सुदूरपश्चिम (बझाङ) जन्मथलो भएका युवा कवि सोझो गाउँले (भरत भण्डारी) सरल भाषामा गम्भीर अर्थ बोकेका कविता  लेख्छन् । यिनै कविको दोस्रो कवितासंग्रह ‘मरुभूमिमा हिमपात’ हालसालै पाठकमाझ आएको छ । २०६३ मा उनले आफ्नो पहिलो कविता संग्रह ‘मनको बाँसुरी’ प्रकाशित गरेका थिए । 

प्रस्तुत छ, द मार्जिनको नियमित साप्तहिक स्तम्भ ‘किनाराका साक्षी’का लागि राजु झल्लु प्रसादले गरेकाे कुराकानीः 

‘बेइमान सहरमा सोझो गाउँले’

१. आज लेख्नेहरूभन्दा पढ्नेहरू ज्यादा मर्मज्ञ छन्, यतिवेला कविता सङ्ग्रह निकाल्नु भनेको अवसर रहेछ कि चुनौती ?

मर्मज्ञ पाठक पाउनु लेखक वर्गकै लागि अवसरको कुरा हो । एउटा कविका लागि त झन् अवसरको कुरा हो । कविको कविताको खेल बुझ्ने र त्यसमा रमाउने पाठक पाउनु ठूलो कुरा हो । अझ, त्यसमा आलोचनात्मक टिपणी राख्न सक्ने र मूल्याङ्कनात्मक निर्णय दिन सक्ने पाठक पाउनु झन् ठूलो कुरा  हो । खास कुरा कविताका मर्मज्ञ हौँ भन्नेले बजारमा आएका कविताका नयाँ नयाँ किताब कत्तिको पढ्छन् भन्ने हो । 

यहाँ, दुईचार जना पुराना कविका कविता मात्रै पढेर कविताका मर्मज्ञ पल्टने पनि छन् । उदेक लाग्दो कुरा के त छ भने– कवि लेखक बन्न हिँडेका अधिकांश मान्छे नै पढिरहेका हुँदैनन्, कसैको नयाँ किताब आउँदा सामाजिक सञ्जालमा बधाई दिन त उनीहरू भ्याउँछन् तर बजारबाट कविताको नयाँ किताब ल्याएर पढ्ने जाँगर गर्दैनन् ।   

अर्को कुरा– कवि लेखकका लागि अहिलेको समय नै चुनौतीपूर्ण छ । ०६२/६३ को जनान्दोलनपछि बढ्न थालेको नेपाली साहित्यको बजार ०७२ को भुइँचालो र नाकाबन्दीपछि ओरालो महसुस सबैले गरेका हुन् । फेरि कोरोना महामारी र लकडाउनको मार थपियो । यसको असर साहित्यिक पुस्तकको बिक्री वितरणमा पनि पर्ने नै भयो । बन्दाबन्दीकै बिचमा मेरो कविताको किताब छापियो । विमोचन/लोकार्पण/सार्वजनिकीकरण त्यस्तो केही गर्न पाइएन । यतिवेला कविता सङ्ग्रह लिकाल्नु चुनौतीपूर्ण नै भयो भन्नुपर्यो ।

२. ‘मरुभूमिमा हिमपात’ मार्फत नेपाली साहित्यलाई तपाईं के दिँदै हुनुहुन्छ ?

‘मरुभूमिमा हिमपात’ मार्फत मैले नेपाली साहित्यलाई ४८ थान सुन्दर कविता दिएको छु । 

३. ‘मरुभूमिमा हिमपात’ ले राम्रै प्रशंसा पाइरहेको छ । पछिल्ला वर्षहरूमा कविताका किताबहरूले ‘माया बटुल्न’ नसकिरहेको परिदृश्यमा तपाईंको कृतिले माया पायो । एउटा कृतिले माया बटुल्नु भनेको के हो रहेछ ? 

