अहिले मुलुककाे अवस्था निकै नै भयावह छ । काेविड-१९(काेराेना भाइरस)का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेकाे छ । हामी अहिले लकडाउनमा छौँ। देशलाई यस उल्झनबाट बाहिर निकाल्न र यस अवस्थासँगकाे लडाइँमा हामी सबैले आफ्नाे क्षेत्रबाट भुमिका निर्वाह गर्नु हाम्रो दायित्व हाे । यतिबेला सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, संचारकर्मी, सामाजिक अभियानता लगायत विभिन्न क्षेत्रका व्यक्ति/व्यक्तित्वहरुले काेराेनासँगकाे लडाइँमा अहाेरात्र खटिरहनुभएकाे छ । पछिल्लो समयकाे लकडाउनकाे अवस्था तथा गतिविधिकाे बारेमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता उपरिक्षक प्रज्वल महर्जनसँगको कुराकानी प्रस्तुत गरिएको छ ।
लकडाउनले यहाँहरुलाई कतिकाे साह्रो-गाह्रो बनाइरहेकाे छ ?
अहिले निश्चित रुपमा लकडाउनकाे असर सबैलाई परेजस्तै प्रहरी प्रशासनमा पनि परिनै रहेको छ । तर पनि हामीहरु जस्तोसुकै विषम परिस्थितिमा सामना गर्नसक्नुपर्छ भन्ने पुर्व मानसिक तयारी भइरहेका हुन्छाैँ/ थियाैँ । त्यसैले पुर्वानुमानमा गरिएकाे अड्कल र मानसिक तयारी भएको हुँदा साेहिअनुरुपनै चलिरहेका छाैँ ।
तपाईंको बिचारमा लकडाउनमा सरकारले ताेकेकाे नियम आम नागरिकहरुले कतिकाे पालना गरिरहेकाे छ जस्ताे लाग्छ ?
निश्चय पनि मान्छेलाई निश्चित घेराबन्दीमा मात्रै थुनेर राख्दा त्यसकाे असर त पर्छ नै । त्यति हुँदाहुँदै पनि अधिकांश आम नागरिकले ताेकिएकाे नियम पालना गरिनै रहेका छन् । तथापि केही निश्चित मानिसहरु चाहिँ भित्रै मात्र रहँदाको उकुसमुकुस र निस्सासिँदाे अवस्थाले बाहिर निस्किएका हुन्छन् । त्यस्ता मानिसलाई चाहिँ नियन्त्रणमा लिई हामीले सम्झाइबुझाई गरेर पठाइरहेका छाैँ ।
लकडाउनकाे नियम उलंघन गरेर जबर्जस्ती बाहिर निस्कनेहरु कतिकाे भेटिरहनु भएको छ ?
अहिलेसम्म हामीले ३/४ वटा तरिकाहरु अपनाइरहेका छाैँ । जस्तै, टाेलटाेलमा गएर माइकिङ गरिरहेका छाैँ । स्थानिय निकायसँग पनि समन्वय गरेर संयुक्त रुपमा सजग गराइरहेका छाैँ । मान्छेकाे माेभमेन्टले संक्रमण फैलिने भएको कारणले गर्दा हामीले चेक प्वाइन्टहरु राखेका छाैँ । चेक प्वाइण्टमा चेक गरि अनावश्यक बाहिर निस्कनेहरुलाई हाेल्डिङ एरियामा निश्चित समयसम्म राखेर सचेत गराई पठाइरहेका छाैँ । र, पैदल हिँडडुल गर्नेहरुलाई पनि आवश्यकता बुझेर अत्यावश्यक कामले बाहिर निस्किएका र जिल्ला प्रशासन कार्यलयले बिहान १० बजेसम्म अत्यावश्यक खाधान्नका पसल तथा सेवाहरु खाेल्ने अनुमति दिएकाेले किनमेलका लागि स्वास्थ्य मापदण्ड पूरा गरि निस्कनेहरुलाई ताेकिएकाे समयभित्र चाहिँ छाेडिराखेका छाैँ । यदि कसैले नियम पालना नगरेकाे खण्डमा र नियम उलंघन गरेकाे खण्डमा आवश्यक हाेल्ड गर्ने र संक्रमण राेग ऐन अनुसार जरिवाना गर्ने कामहरु भइरहेका छन् ।
पासकार्ड नभएका तर संवेदनशील परिस्थिति भएका जस्तै, बिरामीकाे आफन्त वा त्यस्तै अत्यावश्यक कामले बाहिर निस्किएकाहरुलाई कस्तो सहयोग गरिरहनुभएकाे छ ?
