देशले चिन्न नसकेको प्रतिभा - १

६५ वर्षसम्म उनले रेखा ‘कोरेकोकोर्यै, कोरेकोकोर्यै’ गरे । उनले कोरेका रेखाहरू विशुद्ध पेन्टिङका रेखाहरू थिएनन्, न अङ्कगणित या ज्यामितीय रेखाहरू नै । यतिका वर्ष रेखा कोरेकोकोर्यै गर्दा उनका अनुहारमा पनि रेखाहरू देखिए । कपाल फुले । एउटा आँखाले देख्न छाड्यो । तर, उनी निरन्तर रेखा कोरेकोकोर्यै गर्दै रहे । विश्वमा धेरै कलमहरूले धेरै लिपीहरू लेखे, शास्त्रहरू लेखे । तर, विश्वको सबै प्रकारको नृत्यका लागि उपयुक्त हुने गरे नृत्य लिपी भने लेखिएको थिएन । र, आकस्मिकता- यस प्रकारको लिपी लेख्नको लागि माओत्सेतुङ्गले उपहारस्वरूप दिएको ‘माओ पेन’ नै अगाडि सर्‍यो ।  

यहाँ कुरा हुँदैछ- नृत्य गुरु भैरवबहादुर थापाकृत ‘नृत्याक्षर विज्ञानको ।’ नाचको प्राविधिक पाटोलाई समेटेर थापाले नृत्याक्षर विज्ञान नामक एक अभूतपूर्व कृति तयार पारे, जसले ०७८ को जगदम्बा श्री पुरस्कार समेत प्राप्त गर्‍यो । थापाले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा (छ दशकभन्दा बढी) यही पुस्तक तयार पार्न लगाए । यसप्रकारको कृति यसअघि न कसैले तयार पारेको थियो, न भविष्यमा तयार गर्न सक्ने सम्भावना नै देखिन्छ । यसैकारण यस कृतिलाई ‘भूतो न भविष्यत्’ भन्दा अतिशयोक्ति सुनिँदैन ।



नृत्याक्षर विज्ञान वैदिक रेखा (त्रिकोण, चतुष्कोण, षट्कोण, पूर्ववृत्त, अर्धवृत तथा अङ्क रेखा)हरूको चिन्तन-मनन हो । हिमाल, पहाड र तराईका ग्रामीण भित्ते चित्रका रेखाहरूको अध्ययन हो । अनेकन् देशका अक्षर एवं लिपीहरूमा कोरिएका मानव अङ्गहरूको चालको अवलोकन हो । मेडिकल र इन्जिनियरिङ विधामा प्रयोग हुने साङ्केतिक चिन्हहरूको नर्तन कोणीय नजरिया समेत हो । सोझो हिसाबले भन्नुपर्दा, नृत्याक्षर विज्ञान नृत्य विधाको अक्षर विज्ञान हो । सङ्गीतको लिपी अक्षर भएजस्तै यो नृत्यको लिपी शास्त्र हो ।

यस पुस्तकलाई ९ भागमा विभाजित गरिएको छ । अङ्ग अध्याय, पाउ अध्याय, आङ्गिक चिन्ह तथा चाल अध्याय, हत्केला अध्याय, हात अध्याय, औँला अध्याय, मुखाकृति अध्याय, अङ्ग संयोजन अध्याय, नृत्य लिपी अध्याय लगायतका खण्ड-उपखण्डमा पुस्तकलाई विभाजित गरिएको छ। 

भाग-१ को ‘अङ्क व्यञ्जनका वर्णमाला’ मा लेखिएको छ, “शरीरका विभिन्न अङ्ग, प्रत्यङ्ग र उपाङ्गहरूलाई अङ्ग व्यञ्जनका वर्णमाला भनिन्छ । अङ्ग व्यञ्जनहरू नृत्य र अभिनयका उद्गम स्रोत मानिन्छन् । यिनै स्रोतलाई अङ्गका व्याकरण पनि भनिन्छ । अङ्गका स्रोतहरू जम्मा २६ थरिका हुन्छन् । यिनै अङ्गका व्यञ्जनहरूलाई कण्ठस्थ गर्नका निम्ति छान्दिक लयमा निम्न बमोजिम प्रस्तुत गरिएको छः

