डडेल्धुरा- शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइँदै छ । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै आए पनि डडेल्धुराका अपांगता भएका व्यक्तिहरूका समस्या भने ज्यूँका त्यूँ छन् । अपांगता दिवसले आफूहरूको पीडामा मल्हम लगाउन नसकेको उनीहरूको गुनासो छ ।
राम नेपाली (नाम परिवर्तित) अमरगढी नगरपालिकाका स्थानीय बासिन्दा हुन् । उनीसँग ख (निलो) वर्गको अपाङ्गता परिचय पत्र छ। उनले मासिक एक हजार ६ सय रुपैयाँ पाउँछन्। अपांगता भएकै कारण समाजमा अपहेलित भएर बस्नु परिरहेको उनको गुनासो छ ।
‘परिचयपत्र मात्र पाएको छु । स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै मेरो परिचय पत्र बनेको हो । तर, अमरगढी नगरपालिकाले स्थानीय तहमा परिचयपत्र वितरण कार्यविधि-२०७६ बनाएको भन्ने सुनेको छु,’ उनले भने, ‘तर, फिल्डमा गएर काम गर्दा साथीहरूले परिचयपत्र नै नपाएको गुनासो गर्छन् । स्थानीय सरकारले हाम्रो क्षमता अभिवृद्धिका लागि अहिलेसम्म कुनै पनि कार्यक्रम गरेको छैन् ।’
उनी मात्र होइन्, उनी जस्तै अन्य अपाङ्गता भएका व्यक्तिको अवस्था पनि उस्तै छ । श्याम अवस्थी (नाम परिवर्तित) अमरगढी नगरपालिकाकै बासिन्दा हुन् । उनी स्थानीय स्तर वा समुदायमा हुने कार्यक्रममा समावेशीताको आधारमा सहभागी हुँदा आमन्त्रण गरे पनि आफ्ना कुरा राख्दा होच्याउने, हेप्ने कार्य गरिने बताउँछन् ।
उनी भन्छन्, ‘न हाम्रो स्थानीय तहमा अपांगता मैत्री भवन बनेका छन् । नत अपाङ्गताको हितका लागि कानुन बनेको छ । नत हामीले सहज रूपमा जीवन निर्वाह गर्न सिप मुलक तालिमको व्यवस्था गरिएको छ ।’
अपांगता भएका व्यक्तिको सहज रूपमा जीवन निर्वाह गर्न नसकेको गुनासो छ । नियमित आय हुने अपांगता नभएका व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको आय निकै कम छ । अपांगता नभएका व्यक्तिको तुलनामा अपांगता भएका व्यक्तिको सेवामा पहुँच पनि पुगेको छैन । उनीहरूको सहायक सामग्रीमा न्युन पहुँच छ ।
जिल्ला अपांग कल्याण समिति डडेल्धुराको तथ्याङ्कअनुसार अमरगढी नगरपालिकामा कुल अपांगता भएका व्यक्तिहरूको संख्या ४०७ जना रहेका छन् । यीमध्ये १३४ जनाले मात्रै अपांगता परिचय पत्र पाएको अमरगढी नगरपालिकाको तथ्याङ्कमा छ ।
अमरगढी नगरपालिकाको तथ्याङ्कअनुसार २०७६–०७७ सालदेखि हालसम्म अपांगता भएका व्यक्ति १३४ जना छन् । नगरपालिकामा क, ख, ग र घ गरि चार वर्गका अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ। जसमा क वर्गमा २९ जना, ख वर्गमा ६१ जना, ग वर्गमा ३५ जना र घ वर्गमा नौ जना छन् ।
अमरगढी नगरपालिका नगरकार्यपालिकाको अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ जारी भएपनि अधिकांश अपांगताभएका व्यक्तिले परिचयपत्र पनि पाउन सकेका छैनन् । सरकारी तथा गैर सरकारी कार्यालयको सेवा लिँदा पनि उनीहरू माथि हेर्ने दृष्टिकोण नै फरक रहने गरेको छ ।
सेवा लिँदा सहज रूपमा सेवा लिन पाउनु पर्ने भए पनि त्यस्तो व्यवस्था नगरिएको पाइएको हो । स्थानीयस्तर वा समुदायमा हुने कार्यक्रममा सहभागिता नै नगराउने गरेको पाइएको छ । शर्मिला पन्त (नाम परिवर्तित) काअनुसार सहज रूपमा जीवन निर्वाह गर्न नै असहज छ । एकातिर परिवारमा बोझ भएर बस्नु परिरहेको छ भने अर्कोतिर समाजबाट अपहेलित हुनु परिरहेको छ ।
