नेपालमा घुम्नै पर्ने स्थानमध्ये शीर्ष ३ मा पर्थ्याे खप्तड । खप्तड घुम्ने वर्षौंदेखिको मेरो सपना लगभग पक्का भै सकेको थियो । सम्भावना ५०–५० मा त्यतिखेर झर्याे जतिबेला जापानमा बस्ने भतिज विनाेद बोगटीको बिहेको अप्रत्याशित खबर एक महिना अघि उसैले गर्याे । विजया दशमीकै दोस्रो दिन ३० गतेको लगन बिहे कैलालीको गोदावरीबाट मोटर बाटोमा बुम्लिङटार भोजपुर घरमै जानुपर्ने ।
२८ गते बिहान बेहुला पुगेपछि बिहानै व्रतबन्ध गरी बेलुका ३ बजेभित्र नै हिन्नु पर्ने । दसैँको समय टाढाको बिहे हेलिकप्टरदेखि प्लेन सम्मको योजना भयो । दसैँ, लामो दूरी र छोटो समयले उडेर भन्दा गुडेर नै बिहे जाने निर्णय भयो । दुलहीको घरमै बस पुग्न नसक्ने भएपछि २ स्कर्पियो बुक भयो । सानैदेखिको साथी जस्तै भतिज केही निर्णय लिन पनि अंकल के गरम भनी सुरुमै सोध्ने केटोको बिहेको जन्ती जानुपर्याे भने खप्तडको यसपटकको योजना रद्द हुने पक्का थियो ।
जन्तको जन्ती नहुँदाको खप्तड साइत
जन्ती प्रस्थान हुनुभन्दा ३ घण्टाअघि मात्रै, हिजो राती बचेको कागजको तोरण स-साना केटाकेटीको सहयोगमा टुङ्ग्याए । बेहुलाले को-को जन्ती जाने भए मलाई केही थाहा छैन अंकल, हजुर जानुपर्छ भने पछि अब त जानु नै पर्ने भो सोचेर पार्टी शुज किन्न भरत भाइको स्कुटी मागेर अत्तरियातिर लागे । काठमाडौँबाट कोट पाइन्ट ल्याए पनि स्पोर्ट्स शुज मात्रै लगाएर आएको थिएँ । दाइको घरबाटै भएर जाँदै थिएँ, दाइ जन्त जान भनेर झोला तयार पारेर घरमा बस्नुभएकाे रहेछ । “म त टाढाको बाटो जाँदैन भन्दै थिए दीपकले जाम कि जाम भनेर तयार भएको नत्र यै झोला बोकेर त जा, म जान्न", भन्नुभयो । अब मैले बिहेमा दाइ नै जाओस्, म जान्न भन्ने निर्णय गरे । थोरै जन्ती लाने कुरा थियो बिहेमा । त्यसमाथि हामी एकै परिवारको २ जना आफैँ अप्ठ्यारो माने र दाइलाई म त बेलाबेला नेपालका विभिन्न स्थान घुमी रहन्छु । तिमीहरू बम्बैवाला मान्छे जाऊ, नेपालको पूर्वी भाग नि घुमेर आऊ भने र त्यहीँ स्कुटीमा दाइलाई बोकेर जन्ती घर आए ।
थोरै कुरा फेरि बिहेको है । खप्तड एकछिनमा लान्छु । जन्तीघरमा आएपछि बिहेमा को-को जाने भनी कोट पाइन्ट लगाएर झोला बोकेर आउनेको संख्या थपिन थाल्यो । गाडीमा ८/८ गरी १६ जनाको मात्रै सिट थियो । १२/१३ जना मात्रै बिहेमा जन्ती जान पर्ने कुरा ठूलाबडाबाट आउँदै थियो । जन्त को जाने को नजाने भन्ने कुराको निर्णय दिने व्यक्ति भने कोही थिएन । त्यही भएर म लगायत अक्ष्य भाइले को-को तयार भएर आए को-को जाने भन्ने कुरा बेहुलाका बुवालाई सोधेर सूची तयार पार्नु पर्यो भनी मोबाइलको नोटमा नाम टाइप गर्न थाले । बेहुला, बेहुलाका बुवाबाट सुरु गरेको नामावली घरबाट तयार भै आएका हाम्रो दाइ लगायतका नाम लेख्दा १८ जनाको नाम आयो । न मैले न बेहुलाका बुवा कसले लिने बोल्ड डिसिजन तपाईं जानुस् र तपाईं नजानुस् भनरे । म यस्तो बोल्ड डिसिजन लिने व्यक्तिको खोजीमा थिए । यत्तिकैमा मैले विनाेदबाट नाम खुब सुनेको तर परिचय नभएको धुर्व दाइको खोजी गरे । उहाँले हाम्रो असहजतालाई सहजै लिएर आफैँ नामावली आफ्नो मोबाइलमा तयार पार्नुभयो । आवश्यकताको आधारमा सुरुमा जन्ती जान तयार भएर आएका हाम्रै गाउँका मान्छेहरूलाई लामो यात्रा असहज गाडी नजान अनुरोध गरेपछि हाम्रै दाइ लगायत केही मामाहरू र भाइहरूले नजाने निर्णय लिए । हाम्रै गाउँबाट भन्दा नि बाहिरबाट तयार भएर आएकालाई प्राथमिकता दिइयो र बेहुलाको भाइ मेघराज तयार भएर गएको केटोलाई नि अत्तरियामा पहाडबाट आएका जन्तीलाई महत्त्व दिएर मेघराज घर आएको रहेछ । हामी क्लबको केही काम र आधीबाटो जन्ती भए झैँ अत्तरिया सम्म बिहेको गाडीसँगै बाइकमा गयो ।
एकै रातमा बन्याे खप्तडको जाने योजना
