डोल्पा, माझफालका प्रेमबहादुर बोहरा लेखक एवं सामाजिक अभियन्ता हुन् । सन् २००८ देखि सामाजिक काममा संलग्न बोहराको ‘कोग्ले : डोल्पाको युवाले चिहाएको संसार’ नामको संस्मरणात्मक कृति प्रकाशित छ । शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्षसमेत हुन् । 

बारम्बार सुनिने तर बिरलै पुगिने, देशको एउटा ठूलो, दुर्गम, विकट तर सुन्दर भूभाग  कर्णालीप्रति कर्णालीबाहिरका हामी निरन्तर कथित संवेदनशीलता देखाईरहन्छौँ । तर वास्तविक कर्णाली के हो ? डोल्पाली युवाले चिहाएको संसार कस्तो छ ? 

प्रस्तुत छ, द मार्जिनको साप्तहिक स्तम्भकिनाराका साक्षीका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री :

‘कर्णाली’को बारे लेख्नुभयो, कति कर्णाली लेख्नुभयो ? कति कर्णाली लेख्न बाँकी होला ? तपाईंको अनुभूतिमा कर्णालीको सजीव चित्र के हो ?

शहरबाट कसैले समस्याले ग्रस्त कर्णाली, त कसैले आहा रमणीय कर्णाली देख्छन् । यी दुबैले जीवन बनेको हुन्छ । कोग्ले मार्फत डोल्पामा जन्मिएको एउटा बालक युवा हुँदासम्मको हुर्किँदाको एउटा जीवन रमाई, भोगाई, सिकाई अर्थात् एक युवामार्फत् देखिएको कर्णालीको जनजीवनका अनेक आयामहरू कोग्ले पुस्तकमा भेट्न सकिन्छ ।

यो त शुरूवातमात्रै हो । कयौँ अलिखित कथाहरू छन् जुन लेखिने र नलेखिने कुनै निश्चित छैन । मैले केहीमात्र भएपनि कथाको खानीबाट थोरै कोट्याउने प्रयास जारी राख्नेछु, आगामी दिनहरूमा ।

‘कोग्लो (मकैको च्याख्लाबाट बनाइने खानाको एक परिकार)’ खाएर हुर्कीबढेका कोग्लेहरूबाट पुस्तकको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ? साहित्य वृत्तमा तपाईंको चर्चा छ । पहिलो किताबबाट कतिको आशावादी हुनुहुन्थ्यो ?

सोँचेकै भयो । कोग्ले शब्द गालीको रूपमा स्थापित थियो भने अहिले त्यसको जरा हल्लिएको महसुस भइरहेको छ । कोग्ले शब्द कहिल्यै सुन्न नपरोस् भनी चाहनेहरूले नै यसको बारेमा चर्चा गर्ने, इज्जतको रूपमा लिने र अझ प्रचार गर्नुपर्छ भन्ने जस्ता प्रतिक्रिया दिएको देखेर म आफैँ छक्क छुँ । यस्तै हुन्छ तर त्यसको लागि केही समय लाग्छ भन्ने सोँचेको थिएँ, तर धेरै पर्खिन परेन । हिजो गाउँलेलाई दुखी बनाउने र पीडा दिने शब्दले आज खुसी दिइरहेको छ । आनन्द पनि ।

आशावादी त भइन्छ नै तर यतिसम्म चाहिँँ आशा राखेको थिइन । आफ्नो सृजनालाई कोग्लेहरू र कोग्ले शब्द पहिलोपटक सुन्नेहरू दुबैले मन पराइदिँदा शुरूमा आफैँलाई पत्यार लागेन । कतै सपनामा पो यो चर्चा भइरहेको हो कि जस्तो  लाग्थ्यो । अहिले म एकातिर उत्साहित छुँ भने अर्कोतिर अव लेख्नुपर्छ भन्ने जिम्मेवारीका साथ अझ राम्रो गर्नुपर्छ भन्ने महसुस गरिरहेको छुँ । 

