काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका छन् ।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताए । सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ,अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन, ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रता पूर्वक नै संसदको गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ, के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसावले सभामुखको नै हो,के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख,विपक्षी दलको नेताको र समस्त सांसदहरुको सबै दायित्व हुन्छ ।’
‘अब पनि मलाई के लागेको छ भने दशैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो, सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु, तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ, मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ, मैले फेरि फर्केर सबै कामको समिक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समिक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समिक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए । उनले संसद सुचारु रुपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद पुनस्र्थापना गर्न लागि परे जस्तै संसद सुचारु रुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए । उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए ।

सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू,सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु, म कहाँनेर अलि बढी चिन्तित छु भने संसदका लागि हामीले पुनस्र्थापना गर्नका लागि जति पहल गर्यौं, प्रयत्न, परिश्रम, त्यत्तिकै त्यसलाई प्रभावकारी बनाउन, सबलीकरण गर्नका लागि जीवन्त र जनमुखी बनाउनका लागि मेरो पनि पहलकदमी गुणात्मक ढंगले बढ्नुपर्छ नै, त्यसमा कुनै द्वीमत नै छैन,तर पार्टी, पार्टीका नेता, अझ सांसदहरुमा त्यसलाई प्रभावकारी बनाउनका लागि चाहे अध्ययन, चाहे छलफल र संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहेनतको जरुरत हुन्थ्यो नि, संदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...