मेरो खप्तड जाने योजना त पुरानै हो । तर अरू साथी भाइहरूले रातारात निर्णय लिए । विजया दशमीकै दिन बिहान टीका लगाएर बेलुका खप्तड जाने मेरो मात्रै योजना थियो । तर अरू साथीहरूसँग छलफल खासै हुन पाएको थिएन । विजया दशमीकै रात नजिकका घुम्न चाहने साथीहरू कसैलाई भेटेम् कसैलाई कल गरे । खप्तडको मौसम र डोटी सिलगडीको रुटको बारेमा पनि केही गएका केही खप्तडमै भएकाहरूलाई कल गरेर बुझियो । धेरैले छोटो समयमा निर्णय लिन नसक्ने केही दिन ढिलो भए जाने कुरा बताए । राजु र अक्ष्य भाइले जाने पक्का भए पछि राम मामाले नि ३१ गतेबाट लाग्ने स्कुलको बिदा मिलाए । यस्तो मौका यस्ता मान्छेसँग बारम्बार नआउने भन्दै मामा पनि दोस्रो दिन बिहानको लागि तयार हुनु भयो । जति सकिन्छ बिहानै सुरुको गाडीमा अत्तरियाबाट सिलगडी जाने कुरा तय भयो । घरमा बिहानै बज्यैको (राम मामाकी आमा) सल्लाह अनुसार रोटी र तीलको अचार ५ बजे अघि नै तयार भयो । टोली बिहान ६ः४५ तिर अत्तरिया पुग्यो । एकातिर भलिबल प्रतियोगिताको तयारी अर्कोतिर भलिबलप्रतिको मोहका कारण अक्ष्य भाइलाई एउटा भलिबल पनि ल्याएर आउनु भनेको थिए । केटागरु सबै खेलाडी ड्रेसअपमा बाटोमा भेट्ने जतिले हातको भलिबलमै नजर पुर्याए । कत्तिले कता छ भलिबल म्याच ? भलिबल गेम खेल्न जान लागेको हो ? लगायत प्रश्न बाटो भेट्ने धेरैले सोधे । अटोमै आइपुगे सिलगडी जाने हाइस गाडीका गुरु ।
सिट छ । पहिलो गाडी हो । टिकट मिलाएर दिनुस भनेपछि अन्त बुझिएन र गाडीमा समान राखेर केही ड्राइफुड र केही फलफूल किन्न लाग्यौ सबै जना ५ मिनेट समय मागेर ।
ठिक सात बजे गाडी सिलगडीको लागि छुट्यो अत्तरियाबाट । बाटोमा भिडियो बनाउन मन थ्यो र म अगाडिको ड्राइभर साइडको सिटमा बाँकी तीन जना हाइसको लास्ट सिटमा । बिहानको सुनौलो घाममा पहाड उक्ल्यो गाडी हरियाली वनजंगल अनि ठाउँ ठाउँको घुम्तीबाट देखिने तराईका फाटहरूको मनमोहक दृश्यले खप्तड यात्रा झन् सुन्दर बनाएको थियो । डोटीको गैराबाटमा खानाका लागि गाडी रोकिए पछि हामीले घरबाटै ल्याएको रोटी र तिलको अचारसँगै तातो दाल मगाएर ।
मिनी खप्तडको मस्ती झिग्रानाको बास
सिलगडीमा हामी १ बजे आसपास पुग्यो । खप्तड निकुञ्जकै कर्मचारी दिनेश खड्का सरले भने बमोजिम हामी खप्तड गेट नजिकै झिग्रानाको खप्तड होमस्टेमा बस्नुपर्ने कल पहिल्यै भैसकेको थियो होमस्टे सञ्चालकसँग । सिलगडीबाट झिग्राना सम्म १६ किलोमिटर बाटोको बीचमा पर्ने बगलेकसम्म पक्की सडक आधा कच्ची । रुटको गाडी मान्छे जहाँसम्म प्याक पायो त्यहीसम्म जाने तर रिजर्भ गर्नु पर्ने कुरा सञ्चालकले गरे । हामीलाई जसरी पनि बेलुकासम्म झिग्राना पुग्नु थ्यो गाडीमा डेढ घण्टाको बाटो । रुटकै गाडीमा बगलेकसम्म जाने अनि त्यहाँबाट हिन्दै बिस्तारै घुम्दै जाने कुरा भयो । निर्णय सही त त्यति खेर लाग्यो जतिबेला हामी बगलेकको मन्दिरमा दर्शन गर्न अनि खाजा खान गयौँ । छेउकै सुन्दर फाँटमा वनभोज आएको टोली नाचगान गर्दै थियो ।
मन्दिरमा दर्शन मन्दिरकै साइडमा त्यतैका स्थानीय स सना भाइहरूसँगै भलिबल खेल्ने र चाउचाउ बिस्कुट खाने कामसँगसँगै भयो । तलको सुन्दर फाँटको छेउमै थियो प्राकृतिक रूपमै घेरबारको सुरक्षा मा राखेको मिनी खप्तड भनीने चौर । चौरमा हरियो दुबो छरपस्ट प्राकृतिक फूल अनि ठाउँठाउँमा पिङ राखिएका थिए । टाढा-टाढासम्म हरिया पहाड र डाँडाकाडा । डाँडाहरूकै माथि सेताम्मे बादलका थुम्काहरू अनि नीलो आकाशको घुम्टो सान्चै सुन्दर खप्तडकै झल्को दिने रैछ, बगलेकको मिनी खप्तड पनि ।
मिनी खप्तडमा लागि छुट्याइएको १५ मिनेट कति पो खेर ४५ मिनेट भैसकेछ । बाँकी झिग्रानासम्मको २ लाइन तेर्सो कच्ची बाटो गफ गर्दै र पहिलोपल्ट पहाड आएको अक्ष्य भाइलाई जंगली झारहरू पहाडका बोट बिरुवा र पहाडी खेतीबाली चिनाउँदै र मोबाइलका गीत सुन्दै सकियो डेढ घण्टाको पैदल यात्रा । सिस्नुको छोएर अनुभव लिनु छ दाइ भन्थ्यो तर त्यो बाटो सिस्नोको चिलाइको अनुभव गर्न पाएन । जंगली फल, मेल खान पनि सडक भन्दा निकै तल झरेका हामी काँचै मेल टिपेर फर्केम् ।
खप्तडको हिँडाई र अब उकालो कट्ने केबलकार
झिग्राना होमस्टेको बसाइँ समग्रमा राम्रै भयो पूरै मोबाइल र क्यामेरा चार्ज गर्न पाएको भए अझै राम्रो हुन्थ्यो । बेलुका नै माथि निकुञ्जको गेटमा गएर नेपाली सेनाका जवानहरूसँग जानकारी माग्याैँ । हिँड्ने बाटो, समय र बाटोको खाना खाने होटलको विषयमा कुरा गरेपछि फर्केर होमस्टे आइयो । बसाइँभन्दा खाना चित्त बुझ्यो । होमस्टे अझै निर्माणाधीन भएर होला अट्याच बाथरुम भएको-कोठामा बसे काम अझै बाँकी थियो । अर्को दिन बिहान हामी चिया खानुपूर्व नै १२ जनाको टोली सिलगडीबाट गाडी रिजर्भ गरेर झिग्राना आइ पुग्यो । उनीहरू त्यही नास्ता खाएर हिन्ने तयारीमा थिए । हामी हिन्नु र उनीहरूको समूह पुग्नु एउटै समय भयो । यात्रामा उनीहरूभन्दा एक घण्टा अगाडि भयौँ हामी । बिहान ठिक ७ बजे श्री सिंह शार्दुल गुल्मको गेट प्रवेशपछि नेपाली सेनाले समान्य चेकजाँच गरेपछि हामी प्रवेश टिकट काटेर उकालो लाग्याैँ । गुल्मबाट ठाडै उकालो ६.