एजेन्सी - फिलिपिन्सको लुजोन टापुमा एटा जाति (Aeta, Agta or Ayta) घुमन्ते जनजातीहरू बस्दछन् । यस आदिवासी जनजातिहरू हजारौं वर्षदेखि बाँकी दुनियाँदेखि बेखबर आफ्नै दुनियाँमा रहँदैबस्दै आइरहेका छन् । एटा जाति फिलिपिन्सका प्रारम्भिक बासिन्दाहरू मध्येका एक मानिन्छन् । उनीहरूमा गाढा खैरो छाला, अफ्रिकनको जस्तै घुमाउरो कपाल, सानो नाक एवं गाढा खैरो रङको आँखा देखिन्छ । घुमन्ते एटा जातिहरू भुइँमा लट्ठीले बनेको र केराको पातको हत्केलाले ढाकिएको अस्थायी आश्रयहरू मात्र बनाउँछन् । माउन्ट पिनाटुबो विष्फोटको कारण उनीहरूमा भागदौड मच्चिएको पनि देखिन्छ । विस्फोट पश्चात् केही एटा मानिसहरू पम्पांगा र तारलाकका पुनर्वास क्षेत्रहरूमा बसाइँ सरेको भेटिएको छ ।
एटा जातिलाई स्पेनी औपनिवेशिक शासनकालमा नेग्रिटोस भनिने मानिसहरूको समूहमा समावेश गरिएको थियो। उत्तरी लुजोनका विभिन्न एटा समूहहरूलाई 'पुगुट' वा 'पुगोट' भनेर चिनिन्छ, जुन तिनीहरूको इलोकानो (Ilocano) बोल्ने छिमेकीहरूले तोकेको नाम हो । पुगुट' वा 'पुगोट'को अर्थ गाढा रंग भएका व्यक्तिहरू भन्ने हुन्छ । फिलिपिन्समा एटा मानिसहरू अस्ट्रेलो-मेलनेसियनहरू हुन् । अस्ट्रेलो-मेलनेसियनहरूको अन्य समूहहरूमा, अष्ट्रेलियाका आदिवासीहरू, पापुआन्स र सोलोमन टापुहरू, भानुआटु, फिजी, न्यू क्यालेडोनिया आदिका मेलानीसियनहरू पर्दछन् । एटा महिलाहरू जडीबुटी विशेषज्ञका रूपमा देशभर चिनिन्छन् ।
यसबीच, उनीहरू आफ्नै प्रकारले आफ्नो आदिवासीको पहिचान र कला संस्कृतिको संरक्षण भने गरिरहेका छन् । स्पेनियार्ड र ब्रिटिश उपनिवेशकर्ताहरूले यी आदिवासीहरू 'सभ्य' बनाउनका खातिर अनेक प्रयासहरू गरे, तर उनीहरू हरेकपटक असफल सिद्ध भए । आफू असफल भएपश्चात् स्पेनियार्ड र ब्रिटिशहरूले यी आदिवासीहरूलाई पनि 'असभ्य र जंगली' बताइदिए । स्पेनियार्ड र ब्रिटिशहरू आफू जस्तोु हुननसक्ने, नचाहने हरकोहीलाई 'असभ्य' रहेको बताउने गर्दछन् । स्पेनियार्ड र ब्रिटिशहरूका यस्ता हर्कतहरू इतिहासमा पटक-पटक भेटिन्छन् ।
एटा आदिवासी समूह आज पनि जंगलमा छन् र पृथक जीवनशैली अपनाइरहेका छन् । लुजोन टापु आफैंमा एक पुरानो टापु हो । यस दुर्गम जंगलका जीवहरूको कारण पनि यो ठाउँ एक रमणीयस्थल हो । यहाँका आदिवासीहरूले इस्वीको १९७० सम्वत्मा २२.६ फिट लामो जालीदार अजिंगरको शिकार गरेका थिए, जुन संसारकै सबैभन्दा लामो प्रजातिको अजिंगर हो ।
खानी, वन फँडानी, अवैध काठ तस्करी, र पहिरो एवं ज्वालामुखीका कारण फिलिपिन्सका आदिवासी जनसङ्ख्या निरन्तर घट्दो क्रममा रहेको छ । यस्ता आदिवासीहरूको संख्या फिलिपिन्समा मात्रै हजारौंको संख्यामा रहेको पाइन्छ। फिलिपिन्स सरकारले उनीहरूलाई कुनै सुरक्षा प्रदान गरेको छैन। हजारौं वर्षदेखि अपरिवर्तित (परम्परागत) संस्कृति र जीवन शैलीका कारण उनीहरूमा सामाजिक एवं आर्थिक तनाव थपिदै गएको अध्ययनहरूले बताएका छन् । प्राकृतिक विपतिहरू (मानवनिर्मित एवं स्वचालित)का कारण उनीहरूको जीवनशैली थप घुमन्ते बन्दै गएको पाइएको छ ।
विभिन्न अध्ययनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारकमा ठूलो असमानता देखाउँदछ । अलास्का (संयुक्त राज्य अमेरिका), क्यानडा, फिनल्यान्ड, ग्रीनल्याण्ड (डेनमार्क), आइसल्यान्ड, नर्वे, रूस, र स्वीडेनका आदिवासीहरूले जलवायू परिवर्तनका कारण ठुलो मूल्य चुकाइरहेको पाइएको छ ।
