युक्ना (अकेन्द्रवाद) साहित्य अभियानको २०७८ असोज २५ गते आकस्मिक बैठकले पाँचथरको फाल्गुनन्द गाउँपालिका र फेदेन नगरपालिका र ईलामको देउमाई नगरपालिकाको सीमानामा पर्ने नागढुङ्गा (असेःक्लुङ्), लोहाकिल् (नाम्धाङ्) र कुइभिर (खाप्मिःप् याक्पे) २०७८ असोज ३१ गते मसान्तका दिन युक्ना साहित्यिक यात्रा चलाउने निर्णय हुन्छ । युक्ना (अकेन्द्रवाद) साहित्य अभियान्ताहरू सबै साहित्यिक यात्रामा सामेल हुन र तिनको व्यवस्थापन गर्न अभियान्ता कविद्वय हेम सेमिक्वा र मिन अकेलाले ग्रहण गर्छन् भने मुख्य पथप्रदर्शकको रूपमा वहुरंगवादका प्रमुख चिन्तक शक्तिशाली कवि श्री समदर्शी काईलालाई दिने निर्णय हुन्छ । टेक्सिका लागी स्थानीय भाई दिलेन्द्र नेम्बाङ् (मालिक र चलाक) लाई रिजर्वमा निधो लाग्छ । उहाँहरूलाई खवर र निधो गर्न म जिम्मा लिन्छु । मैले तत्कालै समदर्शी काईलालाई फोन सम्पर्क गरेर तयारी रहन आग्रह र निधो हुन्छ । उहाँसँगै कवि गजेन्द्र सोझे राई साहित्यिक नाम ‘जमिन’लाई पनि निधो हुन्छ ।
असोज ३१ गते एकाबिहानै आकाशले केमा चित्ता दुखाइन् हामीसंग । उज्यालो भइञ्जेल आँशू झारी रहिन् । ध्यान गरेर माफ माग्छु । तथापि रुन भने विसर्जन गर्छिन् । बिहान सातबजे प्रस्थान गर्ने भनेर याम्बोःङ् चोकमा म र नुना नेम्बाङ् वैनी उकालिन्छौं घरबाट । चोकमा पुगेर प्रायः सबैलाई फोन गर्छु । कत्तिपय ससुराली गएको, व्यक्तिगत कामको र पानी पर्नाको कारण नजाने खबर मिल्छ । धेरै अभियान्ताहरू तोकेको समयभन्दा ढिलो आई पुग्छन् । यसरी नै याम्बोःङ् चोकबाट अभियान्ताका बालकविहरू लाजिमा नेम्बाङ्, हाङ्मा नेम्बाङ्, कविहरू हेम सेमिक्वा, मिन अकेला, जरा ठूले, मणीराज नेम्बाङ्, अर्जुन लिम्बू, इङ्सो नेम्बाङ्, बाल गायिका नुना नेम्बाङ् र म भएर यात्रारम्भ गर्छौं । याम्बोःङ् सार्तापहुँदै गुम्बाडाँडा पुग्छौं । गुम्बामा साथीहरूलाई पल्टि गर्दै कवि श्याम तुप्फानलाई लिन राँके बजार पुग्छौं र फर्कँदा प्रमुख पथप्रदर्शक शक्तिशाली रंगकवि श्री समदर्शी काईँला र कवि गजेन्द्र सोझे राई ‘जमिन’लाई निबु खोलाबाट लिफ्ट लिन्छौं । गुम्बामा रहेको साथीहरू र केही खाजा (जङ्कफुड) किनेर पौवा पुग्छौं । पौवाभञ्ज्याङ्को कच्चि उकालो फोरह्विल लगाएर के उकालेका थियाैँ । गाडिको एक्सल ठोकिन पुग्छ । यसरी जाँदा गाडि बिग्रन सक्ने भएकाले गाडीलाई फर्काएर प्रमुख पथप्रदर्शकको कमाण्डमा उकालीन तयार हुन्छौँ ।