तपाईंको यो प्रश्नको उत्तर दिनै गाह्रो छ । समय प्रतिकूल हुँदा पनि पाँच महिनामा कविता सङ्ग्रहको दोस्रो संस्करण निस्केको कुरालाई सङ्केत गर्नु भएको हो कि ! मान्छेहरूले कविता मन पराएर कृतिलाई माया गरेका होलान् । एउटा कृतिले माया बटुल्नु भनेको तपाईं भन्नु भएका मर्महरूले मन पराउनु हो  र लेखक’कविका लागि हौसलाको कुरा हो । 

४. पछिल्ला किताबहरूलाई केवल लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको आरोप लागिरहेको छ ? यसमा तपाईको मत के छ ? 

साहित्यमा अनुभूतिको कुरा आउनु नौलो र अनौठो कुरा होइन । वस्तुसत्य वा विषयकेन्द्री कुरा मात्र गर्नुपर्ने प्राज्ञिक लेखन त साहित्य होइन । साहित्यमा आउने भनेकै साहित्यकारको अनुभूतिकै कुरा हो तर त्यो अनुभूति कति निर्वैयक्तिक भएर आयो, सामाजिक मुद्दा वा समसामयिक विषयलाई कति बोकेर ल्यायो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । कुण्ठा र आत्मरतिले भरिएका एकाङगी अनुभूतिमा सीमित किताबहरू पनि आइरहेका छन् बजारमा  । तर त्यस्तै मात्र किताबहरू आइरहेका छैनन्, राम्रा किताबहरू पनि आइरहेका छन् बजारमा ।  

५. सन् २०१६ मा ‘सहारा’ मरुभूमिमा हिउँ परेको थियो । मरुभूमि नजिकैको एटलस पर्वत शृङ्खलाको  तापमानमा अचानक गिरावट आउँदा त्यसो भएको भनिन्छ । तपाईंको किताबको शीर्षक चयनको पृष्ठभूमिबारे उत्सुकता जागेर यति भूमिका बाँधे । किताबको नाम कसरी जुराउनु भयो ? प्रायः कविता सङ्ग्रहहरू झट्ट सुन्दा अनौठो लाग्ने विरोधाभासपूर्ण नाममा आइरहेका हुन्छन् । यस विषयमा तपाईंको टिप्पणी के छ ?

‘सहारा’ मरुभूमिमा हिउँ परेको समाचार त सुनेको थिएँ तर कविताको नाम जुराउँदा त्यो कुरा ख्याल भएन । यो सङ्ग्रहमाथि छोटो टिप्पणी राख्ने क्रममा अभि सुवेदी सरले भन्नु भएको जस्तो ‘जीवनको विसङ्गति र सिर्जनात्मक सामथ्र्य दुबै जोड्ने’ शीर्षको खोजी गर्दै जाँदा यो नाम जुरेको हो । सिधा सिधा भनेर कविता हुँदैन । कविताको भाषा नै घुमाउरो, अनौठो र विरोधाभासपूर्ण हुन्छ । त्यसकारण कविता सङ्ग्रहहरू झट्ट सुन्दा अनौठो लाग्ने विरोधाभासपूर्ण शीर्षकमा आउने गरेका होलान् ।

६. यस पुस्तकको आवरणको जिम्मा रसिक राजलाई दिइनुको कारण ? 

त्यस्तो खास विशेष कारण केही हैन । रसिकजी साथी, भेटघाट भइरहने । मलाई उहाँको चित्रकारिता मनपर्थ्याे । मैले कविताको पाण्डुलिपि दिएँ, उहाँले आवरण र भित्रका चार वटा खण्डका लागि स्केच कोरिदिनु भो ।   

६. ‘सोसल मिडिया हेरेर धारणा बनाउँदैमा कविहरूमा समयचेत आइहाल्दैन’ भन्नुभाथ्यो । तपाईं समयचेत कसरी बटुल्नु हुन्छ ? 

