काठमाडौँ – देशभरिका १५ जिल्लाका १२६ वटा बस्ती प्राकृतिक विपत्को जोखिम रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्ती जोखिममा रहेको देखिएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलका अनुसार प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका ती बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।
जोखिमयुक्त पहिचान भएका ती बस्तीलाई भौगोलिक दृष्टिकोणले सुरक्षित ठाउँमा स्थानान्तरण गरी एकीकृत बस्ती निर्माण गर्ने अवधारणासहित आयोगले ती ठाउँको पहिचान गरेको उनले बताए ।
आयोगका सदस्य तथा सो अध्ययन कार्यदलको संयोजक डा कृष्णप्रसाद ओलीले जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न दार्चुलादेखि ताप्लेजुङसम्मका १५ वटा हिमाली जिल्लाका १२६ वटा ठाउँको पहिचान गरिएको जानकारी दिए । आयोगले चालू आर्थिक वर्षमा सो अध्ययन गरेको हो ।
त्यसैगरी सो जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरी एकीकृत बस्ती निर्माणका लागि ती १५ वटा जिल्लामा नै २८ स्थानको पनि पहिचान भएको छ । ती स्थानलाई ‘ग्रोथ सेन्टर’का रूपमा विकास गर्ने आयोगको अवधारणा छ । उनले भने, “बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपको खतरा कहाँ हुन्छ, कहाँ हुँदैन भन्ने कुराको अध्ययन गरी नयाँ बस्ती निर्माणका लागि उपयुक्त ठाउँको पहिचान गरिएको हो ।”
पहिरो कसरी जान्छ, बाढी कसरी आउँछ, आगलागी, डढेलो कसरी लाग्छ, त्यहाँको जलवायु कस्तो छ, वर्षायाम कति महिनासम्म रहन्छ, पानी कति पर्छ, भूकम्पीय प्रभाव, माटोको अवस्थालगायतका आधारमा विस्तृत अध्ययन गरी जोखिमयुक्त र नयाँ बस्ती विकासका लागि सुरक्षित ठाउँको पहिचान गरिएको उनले स्पष्ट पारे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...