आँखा, आँखीभौँ, बायाँ पाउ । कम्मर, परेला, दायाँ पाउ ।।
जिब्रो, ओठ, नाक सहित । गाला, चिउँडो, दाँत सहित ।।
कुइना, कुम, र छाती तीन । हात, हत्केला, घुँडा चाल ।।
हर्थुङ्गो अनि औँलाको । जम्मा अङ्ग छब्बीस भो ।। 



थापाले काठमाडौँ उपत्यकाको कला, संस्कृतिलाई प्रचारप्रसार गर्न आफ्नै अग्रसरतामा विसं २०१० मा ‘भैरव नृत्य दल’ सुरु गरेका थिए, जसबाट उनले विभिन्न कार्यक्रमहरू भारत, चीन एवं युरोपेली देशहरूसम्म पुर्‍याई नेपाली लोक-संस्कृतिको प्रदर्शन गर्ने-गराउने काम गरेका छन् ।

उनी नेपालको पहिलो सांस्कृतिक सूत्रधार समेत हुन् । नेपाल र चीनको मैत्री इतिहासमा पहिलो नृत्य (किसान’ नामक एकल भाव नृत्य र ‘नेपाली डम्फु नृत्य) थापाले नै पस्किएका हुन्, यसकारण उनी नेपाल र चीनबिच ‘मितेरी रङ्गमञ्च’ उघार्ने पहिलो ऐतिहासिक सूत्रधार पनि हुन् ।  थापा नेपाली मूकनाट्य (ब्याले) र गीतिनाट्य (अपेरा)को सुरुवात गर्ने प्रथम सर्जक समेत हुन् ।

नृत्याक्षर विज्ञान कसरी तयार भयो ?

कुरा जुलाई १९५६ को हो । 

नेपाल सरकारलाई चीन सरकारको तर्फबाट सांस्कृतिक सम्झौताको प्रस्ताव आयो । सो मैत्रीपूर्ण भ्रमणको निम्तोमा तत्कालीन शिक्षा मन्त्री एवं इतिहासकार बालचन्द्र शर्माको नेतृत्वमा बुद्धिजीवी वर्गको सांस्कृतिक शिष्टमण्डलसहित थापा चीन पुगे । तर, सो मण्डलमा दुई पटकसम्म थापाको नाम पारिएन । पछि, राजा महेन्द्रले थापालाई हुकुम गरे, “तिमी चीन जानुपर्छ । देशको नाम राखेर आउनू ।” राजाको  हुकुमपश्चात् थापा ६ जुलाईका दिन चार जवान लोक कलाकारहरूको नेतृत्व गर्दै भारतको कलकत्तामा पर्खिरहेका नेपाली प्रतिनिधिमण्डलसँग मिसिन पुगे । सो प्रतिनिधिमण्डल ९ जुलाईको दिन माओत्सेतुङ्ग ‘महाचीन’ पुगेको थियो । 



११ जुलाई १९५६ मा चीनका अध्यक्ष माओत्सेतुङ्ग, प्रधानमन्त्री छाउ-एन-लाई सहितको हजारौँ दर्शकबीच पेकिङस्थित एक राष्ट्रिय भवनमा थापाले ‘किसान’ नामक एकल भाव नृत्य र ‘नेपाली डम्फु नृत्य’ प्रस्तुत गरे । नेपाल र चीनको मैत्री इतिहासको यो पहिलो नृत्य हो । यसप्रकार थापा नेपाल र चीनबिच ‘मितेरी रङ्गमञ्च’ उघार्ने पहिलो ऐतिहासिक सूत्रधार बन्न पुगे । 

सो नृत्यपश्चात् थापाले माओत्सेतुङ्बाट एउटा फाउन्टेन पेन प्राप्त गरे । प्रधानमन्त्रीले ‘अरू प्रान्तमा नृत्य प्रस्तुति गर्नु आवश्यक रहेको’ बताउँदै तीन हप्ताको समयावधि थपिदिए पनि थापा दुई हप्ता उतै रहे । सो भ्रमणका क्रममा उनले विभिन्न प्रान्तका सहरहरूमा नृत्य प्रदर्शन गरे । सो अवसरमा कुन्मीङ्ग नृत्य पनि देखे । उनलाई त्यस नृत्य टिपोट गर्ने इच्छा भयो तर टिपोट कसरी गर्ने रु समय मात्रै होइन नृत्य टिपोट गर्नका लागि कुनै लिपी नै थिएन । नृत्यका चालहरूलाई लेखेर पनि साध्य भएन । थापा भन्छन्, “आज देखाइएको नृत्यको कुनै नोटेशन जस्तो केही टिपोट इंगलिश भाषामा छ भने पाउन सकिन्छ भनेर सोधेँ । तर डान्सको नोटेशन नै नहुने जवाफ पाएँ । यसपछि मलाई लाग्यो नृत्य लिपीको निर्माण स्वयं आफैँबाट किन नगर्ने ?”