५ किलोमिटर उकालो बीचपानीको खाना खाने होटलसम्म । उकालो चढ्नु अघि नै खानाको लागि कल गरेर जानु जाँदा खाना पुग्ने बित्तिकै पाइने भयो । उकालो बाटो हिजो बेलुका झिसमिसेमा निकुञ्ज भित्रै घोडा व्यवसाय गर्ने व्यक्तिको घोड राती नै हराएको रहेछ । माथि बीचपानीबाट फोन आयो एउटा घोडा तल तिर आयो भने माथि फर्काएर बीचपानीतिरै ल्याइ दिनु होला भन्ने खबर आयो । हिजो बेलुका भएको के रहेछ भने, बेलुका समान लिएर जाँदै गर्दा झिसमिसेमा जंगली जनावर बँदेल हो या चितुवा साइड एक्कासी आउँदा घोडा आत्तिएर घोडामा समान र मान्छेलाई लडाएर जंगलतिर भागेछ । अँध्यारो भैसकेको घोडा नभेटिएपछि समान बोकेर घोडावाला व्यक्ति बीचपानी पुगेछन । बिहान घोडा खोज्न आउँदा बाटोको अलि भित्र चर्दै गरेको घोडाको घुंगरु सुनेर भेट्टाए छन् । हामीले भेट्दा घोडालाई बोटोमा ल्याएर निगालोको मुन्टा भाँचेर खुवाउँदै थिए ।
एकछिनको कुराकानी पछि हामी अघि बढ्यो पछिपछि घोडा ल्याउँदै आए उनी । सुरुमा घोडाको साइड उभिएर फोटो खिच्न नदीएका उनले पछि हराएको घोडा पाउँदाको खुसी पो हो कि पालै पालो हामी ४ जनालाई बाटोमा घोडा चढाए । फोटो र भिडियो खिच्ने काम त भैहाल्यो । १० बजे बीचपानी पुगेर मोबाइल चार्जको लागि कोसिस भयो तर पाइएन । ६.५ किलोमिटरको ठाडो उकालो काट्न ठ्याक्कै ३ घण्टा लाग्यो । यहीँ उकालो कट्ने गरी आगामी झिग्राना देखि बीचपानीसम्म केबककार निर्माणको योजना आएको रहेछ । खाना खाइ नसक्दै १२ जनाको टोलीका केही सदस्यहरू आइपुगे । हामी खाना खाएर अलिकति पनि विश्राम नगरी अगाडि बढ्यो । अब खप्तड सम्मको जम्माबाटो ९.५ किलोमिटर । बाटो खासै ठूलो उकालो ओरालो थिएन । अबको बाटो प्राय अग्लो पहाडको बाटै बाटो हिन्नु पर्ने । कतै भञ्ज्याङ कतै फाँट कतै पहाडको टाकुरो त कतै ससाना पहाडका खोचहरू हुँदै हिँड्नु पर्ने । बाटोमा प्राय भेटिने रूखहरू गुराँसका थिए । स साना कोपिला लागेको गुराँसहरू अब २/३ महिना पछि पहाड ढाक्ने छ । बाटो पहेला, सेता गुलाबी राता जंगली फूलहरू प्रसस्तै थिए ।
राजु भाइको प्रतिज्ञा र बाबाका वाणी
खाना खाएसँगै तेर्सो बाटो भएर होला ३ घण्टाको भनिएको बाटो साढे २ घण्टामा खप्तड प्रवेश गर्यो । सुरुमै त्रिवेणी पुगेर स्नान गरी पूजा गर्दै होटल जाने कुरा भयो । त्रिवेणी पुग्नु अघि गंगादशहरा मेला लाग्ने स्थानको भलिबल कोर्टमा एक छिन भलिबल खेल्यौँ । हाम्रा लागि खप्तड पुगेपछिको महत्त्वपूर्ण पल रह्याे त्रिवेणीको स्नान अनि पूजापाठ । यहीँ हो स्नान गरेरे जनै फेरिको अनि पूजापाठसँगै राजु भाइको धूमपान तथा मद्यपानको लत छुटाउने प्रतिज्ञा सहितको भिडियो बनाएको र फोहोर शब्द उच्चारणमा रोक लगाएको । केहीबेर त्रिवेणीमै रमाइलो गरे पछि हामी बिस्तारै केदार ढुङ्गा हुँदै होटल पुगेका थियौँ । हामी भन्दा अघि खप्तड पुग्ने कतिले होटलमा कोठा पाएको थिएनन् । हामीले अघिल्लो दिन बिहानै कोठा रिजर्भ गरेको हुँदा हाम्रो लागि कोठा सुरक्षित थियो । होटलमा पुग्नु अघि नै भेटिने जति तपाईंहरूलाई त कोठा छ हामी पो कता बस्ने भन्दै थिए । पछि सबैलाई खाने व्यवस्था होटलमै भए पनि सुत्ने व्यवस्था निकुञ्जकार्यालयको हल र नेपाली सेनाको हल तिर मिलाइयो । कोठामा समान राखेर तातो लुगा लगाएर बेलुका साढे ५ बजे तिर खप्तड बाबा आश्रम जाने कुरा भयो । त्यसअघि मोबाइल र क्यामेरा चार्जको व्यवस्था होटलको-कोठामा नहुदा आर्मी ब्यारेकमा अनुरोध गर्न गयौँ तर पाइएन ।
यसपटकको खप्तडको दुःख भनेका हाम्रा लागि निरन्तरको पानी पछि मोबाइल चार्ज गर्न नपाउनु हो । पावर बैंक काठमाडौँमै छुट्यो पछि घरतिर पनि वरपर सोध्दा कतै नपाए पछि पावर बैंक बिना हिँडेका थिएम हामी । खप्तड बाबा आश्रम त पुगियो तर आश्रममा कोही बाबा हुनुहुन्थेन । झिसमिसे अँध्यारोसँगै पानी पर्ला पर्ला जस्तो भैसकेको थियो । बाबा आश्रम पुगेपछि कम्तीमा कुनै न कुनै बाबा भेट्टिउन र केही भए बाबाका कुराहरू सुन्न पाइयोस् भन्ने मेरो पुरानै रहर थियो । बाबा आश्रम हामी ४ जना पुग्दा केसर भान्जा लगायत ८ जना अछामको टोली पहिले नै पुगेको थियो । आश्रम पुग्नुअघि नै कता-कता सुनेको थिए कि आश्रमबाट १५ मिनेट अघि हिन्यो भने वास्तविक अहिलेका बाबाहरू पुग्ने कुटी पुगिन्छ । अँध्यारो त्यसमाथि पानी पर्न लागेको हुँदा आधा टोली कुटी जाउ भन्नेमा भयो आधा नजाम होटल फर्कम भन्ने भयो । कुटी जान चाहने र नचाहनेको छिनोफानो केसर भान्जाले हात उठाउन लाएर गर्नुभयो । अन्तिममा एकजना नजामा परे उनी पनि हाम्रै पछि आए । अलि अघि बढेपछि दुविधा थपियो । दोबाटो आयो साइन बोर्ड भाचेको थ्यो तर त्यो बोर्डमा घोडेदाउन पाटन १.