नगेन्द्र राई
नगेन्द्र राई
मिथक पक्कै होइन ब्रह्माण्डमा वातावरण अनुकुल आफूलाई विकसित गराउन नसक्दा यो पृथ्वीवाट डाइनोसर सदाका लागि लोप भएर गयो । डाइनोसर लोप हुनुको कारणलाई वातावरणीय असर मान्न सकिएला तर अहिले यो संसारमा वातावरणीय प्रभावका कारण मात्र लोप हुने वस्तुहरू छैनन् ।
विज्ञान र प्रविधिको तीव्रतर विकासले मानिसको दैनन्दिन जीवनमा केही सहज भने पक्कै वनाएको छ । तर त्यो सहजताको अन्तरबिन्दुलाई केलाउने हो भने त्यससँगसँगै केही ह्रासोन्मुख नतिजाहरू पनि देखिन शुरू भएको छ । अहिले चर्को रूपमा उठ्ने गरेको विषय हो विश्व भूमण्डलीकरण । हो यसलाई नकार्न सक्ने स्थिति पनि छैन । अंग्रेजी नामवाट बाेलाइने मोबाइललाई नेपाली नाम दिन असम्भव छ भने आदिवासी भाषावाट पनि उस्तै कठिन छ । यसैगरी क्यालकुलेटर, टाइपराइटर आदि थुप्रै यस्ता वस्तुका नाम छन् । जो अहिले साझा भइसके । अझ विश्व भूमण्डलीकरण भन्दा अघि जाने हो भने कतिपय स्थानहरूको नाम पनि इतिहासमा सीमित भएका छन् । भारतमा ब्रिटिस शासकहरू आउनुभन्दा अघि कलकत्ताको नाम कहाँ कलकत्ता थियो त । कलकत्ताको नाम कालिकता थियो ।
कालिकता नाम रहनुमा त्यस क्षेत्रमा कालीक्षेत्रको (देवीको बासस्थानका) रूपमा रहेको कालीक्षेत्र नै कालीकाता हुँदै बेलायतीहरूले कलकत्ता बनाइदिए । यो एउटा उपनिवेशीकरणको ज्वलन्त उदाहरण हो । बेलायती औपनिवेशको क्रममा बेलायती शासन मात्र भित्रिएन यस्ता कैयाैँ भाषिक उपनिवेशहरू पनि सृजित गरिए जो नामको रूपमा, भाषाको रूपमा, संस्कारको रूपमा संस्कृतिको रूपमा पोशाकको रूपमा यस्तै यस्तै अनेकन थुप्रै ।
यस्तै सन्दर्भमा अन्त टाढा जानै पर्दैन धनकुटाको पर्यटकीय स्थल भेडेटारको रमणीय थुम्को चाल्र्सपोइन्ट कहलिएको छ भने पोखराको पातले छाँगो डेबिड फल्स कहलाएको छ । यो त भए नेपाली भाषाका कतिपय स्थानहरू अंग्रेजीकरण भएको । हेर्दाहेर्दै पछिल्लो समयसम्म दश मझिया भनेर चिनिने धनकुटा जिल्लाको साविकका गाँउ विकास समितिहरू चानुवा डाँडागाँउ मारेककटहरे गाँउहरू अहिले महालक्ष्मी भएका छन् भने जिल्लाकै खाल्साथुम भनेर चिनिएको खोकु, छिन्ताङ्ग आँखीसल्ला सहिदभूमि बनाइएको छ । यस पंक्तिकारकै गाँउ साविकको खोकु हो जहाँ गाँउभरि मै करिब ९५ प्रतिशत वान्तवा भाषीहरू रहेका छन् र त्यस ठाँउका अधिकांश स्थानहरू पनि वान्तवा भाषावाट नै बाेलाइन्छन् र चिनिन्छन तर खोकुको मानचित्र हेर्ने हो भने (टावा ठोम्खा) वान्तवा भाषामा टावा भनेको मजुर र ठोम्खा भनेको नाँच्ने ठाँउ अहिले मुजुरे डाँडा भएको छ । यसैगरी, अर्को (भाकचाक्वा) वान्तवा भाषामा भाक भनेको सुँगुर र चाक्वा भनेको पानी तर अहिले खोकुको मानचित्रमा यो पात्लेपानी भनेर राखिएको छ र उसैगरी चिनिन्छ । यी वास्तवमै शासक र शक्तिमा जुन वर्ग समुदाय आए आफूलाई सजिलो हुने गरी नयाँ नामकरण गरिएका उदाहरण हुन् । पक्कैपनि अंग्रेजी भाषी लबज लय (टोन) भएका अंग्रेजी भाषी बेलायतीहरूलाई बंगाली खासगरी संस्कृत मिश्रित कालीक्षेत्र उच्चारण गर्न अप्ठ्यारो नै भएको मान्न सकिन्छ । त्यसैले कलकाता बनाइदिए । यसैगरी, नेपाली भाषाको लबज लय (टोन) भएका नेपाली भाषीलाई टावा ठोम्खा, अनि भाकचाक्वा उच्चारण गर्न अप्ठ्यारो भएकै हुनुपर्छ ।