‘स्थानीय तहले हामीहरूका लागि नीति निर्माण गरेको छ भन्ने सुनेपनि त्यसले जीवनमा खासै प्रभाव पारेको छैन् । मेरो त अहिलेसम्म अपांगता परिचयपत्रसमेत छैन् । अब गाउँमा आउँछन् भन्ने सुनेको छु । खोइ! कहिले आउँछन्,’ उनले भनिन्, ‘विद्यालयमा पनि साथीहरूले हेयको दृस्टिकोणले हेर्छन् । हामीहरूले सहज रुपमा शिक्षा पनि लिन सकेका छैनौं ।’
विद्यालयमासमेत शिक्षकले अरु विद्यार्थीसरह आफूलाई पनि पढाउने गरेकोले पठनपाठनमा समेत समस्या हुने गरेको उनको भनाइ छ । अपांगता भएका व्यक्तिको जीवन स्तर र अन्य व्यक्तिको तुलनामा बेरोजगारी दर उल्लेख्य छ ।
गणेश बोहोरा (नाम परिवर्तीत) को ६ जनाको परिवार छ । दुईवटा छोराछोरी विद्यालयमा पढ्छन् भने घरमा वृद्ध आमा र श्रीमती छन् । गणेशको ‘क’ नम्बरको परिचयपत्र छ। सोही कारण उनले मासिक तीन हजार रूपैयाँ पाउँछन् । तर, मासिक आउने तीन हजार रूपैयाँले खान लगाउन नपुग्ने उनी बताउँछन् ।
‘तीन हजार रूपैयाँ आउँछ । छोरछोरीको कापी किताब ल्याउनै पुग्दैन । परिवार पाल्नको लागि खेति किसानी गरिरहेको छु’, उनले भने, ‘सुरूमा छोराछोरीलाई बोर्डिङमा पढाएको शुल्क तिर्न समस्या हुन थालेपछि सरकारीमै लगाए । अहिले श्रीमती र म दुबै खेतीपाती गर्दैछौं ।’
स्थानीय सरकारले आफूलाई अपयोग हुने सीप नसिकाएको उनको आरोप छ । ‘जिल्ला अपांग कल्याण समितिबाट नेपालगञ्ज च्याउ बनाउने तालिम सकेर आएको यता, आर्थिक अभाव टार्न अझै सकिएन । सीप मात्र सिकाएर हुँदैन, आर्थिकको समेत व्यवस्था गर्दिनुपर्छ,’ उनले भने ।
लाल नेपाली (नाम परिवर्तीत) अहिले पशुपालन गरिरहेका छन् । उनको फार्ममा बाख्रा, कुखुरा छन् । पशुपालन गरेर नै उनले सात जनाको परिवार पाल्दै आएका छन् । पशुपालन गरेर नै छोराछोरीको पढाई अनि घर खर्च चलाउँदै आएको उनको भनाइ छ ।
‘पशुपालन गरेर घर खर्च चलिरहेको छ । केही बचत पनि गरिरहेको छु । सुरुवातमा तालिम लिएको थिएँ । अरूमा निर्भर हुनुभन्दा पशुपालन गरेर आत्मनिर्भर बनौं भन्ने लाग्यो,’ उनले भने, ‘अनि पशुपालन सुरू गरेँ । अहिले राम्रै कमाइ भइरहेको छ ।’
अपांगता भएको कारण पालेको कुखुरा, बाख्रा बिक्री गर्न समस्या भइरहेकोले स्थानीय सरकारले ध्यान दिएमा सहज हुने उनको भनाइ छ । स्थानीय सरकारले पनि अपांगता भएका व्यक्तिको लागि सीप मुलक कार्यक्रम ल्याएर आत्मनिर्भर बनाउनु पर्ने उनको भनाइ छ ।
के भन्छ अमरगढी नगरपालिकाका ?
अमरगढी नगरपालिकाले भने अपांगताको क्षेत्रमा काम गरिरहेको बताएको छ । नगर उपप्रमुख संगीता भण्डारीका अनुसार नगरकार्यपालिकाले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि–२०७५ बनाएको र सोहीअनुसार कामसमेत भइरहेको जिकिर गरिन् ।
उनले अपांगता भएका व्यक्तिको परिचयपत्र वितरणका लागि धेरै पटक टोलटोलमा गएको समेत बताइन् । उनले देश संघीयतामा जानुभन्दा पहिले चौतारामा गएर परिचयपत्र वितरण गरिएको कारण कतिपय वास्तविक अपांगता भएका व्यक्ति परिचयपत्र पाउन बञ्चित भएको बताइन् ।
‘भनसुनको भरमा परिचयपत्र वितरण गरियो । सामान्य अपांगता भएका व्यक्तिले भनसुनको भरमा ‘क’ वर्गको परिचयपत्र पाए । सोही कारण अहिले नविकरण गर्दैनन्,’ उनले भनिन्, ‘धेरैजसो अपांगता भएका व्यक्तिले क र ख वर्गको परिचयपत्र भए मात्र स्वीकार गर्ने अन्यथा परिचयपत्र नै नलिने अवस्था छ । अन्य पाउने सेवा सुविधाहरूलाई बेवास्ता गर्ने रूपैयाँलाई मात्र सेवा सुविधासँग तुलना गर्ने गरेको कारण समस्या भएको छ ।’
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...