प्रमुख पथपदर्शक, बहुरंगवादका प्रमुख चिन्तक तथा शक्तिशाली कवि समदर्शी काईलाको अगुवाईमा झोलाहरू बोकेर पौवाभञ्ज्याङ्देखि सुकेपोखरी पैदलमार्ग लाग्छौँ, बिहानको १०ः२० बजे उकालो । खनेर बनाएको सिँढी बाटोको उकालो भएर टुप्पोमा पुग्छौं । शीरैशीर बनाएको सजिलो पदमार्ग बाटो भएर कहिले थोरै ओरालो, थोरै उकालो त कहिले थोरै तेर्सोहुँदै अन्दाजी समुद्री सतहको २७/२८ सय मिटर उच्च अल्टिच्युटमा कावा खाँदै । जंगलमा बनेलहरूले जोतेको खतहरू यततत्र देखिन्छन् भने खर्सु, गुराँस, अंगेर, बज्राँठ, चाँप, गुराँसहरूले हाम्रो यात्राहरू नियाली रहेछन् । ‘ए, मनुक्खेहरू लोहाकिल् (नाम्धाङ्), असेःक्लङ र कुइभिर तिर जाने हो ? ल बाई बाई छ । यात्रा राम्रो गर्नु’ एकोहोरो उभेर भनि रहेछ झैं लाग्ने रूख बुट्यानहरू । गाईवस्तुहरू खुल्ला रूपमा आनन्दले बिना रोकटोक र निर्भय चरी रहेछन् । र केहि स्थानहरूमा चोक (गोठ)हरू भेटिन्छन् । यस डाँडाको धारे पदमार्गबाट पाःन्थःर्का प्रायः सबै गाउँ र डाँडाहरू आँखा सामुन्ने देखिँदो रहेछन् । जुन दृष्यले मनहरू तान्दो रहेछ । कवि गजेन्द्र सोझे राई ‘जमिन’ले साकेला थानकालागि भनेर सातहजारमा किनी ट्याक्टरमा लगाई सकेको अन्दाजी सातफुटे ढुङ्गाको खम्बा स्थानीयहरूले नदिएपछि उक्त खम्बा तेहि स्थान मै स्थापित गरेको भेटिन्छन्, सानो थुम्किमा । र सम्झन्छन् कवि जमिनले । त्यहाँ पुगेर एकपटक मायावी चुम्वन लिन्छौं, ढुङ्गा खम्बालाई । हामीलाई मनग्गे प्रेमिलता बाँड्छन्, निर्धक्क उभेर । सानो सुकेपोखरी (चुःक्सा केजप्पा वारःक्) हुँदै सुकेपोखरी (केजप्पा वारःक्) पुग्छौं । पोखरीलाई नयाँ व्यवस्थापन गरेको रहेछ । वरिपरि सिमेण्टेड वाल र बत्तिहरू । सबैले फोटो कैद गर्छन् तर मलाई अलिक मन पदैन किनभने पोखरी वरीपरी प्राकृतिक गारोले व्यवस्थापन गर्नूपर्नेमा त्यो छैन र प्राकृतिक सौन्दर्य भत्केर गई कृतिम वेहुली बनेकि छिन्, आँखा सामू । सुकेपोखरी (केजप्पा वारःक्) नजिकको पुरानो पुलिस चौकी संरक्षण विहिन जस्तो भएर नजिकको मन्दिर संकटग्रस्त साँचीमा उभेकी छिन् । जुन मन्दिरमा कुकुरले रुँगी राखेको दर्दनाक उपस्थित देखिन्छिन् । हुनु त मन्दिरमा मानव पुजारी रहनु पर्नेमा कुकुर पुजारी हुनु संसारमा अनौठो नै भन्नुपर्ला ?
पोखरीमा एकछिन लेक नलाग्ने ओखती सेवन गरेर उकालिन्छौं । सिरान घर, फौजमान राई अनि दोकान । फौजमान राईको सम्मान र सत्कारले मुग्ध बनाउँछ हामी सबैलाई । दोकानमा सामान्य सपिङ् गरेर पुनः उकालिन्छौं । बाटो उकालो कुनैमा सोलिङ त कुनै बनाइएको सिँढी, दायाँबायाँ, तलमाथि जंगल घना तर सबै रूखहरू भने गुराँस मात्तै । लालीगुराँसको राज, अन्य प्रजातिको प्रवेश निषेध देखिन्छन् । उकालो लागेपछि शक्तिशाली कवि समदर्शी काईलाको मुखमा ख्याली मुखमा फुर्छन् ।
‘ए
गुरुङ्को भेँडा, फौज्मान्को डेरा ।
उकालो हिन्नु, बाटो छ टेडा ।।
गुराँसको घारी, झ्याउहर्को दारी ।
सबैको काँधमा, आ–आफ्नै भारी ।।
खनेको बाटो, सुन्दर छ माटो ।
कुइरोले छोप्दै, बनौछ लाटो ।।
.........’