वास्तवमा कुनैपनि ठाउँको नाम होस या कुनै धर्म, संस्कार संस्कृति रहनसहनको स्थापना जहाँ जुन समुदाय अनि जुन भाषाभाषी जात धर्मको बसोबास हुन्छ त्यही अनुसार विकसित हुन्छन् । हिन्दु धर्मको उद्गम हिन्दकुश पर्वत दक्षिण नै हो त्यसैले यस क्षेत्रमा बढी भन्दा बढी हिन्दु धर्मावलम्बीहरूको बसोबास छ । यसैगरी, इसाइहरूको जेरुसेलम नै हो भने इस्लामको मक्का मदिना । यसैगरी, बसोबासको हिसाबले भन्ने हो भने जहाँ जुन भाषाभाषीको परापूर्वकालदेखि बसोबास भयो त्यही आधारमा खोला नालाको नाम, डाँडापाखा, टोल इत्यादिको नाम रहन गएको पाइन्छ । नेपालको पूर्वी क्षेत्र परापूर्व कालदेखि किराँतीहरूको बस्ती बसेको ठाँउ हो त्यसैले यस क्षेत्रका अधिकांश खोलाको नामको अन्तमा वा जोडिएको छ । किराँती भाषामा वा भनेको पानी हो । पूर्वी क्षेत्रका खोलाका नामहरू पिखुवा, निवुवा, रावा, काँवा, लेगुवा, पिलुवा, हेंवा, रुदुवा आदि रहेका छन्, पूर्वी क्षेत्रको मात्र नभएर नेपालकै सबैभन्दा लामो हिमनदीको नाम बरुणको किराँती भाषावाट बाेलाइने नाम चुकचुवा हो । यता पूर्वकै पर्यटकीय सम्भावना बाेकेको पाँचथर र ताप्लेजुङ्गको सीमानामा रहेको तिम्वुङ्ग पोखरी अहिले विष्णु पोखरी नामाकरण गरी आवश्यक पूर्वाधार निर्माणका कामहरू थालिएका छन् ।
त्यसो त नेपालकै मध्य पश्चिम क्षेत्रमा मगर जातिको सघन बसोबास रहेको छ । उक्त क्षेत्रमा रहेका अधिकांश खोला नदीको नामको अन्तमा डी जोडिएको छ । मगर भाषामा डी भनेको पानी बुझाउछ । त्यसैले त्यस क्षेत्रका खोला नदीहरूको नामको अन्तमा डी जोडिएको छ । जस्तैः दरौदी, मर्स्याङ्दी आदि । स्मरणीय रहोस्, मगर भाषामा त-थ-द-ध उच्चारण हुन्न त्यसैले डी उल्लेख गरिएको हो । यसले के देखाउछ भने यस क्षेत्रमा सबैभन्दा पहिला कुन जात अनि कुन भाषाभाषीको बसोबास भएको हो भन्ने एउटा प्रमाण पनि हो ।
यी त भए प्राकृतिक दृष्टिकोणबाट केलाइएका केही आधारभूत तर्कहरू । यसका अतिरिक्त कला र सीपको माध्यमबाट विवेचना गर्ने अर्को पाटो पनि त्यतिकै यथार्थपरक देखिन्छ । अहिले कतिपय आदिवासी जनजातिका मौलिक सीप र कलाहरू औद्योगिकीकरण सँगै लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय लोप नै भइसकेका छन् । औद्योगिकीकरणका कारण सबैभन्दा छिटो लोप भएको एउटा खेती र सीप हो कपास खेती र त्यसवाट बनाइने घरवुना मौलिक पोशाक । जो यस क्षेत्रका आदिवासी जनजाति बाहेक अन्य गैर-जनजातिमा यो सीप बिरलै मात्र थियो । मध्य पहाड र औल क्षेत्रमा बसोबास गर्ने जनजातिले कपास मार्फत घरवुना कपडा तयार गर्दथे भने उच्च पहाडमा बसोबास गर्ने आदिवासी जनजातिले