७ किम मात्रै थियो । कुटीको बाटो बारे जानकारी थिएन । त्यसपछि दिविधा झन् बढ्यो अघि फर्किन चाहेका खुसी भए पछि सरे । मैले होटलको स्टाफलाई कल गरेर र बाबाको कुटि जान लागेको यो ठाउँबाट कता जाम भन्दा ? बाटो त बताउनु भो तर अहिले रात परि सक्यो नजान अनुरोध गरे । तर हामीले मानेनौँ, हामी अघि बढ्याैँ । दलदले बाटोमा केहीका जुत्ता त कुटी नपुग्दै भिजे बाँकी सबैका जुत्ता कुटी छोडे पछि । ठ्याक्कै रात पर्नु र आकाशबाट पानीका वर्षिनु सँगसँगै भयो ।
बाबाहरू कोही खाना पकाउने तयारीमा थिए कोही दाउरा जुटाउँदै थिए त एकजना बाबा तपस्यामा बसेर मन्त्र पढ्दै थिए । अनुमति लिएर सबै जना बार्दलीमा बस्यौँ । कुटीमा ठ्याक्कै कति बाबा छन् भनेर हामीले सोध्दा पनि ४/५ वटा भन्नु भयो हामीले ४ जना बाबा देख्यौँ । हिन्दी लवज अनुसार केही बाबाहरू भारतबाट आएको हुनुपर्छ भन्ने अनुमान गर्याैं, केही नेपाली । त्यहाँमध्ये सबभन्दा अग्रज बाबा अलि लामै नाम भएको हुनुहुन्थ्यो । उहाँको नामको वेग्रोवेद मात्रै याद भयो । अर्को बाबा हुनुहुन्थ्यो प्रकटानन्द उहाँ डा. योगी विकासानन्दको समकक्षी हुनुहुँदो रैछ । भारततिर सँगसँगै ज्ञान लिनु भएको । अनि एकजना काठमाडौँबाट खप्तड घुम्न र बाबाहरूसँग केही समय कुटीमै बस्न भनेर काठमाडौँका प्राइभेट कलेजहरूमा इन्जिनियरिङ पढाउने प्रोफेसर ऋषि सर पनि त्यतै भेट्टिनु भयो । बाबा पछिका हाम्रो जिज्ञासाको उत्तर दिन तर चित्तबुझ्दो उत्तर दिन नसक्ने ऋषि सर । बाक्लो २ इन्च जति पलाएको दाह्री क्याप टोपी सिलिकन बाक्यो ज्याकेट हुलियाँ देख्दा कतै उहाँले पनि भौतिक दुनियाँको मोहबाट केही टाढा हुन त आउनु भएको हैन लागेको थियो । तर त्यसो हैन रहेछ उहाँ १५ दिनको बसाइँको योजना सहित आउनु भएको रहेछ काठमाडौँबाट ।
पूजाका लागि धुप पनि बोकेका थियौँ र अनुमति लिएरै धुप बालेर पूजा गर्याैं । त्यहाँमध्यका अग्रज बाबाबाट टीका ग्रहण गरेपछि पुष्टकारी प्रसादको रूपमा ग्रहण गर्याैं । सायद पुष्टकारी ऋषि सरले काठमाडौँबाट बाबाहरूलाई ल्याएको-कोसेली हुन पर्छ हामीले अनुमान पछि गर्यो । त्यसपछि अनुमति लिएरै बाबाहरूलाई जिज्ञासा राख्ने क्रम सुरु भयो । कताबाट आउनु भएको ? विद्यार्थीहरू त हुनुहुन्छ होला नि भन्ने बाबाको प्रश्न र उत्तरमा आशिंक सहमति जनाएर आफ्नो ठेगाना बताएर पेशाका आधारमा परिचय दियौँ । सुरुमा जिज्ञासा मेरै थियो । “भौतिक संसारको धेरैजस्तो माया मोहबाट टाढा बसेर हामी जस्तो भौतिक संसारमा रुमलिएका तर आध्यात्मप्रति पनि रुचि भएकाहरूलाई आध्यात्मिक ज्ञान ग्रहण गरी भौतिक संसारमा रमाउन खोज्नेलाई के सल्लाह दिनुहुन्छ बाबा ?" “भूत र भविष्य बिर्सने वर्तमानमा जिउने ।" बाबाको सटिक जवाफ सुरुमा दिएर पछि व्याख्या गरे । सधैँ ध्यान गर्ने । ध्यान गर्नु भनेको पद्मासनामा बसेर तपस्या गर्नु मात्र हैन । तपाईंहरूसँग कुरा गर्दा पनि मेरो ध्यान चली रहेको छ । ध्यान त हरेक काम गर्दा गर्न सकिन्छ त्यसका लागि शरीरलाई एकीकृत गर्नु पर्छ भन्ने छैन । मनलाई एकीकृत गर्नु पर्छ । हिँड्दा पनि र अन्य कुनै काम गर्दा पनि हामी ध्यान गर्न सक्छौँ । बाबाको कुरा कता-कता हो जस्तो लाग्यो धेरै जना साथीहरूले समर्थन जनाए झैँ प्रतिक्रिया जनाए । मेरो दोस्रो जिज्ञासा, “अनि यसरी जंगलको बीचमा बसेर दैनिक सामन्य आवश्यकता पनि पूरा भएन भने कसरी जीवनयापन हुन्छ बाबा ? बाबाको जवाफ, “संसार हाम्रो घर हो, जसरी तपाईंहरू आउनुभयो त्यसरी कोही न कोही केही केही न केही दिन आउछन् । संसार रहुन्जेल प्रकृति रहुन्जेल प्राकृति नियम अनुसार हामी पनि बाँची रहन्छौँ । भलै हामीहरू अरू विलासी आवश्यकताबाट टाढा छौँ तर स्वस्थपूर्ण अनि दिर्घायू जीवन हामी पनि बाच्छौँ ।" बिरामी हुँदा चोटपटक लाग्दा पनि प्रकृति उपचार गर्ने खानपिनको लागि कोही न कोही आएर केही न केही दिने कुनै दिन भोकै परियला भन्ने चिन्तै हुँदैन रे बाबाहरूलाई । अरू साथीहरूले पनि प्रश्न सोध्न थाले ।
