काठमाडौँ- राष्ट्रिय जनगणना-२०७८ मा सहभागी नहुने घोषणा गरेका बागलुङ ढोरपाटनका कायत समुदाय जनगणनामा सहभागी हुने भएका छन् ।

राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै उनीहरुले जनगणनामा सहभागी नहुने घोषणा गरेका थिए ।

राज्यले लोपोन्मुख, अल्पसंख्यक एवं दलित समुदायलाई थप सेवा/सुविधा दिए पनि आफूहरूले त्यो पाउन नसकेको कायत समुदायको गुनासो छ । 

कायत समुदाय र जनगणना कार्यालय बागलुङबीच सहमति भएपछि उनीहरु जनगणनामा सहभागी हुने भएका हुन् । 

तथ्याङ्क कार्यालयका प्रमुख मुकुन्दप्रसाद शर्मा लगायतको टोलीले मङ्गलबार उनीहरुसँग भेटघाट गरेर उक्त समुदायको पहिचानका लागि पहल र विभिन्न ठाउँमा सिफारिस गर्ने प्रतिबद्धता जनाएपछि जनगणनामा सहभागी हुन राजी भएको हो । 

हाल ढोरपाटनमा कायत समुदायका करिब ८० घरपरिवार बसोबास गर्दै आएका छन् ।

कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरिनुपर्ने उनीहरुले बताउँदै आएका छन् । कायत नौथर समुदायभित्र पर्दछन् । नौथरभित्रकै पसाई र पुजाय थर लोप भइसकेका छन् ।   
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...