सायद पाःन्थःर जिल्लाको गुराँसकै राजधानी भन्नुपर्छ । उकालो रंगवादी कवि समदर्शी र कवि जमिन अनि म, साहित्यिक गफ मात्र होइन केहि बुढापाकाहरूको बारे उभोसासमा गहन गफ दर्किन्छन् । स्वर्गिय अमर नेम्बाङ् र उहाँको कृति, कृष्णविक्रम नेम्बाङ् र उहाँको लेखन क्षमता अनि समदर्शी काईला र वहुरंगवादको विषयमा निक्कै घोर चर्चा हुन्छन् ।
साहित्यिक चर्चा जत्ति चर्को हुँदै जाँदैछ । तेत्तिनै गरि आकाशले हामीलाई घुम्टो ओडाइ दिइ रहन्छिन् । सायद लाग्छ यस धर्तिको हरेक अंग, प्रत्यंग र गुप्तांगहरू साहित्यिक यात्रुहरूले हेर्छन, देख्छन्, खिच्छन्, चुम्छन्, छुन्छन् र साहित्यिक सम्भोग गर्छन् भनेर लाजैले छोपी दिएकी हौली । टाढा दृष्यहरूका लागि नमज्जा त छँदैछ तर तेहि नमज्जाभित्र हामीले मज्जा लिँदै गएको आकाशले बुझिनन् ।
लक्ष्य नागढुङ्गा (असेःक्लुङ्) र महागुरु फाल्गुनन्दले होमादी गरेको अग्निकुण्डमा पुग्ने । वीचमा एउटा लामो थुम्को, लाग्छ गोरुको जुरो (पिप्पु) जस्तो देखिने तर प्रमुख पथप्रदर्शक समदर्शी काइलाले नाम जुराई दिएका रहेछन् चोःत्लुङ् डाँडा अन्दाजी ३५ सय मिटर उचाईमा । यो डाँडा यस रेञ्जको अग्लो डाँडा रहेछ । चोःत्लुङ् डाँडामा फलामे लिंगो उभाएको रहेछ, नेपालको झण्डा राखेर तर हावाले भोजन गरि सकेका रहेछन् । यहाँ पुग्दा त झनै आकाशलाई सुठिसारो भइछिन् कि क्या हो यात हाम्रो अगाध प्रेमिलताले तान्यो कि क्या हो । रुनु पो थालिन् । रोएपनि के फरक साहित्यिक यात्रुहरूसंग एकाएक छाता र रेनकोटहरू थिए, मज्जैले झुक्यायाैँ ।
जब हामी नागढुङ्गा (असेःक्लुङ्)को टुप्पोमा पुग्छौं । जहाँ महागुरुले नब्बे दशक वरिपरि होमादी गरेको दुर्लभ स्थान । ३०४० मिटर उचाईमा रहेको यो डाँडामा थोरै समथर छ । महागुरु फाल्गुनन्द ज्यूको अग्नीकुण्ड, यहाँ पुग्दा १२ः४५ मध्यान्ह भएको छ । युक्ना (अकेन्द्रवाद) साहित्यिक अभियानका अभियान्ता श्याम तुप्फानले साहित्यिक कार्यक्रम प्रारम्भ गर्छन् । सर्वप्रथम बालकवि हाङ्मा नेम्बाङ् कविता ‘झरना’, लाजीमा नेम्बाङ् दुईटा कविता ‘दशैं तिहार’ र ‘मेरो परीवार’, कवि हेम सेमिक्वा ‘याक्थुङ् गजल’ र कविता ‘गाउँबेँशीको सम्झनामा पालाम’, कवि मीन अकेला कविता ‘चुली चुम्ने’, कवि मणीराज नेम्बाङ् कविता ‘भुसिया कुकुरहरू’ र लघुकथा ‘परिचय’, श्याम तुप्फान कविता ‘यसपालीको दशैं’, अतिथि कवि गजेन्द्र सोझे राई कविता ‘अपरिमेय कलेवर’ र प्रमुख पथप्रदर्शक तथा वहुरंगवादी प्रमुख चिन्तक एवम् शक्तिशाली