तपाईंले भनेजस्तै केही मान्छेहरु एकखालकाे समस्यामा पनि आएका हुन्छन् । तर, अधिकांश मान्छेहरु बहानाकाे रुपमा एक खालकाे समस्या देखाएर आफुलाई नै हानी हुने जान्दाजान्दै पनि बाहिर निस्किरहेका हुन्छन् । त्यस्ताे अवस्थामा हामी उसकाे आधिकारिक कागजपत्रहरु के छ हेरेर,बुझेर सहजीकरण गरिरहेका छाैँ ।
प्रेसकार्ड तथा गैर प्रेसकार्ड बाेकेर बाहिर आउनेहरुलाई कतिकाे नियन्त्रण गरिरहनुभएकाे छ ?
धेरैजस्ताे अवस्थामा प्रेस कार्ड बाेकेर हिँड्ने जेन्युन मान्छेहरु हामीलाई प्रायजसाे भेट्नसाथै थाह भइहाल्छ, उ प्रेससँग सम्बन्धित वा मिडिया पर्सनालिटी हाे/हाेइन भनेर । प्रेसकाे जेन्युन मान्छेहरुलाई त हामीले सकेसम्म सहज सहजीकरण गरिदिइरहेका छाैँ । तर नक्कली प्रेस कार्ड बाेकेर हिँड्नेहरुलाई हामीले कारबाहीको दायरामा ल्याइरहेका छाैँ ।
तपाईंको बिचारमा फेरि पनि लकडाउन अवधि थप गर्नुपर्छ कि, पर्दैनजस्ताे लाग्छ ?
जुन दरमा संक्रमितहरु बढिरहेका छन् । समस्याहरु बल्झिरहेका छन् । जस्तै, हस्पिटलहरुमा बेड तथा अक्सिजनकाे अभाव तथा अनेक समस्याहरु देख्दै गर्दा त थप गर्नुपर्ने नै जस्तो लाग्छ । तर, के गर्ने/नगर्ने भन्ने बिषयमा हाम्रो निर्णय लागू हुँदैन अथवा निर्णय गर्ने अधिकार हुँदैन । हामी त सिर्फ सेक्युरिटी सेक्टरबाट मात्रै खटिरहेका छाैँ । यतिबेला प्रत्येक जिल्लामा डिसीसीएमसी वा केन्द्रमा सीसीएमसी छन् । वहाँहरु र जनस्वास्थ्यकाे मन्त्रालयले समग्र नेपालकाे कोविड परिस्थिती आँकलन गरेर उचित निर्णय गर्नुहुनेछ भन्ने आशा छ ।
यहाँहरु यति जाेखिम माेलेर दिनरात ड्युटीमा खटिरहनु भएको छ । याे विषम अवस्थामा तपाईंहरुले आफु र आफ्नो परिवारलाई कसरी सुरक्षित गरिरहनुभएको छ?
निश्चय पनि प्रहरी भएको हैसियतले बाहिर धेरैसँग एक्सपोजर हुने हुँदा हामीलाई अरुको तुलनामा संक्रमण हुने प्रवल सम्भावना त हुन्छ नै । ललितपुरकै सन्दर्भमा हेर्ने हाे भने भर्खरै मात्रै पनि जात्राको साँस्कृतिक विधि सकिएकाे छ । यी, यस्ता भिडहरुमा बढि एक्सपाेज हुने भएकोले जिल्ला प्रशासन, स्थानिय सराेकार निकाय,गुठी तथा सम्बन्धित निकायहरुसँग समन्वय गरेर निकै कम संख्यामा यस विधिलाई सम्पन्न गर्याैँ । र, एक्सपाेजकाे हिसाबले हामीलाई संक्रमण हुनसक्ने सम्भावना धेरै हुन्छ । यसरी संक्रमण परिवारसम्म पुग्नसक्ने प्रवल सम्भावना भएकोले हामी सम्पूर्ण दर्जाका सुरक्षाकर्मीहरुले घरपरिवारसँगकाे भेट कम गरिरहेका छाैँ ।
अन्त्यमा हाम्रो मिडिया मार्फत आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
सर्वप्रथम त समयकाे लागि 'द मार्जिन मिडिया'लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । त्यसैगरी , अहिलेकाे परिस्थितिलाई मध्यनजर गर्दै सरकारले ताेकेकाे नियमलाई पालना गरि आफु र आफ्नाे परिवारलाई सुरक्षित राखि हामीलाई सहयाेग गरदिनुहुन अनुराेध गर्न चाहान्छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...