बाबाको यो अध्ययन र ध्यानको समय रहेछ त्यसैले अरू जिज्ञासा समान्य लागेर हो या अध्ययन अधुरो भएर हो बाँकी प्रश्नहरूको उत्तर दिनको लागि बाबाले ऋषि सरलाई अनुरोध गर्नुभयो । हाम्रा अन्य जिज्ञासाहरूको उत्तर दिन ऋषि सर आउनु भयो । उहाँ अलि सामान्य कुरामै प्रश्न उत्तर भयो । लगभग दुई घण्टासम्म हामी कुटीमै बस्दा पनि पानी रोकिएन । अलिअलि पानी कम हुनेबित्तिकै भोलि बिहान माथि आश्रममा हुने कक्षामा सहभागी हुने भन्दै हामी भएको लाइटरको टर्च लाइट र मोबाइलको लाइट बालेर अँध्यारोमा तलको मूल बाटोलाई केन्द्र बनाएर हिँड्यौँ । बाबाहरूलाई बाटो सोधेर आउँदा नि त्यो अँध्यारोमा बाटो ठम्याउन सकेनौँ तर अघि बढिरह्यो । कतै झाँडी कतै दबदबे हिलो त कतै चौर हुँदै तल छेडे पाटन पुगे पछि अघि होटल जाँदाको मूल बाटो थाहाँ भयो र सोही बाटो भिज्दै बडा मुस्किलले होटल सम्म पुग्यौँ ।
खाने सुत्ने, खाने सुत्ने ।
आजको रात सहित अबको ३ रात २ दिन होटलको-कोठामै थुनियौँ । दैनिक जस्तो १०/१२ जनालाई खाना पाक्ने होटलमा आजबाट ६०/६५ जनालाई खाना पाक्ने भो । होटलमै बस्नेलाई खाना अन्तिममा खुवाउने होटल बाहिर बसोबासको व्यवस्था भएकाहरूलाई पहिले प्राथमिकता दिने निर्णय होटल सञ्चालकले लिनु भएको रहेछ । भिजेको कपडा फेर्दै आगो ताप्न दिएको आगो बाल्ने भाडोमा जुत्ता सेक्न थाल्यो । कतै भोलि बिहान घाम लाग्यो भने घुम्न जानु पर्छ भनेर । पानी रोकिने छाटकाट थिएन झन्झन् पानी पर्दै थियो अनि ढिलो गरी खप्तड पुग्नेहरू अँध्यारो बाटोमा टर्च बाल्दै भिज्दै अझै आउँदै थिए । दुःखको कुरा आउनेहरूले तत्काल बस्ने आफूले भने झैँ समान्य पनि होटलको-कोठा खाली थिएन । खप्तडका दुइटै होटल मानिसहरूले बिहानै भरिए थिए । अब होटल सञ्चालकको एउटै उद्देश्य भनेको सबैलाई खानाको व्यवस्था गर्ने तर बस्नको लागि निकुञ्ज कार्यालय र हलको व्यवस्था गर्ने । राती ११ बजे तिर खाना खाने पालो आयो । खाना खाएर जुत्ता अगेनोमा राखेर आछ्यानमा पल्ट्यौँ ।
राम मामाको बाहेक सबैको मोबाइल अफ भैसकेको थ्यो । उहाँकै मोबाइलबाट ५/५ मिनेट छुट्याएर सबैले आ-आफ्नो फेसबुकको इनबक्स र नोटिफिकेसन चेक गर्यौं । दिनभरिको थकानले होला आजको रात निन्द्रा राम्रै पर्यो । बिहान ७ बजे तिर बिउझ्यौँ । बाहिर पानी रोकिने कुनै संकेत थिएन । राम मामाको मोबाइलमा बिहानै नेपाल टेलिकमको सतर्क म्यासेज आएको थियो । कार्तिक १ गते देखि ३ गते सुदूरपश्चिमका पहाडी र तराईको चुरे क्षेत्रमा भारी वर्षा हुने हुँदा पहाडी भेग र नदी खोला नजिक बस्ती भएका सम्पूर्ण व्यक्तिहरू सतर्क र सुरक्षित ठाउँमा रहनुहोला भनेर । भारीहावासँगै परिरहेको पानीले होटल बरण्डा पूरै पानी पानी थियो । केही व्यक्तिहरू त्यहीँ पानी परेको फेसबुकबाट लाइभ गरिरहेका थिए । मैले नि मामाको मोबाइलबाट सानो भिडियो क्लिप खिचेर स्टोरीमा राख्न भ्याए ।
आज होटलमा चिनी सकिएको भएर चिया नपकाई सीधै खाना पाक्दै थियो । नित्यकर्म पछि तल्लो होटलबाट चिया ल्याएर आफैँले लगेको बिस्कुट खाएर बिहानको नास्ता भयो र फेरि ओछ्यानमै गयौँ । मोबाइलमा चार्ज मात्र हुदो हो त दिन काट्न यति सकसपूर्ण हुने थिएन । मामाको मोबाइलमा अझै चार्ज बाँकी थियो । सबैले आआफ्नो घर खबर गरी आफ्नो अवस्था बताएर चिन्ता नलिन अनुरोध गर्यौं । ११ बजे तिर खाना खाएर फेरि सुत्यो । खाने, नित्यकर्म र सुत्ने बाहेक अरू काम नै केही रहेन । खप्तडमा पनि बाढी आउला र भन्ने हाम्रो खप्तड टेक्दाको सन्देह दूर भयो । होटलकै छेउको खोल्सा बढेर पारी निकुञ्ज कार्यालय र हलमा बस्नेहरू खाना खाने समय बडा मुस्किलले बढेको खोल्सा खोला तर्दै खाना खान आइपुग्थे । कालो आकाश छिनमै कुहिरो, छिनमै पानी । कहिले पानी मात्रै पर्थ्यो कहिले कुहिरो सहितको पानी कुहिरो यसरी लाग्थ्यो । अगाडि डाँडा र दायाँतिरको ब्यारेक र अगाडिको होटल पनि ढाक्थ्यो । पानीसँगै हावाको झन् छुट्टै विशेषता थियो । खप्तडको हावा कहिल्यै एकोहोरो लागेन । कहिले पूर्वबाट कहिले पश्चिमबाट कहिले उत्तर त कहिले दक्षिण । पूरै चारै दिशाबाट घुमाउने हावा । छाता ओडेर खप्तडको हावापानीमा जोगिनु त के छाता सकुशल जोगाउनु पनि असम्भव जस्तै थियो । एउटै विकल्प थियो त्रिपाल टाउको देखि खुट्टासम्म बेरेर हिँड्नु पर्ने । दिउँसो आफैँले ल्याएकाको नमकिन चिउरा तल्ल होटलको चिया ओछ्यानमै भयो । हिजो राती अगेनोमा सुकाएको जुत्ताले फेरि दुःख पायो ।