कवि समदर्शी काईला कविता ‘मेटामोर्फोसिस् जीन्दगी’ प्रस्तुत हुन्छ । बालकवयत्रीहरू लाजिमा नेम्बाङ् र हाङ्मा नेम्बाङ्को वालकविताहरूमा प्रकृतीप्रेम, पारिवारिकता र संस्कृतिप्रेम झल्किन्छन् । यसरी नै हेम सेमिक्वाको याक्थुङ् गजलले वाहवाही पाउँछन् भने शक्तिशाली कविता समदर्शी काईला ‘सोधुङ्गेन् लेप्मुहाङ्को जलप्रलय आख्यानभित्र स्वप्नील मेटामोर्फोसिस् जीन्दगी’ बनाउँछन्, काव्यमा । कवि गजेन्द्र सोझे राई जमिन ‘हरेक रूपहरूमा, आवरणहरूमा, भूगोलहरूमा तथापी राज्यहरूमा अस्पष्ट चित्रहरू’ मात्र देख्दैछन् । यसरी नै मणीराज नेम्बाङ्को कविताभित्र किनिमा फेक्ट्री विम्व साँच्चै शक्तिशाली शब्दमा ग्रहण हुन्छ । यसरी नै युक्ना (अकेन्द्रवाद) सिद्धान्तभित्र रहेर वाचन भएको हेम सेमिक्वाको कविता ‘गाउँवेशीको सम्झनामा पालाम्’मा पालामी रागले समदर्शी काईलालाई त पूर्ववर्ति फूलहरूको नोष्टाल्जिक चित्रहरू बनेको सुनाउँदैछन् भने श्याम तुप्फानको कविता ‘यसपालीको दशैं’ले पनि उस्तै । कवि मीन अकेला ‘चुली चुम्ने’ रहरहरूले हामीलाई स्तव्धै बनाउँछ । वाल गायिका नुना नेम्बाङ्को गीतले असेःक्लुङ् डाँडाको चिसो सुसाई समेत भुलाउने सुन्दर कोकिल स्वरले लुकाई दिन्छ । धन्यवाद छ, यस्तो उचाईमा पुग्ने बालगायिका र वालकवि नानीहरूमा ।
युक्ना साहित्यिक यात्राक्रमको कविता गोष्ठी हुँदैगर्दा आकाशले आँशू झार्न, घुम्टो ओडाउनु र विरक्त प्रश्वासको वहाईले पनि छेक्न सकिनन् । काव्य वगाई निरन्तर रहन्छ । बेलामौका कौवाहरूले पनि बादलभित्र रहेर हाम्रो काव्य वाचनमा सघाउने काम गर्छन् भने जुकाहरूले पनि कविताहरू सुन्न हामीतिरै बढ्छन् । तथापी कविता सुन्न दिइएन, उनीहरूलाई । महागुरुको अग्नीकुण्ड साँची राखेर विभत्स हत्या गरिन्छन्, जुकाहरूलाई । काव्य रचना वाचन समाप्त भएपछि जङ्क फुडको नास्ता हुन्छ भने लेक नलाग्ने ओखति पनि चल्नेसम्मलाई ओखति सेवन हुन्छ । प्लाष्टिकहरू सबै व्यवस्थापन हुन्छन् । खाजा बोक्ने भाई इङ्सो नेम्बाङ्लाई धन्यवादको पात्र बन्छन् किनकि पौवाभञ्ज्याङ्देखि असेःक्लुङ् डाँडासम्म अढाईघण्टे यात्रामा खाजाको बाकस बोक्छन् । बाक्लो हुस्सु, सिमसिम पानी अनि एकोहोरो ईलामतिरको हावा वहाईले केहि साथीहरू असामयिक धामी निस्कन थाल्छन्, गुरुविनाको । यसमा अर्जुन लिम्बूलाई ढ्याङ्ग्रो चाहिने परिस्थिति बन्छ तर सम्हालिन्छन् । नानीहरू पनि तेस्तै गुरुविनाको धामी । हुनु पनि हो नि, तिनहज्जारभन्दा उच्च स्थानको यात्रा हुँदैछ हाम्रो । वास्तवमा लेक लाग्नु पर्ने हो तर लेक लागेन कसैलाई । धन्य छ, यसक्षेत्रको देवी देवताहरूलाई ।