भने भेडाको उनवाट राढीपाखी लगायतका न्यानो वस्त्रहरू तयार गर्ने परम्परा छ यद्यपि हाल केही क्षेत्रमा राढीपाखी वनाउने सीप र पेशा भने अहिले पनि जीवित नै रहेको पाइन्छ । जो रैथाने थिए तिनै रैथानेले आफू बाँच्नका लागि आफू अस्तित्वमा रहनका लागि अनन्त खोज र प्रयोगपश्चात सृजना गरिएका रैथाने सीपहरू हुन् यी । यी र यस्ता सीपहरू पर्यावरणमैत्री दृष्टिकोणबाट अब्बल त हुन नै यसका अतिरिक्त आर्थिक दृष्टिकोणले समेत उपयुक्त थिए । तर, यी सीप र कलाहरू व्यावसायिक बन्न सकेनन् र बनाउनेतिर पनि ध्यान गएन र अन्तत लोपोन्मुख अवस्थामा पुगेका हुन् । कुनै पनि कला तथा सीप सृजना हुन त्यसले सामाजिक र साँस्कृतिक मान्यता पाउन सयौँ हजारौँ वर्ष लाग्दछ । यी रातारात बन्ने पनि होइनन् यसका लागि अनेकन चक्र, चरण र खुडकिलोहरू पार गर्दै एउटा साझा मान्यताको रूपमा स्थापित हुन्छन् । यस्ता मौलिक परम्परा कला अनि सीपहरू । अनि यसरी विकास भएका सबै कला अनि सीपहरू सम्पत्ति हुन पुग्दछन् । कुनै पनि मौलिक सीप परम्परा संस्कार लोप हुनु भनेको त्यो जातिको पहिचान लोप हुनुसँग मात्र सम्बन्धित छैन यससँगै अर्को पाटो भनेको सबैको सम्पत्ति सदाका लागि लोप भएको पनि अर्को दुर्भाग्य हो । लोप हुने क्रम यतिमा मात्र सीमित छैन । पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको अर्को खाद्यान्न बाली हो पाखे धान (घैया) । सिँचाइ पनि नचाहिने पाखोबारीमै उत्पादन गर्न सकिने यो प्रजातिको धान विशेष गरेर राई जातिले नवाङ्गी पर्वमा प्रसादको रूपमा ग्रहण गर्ने परम्परा रहेको छ । सिँचाइ पनि नचाहिने भएका कारण व्यावसायिक दृष्टिकोणले उपयुक्त रहेको घैया धान लोप हुने क्रमको पालो कुरी बसेको छ ।
यो भूमिमा जस्ले पहिला आवाद गर्यो उसैले यो भूमिमा प्राकृतिकरूपमा उम्रेको च्याउ खान सिक्यौँ । यो भूमिमा जसले सिचाई गर्यो उसैले प्रकृतिका खोलानालाहरूको नाम राख्याैँ । यो भूमिमा जसरी बाँच्न सिक्यौँ उसरी नै सिस्नु खान जान्यौँ । यो भूमिमा जसले पहिला जाडो खप्यौँ, उसैले राढीपाखी अनि अल्लोको कपडा बनाएर न्यानो बनेर चिसोबाट जोगियो । अनि यो भूमिको जंगलमा पहिला जसले विचरण गर्याे उसैले बँदेल खान सिक्याे । त्यति मात्र होइन यही आँगन अनि वनपाखामा फूलेको इन्द्रकमल, बेलीचमेली अनि लालीगुराँस सिउरिँदा दुरुस्तै प्रकृति उतारिएको हुन्छ हरेक चेहराहरूमा । यसलाई वैज्ञानिक माध्यमबाट समेत विश्लेषण गर्न सकिन्छ । जो यहाँका रैथाने थिए तिनै समूदायले यतैका वनपाखामा फुलेका फूलहरूलाई आफू सुहाउँदो शृङ्गारको रूपमा प्रयोग गर्न सिक्यौँ ।
डाइनोसर त लोप भयो आफूलाई वातावरण अनुसार विकसित गराउन नसक्दा तर वातावरणीय कारण भन्दा पनि यायावार कारणले लोप हुँदै गएका र इतिहास बन्दै गरेका मौलिक कला, सीप संस्कारहरू डायनोसरले कोरेको बाटोमा लर्को नलागुन् । राई नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...