बिहानसम्म भरिन भरिन लागेको अट्याच बाथरुमको प्यान भरिएर ढोकाबाट निस्कन मात्रै बाँकी शाैचालयको पानीमा दायाँ जुत्ता चुर्लुमै । तत्काल जुता धोए । आज दाँया जुत्ताले रातभरि चुल्होको आगो तापेर बस्यो । दिनभरि घाम नलाग्दा सोलारको ब्याट्री पनि डाउन भएर कोठाको मधुरो लिड बत्ती पनि झ्यापझुप थियो । कसैको मोबाइलमा नेटवर्क थिएन । हावाले टेलिकमको टावर पनि झारेको खबर आयो । अब हामी सञ्चारको माध्यमबाट पनि अलग भयौँ तर सुरक्षित खप्तडमै । खाना होटलमा बस्नेको पालो अन्तिम मै भएर ढिलो खायौँ । राती बाथरुम भरिएर बाहिर पानी आउन सुरु भै सकेछ । गन्ध कोठामै आउन थाल्यो । होटल सञ्चालकलाई खबर गरी ढोका लगाएर मात्र सुतेनौँ, राम मामाले लग्नु भएको सेट वेट पर्फ्युम रुम पर्फ्युम झैँ कोठाको चारैतिर अनि सिरक भित्र छिरेर सिरक भित्र गुटमुटियौँ । आजको रात राम्ररी निन्द्रा परेन । राती अबेरसम्म गफियौँ र खै कति पो बजे सुतेम ! मोबाइल बन्द भैसक्यो हातमा घडी थिएन । रातभरि हावापानीको आवाज उस्तै थियो जस्तो दिउँसो थियो ।
बिहान उठ्दा हावा र पानी त उस्तै हो । शाैचालयमा ताला लागेको थियो । पछि बुझ्दा राती नै होटलका स्टाफहरूले बाल्टी उघाएर प्यानसम्म खाली गरेछन् र सेफ्टी ट्याङ्की पछाडिबाट लिक गरेछन् । शाैचालयको सेफ्टी ट्याङ्की धेरै प्रयोग भन्दा नि माथिबाट आएको भेलको पानीले चाँडै भरिएको थियो । अर्को विकल्प बुझ्न जाँदा अलि पर तलतिर २ वटा चुहिने अनि एक आपसमा पारदर्शी शाैचालय थिए । आंशिक छाताको सहयोगमा भिज्दै नित्यकर्म पछि तल्लो होटलकै चिया ल्याए भाइहरूले आज बिस्कुट थिएन चिउरासँग कालो चिया खाइयो नास्ताको रूपमा । त्यसपछि सुत्नु भएका राम मामा बेलुका ७ बजेतिर मात्रै उठ्नु भयो । मामालाई ज्वरो आयो । खाना खानै मान्नु भएन । निकै डर लागेको थियो तर दिउँसो बिस्कुट र चिया खाँदा एउटा डिकोल्ड खाएर हो या आफैँ बेलुका ७ बजे ज्वरो भाँचियो ।
पानी रोकिने कुनै छाँटकाँट थिएन । कत्ती टोलीहरू बिहानै हिन्ने तयारीमा थिए । कोही रेनकोटमा, कोही त्रिपालमा, कोही पिपिइ सेटमा, कोही पलास्टिकको बोरा बेरेका कोही पिफम कार्पेट बेरेर बझाङको बाटो घर जने तयारीमा थिए । होटलको हलमा बस्ने १३ नजाको समूह पनि अब त अफिसको बिदा नि सकियो यता कतिन्जेल बस्ने भन्दै होटलको हिसाब तिरेर हिँडे । यस्तै ४/५ समूहले आज खप्तड छाडे । हामीमा अझै आँट आएन । होटल सञ्चालक दिनेश सर भन्नुहुन्थ्यो, “यस्तो हावापानीमा खान र बस्नु पाउनु भएको छ भने खप्तड नै सुरक्षित । बाटोमा पहिरो र बाढीको जोखिम उस्तै हुन्छ ।" खोला बढेर कतै ह्युमपाइप बगाएका छन् त कतै पुल बगाएका छन् । टेलिफोनको नेटवर्क आउन दिनुस् । चारैतिरको सञ्जालसँग फोन गरेर बुझ्छौँ अनि सुरक्षित बाटो जानुहोला ।
हामीहरूले उहाँहरूकै सल्लाह मान्ने भयौँ । बस् यति हो हामी हाम्रो घरपरिवारलाई फोन गरेर खप्तडमै सुरक्षित छौँ भन्ने कतैबाट जानकारी गराउन पाउँ । नेपाली सेनासँग त्यस्तो वातावरणमा पनि नेटवर्क बिना काम गर्ने सञ्चारको साधन हुन्छ भन्ने सुनेका थियौँ । खाना खाएर फोन कलका लागि अनुरोध गर्न ब्यारेक जाने निर्णय त गर्यौ तर त्यो आशा पनि खाना खाने बेला निराशामा परिणत भयो । निकुञ्जको कर्मचारी दिनेश सरले सेनासँग त्यस्तो कुनै साधन छैन । हामी निकुञ्जको कर्मचारी हामीलाई थाहा हुँदैन ? अब टेलिफोनको नेटवर्क नआइ केही विकल्प छैन भने पछि फेरि खाना खाएर ओछ्यानमै फर्क्याैं आज भाइहरूले खाली भएको हलबाट पहिले त्यहाँ बस्नेहरूले कोठाकै झ्यालमा छोडेको २ बकस तास ल्याएर आए । दिनभर जाने नजानेका खेल खेल्यौँ । तर पैसा बिनाका । बेलाबेला मोबाइल सम्झियौँ । थोरै भए पनि मौसम खुलेपछि क्यामेराको बाँकी चार्जले फोटो खिचौँला सोचेर क्यामेरा चलाएनौँ ।
धेरै जनाले खप्तड छोडी सकेको भएर होला आज खाना खाने पालो पनि छिटो आयो । हावापानी उसैगरी निरन्तर थियो । आँखा भान्छा भित्रको दाउराको खातमा गयो । अस्ति माथि छानो नै छोइने गरी राखेको दाउराको खात घटेर एक फिटको उचाइमा झरेको थियो । दिनेश सरले रासन त १ महिनाको लागि भण्डार छ भन्नु भएको थियो । तर दाउरा यताको त सकिन लाग्यो त सर अन्त नि कतै छ कि ? अब भिजेकै भए नि दाउराको व्यवस्था गर्ने हो सर भन्नु भयो । आजसम्म जे जस्तो भए नि घुमफिर अब त्यस्तै हो भोलि ३ गते जसरी पनि हिँड्ने योजनामा थियो हामी । राती पानी रोकियोस र बिहान अलि घुमफिर गएर खाना खाएर घर जाने योजना बनायौँ ।
