काठमाडाैँ - मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन भारी वर्षाको सम्भावना बनाउँदै कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आगामी तीन दिनसम्म अत्याधिक वर्षा हुने जनाएको छ । तर अहिले नै केही दिन यता परिरहेको निरन्तरको वर्षाले खतराको घण्टीमात्रै बजाएको छैन धेरै ठाउँमा क्षति पनि पुर्याउन थालिसकेको छ। केही संकेत यस प्रकार छन्ः 

नारायणी नदीले चेतावनीको तह पार गर्यो

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७।३ भन्दा माथि नाघेर ७।८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।

चितवन तथा पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढी हुन्छ भने भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा समेत नारायणी नदीले बढी क्षति गर्ने गरेको छ । 

अविरल वर्षापछि उर्लियो मर्स्याङ्दी, डुबानमा मनाङको तालगाउँ

लगातारको वर्षाले मनाङमा करिब ६० घर रहेको तालगाउँ बस्ती डुबानमा परेको छ । सोमबार साँझदेखि निरन्तर पानी पर्दा मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । तालगाउँ बस्ती मनाङको नासो गाउँपालिका १ मा पर्छ । स्थानीय सुरक्षित स्थानमा रहेको र उद्धारका लागि आफूहरू खटिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन् ।
प्रजिअ लामिछानेका अनुसार जिल्लाको अरू कुन–कुन ठाउँमा कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । पानी परिरहेकाले जोखिम क्षेत्रका स्थानीयको उद्धारमा समस्या भइरहेको छ भने नासो गाउँपालिका र आसपासको ठाउँमा टेलिफोन सेवा भएको छ । विद्युत्को पोल ढलेकाले जिल्लाका अरु ठाउँमा पनि टेलिफोन सम्पर्कमा पनि आएको छ ।
त्यस्तै जिल्लामा ठाउँ–ठाउँमा पहिरो खसेकाले सडक सम्पर्कविच्छेद छ । गत जेठ तेस्रो हप्ता मनाङ सदरमुकाम चामेको नयाँबजारका घरमा बाढी पसेको थियो । त्यसले सदमुकाम चामेको घट्टेखोलाको पुलमा क्षति पुर्याएको थियो ।

मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा सोमबार दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका छन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिएका हुन् । अहिले सो क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ । खोलामा बाढी आएको जानकारीपछि जिल्लाका सुरक्षा निकायबाट उक्त क्षेत्रको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिमपहिरोको सम्भावना भएको बताएको छ । 

वर्षाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, आपतकालीन अवस्थाका यात्रु अलपत्र

दुईदिन देखि जारी वर्षाका कारण लुम्विनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएको छ । बाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत चरंगेमा राजमार्ग अवरुद्व भएको छ । बाटो अवरुद्ध हुँदा आपतकालिन अवस्थामा हिडेकाहरु अलपत्र परेका छन् । 

बुटवल पाल्पाको सडकखण्डमा ठाँउठाँउमा पहिरो खसेको छ । पहिरो हटाउने र एकतर्फि सडक सुचारु गर्ने काम भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । निरन्तरको वर्षाका कारण तिनाउ नदिको पानीको सतहले पनि खतराको संकेत पार गरेको छ । नदि किनारका वासिन्दालाई सुरक्षित रहन प्रशासनले निर्देशन दिएको छ । पाल्पाको डुम्रेमा पनि पहिरो खसेको छ ।

साना नदि र कुलाहरुमा समेत ठूलो बाढी आएपछि किसानहरुले राखेको धानको बीउ नष्ट भएर समयमा धान रोप्न नसक्ने किसानहरूको चिन्ता छ ।

बाढीले बेँसीशहर– चामे सडक अवरुद्ध


लमजुङ्गमा सडक खस्यो । फोटो: रासस


लमजुङमा पनि आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ। 

त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको  बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०/५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङले बताएका छन् । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने आकंलन गरिएको छ ।

त्यस्तै, बेँसीशहर चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको जानकारीमा आएको छ । 

म्याग्दीमा पनि सडक अवरुद्ध

म्याग्दीको सदरमुकाम बेनीबाट छुट्ने सबै सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ । मुस्ताङ हुँदै चीन जोड्ने अन्तर्देशीय बेनी–जोमसोम–कोरला सडकको बेनी–घाँसा ४१ किलोमिटर खण्डमा पहिरोले गाडी  गुड्न सकेका छैनन्।

बेनी–घाँसा सडक खण्डको चमेरे, तिप्ल्याङ, तातोपानी, गुइठे, काप्रेभिरमा पहिरो सडक छेकेको छ भने म्याग्दीको बेगखोला र मुस्ताङको मार्फाखोला तथा लुप्राखोलामा खहरे बढेकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरी सदरमुकामबाट पश्चिम दरबाङतर्फ छुट्ने बेनी–दरबाङ २४ किमी सडकको फापरखेतमा पहिरोले बेससहित सडक बगाएकोले यातायात अवरुद्ध छ । बेनी–बाग्लुङ सडकको रत्नेचौर क्षेत्र र बाहिरी जिल्लाबाट म्याग्दी भित्रने बेनी–मालढुङ्गा सडकमा पनि पहिरो गएको छ ।

स्राेतका अनुसार दरवाङबाट पश्चिम बाग्लुङ जोड्ने रुम सडक, ताकम र विम सडकमा पनि यातायात चल्न सकेका छैनन् । बेनी–पाखापानी, भकिम्ली, कुहुँ र गलेश्वर–भगवती, पोखरे–शिख, महभीर–राम्चेसहितका सडक पहिरो र खहरेले अवरुद्ध भएका छन् ।

आजपनि देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाले खोला तथा नदीहरुमा पानीको वहाव बढ्नसक्ने अनुमान गरिएको छ । 

नारायणी, कर्णाली र महाकाली नदीका जलाधार क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढ्नसक्ने बताइएको छ। यस्तै कन्काई, कमला र बागमती नदीमा पनि बहाव बढ्ने अनुमान महाशाखाको छ। पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ तथा बबईका स–साना नदी जलाधारमा बहाव बढ्ने र सतर्कता बिन्दुसम्म पुग्ने बताइएको छ ।

कालीगण्डकी, भेरी र यसका सहायक नदीजलाधार लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको पारसी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान विभागको छ ।

मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार