Author
ललितपुरमा रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा सम्पन्न भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको हो । शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गरिएको हो ।
रातो मत्स्येन्द्रनाथको रथयात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ भने कुनै कारणबस जात्रा गर्न नसके यो यात्रा भक्तपुरले लैजाने प्रचलन छ । यस्तै प्रावधानका कारण पाटनले धेरै यात्राहरु गुमाइसकेको छ भने कोभिड १९का कारण रातो मत्स्येन्द्रनाथको रथयात्रा पनि धरापमा परेको थियो ।
रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा भएको हो । बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष पनि कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयवासीबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या भए हुन पाएन । यद्यपि यो वर्ष झन् कोभिड १९ले विकराल रुप लिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...