मकै, कोदो र फापरका परिकारहरू अर्गानिक र सम्भ्रान्त खानाका परिकार बनिरहेको आजका महानगरवासीहरूलाई ‘कोग्ले’ को स्वाद चखाउने इच्छा कसरी प्रकट भयो ? ‘कोग्ले’ को लेखनगर्भबारे बताइदिनुहोस् न ।

गाउँलेहरू हीन भावनाले ग्रस्त थिए र अझै छन् । हाम्रो गाउँका हरेक घरपरिवारको घर छ, परिवार छ, जग्गाजमिन छ, गाईवस्तु छन् । भेडाबाख्रा र घोडाभैंसी पनि छन् । तर पनि आफूलाई संसारकै दुःखी र गरीब सोँच्छन् ।

हो, समस्या छन् । आधुनिक प्रविधि र विकासले छुन पनि गाह्रो मानिरहेको छ, जसले गर्दा सडक, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता पुर्वाधारहरू छैनन् र भएका पनि कमजोर अवस्थामा छन् । यही कारणले हामी बाहिरी संसारसँग प्रतिस्पर्धा त के जोडिनसमेत पाएका मुस्किल परेको छ ।  अर्कोतिर गैरजिम्मेवार राज्य छ, जसले देशसँग पनि जोडिने पुर्वाधार विकास गर्न असक्षम छ । नागरिकता त दिन्छ तर नागरिकको रूपमा गणना गर्दैन । सिवाय जनगणना र मतदानका दिन बाहेक अरूबेला कुनै मतलव छैन ।

यति हुँदाहुँदै पनि गाउँलेहरू आफ्नो पौरखमा बाँचेका छन् । आफ्नो उत्पादन गरेका छन्, जुन पौष्टिकताले भरिपूर्ण छन् । नेपालमात्र होइन विश्वले महँगोमा खान खोज्छन् । तर हामी आफैँ त्यसलाई हेला गर्छौं । यसको परिणाम त आफ्नै खाना गाली बन्न पुगेको हो । यही हीन भावनाले हाम्रो बाधक हो । पर्खाल हो जसलाई भत्काउनैपर्छ भन्ने ठम्याई हो मेरो । आफ्नो पहिचानको ख्याल राख्दा कतिधेरै सम्भावनाका ढोका खुल्छन् भन्ने बुझाईसम्म पुर्‍याएको र त्यहाँसम्म पुग्दाका जीवनका हजरौँ उत्तरचढावहरूको केही अंश हो, यो पुस्तक ।

आफू पनि चामलको लाइन बसेको छु भन्नुहुन्थ्यो, खाद्य संस्थानका बिक्री डिपोमा अनुदानको कुहिएको चामलको कथा पनि हो ‘कोग्ले’ ?

आफ्नो पौष्टिताले भरिपूर्ण र पहिचानलाई बोक्ने खानालाई हेला गर्ने अनि सरकारले जनताको विकासबाट कटाई ढुवानीमा अनुदान दिएको जस्तो गरी पठाएको कुहिएको चामललाई इज्जत दिने हाम्रो गाउँको सोँच विरुद्धको कथा हो, कोग्ले । राज्य र राज्यवाट पोषित् सीमित व्यक्तिहरूको यो चक्रव्यूलाई तोड्न स्वयम् स्थानीयले नै सक्छन् भन्ने हो । यतिमात्र नभई कोग्ले, यसअघि नै भनेझैँ, यो आफ्नो पहिचान र सामर्थ्यको खोजको यात्राको कथा हो ।

कोग्ले तपाईंको बाल्य एवं किशोरवयको कथा हो ? 