युनेस्कोले गरेको एक अध्ययनको आधारमा विश्वको २२ प्रतिशत भुभाग आदिवासी जनजातिले प्रयोग गर्दै आएका छन् । युनेस्कोकै तथ्यांकका आधारमा विश्व भरि कम्तिमा ३७० करोड आदिवासी समुदायका मानिसहरु बसोबास गर्छन् । उनीहरुले ७ हजार भन्दा बढि आदिवासी जनजातिका आफ्नै भाषा छन् । तर, समयसँगै ठूला समुदायको असर आदिवासीका भाषा, धर्म, कला, संस्कृति र संस्कार माथि परेको छ । सबै भन्दा बढि देखिने असर आदिवासीले बोल्ने भाषामा देखिन्छ । यसैलाई बचाउनको लागि संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवस, अन्तराष्ट्रिय आदिवासी भाषा दिवस मनाउन थालेको छ । यी दिवसहरूमामा विश्वभरका आदिवासीहरु आफ्नो भाषा, संस्कृति स्वशाशन, परम्परा र विकासको साथ साथै जल, जंगल जमिनको अधिकारको लागि संकल्प गर्छन् ।
संयुक्त राष्ट्रसंघको आयोजनामा ९ अगस्ट १९९४ मा जेनेभामा विश्वबाट आएका सबै प्रतिनिधिको प्रथम अन्तर्राष्ट्रिय आदिवासी महासम्मेलन भएको थियो । यसभन्दा अगाडि सन् १९८२ मा आदिवासीको मानवअधिकार बारे युएनडब्ल्युजिइपी नामक विशेष कार्यदल गठन भएको थियो । ३ जुन १९९२ मा ब्राजिल मा आयोजित ‘पृथ्वी दिवस’ को अन्तर्राष्ट्रिय सम्मेलनमा आदिवासीको स्थितिको बारेमा गम्भीर समीक्षा गरेर विशेष प्रस्ताव पारित गरिएको थियो । सन् १९९३ मा सोही विशेष कार्यदलद्वारा प्रस्तुत आदिवासी अधिकार घोषणपत्रलाई ९ अगस्त १९९४ को संयुक्तराष्ट्र संघको जेनेभा महासभाले सर्वसम्मतिले विश्वभर लागु गर्ने घोषणा गरेको थियो । यसपछि प्रत्येक साल आदिवासी समुदायले ९ अगस्टलाई यो दिवसको रुपमा मनाउँदै आएका छन् । विश्वको ७० देशहरुमा, ३७ करोड भन्दा बढी आदिवासीहरुले यो दिवस साझा पर्वको रुपमा मनाउने गर्छन् ।
ईटालियन एक्सप्लोरर क्रिष्टोफर कोलम्वसले सन् १४९२ को अगष्ट १२ मा पहिलो पटक ओर्लिएर नयाँ संसार फेला पारेको दिनलाई कोलम्वस दिवसको रुपमा मनाउने गरिन्थ्यो । पछिल्लो समय कोलम्बसले फेला पारेको भनिएको अहिलेको दक्षिण र उत्तर अमेरिकामा त्यस अघिनै दशौं हजार वर्षदेखि यहाँ नेटिभ अमेरिकन (अमेरिकी आदिवासी) हरू बसोवास गरिरहेको र त्यहाँका रैथाने आदिवासीहरूको जनजीवन र सँस्कृतिमाथि कोलम्बसले नरसंहार र विध्वंस मच्चाएको बताऊदै १२ अगस्टलाई आदिवासी दिवसको रूपमा मनाउन थालिएको छ ।
अमेरिकी वर्तमान राष्ट्रपति जोय वाईडेनले संघीय सरकारको तर्फबाट पहिलो पटक आदिवासी दिवसको अवसरमा प्रोक्लेमेसन नै जारी गरी आदिवासी दिवसलाई मान्यता दिएका छन् भने युएसएटुडे पत्रिकाको एक रिपोर्टअनुसार १३० वटा अमेरिकी राज्य, नगरपालिका र स्थानीय सरकारहरूले कोलम्वस दिवस नमनाउने र त्यसको साटो आदिवासी दिवस मनाउने निर्णय गरेका छन्।
सन् २००७ मा संयुक्त राष्ट्र संघले विश्वभरका आदिवासीहरूको अधिकारको लागि घोषणा पत्र जारी गरेपछि सन् २००८ को फेब्रूवरी १३ मा अष्ट्रेलियाका तत्कालिन प्रधानमन्त्री केभिन रडले त्यहाँका स्टोलन जेनेरेसन (Stolen Generation) का एबोर्जिनल (aborginal) आदिवासीहरूको सामू 'राष्ट्रिय माफी' मागेका थिए । त्यसैगरी, सन् २००८ को जुन ११ मा क्यानाडाका तत्कालिन प्रधानमन्त्री स्टेफेन हार्परले क्यानाडेली आदिवासी सामू विगतमा आदिवासीमाथि भएको अन्यायको निम्ति आममाफी मागेका थिए । दक्षिण एसिया एवं नेपालकै सवालमा पनि यहाँका रैथानेहरूमाथि दलन, अपमान भइरहेको छ ।
आदिवासीहरू सबैभन्दा सिमान्तकृत, गरीब, र कमजोर व्यक्ति होलान्, तर निकै कम सामाग्री (प्राकृतिक संसाधान)मा जीवन व्यतित गर्न सकिरहेका उनीहरूबाट पनि हामीले सिक्ने कुराहरू धेरै छन् । प्रत्येक समुदायको भाषा, संस्कृति र परम्परागत आजीविका हुन्छ, आधुनिकताको नाममा त्यसमाथि कुनै पनि हिसाबले प्रहार गरिनुहुँदैन । अप्रभावी रणनीतिहरूको नतिजाका कारण देखिएका प्रतिकूल परिणामहरूलाई मध्यनजर गर्दै विगतबाट सिक्न हतार भइसकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...