मैले सोसल मिडिया हेरेर मात्र समयचेत आउँदैन भनेको हुँ । सोसल मिडिया हेर्नै हुँदैन भनेको चाहिँ होइन । म पनि सोसल मिडियामा संलग्न छु । कतिपय कुरा सोसल मिडियाबाट पनि थाहा हुन्छ । तर महत्त्वपूर्ण विषयका लागि महत्त्वपूर्ण ग्रन्थहरूको गम्भीर अध्ययन गर्नु आवश्यक हुन्छ । सोसल मिडियामा आएका कुरालाई पनि फिल्टर गर्न सक्नुपर्छ । सोसल मिडियाको मात्र भर पर्नु चाहिँ उपयुक्त हुँदैन किनकि त्यहाँ फेक कुरा पनि आइरहेका हुन्छन् । 

७. सोसल मिडिया र मोबाइल बेगरको जिन्दगी कल्पना गर्दा कस्तो लाग्छ ?

अहिले हामी प्रविधिको उच्चतम प्राप्तिको क्षणमा छौँ । सोसल मिडिया र मोबाइल तिनै प्रविधिका अत्याधुनिक उपलब्धि हुन् । हामी यी कुरामा क्रमशः अभ्यस्त भयौँ । तसर्थ, यी कुरा बिनाको जिन्दगी अव्यावहारिक मात्र हैन निरस पनि हुन्छ । तर, यिनैको अत्यधिक प्रयोगमा रमाएर हामीले सिर्जनशिलतालाई ह्रास हुन त दिनु भएन नि...। 

८. तपाईं के लेख्दै हुनुहुन्छ ? समकालीन पुस्ताले के लेख्दैछ ? के लेखिनु पर्छ ? कस्तो लेखिनु पर्छ ?

म अहिले केही लेखिराखेको छैन । नयाँ कविता लेख्न पाए हुन्थ्यो जस्तो लागिराखेको चाहिँ छ । समकालीन पुस्ताले के लेखिरहेको छ, त्यो सबैलाई थाहा छ । लेखेको कुरा बाहिर आइरहेकै छ । यो लेख्नुपर्छ, यस्तो लेख्नुपर्छ, यसरी नै लेख्नुपर्छ भनेर कसरी भन्नु ? सकेसम्म नयाँ, नलेखिएका, कम लेखिएका विषय नयाँ नयाँ शैलीमा लेखियून् भन्ने लाग्छ ।

९. तपाईंलाई कविताले हान्छ कि तपाईंले कवितालाई हान्दै हिँड्नुहुन्छ ? तपाईंको कविता लेखनको प्रस्थान विन्दु (स्विचिङ पोइन्ट) के हुन्छ ? 

‘कविताले हान्ने हो वा कवितालाई हान्ने हो’ यो कुरा त मैले खासै बुझ्न सकिनँ । कुनै विषयले वा मुद्दाले वा भन्नुस् कुराले पहिला मनमा छुन्छ, छुन्छ मात्र हैन कुनै कुनै कुराले मनलाई उद्वेलित नै गराउँछ । त्यो कुराको कविता बन्छ भन्ने लागेपछि त्यसका लागि लय र विम्बको खोजी हुन्छ । अन्तिममा विषय, विम्ब र लयको कलात्मक संयोजनका लागि मिहिनेत गर्नुपर्छ । 

१०. लेख्नका लागि पढ्नुपर्छ या पढ्नेले लेख्छन् भन्ने गरिन्छ । अझ लेखन भनेको अध्ययनको सहउत्पादन हो भन्ने भाष्य पनि छ । यसमा तपाईंको मत के छ ? 

लेख्नका लागि पढ्नु पनि पर्छ भन्ने कुरामा म सहमत छु तर पढ्ने जति सबैले लेख्छन् भन्ने कुरा चाहिँ म पत्याउदिनँ । लेखनका लागि पठन आवश्यक भए तापनि लेखन पठनकै सहउत्पान चाहिँ म ठान्दिनँ ।

११. सुदूरपश्चिममा हुर्केको मान्छे काठमाडौँमा आएर साहित्यमा अगाडि बढ्न खोज्दा भोग्नु परेका अफ्ठ्याराहरू केही छन् ? 