हामीलाई लाग्छ, पाःन्थरे कविता गोष्ठीहरूमा पनि सबैभन्दा उच्च स्थानमा गरेको यो पहिलो हुन सक्ला भन्ने तर्क कवि समदर्शी काईला राख्नुहुन्छ, तेही ३०४० मिटर उच्च स्थलमा । नास्ता सेवन सकेपछि प्रमुख पथप्रदर्शकको पछि लाग्छौं । उहाँले अलिक तल्तिर असेःक्लुङ्को धर्मद्वारमा गोटागन्ति छिराउँछन् एकएक गरी र हामी छिर्छौं । कुनै पापी थिएनछौं, जीउ अड्केन । यसपछि वास्तविक नागढुङ्गा (असेःक्लुङ्) थानमा झार्छन्, मालिङ्गो बोटहरू समात्दै । अहो, क्या गजव । तेहाँका ढुङ्गाहरूमा साँच्चै सर्पहरू (असेःक्) कुँदिएका दृष्यहरू । ढुङ्गाको आवरणमा सर्प चित्रसँगै टाउको चट्ट निस्केको लगभग डेढफिट जत्ति । सबैले फोटो कैद गर्ने कार्य हुन्छ, यहाँ । कवि जमिन भन्दैछन् । राई भाषामा त पलुङ् पो भन्नुपर्छ कि क्या हो । मेरो सहमती हुन्छ । नेपाली भाषामा नागढुङ्गा, याक्थुङ् भाषामा असेःक्लुङ् र राई वान्तवा भाषामा पलुङ् ।
असेःक्लुङ् दृष्यावलोकन पछि पूनः सोही मार्गहुँदै फर्कन्छौं, प्रमुख पथप्रदर्शकको पछि लागेर । उत्ता कवि मीन अकेलाले भने लेक नलाग्ने ओखति सेवन गर्छन्, निक्कै पटक । अब लोहाकिल् (नाम्धाङ्)पट्टि यात्रा तन्किँदैछ । अचम्म लाग्छ । इलाम साइड त पुरै चिल्लै भीरहरू र कुनै रूखपात नहुने तर पाँचथर तिर भने माथि टुप्पोसम्मै रूखहरूमा पनि गुराँसका रूखहरू र बाक्लो । बाटाभरि गाईहरू चरिरहेका र जुका सेनाहरू प्रशस्तै उभेका । चोःत्लुङ् डाँडाबाट ओरालो लाग्दैगर्दा समदर्शी काईलाले एक्लै उभिराखेका लालीगुराँसलाई आफ्नो जीवनको बिम्ब बनाएर ‘यो लालीगुराँस जस्तै मेरो जीवन बाँचीरहेछ’ शब्दले मलाई विक्षिप्त बनाउँछन् । यसरी नै डाँडैडाँडा यात्रा वगी रहेको छ तर आकाशले के चित्त बुझेन । नेपालको ईलाम, झापा, मोरङ्, सुनसरी, पाँचथर, ताप्लेजुङ्, तेरथुम, धनकुटा, भोजपुर, संखुवासभा, हिमालहरू अनि भारत तिरको दार्जिलिङ्, खर्साङ्, कलकत्ता, सिलगुडि आदि परिदृष्यहरू लुकाई रहिन् । वशः यत्ति हो, परिदृष्यहरू घुम्टोले छोपिदिएपनि असेःक्लुङ्, चोःत्लुङ, लोहाकिल् (नाम्धाङ्) डाँडाहरूलाई प्रत्यक्ष स्पर्श र मिठो चुम्वन भने गरीरहेकै छौं । इलाम पाँचथरको पानीढलो, डाँडाको धार, बाटोक्षेत्र लगभग दुइतिन मिटरमात्र फराकिलो अन्जानवश लडियो भने अडिने ठाउँ नरहने भञ्ज्याङ्हरू नाघ्दै लोहाकिल् (नाम्धाङ्) पुग्छौं । वाफरे यो