‘Im an angel 
I Tell me what you mean by that 
I take it all and i will never give it back 
I dont feel sorry everytime i see you cry 
every time you start 
Im waiting for you tears to dry…..’ 

यस्तैयस्तै थुप्रै नेपाली अनि प्राय अङ्ग्रेजी गीत गुनगुनाइ रहनु उनको दैनिकीमा पर्ने एक अभिन्न क्रियाकलाप हो । 



गीतको गहिराइमा डुबेर गीत गाउनु सायद कसैले सिकाउनु पर्दैन उनलाई । हेर्ने र सुन्नेलाई नै मन्त्रमुग्ध बनाउन कत्ति पनि पछि पर्दिनन् उनी । पाँचथर रानीटार घर भई हाल काठमान्डुमा कोभिडका कारण बसी रहेकी ८ बर्से बालिका हुन - कलश राई ।

हेर्दा सानी छिन् तर उनको गतिविधि र क्रियाकलापहरू हेर्दा धेरै अगाडी बढिसकेकी छिन उनी । बुबा गङ्गा गगन राई र आमा पार्लु तामाङ राईको एक मात्र छोरी कलश निकै चलाख अनि ज्ञानी पनि छिन् । 

सानैदेखि नाच्न, गाउन, चित्र बनाउन लगायत विभिन्न सिर्जनात्मक क्रियाकलापहरूमा रुचि राख्ने उनी अहिले काठमान्डु आइसकेपछि त्यसलाई अघि बढाइरहेकी छिन् । ग्रिनभ्याली एकेडेमी, इलाममा कक्षा २ मा अध्ययनरत कलश अहिले जापान प्रस्थानका लागि विद्यालय जान छोडेकी र अरू शिक्षा जापानमै हासिल गर्ने बताउँछिन् ।

विद्यालय जानदेखि बाहेक अरू कुनै पनि विधामा औपचारिक शिक्षा भने नलिएकी उनी नृत्य, गायन तथा भाषाका क्लासहरू लिइरहेकी छिन् ।  'कतै तालिम नलिईकन कहाँबाट सिक्यौ त  यी सबै ?' भन्ने प्रश्नमा उनी भन्छन्, “मैले यी सबै युट्युबबाटै सिकेकी हुँ । अनि घरमा निनी (फुपू) अनि अकंलहरू हुनुहुन्छ, वहाँहरूबाट पनि सिक्छु । मलाई प्राय अङ्ग्रेजी गीतहरू मनपर्छ, त्यो सबै म युट्युबबाटै सिक्छु", उनी थप्छिन्, "अँ, नेपाली पनि गाउँछु। "



बुबा जापानमा काम गर्ने भएकोले कलश र उनकी आमा पनि जापानको उडानको निम्ति सम्पूर्ण प्रक्रिया पुरा गरी घरबाट बिदा भई काठमान्डु आएका हुन् । कोभिडका कारण जापान प्रवेशमा तत्कालीन रोक लगाइएपछि उनीहरू काठमान्डुमै बस्न बाध्य छन् ।

कलशका लागि भने एक तरिकाले यो एउटा राम्रो अवसर पनि बनेको छ, जापानको प्रोसेसले विद्यालय छोडिसकेकी उनी दिनभरि फुर्सदमै हुन्छिन् । त्यहीँ समय उनी युट्युबमा विभिन्न कुराहरू सिक्नमा खर्चिन्छिन् । युट्युबमा विभिन्न अङ्ग्रेजी कार्टुन, टेलीशृंखला अनि गीतहरू हेरेरै उनी अङ्ग्रेजी भाषा प्रस्ट बोल्ने र बुझ्ने भएकी हुन् । काठमान्डुमा उनी प्रकाश तुम्बा(बडा बा)कोमा बस्छिन्, “तुम्बा हुँदा मलाई गृहकार्यहरू गराउनुहुन्थ्यो, धेरै कुराहरू सिकाउनु हुन्थ्यो । अहिले वहाँ यहाँ हुनुहुन्न, त्यसैले म आफै गर्छु अनि नजानेको मामु, निनीहरूलाई सोध्छु”, राई भन्छिन् ।



त्यसो त घरमा कलाकारहरूको बाहुल्यता भएकोले उनलाई त्यस विधामा अगाडी बढ्न मानसिक रूपले पनि धेरै सहज भएको छ । सुभेच्छा आङ्देम्बे, जसलाई कलश मायाले ‘शुभु निनी’ भनेर बोलाउँछिन् । घरमा उनीहरू प्राय सँगै हुन्छन् ।  उनीहरू एकापसमा साथी जस्तै व्यवहार गर्छन् । आङ्देम्बे कलशलाई नयाँ नयाँ सृजनशील कुराहरू अनि गीत गाउन सिकाउँछिन् ।

प्रोसेसमा अझै समय लाग्ने थाहा पाएकी राई अब नृत्य विधाको क्लास लिनको लागि तयारी गर्दै छिन् । कलश एक ज्ञानी मात्र नभई उच्च मनोबलयुक्त बालिका पनि हुन । जसरी गाउँछिन्, नाच्छिन्, त्यसरी नै उनलाई लागेको कुरा उनी सबैसामु निर्धक्कसँग भन्छिन् । गल्ती भएमा सुधार्ने क्रम पनि जारी राख्छिन् । 



बालबालिकाहरू खुल्ला मनका हुन्छन् र कुनै पनि नयाँ कुराहरू सिक्नमा जहिल्यै उत्साहित रहन्छन् । अहिलेको समयमा अनलाइन तथा सोसियल मिडिया पनि सिकाइको एउटा महत्त्वपूर्ण पाटो बनेको छ तर उनीहरूले त्यहाँ के सिक्छन् भन्ने कुराको निगरानी राख्नु जरुरी हुन्छ ।

हामी बालबालिकाहरूमाथि कस्तो व्यवहार गर्छौँ भन्ने कुराले उनीहरूको जीवन विकासक्रममा ठुलो महत्त्व राख्दछ ।उनीहरूमाथि रेखदेखसँगसँगै मित्रताको व्यवहार गर्‍यौँ भने उनीहरूमा ज्ञान र शिक्षा मात्र नभई आत्मविश्वास पनि बढ्न सक्ने कुराको ठुलो उदाहरण हुन् - कलश राई । जसरी एक उदाउँदो घामको निम्ति खुला तथा सफा आकाश अपरिहार्य हुन्छ, त्यसरी नै उचित शिक्षा तथा राम्रो पारिवारिक वातावरण एक हुर्कँदो बालबालिकाको निम्ति ठुलो मार्गदर्शक बन्न पुग्छ ।



यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...