रातभर पानी पर्ने र रोकिने प्रक्रिया चलिरहेको थियो । भोलिपल्ट बिहान उठ्दा पानी त रोकिएको त तर ढकमक्कै कुहिरो थियो । कति टोली घर जाने त कति घुम्न हिँड्ने तयारीमा थिए । आज हामी बसेकै होटलमा पाक्यो कालो चिया । अरू दिन खान पकाउन नभ्याएर ढाँटेका रे चिनी सकियो भनेर । पानी अलिअलि पर्दै थियो त्यही नि हामी खप्तड दह घुमेर आउने अनि खाना खाएर घोडादौड पाटन जाने निर्णय भयो । सह्रसलिङ्ग अलि टाढा भएर यसपटक नजाने ११ बजे अघि नै खप्तड छोड्ने कुरा भयो । त्यसै पनि सिमसार झैँ दबदबे थ्यो खप्तडको जमिन अब त झन् ३ रात २ दिनको लगातार पानी । जुत्ता बाहिरबाट पोलिथिनको झोला बेर्यौं सकेसम्म जुत्ता नभिजोस् भन्ने उद्देश्यले एउटा छाता बोकेर अघि बढ्यौँ । बाटोमा पानी पर्यो तर अलिअलि मात्रै भिज्यौँ । खप्तड दह जाने भनेर हिँडेका हामी एउटा अग्लो डाँडामा पुग्यौँ जहाँ एउटा अग्लो टावर थियो तर चड्ने भर्याङ्ग भाँचिएको । त्यो डाँडा पुग्ने बित्तिकै हो हल्का एकपल्ट घाम झुल्केको अनि राजु भाइको किबोर्डवाला फोनमा घरबाट फोन आएको । पछि थाहा भयो त्यो डाँडामा एनसेलको टावर टिप्ने रैछ । राम मामाले नि मोबाइल अन गरेपछि बाँकी हामी सबैले घर घर फोन गर्यौं । घरबाट बाटोभरि पहिरो छ, बाटो अवरुद्ध छ नआउन अनुरोध गरे ।
घाम लागेको र ४८ घण्टापछि घरमाकल गर्न पाउँदा मख्ख भएर खप्तड दह नपुगी होटल फर्क्यौ । जुत्ता बाहिरको पानीले पनि जुता जोगाउन सकेन । होटलमा आएर फेरि जुत्ता चुल्होमा सुकाउँदै थिए दाँया जुत्ताको माथिपट्टिको भाग जलेर रसाएछ । ला खत्तम घर जाने दिन आएर जुत्ता जल्याे । खाना खाएर घर जाने तयारीमा थियौँ फेरि सिमसिम पानी पर्यो । घोडादौड पाटनसम्म पानी परे पनि हिनी रहेम । कतै पानी रोकिने, कतै पर्ने हुँदै थियो । घोडादाउन पाटनको बीचसम्म पुगेर केही तस्बिर खिचेर फर्केर सीता पाइला पुग्यौँ । अब फेरि घाम लाग्यो । खप्तडमा जे जस्तो भए पनि जाँदा र आउँदाको यात्रा चाहिँ रमाइलो भयो ।
१ः३० बजेतिर खप्तडबाट हिँडेका हामी बीचपानी ३ बजेतिर पुग्यौँ र चिया बिस्कुट खाएर फेरि हिँड्यौँ । यात्रा फर्किँदा रफ्तारमा थियो । जसरी भए पनि ५ बजे भित्र झिग्राना पुग्ने योजना थियो । ५ बजेर ५ मिनेटमा निकुञ्जको प्रवेशद्वार झिग्राना पुगी सकेका थियौँ । यतिन्जेल बाटो सब ठिकठाक थियो । खप्तड निकुञ्ज ठाडो पहाड झर्याैं । अब ३ दिन लगातारले बनाएका चुनौतीहरूका पहाडहरू चड्न अब सुरु भयो । आजको बास सकेसम्म सिलगडी पुगेर बस्ने योजना बन्दै थियो ।
पहिराहरूको जंगल
खुट्टाले मान्दै नमाने पनि पनि मनले भने जतिजति रात पुर्यो त्यतित्यति रफ्तार दिइरहेको थियो खुट्टालाई । निकुञ्ज भित्रको बाटोमा सानो पहिरो पनि भेट्टिएन । झिग्रानाको बस्तीबाट सुरु भैसक्यो पहिरो । केही घर र केही बाटो सुरुवातमै देख्यो । एकछिन हेर्यौ र रफ्तार अगाडि बढ्यो । बाटोमा फर्किने प्रायः सबैलाई सोध्यौ बाटो कस्तो छ ? धेरैको प्रतिक्रिया फरक फरक थियो । भर्खरै जन्मेको बच्चा अनि भर्खरै आमा बुवा भएका युवायुवती अनि त्यो सानो बच्चाको हजुर आमा लगायत केही गाउँलेहरू । सायद अस्पतालबाट भर्खरै आएका थियो त्यो समूहका एउटी आमाले यति करुणाका साथ अगाडि नजान अनुरोध गरिन् । यतै बस्तीमै बसौँ लाग्यो । उहाँको भनाइ पनि त्यस्तै थियो पहिरो अझै जाँदैछ यतै गाउँमै बास बस्नु हामी त बडा मुस्किलले पहिरो कटेर आयौँ ।
आमाको मन हो डर त लागि हाल्छ भनेर अघि बढ्यो । अझ अगाडि भेट्टिएको गाउँघरका पुरुषहरूको समूहले जानुस्जानुस् थोरै अप्ठ्यारो छ भने पछि अगाडि बढ्यौँ । बाटोमा ठाउँ ठाउँमा ढलेका रूखहरू कतै मुनिबाट त कतै माथिबाट चढेर अघि बढ्यो । उज्यालो हुँदासम्म त ठिकै थियो । तर जब अँध्यारो भयो तब सुरु भयो पहिरोहरूको जंगल । राम मामाको मोबाइलमा अझै ५ प्रतिशत चार्ज थियो । २ लाइटरको टर्च मधुरो भैसक्यो । राजु भाइको किबोर्डवाला माइक्रोम्याक्स मोबाइलमा अझै चार्ज थियो । चारजना चारवटै बत्तीको साहारामा अघि बढ्यो । अब सिलगडी पुगिने आश मरिसकेको थियो । बगलेकमै भए नि बस्ने भन्ने निर्णयमा पुग्यौँ । अँध्यारोमा बाटो माथिबाट तलको पहिरोको अवस्था नदेखिने हुँदा झन् डर हुन रहेछ ।