त समुद्री सतहदेखि ९८५० फुट (अ. ३०७८ मिटर) उचाई रहेछ । कवि समदर्शी र कवि जमिनको भनाई अनुसार श्रीअन्तु र दार्जिलिङ्को टाइगर हिलभन्दा सुर्योदय दृष्य हेर्न सबैभन्दा राम्रो देखिने स्थान नै लोहाकिल (नाम्धाङ्) डाँडा हो भनेर सुनाउँदैछन् । क्या आनन्द, यो त फाल्गुनन्द गाउँपालिका वडा नं. ३, देउमाइ नगरपालिका वडा नं. १४ र फेदेन नगरपालिका वडा नं. १३ को तिनसिमाना पर्दो रहेछ । फालेलुङ्मा एकताका तिनदेशको सिमाना भएकोले तिनसिमाना भने झैंं । भव्य फोटो खिचाई वन्छ । यसै बेला श्रीअन्तु पनि जाने सल्लाह कवि जमिनको प्रस्ताव आउँछ । लोहाकिल (नाम्धाङ्) वास्तवमा सिमाना भन्ने नै अर्थ हुन्छ भनेर समदर्शी काइँला भन्दै हुनुहुन्छ ।
लोहाकिल (नाम्धाङ्)को टुप्पोबाट देउमाइ नगरपालि र फाल्गुनन्द गाउँपालिकाको सिमाना बाटो भएर ओरालिन्छौं । तल तल निक्कै तल हुँदै देउराली पुग्छौं । यसक्षेत्रमा भने मोटरबाटो पुगेको छ तर रक्से मास्तिर बाघखोरबाट । देउराली चौबाटो रहेछ । मसिना फब्ल्याटो ढुङ्गाहरू कुनै चढाएर भने कुनैले उठाएर दर्शन गरिँदो रहेछ भने यो स्थान समुद्री सतहदेखि तिनहजार मिटर उचाई रहेछ । यहि देउरालीमा लाजिमा नेम्बाङ् र हाङ्मा नेम्बाङ्ले नाच नाचेर हामीलाई आमोदप्रमोद गराउँछन् । धन्यवाद छ, नानीहरूलाई । यसपछि कुइभिर अथवा कुहिरोको भीरतिर लाग्छौं । आक्को हाउ भीर त, वाफरेवाफ । तलदेखि माथिसम्म आँखाले नदेख्ने अनौठो खाले भीर अनि धारे पहाडको नाकेढाँडी बाटो । अन्जानवश चिप्लेर लडियो भने काँ पुगिन्छ बेटुङ्गो । अडिने ठाउँ पनि छैन । मानिसहरूले पहिले–पहिले सुतेरमात्र भीरदेखि तल हेर्थे रे । सिधैं उभेर हेरी नसक्नुको भीर ।
डरलाग्दो भीरको हेराई पश्चात तेसैभीरको मुनी भएर फर्कन्छौं । यसै भीरको काखबाट चिम्फिन अर्जुन लिम्बूले लिन्छन् सबै बोट । चिम्फिन् आलु उसिनेर अचार बनाई खाएमा चटनी पनि हुने, कोरोना, मार्गि र रुघाको ओखती पनि हुने । जंगलै–जंगल भएर करेङ्–करेङ् भीरहरू हेर्दै ओरालियाैँ । गजव के रहेछ भने कुइभिरको भीरबीचबाट भित्रभित्रै हिडेर माथि टुप्पीमा पुग्न सकिने र तेहाँ सानो पोखरी छ भनेर समदर्शी काईला र जमिन दुवैले सुनाउँछन् । कवि जमिन सानो छँदा तेसभिरमा चढेको अनुभव सुनाउँछन् । यो जंगलमा खर्सु, काउलो, बज्राँठ, गुराँस, मालिङ्गो लगायत विभिन्न जडिबुटिहरू पाइन्छन् । वनकारहरूमा मृग, मुनाल, कालिज, लुइचे, बनेल आदिहरू पाइन्छन् भने पहिले–पहिले बाघभालु, स्यालहरू पाइएता पनि अचेल हराएर