अहिले त्यस्तो अफ्ठ्यारो खासै छैन । पहिला पहिला (एकडेढ दशक अगाडि) अलि अलि त्यस्तो महसुस पनि हुन्थ्यो । हाम्रोतिरको मान्छे काठमाडौँमा यसै कम हुन्थ्यो, त्यसमा पनि यो क्षेत्रमा संलग्नताको अवस्था न्यून थियो । सुरु सुरुमा प्रोत्साहित गर्ने, मार्गदर्शन गर्ने पनि कोही थिएन । सुदूरपश्चिमको भएको वा यो क्षेत्रमा चिनजानको मान्छे नभएकोले पाउनै पर्ने मौका/मञ्च पनि खासै पाइँदैन पनि थियो ।

१२. ‘विधेयक र अध्यादेशका मस्यौदा कोर्नेहरूले’ ‘डोको बुन्ने दाइहरू’ माथि कहिलेसम्म जालसाँजी गरिरहने ? यसमा कवि लेखकहरूको भूमिका के हुन्छ ?

यस मानव संसारको सबैभन्दा ठूलो विडम्बना भनेकै यही हो । हामी आफूलाई सर्वश्रेष्ठ प्राणी त भन्छौँ तर हाम्रबिचमा जस्तो विभेद अरु प्राणीका बिचमा छैन । मानव समुदायमा सदियौँदेखि चलिरहेको शोषण र विभेदको विरुद्धमा बोल्नु नै कवि लेखकहरूको मुख्य दायित्व हो । 

१३. सुदूरपश्चिमको सुगन्ध भनेर ‘सैपालको शिरमा जमेको हिउँ जस्तो उसको जवानी’ जस्ता विरोधाभासपूर्ण भाष्य पुरुष कविहरूले कहिलेसम्म लेखिरहने हो ?

तपाईंले भन्नु भएको हरफ ‘काफल बेच्ने केटी’ कविताको हो । हाम्रो सामाजिक, सांस्कृतिक परिबन्धका कारण महिलाहरूले भोग्नु परेको पीडाको अभिव्यक्ति त्यो कविता हो । कविताको पात्र, परिवेश एवम् उपर्युक्त विम्बको प्रयोग सन्दर्भ राम्ररी ठम्याउनु भयो भने विरोधाभासपूर्ण लाग्ने छैन ।

१४. महिला अधिकारको सूक्ष्म चेत पुरुष कविहरूमा कम भेटिने अवस्थामा हामी किन छौँ ?

पहिलो कुरा त हाम्रो समाज पुरुष प्रधान वा पितृसत्तात्मक भएर होला । हामी जतिसुकै नवीन, आधुनिक, प्रगतिशील बन्न खोजे पनि हाम्रो रीति, परम्परा र संस्कारबाट पूर्ण रूपमा मुक्त हुन सकिरहेका हुँदैनौँ । दोस्रो कुरो, महिला अधिकारको सूक्ष्म चेत पुरुषहरूभन्दा महिलाहरूमै बढी हुनु अथवा कवि होस् कि कलाकार महिलाको जति महिला अधिकारको चेत पुरुषमा नहुनु वा कम हुनु स्वाभाविक हैन र ? महिला अधिकारको चेत पुरुषभन्दा महिलामै बढी त भइहाल्छ नि ।   

१५. तपाईंलाई आफ्नो लिङ्गबोध कसरी भयो ? ‘ए, म त यो लिङ्गको रहेछु है’ भनेर प्रथम पटक कहिले थाहा पाउनु भयो ?