देशमा पञ्चायको अन्त्यसँगै बहुदलीय व्यवस्था लागू भएको समयमा जन्मिएको एउटा बच्चा हुर्कदै जनयुद्ध, जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रसम्मको अवस्थामा पुग्दा ऊ युवाअवस्थामा पुग्छ । टेलिफोनसमेत नभएको बेला जन्मिएको युवाले इन्टरनेटको उपभोगसम्म पुग्दाको डोल्पाको चित्र पाउन सकिन्छ । पुर्वाधार, प्रविधिमा समयक्रमले केही परिवर्तन ल्याएपनि आम जनजीवनमा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक र वातावरणीय जे समस्या र संभावना थिए, ती यथावतै छन् । त्यसबाट पार पाउने डोल्पाबासीको अधिकार हो भने त्यसबाट बाहिर निकाल्ने यो पुस्ताको कर्तव्यपनि । यस पुस्तकमा यीनै कुरामा छोएर एउटा युवाको अनुभव, अनुभूति र प्रयास समेटिएको कोग्लेको कथा हो ।

‘धुलोमा कपुरी क लेखे’ भन्नुहुन्थ्यो । त्यो कपुरी 'क' लाई सम्झिनुहोस् न । त्यस परिवेशतर्फ पनि इशारा हो मेरो ।

धुलोमा ‘क’ लेख्न पाउनुपनि मेरो लागि अहोभाग्यको कुरा हो । त्यसअघि त यति पनि छैन रहेछ  । तर अझै पनि अर्थात् मैले धुलोमा 'क' लेखेको ३० वर्षपछिपनि अवस्था लगभग उस्तै रहनु भने दुर्भाग्यको कुरा हो । यो कोग्लेहरू वा भनौँ, कर्णालीमा जन्मेकाहरूको दुर्भाग्यकोमात्र कुरा होइन । यो त राज्य र राज्यमा आसिनहरूको असक्षमता, अकर्मणयता र नालायकीपनको उदारण हो ।

‘नरे–मती युग’को बारे पनि लेख्नुभएको रहेछ, इतिहासप्रति पनि तपाईंको रुचि हो ? त्यस समान्ती युग र आजको गणतन्त्रमा के-कति भिन्नता र समानता भेट्नुहुन्छ ?

देशमा गणतन्त्र आएको छ तर डोल्पामा सामन्तीहरूलाई फलीफाप भइरहेको छ । जतिखेर देशमा सामन्ती युग थियो डोल्पामा के थियो र कस्तो थियो भनी बुझ्न तत्कालीन समयका नेताहरूको बारेमा अध्ययन गर्दापनि धेरै बुझ्न सकिन्छ । तर अहिले सामन्ती शब्दको अर्थ र यसको अन्तर्य बुझ्दा र अहिले गणतन्त्रमा जुन किसिमले नागरिक शासित हुनु परेको छ, त्यो हेर्दा अर्थ र व्यवहार ठ्याक्कै मिलेको पाउँछु । त्यो हेर्दा र डोल्पाको भविष्यको कल्पना गर्दा चित्र झनै डरलाग्दो देखिन्छ ।

एक वा दुई जनाले हजारौँ नागरिकहरूको पेटमा लात हानिरहेका छन् । लात खाने डर हो वा लातबाट बच्ने लोभले हो, नागरिकहरूपनि तीनैतिर लहसिन चाहेकोझैँ लाग्छ । मलाई लाग्छ, तत्कालको लोभ र डरले गर्दा आफ्नोमात्र नभई भावी सन्ततीको भविष्यमा पनि नागरिकहरूले दाउमा राखिरहेका छन् ।

सामन्ती व्यक्ति भन्दापनि सोँच र प्रवृति हो । सामन्तीले शासन गर्न र हैकम चलाउन त चाहन्छ नै, त्यसको अन्त्यका लागि नागरिकहरू स्वयम् जाग्नु जरुरी छ । पछिल्लो समयको कुरा गर्दा, केहीहदसम्म जागरण आएको मान्नुपर्छ । शिक्षा, श्वास्थ्य, रोजगारी र जनजीविकाको सवालहरू चर्को भएर उठिरहेको यो अवस्थाले ती सामन्ती प्रवृतिको जरा हल्लिइरहेको आभाष भइरहेको छ । जरा हल्लेपछि लड्ने छ निश्चित नै छ ।