गएको कुरा प्रमुख पथप्रदर्शक समदर्शी काईलाले जानकारी दिन्छन् । उहाँहरू सानामा घाँस काट्न समेत कुइभिरसम्म पुगेर घाँसको भारी लिएर देउमी पोखरीमा चिया खाई मालिङ्गेको घरसम्म भारी पु¥याएको नोस्टाल्जिक अनुभवहरू सुनाउँछन् । जुका सेनाहरूसंग जोगिँदै–जोगिँदै निक्कै तल झर्छौं । अलिक पारी लामो टार, जहाँ फुटवल खेल्दै गरेको देख्छौं । प्रमुख पथप्रदर्शक भन्छन् । तेहाँ फुटबल प्रतियोगिता र बजार लाग्दैछ । बजार भरेर जानुपर्छ र तेही टेक्सि बोलाउनु पर्छ । यसै मुताविक मैले टेक्सिका भाई दिलेन्द्रलाई फोन हिर्काउँदै झर्छु । फोन डाइल गर्दा आँखा चैं फोनमा तर खुट्टाले गोवर चुमेछ क्यार । कुखुरा चिप्लाई हुन्छ । सबै एक स्वादले गलललल हाँस्छन् । चाकमा गोवर रङ्गिन्छ, वास्ता गर्दिन । हाँसो सुनेर मलाई पनि एकस्वाद नै हुन्छ । टेक्सि तेहि फुटबल खेल्दै गरेको देउमी पोखरी आउने निधो हुन्छ । हामी पनि बेलुकाको साडेचार बजे मेलामा पुग्छौं र टेक्सि पनि । फुटबल हेर्दै गर्दा एकताका देउमी, राँकेको फुटबल नायक डेण्डु शेर्पासंग भेट हुन्छ । उहाँले हाम्रो साहित्यिक यात्रुहरूलाई उहाँकै छोरी बुहारीहरूको होटलमा चियानास्ता खेलाउँछन् । उहाँलाई धेरैधेरै धन्यवाद दिन्छौं । डेण्डु शेर्पालाई भेटेपछि एउटा पुरानो ख्यालीमा नोष्टाल्जिक हुन्छु ।
‘ए
राँकेको धप्पर, अभागी खप्पर ।
सुनेर जाँदा, लाग्दछ चक्कर ।।
देउमीको शीरमा, लाग्दैछ मेला ।
खेलाडी खेल्न, फुटबले भेला ।।
काईला र सैँला, हिडेछन् पैला ।
पछ्यौदै जान्छौं, खैला र बैला ।
.........’
यो टारको विषयमा गफ हुन्छ । वास्तवमा प्राकृतिक टारमा फुटबल खेलाई रहेको देख्छौं । यसलाई सम्याउनु हो भने यस्तो उच्च क्षेत्र अधिक राम्रो फुटबल मैदान बन्न सक्ने रहेछ । हाइ अल्टिच्युटमा फुटबल मैदान बन्न सक्ने नै देखिन्छ भने देण्डु शेर्पा, आस्मल राई लगायत प्रमुख पथप्रदर्शक समदर्शी काईला र कवि जमिनले यस टारलाई हवाई मैदान बनाउन सके यसक्षेत्रको नागरिकहरूमा आर्थिक सुधार हुने प्रस्ताव राख्छन् । वास्तवमा यो डाँडेटारलाई हवाई मैदान बनाउन सकिने प्राकृतिक बनोट नै परेको छ । नेपाल सरकारले देख्न सकेमा यसक्षेत्रका सबै नागरिकहरूले हवाई मैदान चाहेको नै महशुस मलाई दिन्छ । यो मेलामा कसैले डाइस खेलेर, पानी पुरी खाएर, चटपटे खाएर, चिया खाएर एकछिन अलमल पछि लगभग साडे पाँचबजे फर्कन्छौ, धप्पर, धप्परटारको मेची राजमार्ग भएर राँके पुग्छौं । तेहाँ पनि चियानास्ता गरेर सातबजे बेलुका प्रमुख पथप्रदर्शक समदर्शी काईँला, कवि जमिनहरूलाई घरबाटोनेर उतार्दै गुम्बा, सारताप याम्बोङ् भएर आ–आफ्नो गन्तव्यमा बेलुका आढेआठ बजे पुग्छौंं ।