चार पाँच वर्षको हुँदा छिमेकका केटीहरूको शृङ्गारपटार र आफ्नो पहिरनमा फरक भएको देखेँ । स्कुल जाँदा सँगैका केटीहरूको लामो कपालमा रातो रिबन बाँधेर दुई चुल्ठी बाटेको देख्दा र आफू त्यस्तो नहुँदा मैले आफूलाई उनीहरूभन्दा फरक रहेछु भन्ने थाहा पाएँ । लिङ्गबोध सामान्य कुरा हो । तर लैङ्गिकताको बोध महत्त्वपूर्ण कुरा हो । लिङ्ग जैविक कुरा हो भने लैङ्गिकता सामाजिक विषय हो । 

प्रस्तुत छ, सोझो गाउँलेका तीन कविता 

१. काफल बेच्ने केटी

अँध्यारो ढलिनसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरीलेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवन जस्तो घनघोर जङ्गलभित्र
वन्यजन्तुुसित डर लाग्दैन उसलाई
बरु सिकारीसँग डराउँछे
यसरी एकान्तमा एक्लै भेट्टायो भने
बाघले मृगलाई झैँ झम्टिन्छ सिकारीले
लक्खान चप्पल लतार्दै ओराले झर्छे
दुख्खको देउडा गाउँदै लेकबेँसी गर्छे
बाख्रा चराउँदा पाठीसित रमाउँछे
गाईलाई घाँस लाउँदा बहरसँग धकाउँछे
जिब्रोमा काँडो गाडेर गुजारा चलाउने हरिना
बस बिसौनी नजिक बसेर
कपडा किन्न काफल बेच्छे

जयपृथ्वी राजमार्गसँग जोडिएको
सुकुमबासीे बस्तीजस्तो बजारमा
मन अमिलो बनाउँदै
गुलिया काफल बेच्नुपर्छ
किनकि काफल किन्नेको आँखा
काफलको दानामा कम
उसको छातीमा बढी पर्छ

पचास रुपियाँ मानोको दरले
एक पाथी काफल बेचिसकेर
पेटिकोट किन्न कपडा पसलमा जाँदा
भदौको राँगोजस्तो पसलेले–
“लुगा सिउने सियोमा धागो छिराउन आउँछ ?”
भनेर चार चोटि सोध्छ
र चारै चोटि उसले
क्षितिजमा उल्झेको आकाश हेर्नुपर्छ

साहुको ऋणले थिचेर
सास फेर्न मुस्किल परेपछि
सात फेरो लाएको सात दिनमै
बम्मई लागेको लोग्ने
दिल्लीको देस्यानीसित सल्किएर
उतैतिर हरायो
न फर्केर आउँछ
न रैबार पठाउँछ
मात्र सुइनामी बोलाउँछ
बेकारमा मध्यरातमा जगाउँछ
अग्लो डाँडाले छेकेको छ माइती गाउँ
त्यहीँ डाँडाजस्तै छ माइतीको मन
जहाँबाट आइरहन्छ एउटै सन्देश–
“घर खा छोरी घर खा !”
यता बैँसको बोझले थिचिएको हरिना
कुलको इज्जत जोगाउन
माइतीको नाक बचाउन
अस्पतालको वार्ड जस्तो घरमा
बुढी सासू रुँगेर बसेकी छे

पढाइ छुटाएर परिवारले
पन्ध्र वर्षमै कन्यादान गरिदियो
अपरिचित युुवकलाई जीवन सुम्पेर
जन्मघरबाट बिदा भएकी थिई
तर अल्जाइमरको बिरामीले झैँ
बिर्सियो बैगुनीले उसलाई
बैगुनीले बिर्सिएको थाहा पाएपछि
डस्न थालेका हुन् पराई आँँखाहरूले

जिन्दगीको यस्तो जोखिमपूर्ण यात्रामा
कहिलेसम्म एक्लै हिँड्न सक्छे ऊ ?