डोल्पामा किताब, उज्यालो र रैथाने खाद्यान्न अभियानको अभियन्ता पनि हुनुहुन्छ, साथसाथै जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष पनि ।  लेखकीय भविष्य एवं राजनीतिक भविष्य दुवै उज्ज्वल देखियो नि ? तपाईंको आगामी योजनाहरू के-कस्ता छन्, थोरै बताउन मिल्छ ?

अभियान गर्नु, राजनीति गर्नु र लेख्नु वा अरू केही गर्नुको अन्तिम उद्देश्य एउटै हो, जीवनमा केही सार्थक परिवर्तन ल्याउँ जसले आफू, गाउँ, समाज र देश परिवर्तनमा योगदान दियोस् । हिजोको मैले र मेरो गाउँले भोगेको पीडा भविष्यमा पनि त्यही र अझ चरमपीडा बनोस् । अझ मैले चाहेको त, जुन थलोमा म जन्मेँ, त्यो आफैँमा आनन्दायी जीवन व्यतीत गर्नलाई पूर्ण छ । त्यसमा आधुनिक प्रविधि र विकासको लाइन जोडिदिने हो भने, पीडाको होइन, इच्छाइएको जीवन जीउन सकिन्छ । यतिभयो भने, त्यसको लाभ धेरैले लिन सक्नेछन्, कोही बासिन्दाको रूपमा त कोही घुमन्ते पाहुनाको रूपमा ।

मेरो आगामी योजना मैले पक्रेको बाटोलाई निरन्तरता दिने नै हो । सोँचेको पुरा गर्न साथदिने भन्दा बाटो नै भत्काउनेको जमात बढी सक्रिय छन्, त्यसका बावजुदपनि  आफ्नो लक्ष्य पुरा गर्न दृढ छु । यसअघिको आफ्नै यात्रा हेर्दा, सोचेको पूरा हुँदै आएको छ । 

त्रिपुरासुन्दरी नगरपालिकाले सम्पूर्ण जनप्रतिनिधिलाई काेग्ले किताब बाँडेको रहेछ, किताबको दोस्रो संस्करण पनि ५ हजार प्रतिमा छापिने कुरा सुने । अझ ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ पनि कोग्ले छानिएको छ । यसरी हेर्दा कोग्लेलाई सफल भन्न मिल्ने देखे । तर तपाईंलाई प्रश्न, कोग्लेको सफलताको कसी के हो प्रेम जी ? 

त्रिपुरासुन्दरी नपा मात्र होइन जिल्लाका अधिकांश स्थानीयहरूले कोग्ले पुस्तक किनेर विद्यालय र वडाहरूमा बाँड्ने गर्नुभयो । पुस्तक बेस्टसेलरमा आउनुका साथै साहित्य पुरस्कारका लागि समेत छानिएकोमा म थप भावुक र उत्साहित भएको छुँ । सबैलाई धन्यवाद भन्न चाहन्छु ।  

तपाई र तपाई जस्तै धेरै शुभचिन्तक, पाठकहरूले राम्रो छ, प्रेरणादायी छ र सफल छ भनीदिनुभयो त्यो नै मेरो लागि ठुलो कुरा हो । मैले चालेका हरेक पाइलाहरूमा बीना कुनै अपेक्षा र प्रश्न साथ दिने थुप्रै साथीहरू, शुभचिन्तक र पुस्तकप्रेमी पाठकहरूको मप्रतिको माया र डोल्पाप्रतिको चासोले हुनसक्छ । 

पुस्तक विमोचन समारोहमा ‘मैले त सपना नै देखेको थिइन’ भन्नुभएको थियो, अब केही सपना बने कि ? 