जब म गन्तव्यमा पुगेर नाम्धाङ्, असेःक्लुङ् र कुइभिरको बारे कल्पना गर्छु । साँच्चै नेपाल सरकार जनताको हुनु हो भने र विकास चाहन्छ भने यसलाई व्यवस्थापन गर्न केहि गारो पनि छैन । यो त प्राकृतिक निर्माणलाई अलिक रंगरोगन गर्नु मात्र पर्छ । नाम्धाङ् (लोहाकिल)मा सामान्य गारो लाएर सयाैँ मानिस अँट्ने भ्युटावर बनाई पर्यटक बोलाउन सकिन्छ । जसमा कु–कुन महिनामा सूर्योदय सठिक देखिन्छ । यसको केहि तल सुकेपोखरी (केजप्पा वारःक्)मा होटलहरू व्यवस्थित बनाउन राज्यतहबाट बैंकिङ् सेवाहरू पाउनुपर्छ । उकालो जाने बाटोलाई सुधार गरेर रेलिङ् सहितको प्राकृतिक स्टेप (खुड्किला)हरू बनाएर लैजानुपर्छ । चोःत्लुङ् डाँडामा मानिसहरू कावा खेल्ने सुरक्षित चौतारो बनाउनु पर्छ र लामो राम्रो शिला स्तम्भ राखिनुपर्छ । असेःक्लुङ् डाँडामा महागुरु फाल्गुनन्दले होमादी गरेको स्थानमा संरक्षण गरेर सयाैँ सत्यहाङ्मा पन्थीहरूको मोक्षस्थल बनाउनुपर्छ । लोहाकिल् (नाम्धाङ्(देखि चोःत्लुङ् डाँडाहुँदै असेःक्लुङ् डाँडासम्म प्राकृतिक सोलिङ्, ठाउँठाउँमा विश्राम र फोटो खिच्ने चौतारोहरू, वारपार रेलिङ्, हुस्सु वा शीतबाट पानी जम्मा गर्ने प्रविधि र पानीको व्यवस्था, डस्टविनहरू बनाएर एकघण्टे पैदलमार्ग बनाइनुपर्छ । यसपछि लोहाकिल (नाम्धाङ्)देखि तल कुइभिरसम्म प्राकृतिक सिँढी बनाएर लैजानुपर्छ भने देउराली क्षेत्र वा आसपासबाट प्याराग्लाइडिङ् उडाउने गन्तव्य बनाउनुपर्छ । कुइभिरको टुप्पोमा फलामे चौतारो बनाई भीर हेर्ने र धारेडाँडाहरूमा रेलिङ् र प्राकृतिक बाटो बनाईनुपर्छ । यसपछि कुइभिरहुँदै सुकेपोखरी (केजप्पा वारःक्)सम्म राम्रो बाटोको व्यवस्था गर्नुपर्छ । जंगल एरियामा जंगल भिलेज खोलेर व्यवसाय बढाउन सकिन्छ । यहाँ फाल्गुनन्द गाउँपालिका क्षेत्र, फेदेन नगरपालिका क्षेत्र र देउमाइ नगरपालिका क्षेत्रबाट पीच मोटरबाटो बनाएर लोहाकिल (नाम्धाङ्)को तल्लो क्षेत्रसम्म लैजानुपर्छ । सम्भव रहन सके राँके वा पौवा भञ्ज्याङ् वा देउराली वा धप्परटारलाई केन्द्र बनाएर केवलकार सञ्चालन गर्न सकिन्छ । यसरी पर्यटन प्रवर्धनका लागि नेपाल सरकारले भरिपुर्ण सहयोग गरेमा यसक्षेत्रको जनताले रोजगार प्राप्त गरी आर्थिक उपार्जनमा ठूलो सहयोग हुने नै छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...