एजेन्सी - म्यानमार सेनाले विद्रोहीसँगको झडपपछि मध्य म्यानमारस्थित एउटा गाउँ नै जलाइदिएको आरोप लागेको छ, जुन घटनामा दुई बृद्ध–बृद्धाको जलेर मृत्यु भएको छ ।
तर सरकारी टेलिभिजनले भने ८०० जनसंख्या रहेको मागवे प्रान्तको किन–मा गाउँमा सुरक्षा फौजलाई बद्नाम गर्न ‘आतङ्ककारीहरू’ले आगो लगाएको आरोप लगाएको छ । समाचार संस्था रोयटर्सका अनुसार किन र कसले आगो लगायो भनेर निर्योल हुन सकेको छैन । यस विषयमा सेनाका प्रवक्ताले पनि केही प्रतिक्रिया जनाएका छैनन् ।
अब किन–मामा जम्मा ३० घर बचेका छन् । बाकीँ २०० घर खरानी र ईंटको थुप्रोमा परिणत भइसकेका छन् । फोटो र टेलिफोनबाट स्थानीयहरूले यसको प्रमाण बाहिर ल्याइरहेका छन् । यो आगो यति भयानक थियो कि मंगलबार स्थानीय समय अनुसार नौ बजेर ५२ मिनेट जाँदा किन–मा बस्तीको आगो नासाको स्याटलाइट फायर ट्र्याकिङ्गमा समेत देख्न सकिन्छ ।
गाउँलेहरूका अनुसार, विपक्षीहरूसँगको झडपपछि सेनाले बस्तीमा आगो लगाएको हो, जसमा दुई बृद्ध मारिएका छन् । गाउँबाट भागेका एक स्वयमंसेवीका अनुसार आगो लागेको घरबाट भाग्न नसक्दा तिनको मृत्यु भएको हो । बुधबार घटनास्थल फर्किएका स्थानियले तिनको शव भेट्टाएका हुन् ।
अधिकांश गाउँलेहरू त्यस रात गाउँ छोडेर नजिकैको जंगलमा लुकेका थिए । सरकारी टेलिभिजन एमआरटिभीले भने ४० ‘आतङ्ककारीहरू’ले २२५ घरधुरी भइको उक्त बस्तीमा आगो लगाएको र त्यसले १०० घर जलाएको जनाएको छ ।
जुन्टा सेनाले जननिर्वाचित सरकार अपदस्त गरि फेब्रुवरीमा सत्ता हत्याएपछि म्यानमारमा ठूलो हिंसा भड्किएको छ । हिंसासँगै सेनाको ज्यादती बढ्दो छ ।
बिहीबार पनि काचिन राज्यमा म्यानमार सेनाको कू विरुद्ध प्रदर्शनकारीहरू मोटर साइकल र्याली गरिरहेका थिए भने सागानिङ्ग र तानिन्थारी क्षेत्रमा पनि प्रदर्शनहरू भइरहेका थिए ।
फोटो र भिडियोको माध्ययमबाट अहिले किन–मामा लागेको आगो र धुँवाको मुस्लो बाहिरिरहेका छन् । तिनमा जलेका काठ र धातुका सरसामान यत्रतत्र छरिएका छन् । ईंट र आगोले खाएर रहेका रहल–पहल वस्तुहरूको थुप्रो देख्न सकिन्छ । केही फोटोमा जलेर मरेका पशुपक्षी पनि देख्न सकिन्छ ।
‘माङ्वेस्थित एक सिङ्गो गाउँमा बृद्धबृद्धा मारिने गरि जुन्टाले जसरी आगो लगाएको छ, यसले सेनाले अझै जगन्य अपराध गर्न छोडेको छैन भन्ने देखाउँछ । ऊ कत्ति पनि नागरिकप्रति जिम्मेवार देखिँदैन’ राजदुत डन चुङ्गलाई उदृत गर्दै म्यामारस्थित बेलायती राजदूतावासले ट्विट गरेको छ ।
मानवअधिकारवादीहरूले म्यामारको सुरक्षा फौजलाई पटक–पटक बस्ती जलाएको आरोप लगाउँदै आएका छन् । २०१७ मा पनि तिनले अल्पसंख्यक रोहिङ्गा मुसलमानको बस्तीमा आगो लगाइदिएपछि हजारौँले थातथलो छोडेर शरणार्थी बन्नु परेको थियो । त्यतिबेला पनि सेनाले रोहिङ्गाहरू आफैँले आगो झोसेको बताएको थियो ।
अहिले संयुक्त राष्ट्रसंघ तथा पुर्वी–दक्षिण एशियन मुलुकहरूले एकीकृत रूपमा म्यानमारको सैन्य सत्तालाई दवाव दिन नसकेको कारण सेनाको ज्यादती झन् बढेर गएको आरोप पनि लाग्न थालेको छ । विभिन्न मानव अधिकारवादी संघ–संस्थाका अनुसार फेब्रुवरी यता सेनाले ८६५ सर्वसाधारणको हत्या गरिसकेको छ, तर सेनाले भने यो संख्या लुकाउँदै आएको छ । रोयटर्स लगायत एजेन्सीहरूको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...