अवश्य छ, राजु जी । बुवाको पुस्ताको भोगाई नै हाम्रो पनि भोगाई बन्न पुग्यो । अब हाम्रो दुर्भाग्यपूर्ण र अभावबीचमा गुज्रेको भोगाई होइन, डोल्पा र गाउँलाई लिएर मैले सोँचेको सुन्दर सपना भोलिको पुस्ताको वास्तविकता बन्न पुगोस् । यो मेरो चाहना र त्यतातिरको प्रयास नै मेरो सपना हो । घुम्ने पर्यटनलाई मात्र होइन डोल्पा त्यहीकै बासीलाई समेत स्वर्गको अनुभव र अनुभूति दिलाउने ।

केही छोटा प्रश्नहरू गरौँ है, लेखन के रहेछ ? 

लेखन एक खोज रहेछ । लेख्न चाहेको विषय तय पहिल्यै गर्न सकिए पनि त्यो कसरी र कुन ढंगले बग्छ, त्यो लेख्दै जाँदा थाहा हुनेरहेछ ।

तपाईं डोल्पाली ठिटो तर बोल्दा डोल्पाली टोन कमै आउँछ । डोल्पाली टोन कहाँ, कतिखेर हराउनु भयो ? 

टोन हराएको होइन । आफ्नो भाषा, खाना र आफ्नोपनलाई बेइज्जतको रूपमा बुझिनु, र आफ्नोपनको उजागार हुँदा अरूले पनि हेप्नु वा अरूले हेपेको महसुस आफूलाई हुनुुले केही दबिएको मात्र हो । अरूसँग कुरा गर्दा कतै हराएको जस्तो भएपनि गाउँमा जाँदा भने, धेरै हदसम्म प्रष्फुट हुन्छ नै । 

अन्त्यमा, काठमाडाैँबाट हेर्दा देखिने कर्णाली र कर्णालीबाट हेर्दा देखिने काठमाडाैँंको चरित्र, चित्र कस्तो पाउनुहुन्छ ?

कर्णालीबाट हेर्दा काठमाडाैँं सबैकुराले भरिपूर्ण र शक्तिशाली लाग्छ भने काठमाडाैँबाट हेर्दा कर्णाली दरिद्र र गरीब । तर वास्तविकता भने, फरक छ, काठमाडाैँँ शक्तिशाली त हो तर त्यो शक्तिले स्वयम् काठमाडाैँलाई पनि दरिद्रता, अभाव र प्रदुषणमात्र दिएको छ । र काठमाडाैँंबाट देखिएको कर्णालीपनि फरक छ, र अझ फरक हुने बाटोमा छ ।

समग्र काठमाडाैँ भन्दापनि काठमाडाैँमा अवस्थित राज्यबाट पोषितहरूले कर्णालीलाई सधै गरीब, दुर्गम र समस्या ग्रस्त भनिरह्यो र त्यसको नाममा राज्य वा गैरराज्यबाट राहत आफैँ खाने गर्‍याे । त्यही जमातले कर्णालीकै केही व्यक्तिहरूलाई टिका लगाइदियो अनि तिनीहरूमार्फत कर्णालीकै खाएर कर्णालीमाथि नै लात हान्न लगायो । यतिमात्र नभएको भए, कर्णालीले निरीहता र हीनता महसुस गर्नुपर्दैनथ्यो होला ।

वस्तुगत रूपमा हेर्दा, कर्णालीले आफैँलाई निरीह र हिन भावनाले हेर्नुपर्ने आवश्यकता छैन । आवश्यकता छ त, तीन असुरक्षित सानो तत्काको दम्भमाथि हात बजार्नुपर्ने ।  यति गर्न सकिए, जे थियो होइन, जे बन्न सक्छ र जे हुनसक्छ त्यो सम्भव हुन केहीबेर लाग्नेछैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...