सैपालको शिरमा जमेको हिउँजस्तो उसको जवानी
कुनै बिरानो बादलले जुनसुकै बेला पगालि दिनसक्छ
खप्तडको पाटनमा फुलेको भुइँफूलजस्तो उसको परानी

कुनै विषालु शीतले जुनसुकै बेला सुकाइ दिनसक्छ
कर्नालीको तीरमा थुप्रिएको बालुवाजस्तो उसको जिन्दगानी
कुनै बौलाहा हुरीले जुनसुकै बेला उडाइ दिनसक्छ

शिशिरको सिरेटोजस्तो लाग्छ उसलाई समय
डढेलोले खाएको वनजस्तो लाग्छ गाउँघर
सेतीको बगरजस्तो लाग्छ जिन्दगी
र लुटेरा समूहको नाइकेजस्तो लाग्छ
उसलाई यो नकाबधारी दुनियाँ
तर धरतीको छातीमा टाउको राखेर
रुन सक्दिन ऊ !

भासुको भिरजस्तो भविष्य देखेर
मन बेचैन भइरहन्थ्यो उसको
तेल्यालेक नाघेर आएको बताससँग
अन्तिम पटक बात मारेपछि
उद्वेलित भएकी हरिना
अब पनि सासूकै छायामा सुस्ताउँछे ?
या नौडाँडा काटेरै भए पनि मुस्काउँछे ?
अथवा
काफलको हाँगोमा अस्ताउँछे ?

२. आँसुले भिजेको मरुभूमि

आमाको माया जस्तो घाम उतै छ 
बाबाको छाया जस्तो जून उतै छ
पे्रयसीको स्पर्श जस्तो हावा 
र बहिनीले बनाएको सर्बत जस्तो
पानी उतै छ
सम्झनाको तरेलीमा अल्झिएको
एक मुठी सास छ मसँग यहाँ

खल्तीको घाउ दुखेर खपिनसक्नु भएपछि 
हजुरबाको हस्तीहाड बन्दकी राखेर
आँसु लुकाउँदै अरब आएको हुँ
आगो पठाउन अँगेनोमा
भोकको भूकम्पले हल्लाएपछि घरको जग
पुरै जिन्दगी दाउमा लगाएर
कलिलो उमेरमा गाण्डीव उठाएको हुँ
प्राण बचाउन परिवारको

जीवनको जङ्गलमा सपनाका सुसेलीहरू हाल्दै
आफ्नै आगनमा वसन्त बोलाएर
बैँसको गीत गाउनु पर्ने बेला
बिरानो बस्तीमा आएर
आँसु बगाइरहेको छु
समयको सागरमा सम्भावनाको डुङ्गा खियाउँदै
विश्वविद्यालयका उज्याला भित्ताहरूमा
सुन्दर भविष्य सजाउनु पर्ने बेला
तातो बालुवामा छाती धसिरहेको छु

बाँझो पल्टाइरहेको गोरुले
निर्दयी हलीको चुटाइ खाए झैँ
अर्बबको लगातारको लात सहनु पर्दा
सुरु सुरुमा अमरसिंहको आत्माले 
आफूलाई धिक्कारे जस्तो लाग्दथ्यो
उँटहरूको बथानमा बर्सौँ बिताउँदा 

कतिबेला आफैँ उँट भइसकेछु
अब त यातनाहरू मेरा लागि
घोडालाई कोर्रा सरह भएका छन्

अदक्ष डाक्टरहरूको असफल उपचारद्वारा
भेन्टिलेटरमा पु¥याइएको देशलाई 
आवश्यक अक्सिजन जुटाउन
पचास डिग्री सेन्टिग्रेडमा म
मरुभूमिमा परेड खेलिरहेछु
हरेक वर्ष बर्खा लागेपछि
सपनाको खेती गर्ने सरकार
रगतसँग साँटेको रेमिटान्समा
¥याल चुहाइरहेछ ।।
(२०७१)

३. डोको बुन्ने दाइ 

जसले हुरीसँग मितेरी लायो 
भीरलाई जिन्दगीको गोरेटो बनायो
भुमरीमा पनि उभिन सक्ने
महान् योद्धाका अगाडि

