै जाँदा हिंसाबाट विस्थापित हुन पुगेका लगभग डेढ लाख तमिल शरणार्थीहरू भारतको तमिलनाडुमा शरण लिन पुगेका थिए । जातीय हिंसालाई शमन गर्ने उद्देश्यका साथ राष्ट्रपति जयवर्धनेले आफ्ना भाईलाई सैन्य सहयोग माग्न चीन पठाएका थिए । चिनिया प्रधानमन्त्रीले श्रीलंकालाई त्यहाँ जारी गृहयुद्धको पृष्ठभूमिमा सैन्य सहयोग गर्ने आश्वासन दिए अनुसार श्रीलंकालाई चीनबाट सैन्य हतियार र उपकरणहरू प्राप्त भएका थिए । चीनले श्रीलंकाली वायुसेनालाई प्रशिक्षणसमेत दिएको थियो । चीनको यो कदमले भारतको सुरक्षामा झन् खतरा उत्पन्न गरेको दिल्लीको बुझाई थियो चिनिया प्रधानमन्त्री झाओ कियाङले भारतलाई लक्षित गर्दै राष्ट्रपतिका विशेष दूतलाई भनेका थिएः
अरूको जातीय विवादबाट आफूले फाइदा लिने काम कुनै पनि मुलुकले गर्नु हुँदैन, साथै ठुला राष्ट्रहरूले साना राष्ट्रहरूलाई धम्क्याउनु हुँदैन । तेस्रो विश्वका मुलुकहरूले एक-अर्काको मामिलामा हस्तक्षेप गर्दा। राष्ट्रहरूलाई हस्तक्षेपको बाटो खुल्नेछ ।
श्रीलंकालाई यो अवधिमा सैन्य सहयोग गर्ने अन्य मुलुकहरूमा अमेरिका, पाकिस्तान, इजरायल थिए । ती सबै मुलुकहरू अमेरिकी खेमाका थिए ।
पाठकहरूलाई नेपाल र नेपालीको ऐतिहासिक वाङ्मय र लेखन परम्परासँग परिचित गराउने उद्देश्यले द मार्जिनद्वारा अर्काइभ शुरू गरिएको हो । अर्काइभको यो अंकमा हामीले प्रस्तुत गर्यौँ, चन्द्रकान्त-विष्णुदेवी प्रकाशनबाट प्रकाशित नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटनाबाट साभार 'पृथकतावादी आन्दोलनको सूत्रपात' शीर्षककाे आलेख । सम्पा.
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...