‘नाचको भाषा लेख्न सुरु त गरे तर भाषै छैन’, थापा भन्छन्, ‘अभिनय हुँदो हो भने यसो उसो भनेर कुनै पनि भाषामा उतार्न सकिन्थ्यो होला तर नृत्यलाई कसरी उतार्ने ? नृत्यलाई व्याख्या गर्ने भाषा नै पो रहेनछ ।’ 

यसपछि थापाले नृत्यको भावभङ्गीमालाई नयाँ भाषा दिलाउने सुर कसे । माओत्सेतुङ्को उपहार ‘माओ पेन’ बाटै २०२० सालमा नृत्यलिपीको लेखन कार्य प्रारम्भ भयो । 



पुस्ताको भूमिकामा थापा लेख्छन्, “वास्तवमा चालित अङ्ग प्रत्यङ्ग लाई छल अवस्थामा बोध गराउने साङ्केतिक लिपीको अध्यायलाई छिटो र छरितो ढङ्गले प्रकट गराउने कार्य सहज थिएन । त्यो जटिल कार्यमा समर्पित हुँदा प्रत्येक वर्षको अनेक रङ्गिन मौसम र सङ्गिनरूपी भयावह मौसमहरू कुन-कुन बेला कुन-कुन स्थानमा आए(गए, त्यो हेका मलाई हुन सकेन । जब चल अङ्गका लिपी उपयुक्त आकारमा प्रकट भयो तब, रचनाकारको छटपटी दूर भयो ।”  

थापाले नृत्यलाई लिपी त दिए तर त्यसलाई डिजिटलाइजेशन गर्न गाह्रो पर्‍यो । ०५१ साल तिर काठमाडौँका साइबरहरू निकै व्यस्त रहन्थे । एक त पालो पर्खिनुपर्ने । दोस्रो थापाले डिजाइन गरेका लिपीलाई कम्प्युटर उतार्ने मान्छे भेट्नै गाह्रो । “हामी सिट टाइप गर्ने समय छैन । अन्तै जानुस्’ भन्ने खालका कटुवचन पनि उनले पटक(पटक सुने । 
केही महिनापश्चात् ग्राफिक्स डिजाइनर प्रकाश वाग्लेको सहयोग थापालाई प्राप्त भयो । वाग्लेले मानिसको भीड लागिरहने साइबरमा आफ्नो पालो पर्खिरहनु पर्ने झन्झटबाट थापालाई उन्मुक्ति दिलाउन एउटा उपाय अगाडि सारे । उपाय थियो- वाग्लेको भाइ ध्रुव । ध्रुव बिबिए अध्ययनरत थिए । उनले हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म थापाकै घरमा गएर डिजाइन टाइप गरिदिने भए । 

यसप्रकार २०७७ को मङ्सिरदेखि सुरु भएको ‘नृत्याक्षर विज्ञानको पाण्डुलिपी’ले २०७६ मा पूर्णता पायो । यस पाण्डुलिपीको सम्पादन साहित्यकार एवं चलचित्र निर्देशक चेतन कार्कीद्वारा भएको हो भने नृत्याक्षर विज्ञानका प्रथम घोषित विद्यार्थी केपी पौडेल, अनमी बोहरा र श्रुति काफ्लेहरूले मिलेर नृत्यका प्रयोगात्मक पक्षलाई सम्पादन गरेका हुन् ।

आजसम्म कसैले लेख्न आँट गर्न नसकेको कलात्मक-शास्त्रीय कृति रचेर नेपालको गौरव बढाए तर दुस्खको कुरा राष्ट्रले उनलाई चिन्न सकेन । नृत्यगुरु भैरवबहादुर थापा देशले नचिनेको प्रतिभा हुन् । उनी  स्वयं यसकुरा बताउँछन्, “मैले देशकै लागि सबैथोक गरेँ, तर देशैले मलाई चिन्नै खोजेन । साह्रै खल्लो लाग्छ ।”

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...