मधुरो बत्तीको सहारामा बाटो पनि कहाँसम्म चिरा परेको छ थाहै नहुने । धेरै जस्तो पहिरोमा रूख ढलेका अनि माथिबाट खसेको हिलाम्मे माटो र ढुङ्गा माटोको थुप्रो । बाटोमा एउटा पहिरो यस्तो आयो माथिबाट रूख खसकेको छ । तलको बाटो आधी भत्केर बगिसक्यो । बाँकी बाटोबाट आगाडि बाटो खोला झैँ भल आएर भत्केको बाटोमा बग्दैछ । हामी जाने साइडबाट ढुङ्गा र रोणा सहितको हिलो बग्दैछ । अगाडि म थिएँ । तल हेर्यो भत्केको बाटोमा पानी बग्दैछ । अगाडि तेस्रो परेको रूख उधोउधो कस्के झैँ लाग्दै छ ।
बाटोको दायाँ छेउबाट जान खोजे पूरै हिलोमा जुत्ता नै गाडियो । एकछिन त न पछि जान सकियो न अघि माथिबाटो पानी खसिरहेको आवाज म अघि बढ्न सकिन । राम मामाले आँट गर्नुभयो । हातको लौरो टेक्दै त्यो ढलेको रूखको फेदपट्टिको भागमा जम्प गरेर पहिरोको अलि सुख्खा ढिस्कोमा उफ्रिनु भयो । पछि त्यो लौरोले हिलो छामछुम गर्दै अगाडि बढ्नु भयो । त्यसै गरी बाँकी अरू पनि त्यही लौरोर बत्तिको सहारामा अघि बढ्यो । माथि पहाडबाट बग्ने भल कि बाटोको बीचबाट काटेर बग्दै थियो कतै सडक किनारको नाली नाली बग्दै थ्यो । दायाँतिर सिङ्गो पहाड बायाँतिर खसेको पहिरोको पहाड बीचमा ढुङ्गाहरू त्यही ढुङ्गासँगै खहरे खोला झैँ बग्ने पानी । कति ठाउँमा ढुङ्गाको सहारा त कतै लौरोको सहारामा ८ बजेतिर बगलेकको पक्की सडकसम्म पुग्यौँ । खप्तड निकुञ्ज भित्रको त्यो प्राकृति बाटो जस्ताको तेस्तै हुनु अनि कृतिम रूपमा बनाइको सडक बाटोको यो रूप देख्दा लाग्थ्यो प्रकृति रिसाएर बदला लिएको हो । बगलेकमा बाटो छेउकै होटलमा बासका लागि अनुरोध गर्यौं । खाना त खाइ सकियो अब बास दिन सकिन्छ भन्नु भयो ।
थकाइले लखतरान हामी बास भएनि दिनुस् भन्यौँ र झोला राखेर हात गोडासँगै जुत्ता धोएर राती सुकाउन भन्दा निथार्न राख्यो । पछि खाना चाउचाउ र भात पकाउँछौँ खानु हुन्छ भन्नु भयो ? ३ बजे तिर खाएको चिया बिस्कुट बाहेक अरू केही परेको थिएन पेटमा हुन्छ भन्यो । तर पछि चाउचाउ हैन दाल भात र तरकारी नै पकाइ दिनुभयो । घरकै अर्गानिक खाना र उहाँहरूको सेवा अनि सत्कारले मन लुट्यो । बिहान ७ बजे तिर चिया खाएर निस्क्यो । बगलेकबाट सिलगढी पुग्न ८ किलोमिटरको पक्की बाटो भएर पनि कुनै सवारी साधन चलेको थिएन । बाटोभरि ठाउँठाउँमा ढलेका रूख र पहिरोले गर्दा सडकबाटो गोरेटोबाटो झैँ बन्यो ।
सवारीका ठग र पहिरोको सास्ती ।
उज्यालो भएकाले त्यति डर पनि लागेन जति हिजो राती लाग्यो । बाटोका पहिरो कतै चढ्दै कतै छल्दै १०-९ बजेतिर सिलगढी पुग्यो । सिलगढीमा चल्ने नगरबसले दिपायल पुर्यायो । यहीँ नगरबस थियो यात्रुहरू नठग्ने रे भनेकै गन्तव्यमा पुर्याउने । बाँकी दिपायलबाट अत्तरियासम्म पहिरोका कारण ४ वटा गाडी चढ्याैँ । चारवटा गाडीले कतिले दूरीमा कतिले भाडामा र कत्तिले दूरी र भाडामा ठगे । दिपायलदेखि रडुवा खोला पुर्याउँछु भनेको जीपले रडुवा खोलाभन्दा ५ किलोमिटर वरै छोडेर पैसामा नि ठगेको कुरा ५ किलोमिटरको पक्की बाटोमा प्रतियात्री १०० रूपैयाँ माग्ने जीप चालकले सुनाए । यस पछि हामी निकै सचेत हुँदाहुँदै पनि ठगियौँ । रडुवा खोलादेखि साहुखर्क पुर्याउँछु भनेको बसले ३ किलोमिटर वरै छोडी तेब्बर भाडा लियो । एकछिन चर्काचर्की नि पर्यो हाम्रो समूहले बढी तिरेको भाडा फिर्ता माग्यौँ । लगभग ३ किलोमिटर हिँडेपछि आयो साहुखर्क ।
साहुखर्कमा मुख्यतः २ ठूला पहिराहरूले बाटो अवरुद्ध गरेको थियो । पहिरो वारीपारी सयौँ संख्यामा सवारीसाधनहरू लाइन लागेर राखेका थिए । यो यात्रामा एकजना नयाँ साथी पनि बने बीरेन्द्र सर । बीरेन्द्र खड्का सिलगडीबाट १ घण्टाको दूरीमा रहेको विद्यालयमा अंग्रेजी पढाउनु हुँदो रैछ । साह्रै भलाद्मी मान्छे सिलगडीदेखि अत्तरियासम्म हामीसँगै आउनु भयो । धनगढी बाइकको लाइसेन्सको लागि ट्रायल दिन आउनु भएको रहेछ । साहुखर्कबाट अत्तरियासम्मको २० रूपैयाँ मात्रै बढी लिए भन्ने बसले ५०० मा अत्तरिया पुर्यायो । खप्तड यात्रामा बाटोमा कहिल्यै नदेखेका पहिरोका दृश्यहरू देख्न पाइयो । कहिल्यै नभोगेको अनुभवअनुभव भोग्न पाइयो । खप्तड यात्रामा रमाइलो भन्दा बढी केही अनुभवहरू अविस्मरणीय रहे । पानीले दुःख त दियो तर खप्तडमा पानी परेर बिहानको योगा कक्षा छुटेकोमा साह्रै नरमाइलो लाग्यो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...