यी अग्ला अग्ला हिमालहरू
कति होचा र पुड्का लाग्छन्
सगरमाथा तिम्रो कम्मरमुनि देखिन्छ
डोको बुन्ने दाइ !
सबैभन्दा शक्तिशाली मानिस हौ तिमी
कमजोर नठान आफूलाई 

जसले पखान खोदेर पानी निकाल्यो
बन्जरलाई बस्तीमा बदल्न
जसले पसिनाको बादल खसाल्यो
उसैलाई खडेरीले खाएको देख्दा
यी हरिया–हरिया पहाडहरू
कति सुक्खा र उजाड लाग्छन्
माहुरीले तिमीलाई गुरु मानेको छ
डोको बुन्ने दाइ !
सृष्टिकै श्रेष्ठ प्राणी हौ तिमी
अभिशप्त नसम्झ आफूलाई 

सिपको बदला जसले सजाय पायो
सापटीमा जसले सर्वस्व गुमायो
पेटको घाउ दुखेर उसको
आँखाको बाढी जब उर्लेर आउँछ
यी स्वच्छ र निर्मल नदीहरू
कति फोहोर र दूषित लाग्छन्
तिम्रा धमिला आँसु निख्रिएर
बनेको हो नीलो समुद्र
डोको बुन्ने दाइ !
मेघ भएर गर्जिनुपर्छ अब
वाष्पीकरण गर आफूलाई

विधेयक र अध्यादेशका मस्यौदाले जहाँ
व्यापारीले आफ्नो डायरी भर्छ
समाजवादी पार्टीको सरकारले जहाँ
बहुराष्ट्रिय कम्पनीको विज्ञापन गर्छ
कात्रो किन्दा पनि कमिसन खोज्ने
कुनै घुस्याहा मानिस जस्तो 
यो सिङ्गो विश्व व्यवस्था 
कति भ्रष्ट र निकृष्ट लाग्छ
बाँस चिर्दाचिर्दा आफैँ चिराचिरा भयौ
डोको बुन्ने दाइ !
चिर्नै पर्ने चिज अर्कै रहेछ
अर्जापेर राख आफूलाई

माटो मुछ्नेहरूको मुटुमा नङ्ग्रा गाडेर
जहाँ गिद्धले लान्छ
भुईं पुछ्नेहरूको आन्द्राभुँडी सोहोरेर
जहाँ ब्वाँसोले खान्छ
जहाँ मान्छेले मान्छेलाई स्वादले चपाउँछ
मान्छेकै खुन खाएर जहाँ मान्छे मताउँछ
सपनामा समेत तर्साउन आउने
अत्याचारी शासकको अनुहारजस्तो
यो सभ्यता र समृद्धि
कति क्रुर र बर्बर लाग्छ
भालुसँग भिडेर जसरी
निगाला ल्याउँछौ लेकबाट
डोको बुन्ने दाइ !
आसुरी युगसँग लडेर त्यसैगरी
एक एक हिसाब लिनुपर्छ
इस्पात बनाऊ आफूलाई

प्रभुका चरणमा प्रसाद चढाएपछि
जहाँ सारा पाप मोचन हुन्छ
कालोलाई सेतो बनाउन जहाँ
अनेक प्रपञ्च रचिन्छ
भगवानको नाममा भावनाको व्यापार हुने
यी मन्दिर, मस्जिद, गुम्बा र चर्चहरू
कति कुरूप र अपवित्र लाग्छन्
चोया गाँछेर बुनेका हौ तिमीले
यो डालो जस्तो दुनियाँ
ए डोको बुन्ने दाइ !
असली ईश्वर त तिमी रहेछौ
मेरो सलाम छ तिमीलाई ।।

(समीक्षक एवं कवि सोझो ‘गाउँले’ले मजदुर दिवसमाथि लेखेको कविता)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...