काठमाडौँ – उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।
उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
यस्तै काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर(बिजोर लागू गरेर चलाउन दिइनेछ ।
‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ ।’
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् ।
निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ । सरकारी कार्यालय आलो–पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...